Galaxy Network
ब्लग

डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा



टीका राना
टीका राना
Alpha Travel

जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

साँझ साढे पाँच बजे घर निस्कनुपर्ने भए पनि कामको चापले गर्दा अबेरसम्म अफिसमै बसेँ। आजकाल अफिस काम गर्ने थलो मात्रै नभएर मेरा लागि थकाइ मेट्नेदेखि पढाइ–लेखाइ गर्ने ठाउँसमेत बनेको छ।

अफिसमा मेरो काम बिहान ९ बजेबाट साँझ साढे पाँचसम्म हो। बिहान र बेलुका प्रशस्त समय भएपनि त्यो समयले मेरो जीवनमा खासै अर्थ राख्दैन। मसँग काम प्रशस्त छ। मूड भयो र मन लाग्यो भने म रातिको दश एघार बजेसम्म पनि अफिसमै बस्छु। अफिसमा काम धैरै छैन् भने कहिलेकाहीँ अन्यत्र काम भएको बेला भने म बिदा हुने समयभन्दा पहिले नै निस्कन्छु।

कामको चाप अलि बढी नै भएकाले सधैंको जस्तो बुधबार पनि अफिसमा व्यस्त नै भइरहेको थिएँ। कामकै लागि गुगलमा आवश्यक कुराहरु खोज्दै थिएँ। त्यसैबेला नेपालका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटालाई श्रद्धाञ्जली दिनेको भिड मेरो सामाजिक सञ्जालको वालभरी देखेँ। काम गरिरहेको म एक छिन के गरूँ, नगरुँ भएँ। एक मनले सोचें लाखौंले चिनेजानेको, अनेकौं रोग लागेर मृत्युको मुखमा पुगेका हजारौं बिरामीलाई बचाउन सक्ने देवकोटा जस्तो मान्छेले पनि मृत्युको अगाडि घुँडा टेक्नु पर्ने रहेछ।

डा उपेन्द्र देवकोटा

डा उपेन्द्र देवकोटा

यी र यस्तै अनेक कुराहरु मनमा खेलिरहे। आखिर के नै रहेछ र जिन्दगी भने जस्तो पनि लाग्यो। फेरि अर्को मनले भन्यो– जिन्दगी जे जस्तो भए पनि मान्छेले बाँचुन्जेल काम त गर्नै पर्छ।

गत महिना डा देवकोटा बिरामी भएको खबर भर्खर निस्केको थियो। म लगायत नेपालखबरको हङकङ संस्करणमा समाचारदेखि ब्लग लेख्ने सबैलाई बोलाएर प्रधान सम्पादकले एउटा जमघट गरेका थिए। त्यही बेला पनि डाक्टर देवकोटाको बारेमा लेख्नु पर्छ भन्ने चर्चा चलेको थियो। लेख्ने बानी नहुँदा तत्काल लेख्न सकिनँ। तर नेपालमा हुँदा बिएस्सी नर्सिङ कोर्स गर्ने समयमा डाक्टर देवकोटाको अस्पतालमा काम गरेको हुँदा कताकता दुईचार शब्द लेख्न घचेटिरह्यो।

करिब ६ वर्ष अघि, बिएस्सी नर्सिङ पढ्ने बेला एक वर्षको प्रक्टिकल देवकोटाकै अस्पतालमा गरेका थियौँ। त्यो समयभन्दा अगाडि मैले उनलाई राम्रोसँग चिनेको पनि थिइनँ। देवकोटा राउन्डमा आउँदा हामीसँग भेट हुन्थो। हामी विद्यार्थी जो उनको अस्पतालमा सिक्नका लागि जान्थ्यौँ। काम गर्ने क्रममा उनले कहिल्यै ठूलो स्वरले गाली गरेको मलाइ याद छैन्।

देवकोटा हामीलाई सधैं ‘असल काम गर नानी हो, बिरामीलाई माया गरेर हेरविचार गर्नुपर्छ’ भन्थे।

उनको अस्पतालमा एक वर्षको तालिम लिइसकेपछि म हङकङ आएँ। केही महिनाअघि मात्र समाचार सुनें डाक्टर देवकोटालाई पित्तथैलीमा क्यान्सर लागेको रैछ। क्यान्सर जस्ता क्रोनिक रोगहरू विश्वमा बढिरहेको छ। हङकङको कुरा गर्ने हो भने करिब ७ मिलियन जनसंख्या रहेको यस ठाउँमा १३ लाख भन्दा धैरै मानिस क्रोनिक रोगबाट ग्रसित रहेको तथ्याङ्कले देखाएको छ।

डाक्टर देवकोटा उपचारका लागि बेलायत गएका थिए। तर, उपचार सम्भव नभएपछि नेपाल फर्किए। आफुले स्थापना गरेका न्यूरो अस्पतालमा उपचार गराइ रहेका देवकोटा अन्तिम इच्छा पूरा गर्नका लागि आफू जन्मेको गाउँ गोरखा समेत पुगे। जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ। 

हामी जहाँ जस्तो अवस्थामा रहे पनि आफ्नो मातृभूमि र आफ्नो पहिचान सबैभन्दा महत्वपूर्ण र आत्मीय हुँदो रैछ भन्ने कुराको महसुस भइरहेको भान भएको छ अहिले मलाई।

देवकोटाको जन्मभूमिप्रतिको माया र अस्था देख्दा अस्ति भरखर हङकङमा एक घरेलु कामदार महिलासँगको भेट याद आयो।

गत हप्ता मंगलबारको दिन खासै काम नगरे पनि बेलुका हङकङको चुनमुन पुगें। चुनमुन जहाँ म जाँदै थिएँ त्यो ठाउँ मेरा लागि परिचित थियो। सुरुमा बसको यात्रा तय गरें र त्यसपछि एलआरटी (बिस्तारै गुड्ने रेल) मा चढेर त्यस ठाउँ पुग्ने विचार गरें। बेलुकाको ८ बजिसकेको थियो। त्यसकारण एलआरटीमा त्यस्तो भिड थिएन। करिब १५–२० मिनेटको यात्रापछि म त्यो ठाउँमा पुगे र त्यहाँ एकजना चिनारु व्यक्तिलाई भेटें।

केहीबेरको भेटघाटपछि हामी आ–आफ्नो गन्तव्य तर्फ लाग्यौँ। मेरो मोवाईलमा ब्याट्री सकिएका कारण चार्जमा राखें। केहीबेर हिँडेपछि एउटा घरमा पुग्यौँ। त्यस घरमा ४ जना मानिस थिए। ती ४ मध्ये पनि एक जनाको बस्ने खाने र सुत्ने तरिका सबै फरक देखेँ। मसँगै रहेका अन्य दुईजना मानिस त्यहाँ भएकी ४०–४२ वर्ष जस्तो देखिने चिनियाँ महिलासँग कुरा गर्दै थिए। म भने यसै उभिरहेकी थिएँ।

एकछिन पछि थाहा भो कि ती महिला जो अन्य परिवार भन्दा फरक वातावरणमा बस्थिन उनि त त्यहाँ काम गर्ने कामदार रैछन्। मेरो अनुमानमा उनी फिलिपिनी महिला हुनुपर्छ। अरुसँग कुरा गर्दै गर्दा उनी मलाई हेरेर हाँसिरहेकी थिइन्। केही समयपछि सानो स्वरमा मलाई हेर्दै खुशी हुँदै, ‘आर यू फिलिपिनी?’ भनेर सोधिन्।

मलाई अनौठो लाग्यो। तर मैले उनको अनुहारमा देखिएको खुसी र हाँसोलाई दुःखमा परिणत गर्न चाहिनँ र टाउको हल्लाएर म फिलिपिनी हुँ भनें। हङकङमा फिलिपिन्स र इन्डोनेसियाबाट घरेलु कामदारको रुपमा आउने महिलाहरुको संख्या करिब तीन लाख ७० हजार हरेको यहाँको घरेलुु कामदारसम्बन्धी काम गर्ने सस्थाको तथ्यांकले देखाउँछ। नेपाली लगायत अन्य दक्षिण एसियालीलाई यहाँ अल्पसंख्यकको रूपमा लिने गरिन्छ।

इन्डोनेसिया र फिलिपिनन्सबाट यहाँ आएका घरेलु कामदारहरूको स्वास्थ्यका बारेमा हङकङ सरकारले त्यति ध्यान दिएको पाइँदैन। उनीहरूले काम गर्ने घरमा कामको सीमा र पर्याप्त सुत्ने समय नभएका कारण र घरबेटीले गर्ने ब्यवहारले यहाँका घरेलु कामदार जोखिममा रहेको अनुमान लगाउन सकिन्छ।

केही दिनअघि मात्र एक अन्तर्राष्ट्रिय समाचारमा उनीहरूमा मुटु रोग, इन्सोम्नियाका कारण हुने रोगहरु धरै रहेको लेखिएको थियो। यसैगरी यहाँ रहेका नेपाली लगायत अन्य अल्पसंख्यकहरूको स्वास्थ्य पनि यहाँका स्थानीय चिनियाँहरूको भन्दा धेरै जोखिममा रहेको अनुमान गरिन्छ। विशेषगरी भाषिक समस्या, स्वास्थ्यसम्बन्धी ज्ञानको कमी, जागरणको कमीका कारण पनि हामी नेपाली लागयत अल्पसंख्यक समुदायको स्वास्थ्य जोखिममा रहेको अध्ययनहरूले देखाएका छन्।

अनुहार र शारीरिक बनावट उस्तै भएर पनि हुनसक्छ अल्पसंख्यक समुदायहरूको स्वास्थ्यसम्बन्धी समस्याहरू उस्ताउस्तै रहेका हुन्छन्। प्रायः इन्डोनेसिया र फिलिपिन्सका घरेलु कामदारहरू हामी नेपालीहरूसँग बोल्न मन पराउँछन्। उनीहरुले प्रायः बोलाउने हाँस्ने गरेको मैले पाएको छु। मेरो अनुहार देख्दा आफ्नो देशको जस्तो देखेर झुक्किएर पनि हो कि जस्तो लाग्छ। म उनीहरुको देशको नभएर के भो त? म पनि उनीहरु जस्तै महिला हुँ र अन्जान देशमा वा मानिसको भिडमा एक्लै हुँदा कस्तो महसुस हुन्छ त्यो म कल्पना गर्न सक्छु।

र अर्को कुरा हामीलाई हाम्रो पहिचान जति प्यारो लाग्छ, त्यस्तै मैले ती महिलामा देखेँ। त्यसैले उनकोे खुसीका लागि मैले पनि आफुलाई क्षण भर उनकै देशको बनाएँ। आफ्नो कारण अरुको ओठमा खुशी देख्दा एक किसिमको आत्मसन्तुष्टि मिल्छ। आखिर यस्तै स–साना कुराले नै त हो खुशी दिने।

डाक्टर देवकोटाको मान सम्मान र प्रतिष्ठा अन्य मानिसहरुको भन्दा फरक भएतापनि मृत्युभन्दा माथिको प्रतिष्ठा कसैले कमाउन सक्दैन। मुत्युले जितेरै देवकोटालाई अल्पायुमै यस संसारबाट चुँडेर लग्यो। यति लेख्दै गर्दा के कुरा पनि याद आयो भने मृत्यु निश्चित छ र आफू, आफ्नो देश र मान्छेप्रतिको आत्मीयता र सद्भाव सदा–सदा रहिरहन्छ। त्यसैले त मानिस आफ्नो अन्तिम साससम्म पहिचान खोजी हिँड्छ।

प्रकाशित ८ असार २०७५, शुक्रबार | 2018-06-22 08:58:24

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

Special

NepalKhabar Tweets