Alpha Travel

हङकङमा कर्मामाथि हमला गर्ने ६ जना प्रहरी नियन्त्रणमा

थप उपचारका लागि कर्मा पुगे थाईल्याण्ड



कर्मा गुरुङ र उनीमाथि आक्रमण भएको स्थलमा छानविन गर्दै प्रहरी
कर्मा गुरुङ र उनीमाथि आक्रमण भएको स्थलमा छानविन गर्दै प्रहरी

एनआरएनए हङकङका नव निर्वाचित उपाध्यक्ष कर्मा गुरुङमाथि सांघातिक हमला गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कर्मामाथि आक्रमण गर्नेलाई कारबाहीका लागि कुटनीतिक पहल गरिदिन आग्रह गर्न नेपाली महाबाणिज्यदूताबास पुगेका एनआरएनए हङकङका पदाधिकारीलाई महावाणिज्यदूत कमलप्रसाद भट्टराईले छ जना पक्राउ परिसकेको जनाकारी दिएका हुन्।

‘तपाईंहरु चिन्ता नलिनुहोस्, मैले आफ्नो च्यानल प्रयोग गरेर सम्बन्धित निकायसँग सहयोग माग गरेको थिएँ’, महाबाणिज्यदूत भट्टराईलाई उद्धृत गर्दै एनआरएनए हङकङका महासचिव किसन राईले भने, ‘हङकङ प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ र तिनको पहिचान गर्न छिट्टै कर्मालाई बोलाउने भनेको छ।’

हङकङको जोर्डनमा मध्यराती कर्मामाथि आक्रमण भएको भोलिपल्टै प्रहरीले ३ जना पाकिस्तानी मूलका व्यक्तिलाई पक्राउ गरेको थियो, जसमध्ये एक जनालाई निर्दोष भनि छोडिएको थियो भने २ जना धरौटीमा रिहा भएका थिए।

कर्मालाई आक्रमण गर्नेमाथि कारबाही गर्ने पहलमा नेपाली समुदायको समर्थन जुटाउन ४ अगस्टमा एनआरएनए हङकङले छलफल कार्यक्रम आयोजना गरेको थियो, जहाँ दोषिलाई समात्न सम्बन्धित निकायलाई दबाब दिन सहभागीले सुझाव दिएका थिए।

त्यसैअनुसार हङकङ प्रहरी मुख्यालय, सेक्यूरिटी ब्यूरो र नेपाली महाबाणिज्य दूताबासमा एनआरएनए हङकङले ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा कर्मा आक्रमणको घटनामा कोमल गुरुङ र विनय शाह संलग्न रहेको हुनसक्ने उल्लेख गरिएको छ।

नेपाली समाजभित्र छानविन गर्दै प्रहरी
नेपाली समुदाय र कुटनीतिक नियोगबाट दबाब परेको कारण हुनसक्छ, नेपालीका सामुदायिक मुद्दामा निष्क्रियजस्तो देखिने हङकङ प्रहरी कर्मा आक्रमणको घटनामा तातेको देखिएको छ। केहि दिनयता प्रहरीको अनुसन्धान विभागका अधिकारीहरूले नेपाली समुदायका अगुवा, व्यावसायी र सञ्चारकर्मीहरुसँग केहि व्यक्तिको तस्बिर देखाउँदै उनीहरुबारे सोधखोज गरिरहेका छन्।

केहि दिनअघि हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ र सल्लाहकार प्रदीप थापालाई प्रहरी चौकीमै बोलाएर यसरी सोधपुछ गरिएको बताइएको छ।

‘हामी तपाईंसँग केही कुरा सोधपुछ गर्न आएका हौं भन्दै केही व्यक्तिका तस्बिर देखाएपछि म त छक्क परें’, आफ्नै कार्यालयमा प्रहरी अनुसन्धानकर्मी सोधपुछ गर्न आएपछि चकित परेका एक व्यावसायी भन्छन्, ‘प्रहरीले यो मान्छे कस्तो हो, के गर्छ, कहाँ बस्छ भन्दै सोधखोज गरेका थिए।’ 

कर्मा थाईल्याण्डमा
आक्रमणपछि हङकङको मंककस्थित कोङ्वा अस्पतालमा उपचार गराइरहेका कर्मा गुरुङ १० अगस्ट, बिहिबार पनि नियमित चेकअप गर्न त्यहाँ पुगेका थिए। तर डाक्टरले ‘घाउ ठिक हुँदैछ, खासै समस्या छैन, सोमबारदेखि फिजियोथेरापी गर्न आऊ’ भनेपनि कर्मा भने त्यसैरात ‘थप उपचारका लागि’ भन्दै थाईल्याण्ड पुगेका छन्।

‘घाउ सुन्निएको छ तर हङकङमा डाक्टरले सामान्य छ भन्दै पेनकिलर दियो’, कर्माले थाईल्याण्डबाटै फोनमा भने, ‘त्यसपछि डाक्टरलाई एउटा चिठी बनाउन लगाएर थप उपचारका लागि म थाईल्याण्ड आइपुगेको छु।’

थाईल्याण्डका प्रमुख पाँच अस्पतालमध्येको थोनबरी अस्पतालमा शुक्रबार बिहान जाँच गराउँदा ‘घाउ गहिरो रहेको र हड्डी चर्किएकाले डाक्टरले अप्रेशन गर्नुपर्ने बताएको’ कर्माले सुनाए। उनको बायाँ फिलामा रहेका २ ओटा चोट सामान्य हुँदै गए पनि दायाँ कुर्कुच्चाको हड्डी चर्किएको डाक्टरले बताएका छन्। उनलाई हङकङमा ४० ओटा टाँका लगाइएको थियो।

‘मलाई डाक्टरले दुई वटा विकल्प दिएका थिए– पहिलो, प्लास्टर गर्ने र एक महिना थाईल्याण्डमै बसेर प्रत्येक हप्ता प्रगती रिपोर्ट हेर्ने। दोस्रो, एक घण्टा लाग्ने अप्रेशन गरेर फलामे स्क्रू लगाउने र एक दिनमै घर फर्कने’, कर्मा भन्छन्, ‘मैले प्लास्टर गरेर एक हप्ताको रिपोर्ट हेर्छु त्यसपछि के गर्नुपर्छ गरौंला भनेको छु, फलाम लगाउन २ लाख भाटसम्म लाग्छ भनेको छ।’

एनआरएए हङकङको चुनाव हुनु दुई दिनअघि जुलाई २१ को मध्यराती एक दर्जनको समूहमा आएका आक्रमणकारीले कर्मामाथि बोतल र चक्कु प्रहार गरेका थिए। अस्पतालमा उपचार गराइरहेको बेला उनी सर्वसम्मत रुपमा एनआरएनए हङकङको उपाध्यक्ष चुनिएका थिए।

कर्माले एनआरएनए निर्वाचन बिथोल्ने उद्देश्यले अर्को प्यानलका व्यक्तिहरूले आफुमाथि प्रहार गर्न लगाएको आरोप लगाउँदै आएका छन्।

प्रकाशित २९ साउन २०७४, आइतबार | 2017-08-13 12:09:40

प्रतिकृया दिनुहोस

Alpha Travel

Blog

  • मेरो राष्ट्रियता


    नेपालखबर हङकङले हरेक शनिबार साहित्यक रचनालाई स्थान दिन थालेको छ। कथा, निबन्ध, यात्रा संस्मरणसहित आफ्ना रचना हामीलाई पठाउन अनुरोध गर्छौँ। यो शनिबार पढ्नोस् मगेन्द्र राईको कविताः

  • तुहिएको सपना

  • नानुको मलामी म !

Special

NepalKhabar Tweets