Galaxy Network
ब्लग

कामुक साँझलाई थिलथिलो ज्यान



प्रतिक चामलिङ
प्रतिक चामलिङ
Alpha Travel

हस्याङ फस्याङ गर्दै मधुर मुस्कान मुस्काउँदै ऊ आइपुग्छ र एक्कासी शंकाको भावले गहिरिएर हेर्छ। तर उसको अनुहारको अन्तरंग पढेर मनभित्र जागेका अनेकौं प्रश्नहरुको भ्रूण मनभित्रै हत्या गर्छु।

सधैँ झैं हप्ताको अन्तमा उसलाई भेट्न साविक पार्कमा जान्छु। एक हप्ताको अन्तरालमा पार्कमा फुलेका फूलहरु सबै ओइलाउन लागेछन्। हामी सधैँ बस्ने फलैंचा छेउमा फुलेका चुवा सेत्तै भएर भुइँमा खसेछन्।

विचरा चुवा!

फुल्नु, ओइलाउनु, झर्नु। एउटा नियती!

फलैंचामा बस्छु। साँझ परेको छ। सिरिरी, मसिनो सितल बतास कानैमा साउती मारिरहन्छ। पार्कका बत्तीहरु मधुर प्रकाश छरिरहेका छन्। छेउछाउका घरहरु रंगी बिरंगी रहर लाग्दा बत्तिहरुले झपक्क बलेको छ। पर गोधुली क्षितिजमा खुर्पे जून प्रष्ट देखिन्छ। हप्ताभरी कामको बोझले थिलथिलो भएको ज्यान यो कामुक साँझलाई सुम्पिदिन्छु।

हस्याङ फस्याङ गर्दै मधुर मुस्कान मुस्काउँदै ऊ आइपुग्छ र एक्कासी शंकाको भावले गहिरिएर हेर्छ।

किन किन, मनभित्रैबाट कत्ति प्रश्नहरु सोधुँ झैं लाग्छ। तर उसको अनुहारको अन्तरंग पढेर मनभित्र जागेका अनेकौं प्रश्नहरुको भ्रूण मनभित्रै हत्या गर्छु। दिनभरीको कामको थकान उसको अनुहारभरी देखिन्छ। सायद थकानले होला, उसको मुस्कानमा चमकता देखिन्नँ। परदेशमा बाँच्न गाह्रो छ। एक मुस्कान खुशी साथ मुस्कुराउन पनि समय कति कन्जुस्याइँ गर्छ!

ऊः कतिबेला आइपुग्नु भो?

मः आधा घण्टाजति भो होला।

ऊः सरी ल, काममा ढिलो भयो।

मः किन सरी नि, जीवनको अन्तिम पइलासम्म पर्खिने धोको छ। जाबो आधा घण्टा।

ऊः (हल्का मुस्कानको साथ मुख बङ्ग्याउँदै) मुखले त ठिक्क के।

मः अहिले मुखले नै त ठिक्क नि, अन्तिम पाइला अहिले हुन्न नि त।

ऊः बोल्न त खुब जानेको के।

मः अँ ।

***
ऊ एक्कासी मेरो काँधमा टाउको राखेर आँशु झार्छ।

म सोध्छुः अचम्म, किन?

उता फर्केर आँशु पुस्छ।

फेरि सोध्छुः किन रोएको?

‘भन्दिन।’

‘भन्नु छिटो।’

‘भन्दिन।’

ऊ उठेर हिंड्छ।

म पनि उठेर उसको पछिपछि लाग्छु।

मनभित्र कति धेरै कौतुहलताको पहिरो जान्छ।

ऊ नबोली आफ्नो घरतिर लाग्छ, मनभरी प्रश्नै प्रश्नको पाहाड बोकेर। म पनि घरतिर लाग्छु।

रातभरी उसको सुकसुक आवाजले निन्द्रा बिथोलिरह्यो। ऊ रुनुको उत्तरको प्रश्नले दिमाग हिर्काइरह्यो।
***

हिजो रुनुको कारणको प्रश्न एका बिहानै म्यासेजमा तेस्र्याउँछ।

रिप्लाईः भन्दिनँ।

‘लु नभन्नु न त।’

मलाई नभनी तपाईं रुनुको समस्या समाधान हुन्छ भने, मलाई नभनी तपाईंको आत्मालाई खुशी मिल्छ भने, कमसे कम मबाट गल्ती के भयो, त्यो नभनी मैले कसरी मेरो गल्ती महशुस गर्न सक्छु?

तपाईंको हर पीडालाई ममाथि बिसाउन चाहनु हुन्न भने हाम्रो जिन्दगी नामको पाङ्ग्रा कसरी समानान्तर रुपमा गुड्छ? एक अर्कामा समस्याहरुको मन्थन नगरी हाम्रो खुशीहरुको जुन कसरी उदाउँछ?

हिजो रुनुको रहस्य फुत्किने हिसाबले प्रति प्रश्नहरुको पोका इनबक्स फुट्ने गरी पठाई दिन्छु।

दुई घण्टापछि रिप्लाई आउँछ– हिजो काममा थाकेर हैरान भई भई पनि कत्रो खुशी लिएर भेट्नु आएँ, तर ...

मः तर के? म पनि तपाईंलाई भेट्ने भनेर खुशीहरु लिएर बसेको थिएँ।

ऊः नढाँटी भन्नु, हिजो कोसँग कहाँ जानु भो? त्यो तपाईंको कानको पछाडी कसले नंग्रायायो? लु छिटो भन्नु।

हिजो रुनुको कारणको प्रतिप्रश्नले म डङरङ्ग भएँ। हैट, कति सानो चित्त। के के होला भनेर कत्रो कौतुहलता पालियो, जाबो कान पछाडी चिलाएर कन्याएको सानो चोटको पो रैछ बाहना। मनभित्रै रीस मिसिएको मिश्रित हाँसो उठ्यो, के गर्नु सानो चित्तले बोसो नपाक्ने! 😂😂

मः हेत्तेरी, म कहाँ कोसँग जानु र? म काममा गएँ नि।

ऊः त्यो चोट कसरी नि?

मः चिलाउँदा बढी कन्याएर चोट लागेको नि।

ऊः पत्त्याइनँ के।

मः अब तपाईंले शंका गरे जस्तो तरुनीसँग गएको भए कान पछाडी चोट लाग्छ त? ओठमा पो लाग्न सक्छ त!

ऊः कस्तो पात्तिएको मान्छे के?

मः अनि के त? रुन चाहिँ किन रुनु भाको?

***

एक घण्टापछि रिप्लाई आउँछ।

‘जब हिजो तपाईंलाई भेटें, एक्कासी तपाईंको कान पछाडी कोरिएको चोट देखें। मनभित्र शंकाको ठूलो आँधी चल्यो, त्यो आँधीले भित्रभित्रै पीडाको रापलाई बल्न सहयोग गर्यो। मनमनै आफुलाई अभागी सम्झें, आफ्नो भाग्यमा खोट देखेँ। विगत सम्झेँ। खास कुरा त पहिला पनि मैले अति मन पराएर माया गरेको मान्छे कसैले आफ्नो बनाएर लग्यो। तपाईंलाई पनि कसैले ... । चोट देखेपछि लाग्यो, जिन्दगीमा मैले आत्मैदेखि चाहेको मान्छे आफ्नो नहुने रहेछ जस्तो लाग्यो। अनि पीडा भयो र आँशु आँशु भएँ। अनि रोएँ। ’

उसको रिप्लाई पढेर खुशी लाग्यो। भरोसाभित्र आँशु, खुशी, फूल र काँडा जस्तै मिलेर बसेको हुँदोरैछ। एउटा विश्वासभित्र कत्रो पाप पनि पालिँदो रहेछ।

तर उसको विगतले मभित्र पीडाको एउटा तरंग फैलायो। कसैको बदलामा आफुलाई उभ्याउनु बडो गाह्रो कुरा हो। सायद यस्तै भएर होला विलियम ओर्डओर्थले लुसीलाई अनकन्टार जंगलमा फुलाएर, काल्पनिक रुपमा आफुले मात्रै देखेर उसको सौन्दर्यमा लिप्त भएको।

बिस्तारै म आफ्नो काममा व्यस्त हुन्छु। तर कुरुप ढुँगा भएको मुटुको पल्लो कुनामा लुसी एक तमासले पीडा फुलिरह्यो।

प्रकाशित ३ असोज २०७५, बुधबार | 2018-09-19 14:55:28

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets