Alpha Travel

‘हङकङले जन्मायो, हङकङले बनायो’

एनआरएनएमा मेरो दश वर्षे यात्रा



त्रिलोक गुरुङ
त्रिलोक गुरुङ

म हङकङमा जन्मिएँ तर मेरो पुख्र्यौली घर लमजुङ कल्याङ हो। बुवा बेलायती सेनाको तर्फबाट हङकङमा तैनाथ हुुनुहुन्थ्यो। सैन्य पेशासँग पुख्र्यौली सम्बन्ध रहेको मेरो बाजे भारतीय गोर्खा पल्टनमा जमदार हुनुहुन्थ्यो। बुवा बेलायती गोर्खा सैनिकमा मेजर पदसम्म पुग्नुभयो।

सन् १९४७ मा बेलायती उपनिवेशबाट भारत मुक्त भएपछि गोर्खा सेनापनि बाँडफाँट भयो। मेरो बुवालाई बेलायतले हङकङमा लगेर तैनाथ गर्यो। म १९६२ मा त्यहिं जन्मिएँ। बेलायती सेनाका बच्चाका लागि खोलिएको गोर्खा चिल्ड्रेन स्कुलमा ३ कक्षासम्म पढें। सन् १९७० मा बुवाको अवकाश भएपछि हामी नेपाल फर्कियौं। नेपालमा म पोखराको गण्डकी बोर्डिङ स्कुलमा पढ्न थालें। त्यहाँबाट २०३७ सालमा एसएलसी गरेपछि काठमाडौंको अमृत साईन्स क्याम्पसमा पढ्न आएँ।

आईएसी दोश्रो वर्ष पढ्दैगर्दा सन् १९८१ मा बेलायती सेनामा क्लर्क पदमा भर्ती भएँ। त्यसबखत म १८ वर्षको थिएँ। कर्मले मलाई फेरि हङकङ नै लग्यो। नोकरीको क्रममा ब्रुनाई, बेलायत र कोरियामा तैनाथ भएपनि धेरैजसो समय हङकङमै बित्यो। सन् १९९२ मा हङकङबाटै स्वेच्छिक अवकाश लिएँ।

पढ्नुस् त्रिलोक गुरुङसँगको अन्तर्वार्ता 

‘लाप्राक पुगेर फर्किंदा मनोबल बढेको छ’

अवकाशपछि नेपाल फर्किएर ठमेलमा बार एण्ड रेष्टुरेन्ट व्यावसाय शुरु गरें। त्यो व्यावसाय राम्रै चलिरहेको थियो। तर आफु लामो समय सेनाको अनुशासित वातावरणमा काम गर्दै हुर्किएकोले यहाँको काम गर्ने शैली र अनुशासन मन परेन। ३ वर्ष चलाएर त्यो बार बेचें अनि गल्फ कन्ट्रीतिर लागें। त्यतिबेला बेलायती भूतपूर्व सैनिकलाई ओमानका सुल्तानले काम दिन्थे। म पनि त्यता लागें। त्यहाँ सन् १९९३ देखि १९९६ सम्म नोकरी गरें।

सन् १९९७ मा हङकङ बेलायतबाट चीनको हातमा गयो। जन्मको आधारमा आईडी कार्ड पाउने भनेपछि म फेरि हङकङ हानिएँ। १४ डिसेम्बर १९९६ देखि निरन्तर म हङकङमै छु।

हङकङ र मकाउमा व्यावसाय
आईडी बनेपछि हङकङमा फेरि काम शुरु गरें। तर यसपटकको कामको प्रकृति भिन्न थियो। यसअघि बेलायती उपनिवेश हङकङमा बेलायती सैन्य सेवामा थिएँ भने अहिले चीनको विशेष प्रशासनिक क्षेत्र बनेको हङकङमा सेक्युरिटि गार्डको काम गरें। ७ महिना गरेपछि पैसा बढी आउने कन्स्ट्रक्सनतिर छिरें।

लजिस्टिक सुपरभाईजर हुँदै पर्चेजिङ असिस्टेन्ट अफिसर, साईट को–अर्डिनेटर र इन्भायरमेन्ट ईन्जिनियरको हैसियतमा ७ वर्षसम्म कन्स्ट्रक्सन फिल्डमा काम गरें। त्यहाँको काम गर्ने तरिका सिकियो, माग र आपूर्तिबारे बुझियो, कम्पनीहरुसँग सम्पर्क बढाइयो। त्यसको बलमा सन् २००३ बाट आफ्नै कन्स्ट्रक्सन कम्पनी खोलेर व्यावसाय प्रारम्भ गरें। हङकङको सबैभन्दा ठूलो मध्येको लिन्थाङ प्रोजेक्टमा मेरो कम्पनीले अहिले एक सय ५५ मिलियन हङकङ डलरको काम गरिरहेको छ।

सन् २००४ मा मकाउमा पनि व्यावसाय विस्तार गरें। अहिले मकाउका अधिकांश होटल–क्यासिनोमा सुरक्षाकर्मी, हाउसकिपर, वेटर, डोरब्वाय मेरै कम्पनीले सप्लाई गरिरहेको छ। मेरो कम्पनीबाट अहिलेसम्म ३ हजार जति नेपाली कामदार मकाउमा गैसकेका छन्।

सन् २००७ मा हङकङको डुब्न लागेको चाइनीज सेक्यूरिटी कम्पनी किनेर तेश्रो व्यावसाय शुरु गरें। अहिले गोर्खा सेक्यूरिटी मज्जाले चलिरहेको छ। मेरो कम्पनी अन्र्तगत अहिले मकाउमा १७ सय जति नेपालीले काम गरिरहेका छन् भने हङकङमा ६५० जतिले काम गरिरहेका छन्।

लगानी नेपालमा
आफु धेरै समय हङकङमा बसेपनि आफ्नो मातृभूमि समृद्ध होस् भन्ने मेरो चाहना हो। त्यसैले मैले हङकङ र मकाउमा कमाएको पैसा नेपालमा लगानी गरिरहेको छु। मैले विदेशमा लगानी गरेको छैन। पोखरामा २० करोडको लगानीमा गण्डकी उर्जा बायोग्यास परियोजना शुरु गरेका छौं। फालिएका फोहोरमैलाबाट उर्जा निकाल्ने यो प्रविधिबाट बायोग्यास उत्पादन हुन्छ। अर्को वर्षदेखि नेपालका अन्य शहरमा पनि यसलाई विस्तार गर्ने योजना छ।

मुस्ताङको कागबेनीमा हावा र सोलारको समिश्रणबाट बिजुली निकाल्ने परियोजना शुरु गर्दैछौं। अध्ययनसँगै सरकारसँग कुराकानी भैरहेको छ। सबै मिल्यो भने छिट्टै अन्तर्राष्ट्रिय कम्पनीहरुसँग मिलेर काम शुरु गर्दैछौं। एउटा चाइनीज कम्पनीसँग एक चरणको कुरापनि भैसकेको छ र उनीहरु सकारात्मक छन्। अर्को हामी १०० मेघावाटको हाईड्रोपावरमा पनि लगानी गर्न गैरहेका छौं।

एनआरएनएमा मेरो एक दशक
एनआरएनएका तत्कालिन अध्यक्ष उपेन्द्र महतोको ‘देश समृद्ध नभैकन हामी जति धनी भएपनि त्यसको कुनै अर्थ छैन’ भन्ने भनाईले छोएपछि सन् २००५ बाट म एनआरएनए मार्फत कसरी देशका लागि योगदान गर्न सकिन्छ भनेर निरन्तर लागिरहेको छु। २००५ मा एनआरएनए हङकङको तदर्थ समितिमा रहें। २००६ मा भएको पहिलो अधिवेशनबाट अध्यक्ष पदमा अत्यधिक मतले निर्वाचित भएँ। दोश्रो कार्यकाल पनि अध्यक्ष पदमै चुनिएँ।

२००६ देखि २०११ सम्म मेरो नेतृत्वमा एनआरएनए हङकङ चल्यो। त्यसपछि एनआरएनए विश्व सम्मलेनबाट २०११ देखि २०१३ सम्मका लागि एनआरएनए एशिया प्रशान्त क्षेत्रको संयोजक चयन भएँ। सन् २०१३ देखि २०१५ का लागि केन्द्रिय सल्लाहकारको रुपमा छनौट भएँ। २०१५ देखि २०१७ को अर्को कार्यकाल पनि सल्लाहकारमै चयन भएँ।

तर यसपालि मलाई केन्द्रिय समितिले सल्लाहकार मात्र नभई धेरै जिम्मेवारी पनि दियो। भूकम्पपछि एनआरएनएको पुनर्निर्माण टास्कफोर्समा जिम्मेवारी दिइयो। लाप्राक परियोजनामा प्रमुखको अभिभारा पाएँ। लाप्राक नमूना वस्ती निर्माणमा म सक्रिय भएर लागें। अहिलेसम्म नौ पटक लाप्राक गैसकें। मेरो आर्थिक सहयोग मात्र होइन, हाम्रो कम्पनीका २० जना साथीहरू त्यहाँ स्वंयसेवक भएर खटेका छन्। त्यसैगरि एनआरएनएको केन्द्रिय भवन निर्माणका लागि एशिया क्षेत्रमा आर्थिक संकलनको जिम्मेवारी पनि पूरा गरें।

बाढी पीडितका लागि गरिएको राहत वितरणमा पनि मेरो नेतृत्वमा काम भएको छ। भारतले लगाएको अघोषित नाकाबन्दीको बेला नेपाललाई अन्तर्राष्ट्रिय समर्थन र सहयोग जुटाउन सक्रिय रुपमा काम गरियो। केन्द्रिय समितिले दिएका हरेक जिम्मेवारीलाई मैले हार्दिक रुपमा स्वीकार गरी इमान्दारीका साथ फत्ते गर्ने प्रयत्न गरिरहेको छु।

एनआरएनएमा काम गर्दै जाँदा के थाहा भयो भने हामीले यस क्षेत्रमा गर्न धेरै बाँकी छ। संस्थालाई विकास गर्दै देशलाई समृद्ध बनाउन बर्तमान कार्यसमितिले ल्याएको योजना भिजन ट्वान्टी ट्वान्टीलाई पूरा गर्न र एनआरएनएले अहिलेसम्म गरेको सबैभन्दा ठूलो लाप्राक परियोजना पूरा गर्न पनि सक्षम र इमान्दार नेतृत्व जरुरी छ। एक हजार घर बनाउने भनिएको छ। लाप्राकमा ४२७ ओटा घर बनाएपछि बाँकी अन्य क्षेत्रमा बनाउने योजना छ। केन्द्रिय भवनको निर्माण कार्य छिट्टै पूरा गर्नुछ।

वैदेशिक रोजगार कल्याणकारी कोषलाई कसरी सदुपयोग गरेर विदेशमा अलपत्र परेकाहरुलाई समयमै सहयोग पुर्याउने भन्ने बारे धेरै काम गर्नुछ। वैदेशिक रोजगारमा जानेहरुलाई निःशुल्क तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न देशमै तालिम केन्द्र बनाउनु छ।

यी बाहेक हामीले उठाउँदै आइरहेको गैरआवासीय नेपालीको नागरिकता निरन्तरताका लागि काम गर्ने र विस्तारै एनआरएनएको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोच छ। नयाँ पुस्तालाई एनआरएनए अभियानमा नजोड्दासम्म हामीले परिकल्पना गरेको सपना पूरा हुन संभव छैन। यी सबै काम पूरा गर्न महासचिव पदमा उम्मेदवारी दिएको हुँ।

(एनआरएनएका सल्लाहकार त्रिलोक (यमकुमार) गुरुङ महासचिव पदका उम्मेदवार हुन्)

 

प्रकाशित २६ असोज २०७४, बिहिबार | 2017-10-12 17:21:50

प्रतिकृया दिनुहोस

Loading...

Alpha Travel

Blog

Special

NepalKhabar Tweets