Galaxy Network
ब्लग

रुमानी सम्झनामा एउटा साँझ



प्रतिक चामलिङ
प्रतिक चामलिङ
Alpha Travel

निन्द्राले आकुल भएको बेला हामीले भातसँग निन्द्रा खायौं। दिनभरि उफ्रेर थाकेको थकार्इलाई मासुसँग कुपुकुपु निल्यौं। र, धर्फरिँदै ओछ्यानमा गएर आघाएको पेट र निन्द्रालाई पुर्लुक्कै लडायौं।

चैत बैशाखको महिना हुनुपर्छ। रिमरिम साँझको समय थियो। घरदेखि पर्तिरको खोल्साको उतीस घारीमा कामीचरा एक तमासले ठक ठक ठक ठक गर्दै जीवनको उत्सर्गको गीत गाइरहेको थियो। आँगनको डिलमा फुलेको जैफूलले उसको वैंशालु सुघन्धित वासना छरिरहेको थियो। जैफूलको वासनामा अनिगिन्ती भमराहरु भ्वञ्ञ्ञ्ञ् गर्दै झुमिरहेका थिए। भमराको आवाजले त्यो साँझ झन् रोमान्चित बनाएको थियो।

हामी दाजुभाई आँगनको वल्लो छेउ र पल्लो छेउ कुद्दै साँझमा चर्न निस्केको चमेराको जत्थालाई उफ्रिंदै जिस्क्याई रहेथ्यौं। त्यतिकैमा आमा घरभित्रबाट तिक्खर स्वरमा कराइन, ‘ओइ, तिमेरु धेरै नछिल्ल साँझमा, बिरामी हुन्छ।’ 

हामी एकछिन चुपचाप हुन्छौं। फेरि सुरु ... ।

‘ओइ गान्टा हो, साँझमा नपात्ति भनेको होइन? सुनिस कि सुनिनस्? घरभित्र पस्।’

आमाले फेरि हकारेपछि हामी चुपचाप घरभित्र पस्छौं। 

कुप्पिको मधूर उज्यालोमा आमाको चाउरिएको गालामा आगोको धुवाँले बगेको आँशुको दाग प्रस्टै देखिन्थ्यो। आमा थ्याप्लो भात मस्काउँदै थिइन।

हामी अगेनाको अर्को छेउमा अगुल्टो ठोस्दै बस्यौं। तरकारीका लागि गुन्द्रुक केलाउँदै आमा फेरि फतफतिन थालिन, ‘तिमेरको बाउपनि कता मुन्टियो, मलाई त वाक्कै लागिसको तिमेरको बाउदेखि। कैले बेलामा घर आङ्नु जानेन।’

हामीले निरिह भएर आमाको गनगन सुनिरह्यौं।

***

बाहिर चन्धने कुकुर भुक्छ।

‘ए जाओ जाओ को आयो? तिमेरको बाउ हो भने त चन्धनेले चिन्नु पर्ने। पाहुना पो आयो कि?’

आमाले भनेपछि हामी दुबै निस्केर हेर्छौं। चकमन्न छ, केही देखिन्नँ।

तर तलतिरबाट लट्पटिएको आवाजमा आपाको बोली प्रस्टै चिन्यौं।

‘चन्धने, मलाई चिनिनस् गधा’, यो आवाज सुन्ने बित्तिकै चन्धने पुच्छर हल्लाउँदै आवाज आएतिर गयो।

भाई र म भित्र पस्यौं।

आमाले सोधिन, ‘को हो?’

‘आपा।’

‘यति बेलासम्म कहाँ मुण्टिएछ?’

हामी फेरि चुपचाप बस्यौं।

***

हातमा सानो प्लास्टिकको झोला बोकेर आपा जस्केलादेखि धर्फरिँदै घरभित्र पसे। आपाको अनुहार थाकेको तर जाँडको रन्कोले रातो भएको प्रस्ट देखिन्थ्यो।

यत्तिकैमा आमा फत्फताउन थालिन, ‘बेलामा घर आङ्नु जानेको छैन हगि खलेत्रा? कतिसारो जाँड धोक्न सकेको? म बुढीले मत्तै कति घरको काम गर्नु? तिम्रो छाउराहरुलाई बेलामा खान दिनु पर्दैन?’

