Galaxy Network

दिलबहादुर लिम्बुको घटनापछि हङकङमा फेरि प्रहरी गोलीकाण्डमाथि प्रश्न



गोली प्रहार गर्ने महिला प्रहरीले मनोवैज्ञानिक परामर्श लिनु पर्नेछ
गोली प्रहार गर्ने महिला प्रहरीले मनोवैज्ञानिक परामर्श लिनु पर्नेछ
एससीएमपी

प्रहरीको गोलीबाट हङकङे नेपाली दिलबहादुर लिम्बु मारिएको नौ वर्षपछि फेरि प्रहरीको गोलीकाण्डमाथि हङकङमा प्रश्न उठेको छ।

Alpha Travel

हङकङको भूमिगत रेलवेको कोन्कोर्स लेभलमा बुधबार बिहान प्रहरीको गोलीबाट हङकङ आइडी भएका ५५ वर्षीय स्थानीय चिनियाँ समुदायका एक व्यक्ति गम्भिर घाइते भएपछि प्रहरीको नियतमाथि प्रश्न उठेको हो।

गस्तीका प्रहरीले शंका गरेका एक व्यक्तिमाथि चेक जाँच गर्ने क्रममा उक्त घटना भएको हो।

बुधबार बिहान ७ः४० बजे चिनियाँ समुदायको बसोबास रहेको पुरानो बस्ती सामसुईपो रेलवे स्टेसनको एक्जिट डी निस्कने छेउमा ‘एन्टि भाइस गस्ती’ मा निस्केका एक महिला र पुरुष प्रहरीले ५५ वर्षीय एक जना चिनियाँमाथि शंका लागेर सोधपुछ गर्ने क्रममा गोली चलेको हो।

सोधपुछको क्रममा ती व्यक्तिले ब्याकप्याकबाट १५ सेन्टिमिटर लामो कागज काट्ने छुरी निकालेर प्रहरीमाथि जाइलाग्न खोजेपछि गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ। मौखिक चेतावनी बेबास्ता गरेपछि आत्मारक्षाका लागि ती व्यक्तिमाथि महिला प्रहरीले गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ।

प्रहरीले देब्रे पेटमा निसाना साँधेपछि चिन्ताजनक अवस्थामा पुगेका ती व्यक्तिलाई उपचारका लागि प्रिन्स मार्गरेट अस्पताल लगिएको छ।

प्रहरी स्रोतले सन् २०१३ मा पनि प्रहरीमाथि दुव्र्यवहार गर्दा ती व्यक्ति एक हप्ता थुनामा रहेको जनाएको छ।

६ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेकी ३१ वर्षीय महिलामाथि रेल स्टेसनको भिडमा गोली चलाउन आवश्यक थियो कि थिएन भन्ने प्रश्न उठेको छ। सामसुइपो डिभिजनका कमान्डर सुपरिटेन्डेन्ट चोव कोङले द स्ट्याण्डर्डसँग भने, ‘गोली चलाउनु पूर्व परिस्थितिको आँकलन गर्न जरुरी छ।’

प्रहरी नियमअनुसार गोली प्रहार गर्ने महिला प्रहरीले अब मनोवैज्ञानिक परामर्श लिनु पर्नेछ। 

गोली चलाउने प्रहरीको रक्षा गर्दै उनले भनेका छन्, ‘तिनले गोली चलाउनु पूर्व सही अवस्था र निशाना यकिन गरेको हुनुपर्छ।’

हङकङ प्रहरीको नियामवली अनुसार गस्तीमा रहेका प्रहरीले तीन परिस्थितिमा मात्र गोली चलाउन सक्छन्। पहिलो, कुनै व्यक्ति वा प्रहरी आफैको जीवनरक्षा र गम्भिर घाइते हुनबाट बचाउन, बच्न। दोस्रो, कुनै गम्भीर अपराध र हिंसा गर्नेलाई गिरफ्तार गर्न। र, तेस्रो कुनै गम्भीर दंगा वा विद्रोह नियन्त्रणमा लिन।

हङकङ विधायिका परिषद सुरक्षा प्यानलका अध्यक्ष चान हाक कानले पनि महिला प्रहरीको बचाउ गरेका छन्। ‘आफ्नो जीवनरक्षाका निम्ति ती महिला प्रहरीले गोली चलाउनु जायज छ’, उनले भनेका छन्, ‘गोलीले अन्य निर्दोषहरुको क्षति हुन सक्ने कुरामा चाहिँ सचेत हुन जरुरी छ।’

हङकङमा महिला प्रहरीले यसरी सार्वजनिक स्थलमा गोली चलाएको यो पहिलो घटना हो।

हङकङ प्रहरीको गोलीबाट सन् २००९ मा हङकङे नेपाली दिलबहादुर लिम्बु मारिँदा पनि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको जिकिर अदालतसम्म गरेको थियो।

हङकङको जोर्डन नजिकैको होमान्तिङ डाँडामा प्रहरीको गोली लागेका लिम्बुको मृत्यु भएपछि नेपाली समुदाय आन्दोलनमा उत्रिएका थिए।

आन्दोलनको दबाबमा हङकङका तत्कालीन प्रमुख कार्यकारी डोनाल्ड चाङले अल्पसंख्यक समुदायप्रति हङकङ प्रहरीको व्यवहारबारे अध्ययन गर्न स्वतन्त्र छानबिन आयोग गठन गरेका थिए।

हङकङ सरकारले नेपाली महावाणिज्य दूतावास मार्फत लिम्बु परिवारप्रति समवेदना प्रकट गरेको थियो। पछि अदालतमा प्रहरीले मुद्दा जितेपछि पीडित परिवारलाई केही क्षतिपूर्ती दिइएको थियो।

प्रकाशित २२ कार्तिक २०७५, बिहिबार | 2018-11-08 16:09:14

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets