Alpha Travel


सफलताका सयौं खुड्किला चढेका एकनारायण

स्याङजाबाट काठमाडौं, हङकङ हुँदै बेलायतसम्म फड्को



एकनारायण शर्मा
एकनारायण शर्मा

१३ अक्टोबर २०१७ का दिन हङकङ सरकारबाट ‘सिभिल सेलिब्रेन्ट अफ म्यारिज’ लाइसेन्स हात पारेपछि सोलिसिटर एकनारायण शर्माको संघर्षमय यात्रामा थप अर्को उपलब्धि जोडिन आइपुगेको छ।

हङकङमा बिवाह गराउने बैधता प्रदान गरेको यो लाइसेन्सले उनलाई ‘आधुनिक पण्डित’ को हैसियत प्रदान गरेको छ। कानुन व्यवसायी शर्माले अब हस्ताक्षर गरिदिएको बैवाहिक प्रमाणपत्रले हङकङमा कानुनी मान्यता प्राप्त गर्नेछ। नोभेम्बर १० मा एउटा नेपाली जोडीलाई बिवाह गराइदिएर उनले यसको शुरुआत समेत गरिसकेका छन्।

यो पनि पढ्नोस्

हङकङका नेपाली सोलिसिटर शर्मालाई बिवाह गराउने लाइसेन्स

बिक्रम संवत् २०४८ सालमा नेपाल सरकारबाट अधिवक्ताको लाइसेन्स लिएयता उनी २६ वर्षदेखि निरन्तर कानुन व्यवसायीको रुपमा संघर्ष गरिरहेका छन्। सन् १९९७ मा हङकङ छिरेका उनले त्यसको १३ वर्षपछि, २०१० मार्चमा हङकङ सरकारबाट सोलिसिटरको लाइसेन्स प्राप्त गरे। हङकङको पहिलो नेपाली सोलिसिटर शर्मालाई यो उचाई प्राप्त गर्न निकै कडा संघर्ष गर्नुपरेको थियो।

२०२४ पुस १० गते स्याङ्जाको मनकामना गाविस कुमेरदुङ, क्यूखोला, वडा नम्बर १ मा जन्मिएका शर्माले घर नजिकैको तल्लो कुमेरदुङ प्राथमिक विद्यालयमा ३ कक्षा सम्मको शिक्षा लिए। त्यसपछि जिवनज्योति निम्न माध्यमिक विद्यालय कुसुम भन्ज्याङबाट ७ कक्षा उत्तिर्ण गरे। स्याङ्जाकै दहथुम माध्यमिक विद्यालय दहथुमबाट २०४१ सालमा एसएलसी गरेपछि उनी काठमाडौं उक्लिए।

‘जसरी हुन्छ पढ्नुपर्छ’ भन्ने मान्यता राखेका शर्माले २०४७ सालमा नेपाल ल क्याम्पसबाट विएल गरे र एक वर्षपछि अधिवक्ता लाइसेन्स पनि लिए। सँगसँगै एउटा नीजि शैक्षिक संस्थाबाट अँग्रेजीमा विए र अर्को वर्ष नेपाल शिक्षा क्याम्पसबाट एक वर्षीय विएड गरे।

‘मेरो दिमागमा जसरी हुन्छ पढ्नुपर्छ भन्ने थियो’, काठमाडौंको संघर्षकथा सुनाउँदै शर्मा भन्छन्, ‘पढ्न र घरखर्च चलाउन काठमाडौंका तारे होटेलहरुमा काम गरेँ। नारायणी, याक एण्ड यति र होटल काठमाडौंमा काम गर्दै मैले आफ्नो अध्ययन पूरा गरेँ।’

अधिवक्ता लाइसेन्स लिएपछि चाहिं उनले सर्वोच्च अदालतका तत्कालिन न्यायाधिश प्रकाश वस्तीसँग वकालत प्रयाक्टिस गर्न थाले। केही वर्षपछि उनी फेरि व्यवसायतिर मोडिए।

ब्यापारको जोश 
पैसा कमाउनु पर्छ भन्ने सोचसँगै शर्माले ब्यापार व्यवसायमा हात हालेपनि त्यता चाहिं जम्न सकेनन्। काठमाडौंमा साझेदारीमा २ वर्ष ट्राभल ऐजेन्सी चलाएका शर्माले त्यो बेचेर बनेपामा साथीहरुसँग मिलेर बोर्डिङ स्कुल सञ्चालन गरे। शर्मा स्वंय प्रिन्सिपल रहेको त्यो बोर्डिङ स्कुलले पनि सन्तुष्टि नदिएपछि २ वर्ष चलाएर बेचिदिए।

१९९७ मा हङकङ छिरेपछि शुरुमा उनले साईवानहोस्थित नेपाली–चाइनीज रेष्टुरेन्टमा १३ महिना काम गरे। नेपालका तारे होटलमा ‘क्याप्टेन’ गरेको हुनाले उनले त्यहाँ म्यानेजर पद पाए। त्यो पनि छाडेर उनले साझेदारीमै एवरडीनमा रेष्टुरेन्ट संचालन गरे। सायद उनका लागि ब्यापार बनेको थिएन वा उनी ब्यापारका लागि बनेका थिएनन्। सन् १९९९ मा खुलेको यो रेष्टुरेन्ट पनि दुई वर्ष चलेर बन्द भयो।

‘करिअरका लागि मैले दुईओटा बाटो चुनेको थिएँ– एउटा वकालत पेशा र अर्को ब्यापार, पछि राम्रो गरिन्थ्यो होला तर त्यसबेला ब्यापारमा जम्न सकिएन’, व्यवसायमा असफलताको समीक्षा गर्दै शर्मा भन्छन्, ‘तर वकालत पेशाले मेरो करिअरमाथि उठाइदिएकाले ब्यापारमा फर्कनै परेन। त्यतिबेलाका मेरा व्यवासयिक पार्टनरहरु अहिले सबै जमेका छन्।’

पुरानै पेशा फाप्यो
व्यवसायमा पार्टनरसीपले झस्काएपछि वकालत पेशालाई हङकङमा कसरी अगाडि बढाउन सकिन्छ भनि सोधिखोजी गर्न थाले। त्यहि खोजीले उनलाई सिटी विश्वविद्यालय परिसरसम्म पुर्यायो। सन् २००१ मा शर्मा सिटी विश्वविद्यालयमा एलएलएममा भर्ना भए। पढ्न पैसा थिएन। घरमा तीन बच्चालाई हुर्काउन श्रीमतीलाई आर्थिक सहयोग पनि गर्नुथियो। उनले पढ्न चाहिने ४७ हजार हङकङ डलर सरकारसँग ऋण लिए। ४० किस्तामा दश वर्षभित्र तिर्नुपर्ने त्यो पैसा उनले पढाइ सकेपछि तिरे।

‘अघि बढेपछि उपाय निस्कँदो रहेछ। चाइनीज क्लासमेटले तैंले कोर्टका लागि अनुवादकको काम गर्दापनि हुन्छ भन्ने आइडिया दियो र सबै सहयोग पनि गरिदियो’, शर्मा भन्छन्, ‘अनुवादक बन्न कोर्टमा गएर अन्तर्वार्ता दिएँ र पास भएँ। त्यसपछि पढाइसँगै कोर्ट र प्रहरीका लागि अनुवादकको काम गर्न थालें।’

त्यतिबेला हङकङमा नेपाली युवाहरु ग्याङफाईट र अपराधकर्ममा बढी संलग्न हुने गरेकाले शर्माको अनुवादक पेशा राम्रै चल्यो। त्यसले उनलाई आत्मविश्वास बढायो। एउटा ल फर्ममा नोकरीका लागि आवेदन दिए। त्यसमा उनी पास भए।

‘ल फर्ममा काम गर्थें, अनुवादकको काम पनि भ्याउँथें र पढ्न पनि जान्थें’, नेपालमा झैं हङकङमा पनि शिक्षा आर्जनलाई केन्द्रमा राखेर काम गरेको बताउँदै शर्मा भन्छन्, ‘महङ्गो शहर हङकङमा पैसाले पुग्थेन, राम्रो शिक्षादिक्षा दिन नसके किन राख्ने भनेर छोरालाई पनि नेपालमै पढ्न पठाइदिएँ।’

आफ्नो करिअर बनाउन दत्तचित्त लागेका शर्मामाथि अध्ययनका लागि ठूलो आर्थिक भार थियो। ‘कमन ल लिगल सिस्टम’ पढाईने लण्डन युनिभर्सिटीको एलएलवीको एक्स्टर्नल कोर्समा पनि उनले भर्ना लिए। नेपालको डिग्री र हङकङको कार्य अनुभवले ३ वर्षको यो कोर्ष उनलाई २ वर्षमै सक्ने मौका मिल्यो। सन् २००४ मा यो कोर्ष पूरा गरे।

‘यति गरेपछि मनोबल ह्वात्तै बढ्यो, सन् २००९ मा एलएलएमको रिजल्ट पनि राम्रो आयो’, शर्मा सफलताको कथा सुनाउँदै भन्छन्, ‘त्यसपछि ओभरसीज लयर्स क्वालिफाईन एक्जामिनेसन (ओएल क्यूई) जाँच दिएँ। त्यसमा पास भएपछि हाईकोर्टले सोलिसिटर लाईसेन्स दियो।’

नेपाल फर्केर पढाउने
करिअर बनाउने चटारोमा पैसा र समय दुवै दिन नसक्ने हुनाले शर्माले आफ्ना २ छोरी र छोरालाई हङकङ राख्न उचित ठानेनन्। काठमाडौंमा बाजेबज्यैसँग राखेर पढाए। ‘ठूली छोरीले एसएसली, सानी छोरीले ९ पास र छोराले २ पढ्दैगर्दा तिनलाई फेरि हङकङ ल्याएँ, अनि अध्ययनका लागि बेलायत पठाएँ’, शर्मा भन्छन्, ‘अहिले बेलायतमा आमासँग बसेर दुई बहिनीले एमडी गर्दैछन् भने छोरो प्लस टु अन्तिम वर्षमा पढिरहेको छ।’

शर्मालाई दुई छोरीलाई मासिक ७ लाख रुपैयाँ भन्दा बढी खर्च जोहो गर्नु परिरहेको छ। उता काठमाडौंमा राखेर दुईजना भान्जा भान्जीलाई पनि शिक्षा दिइरहेका छन्। काकाको छोराछोरीलाई पनि पढ्न उत्प्रेरणा सहित आर्थिक सहयोग गरिरहेका छन्।

त्यसैले होला, शुरुमा पढ्नमा मात्र एकोहोरिएका शर्मा अहिले बच्चालाई पढाउन र बुढेसकालका लागि जोहो गर्न भन्दै अर्थोपार्जनतिर केन्द्रित भएका देखिन्छन्। सन्तानमा ५ भाई मध्ये जेठो छोरा शर्माका ३ दिदी–बहिनी सबै आ–आफ्ना ठाउँमा जमेर बसेका छन्। काठमाडौंमा पारिवारिक घर छ भने हङकङमा अपार्टमेन्ट र बेलायतमा दुई ओटा बंगला जोडिसकेका शर्माका अब धेरै सपना पनि छैनन्, सायद।

‘म जहिलेपनि पैसा भन्दा शिक्षामा फोकस भएँ, मेरो भावना र कर्म देखेर मेरा बच्चाले पढिदिए भने मात्र पनि मैले गरेको लगानी सार्थक हुनेछ’, अहिले छोराछोरीको शिक्षामा दत्तचित्त शर्माले भने।

‘बुढेसकालमा आफ्नै कमाईले पालिनुपर्छ भन्ने छ, त्यसैले अलिअलि जोगाइरहेको छु’, भविष्यको योजना सुनाउँदै शर्मा भन्छन्, ‘बच्चा हुर्किएपछि नेपाल गएर आफुले जानेको विषय पढाएर बस्ने योजना छ।’

 

प्रकाशित २६ कार्तिक २०७४, आइतबार | 2017-11-12 12:45:54
author photo

जेवी पुन मगर नेपालखबर हङकङ सम्पादक हुन्

प्रतिकृया दिनुहोस

Loading...

Alpha Travel

Blog

Special

NepalKhabar Tweets