आपा चुपचाप प्लास्टिकको झोला छेउमा राख्दै कोप्लिमा तानेर आमाको छेउमा बस्छन्।

‘पर जाउ है खलेत्रा, मातेर गनाउँदै मेरो छेउ नआउ। बेलामा घर आङ्नु जानेको छैन।’

लटपटिएको जिब्रोमा आपा भन्छन्, ‘नकरा न बुढी, तल भेजामा डाँडाघरे साईंलाले बोलार गको। तल जन्तरेकोमा सुँगुर काटेको रैछ र एक बिसौली मासु लेको छु।’

आपाले प्लास्टिकको झोला देखाए।

‘छिटो आङ्नु पर्दैन? आबो कतिखेर मासु पकार खुवाङ्ने त यिनरलाई? निन्द्रा लागिसको’, हामीलाई देखाउँदै आमाले भनिन्।

‘नकरा न बुढी, कति कच्कच गर्छस् होउ। आबो म बनाङ्छु, मसला खोज है। बरू डबकामा आधा जति जाँड ले ले’ भनेर धरफरिँदै आपा मासु काट्ने अचनो खोज्नतिर लागे।

‘पर्दैन, दिनभरी धोकेर पुगेन अझै खलेत्रा?’

हाम्रो निन्द्रा हराउने गरि आमा कराइन।

‘हेर हेर यिनरको बिजोक। ऐले पर्दैन मासु खानु। भोलि खानु। आधा रात गैसको’, हामीलाई देखाउँदै आमा गुन्द्रुक जोहो गर्न थालिन।

‘ऐले नै खानुपर्छ, धेर नकरा तँ’, आपाले अचनो अझै भेट्टाएका छैनन्। आगो र कुप्पिको मधुरो उज्यालोमा छामछाम छुमछुम गर्दै खोजिरहे।

आमा, ‘पर्दैन।’ 

आपाः ‘नकरा तँ।’

***

आमा र आपाको वाकयुद्धले डराएका हामी सिरक ओढेर फुस्सै निदाएछौंं। भरै आमाले उठाइन। त्यो बेला भने आमा र आपा मिलेर बोल्दै थिए।

‘तिमेरले खान्छौ भनेर पो ऋणमाथी मासु लेर आको’ भन्दै आपा मासु भाग लगाउँदै थिए।

‘खलेत्रा, तिमि पनि गाउँ चहार्दै जाँड नखाई सरासर आउनु पर्दैन?’ आमा भात पस्कँदै नरम बोलीमा भन्दै थिइन।

निन्द्राले आकुल भएको बेला हामीले भातसँग निन्द्रा खायौं। दिनभरि उफ्रेर थाकेको थकार्इलाई मासुसँग कुपुकुपु निल्यौं। र, धर्फरिँदै ओछ्यानमा गएर आघाएको पेट र निन्द्रालाई पुर्लुक्कै लडायौं।

आमा अगेनाको वल्लो छेउ बसेर कटुसको पातमा बेरेको बिँडी तान्दै थिइन। आपा अगेनाको पल्लो छेउमा बसेर गुनगुन बात मार्दै थिए। बिँडीको धुवाँ आमाको बुलाकी छोएर माथी फुस्स फुस्स उडिरहेको थियो।

बाहिर चन्धने भुकिरहेको थियो। भुक्दै चन्धने पर गहिरातिर गाको मधुरो आवाज सुन्दासुन्दै हामी ‘भोक न भकारी, शोक न सुर्ता’ फुस्सै निदाएछौं।

प्रकाशित २१ असोज २०७५, आइतबार | 2018-10-07 12:57:48

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets