Alpha Travel


ब्लग

हिरोइनसँग डिनर पैसाका लागि मात्र थिएन



डिनर कार्यक्रममा मन्तव्य दिँदै अभिनेत्री निशा अधिकारी
डिनर कार्यक्रममा मन्तव्य दिँदै अभिनेत्री निशा अधिकारी

च्यारिटी डिनरमा हङकङ सरकारका प्रतिनिधि र कूटनीतिक प्रतिनिधिहरुलाई निम्त्याइएकोले यसपालि पाँचतारे होटल रोजिएको थियो। मंकी हिल र ताइमोशन लगायतका डाँडामा गरिएजस्तो कार्यक्रमको प्रकृति र लक्षित समूहका हकमा त्यसो गरिनु सम्भव थिएन।

वि विल राइज फाउण्डेसनले २८ मे का दिन हङकङमा आयोजना गरेको दुई छुट्टाछुट्टै कार्यक्रमको आय–ब्यय सार्वजनिक गरेपछि सामाजिक संजालमा बिभिन्न टिकाटिप्पणी आएका छन्। यस्ता टिकाटिप्पणीले आयोजक संस्थालाई अगाडि बढ्न मार्गनिर्देश गर्ने हुनाले फाउन्डेसनले यसलाई सकारात्मक रुपमा लिएको छ। तर कतिपय टिप्पणीका अन्र्तयले भ्रम सिर्जना गर्ने हुनाले त्यस उपर केहि कुरा राख्नु पर्ने भएको छ।

हङकङमा हुने ‘च्यारिटी कार्यक्रम’ का आयव्यय विरलै मात्र सार्वजनिक गरिने परम्परालाई तोड्दै फाउण्डेसनले सुरुदेखि नै आफुले गर्दै आईरहेका कामको बहिखाता सार्वजनिक गर्दे आइरहेको छ। यसपालि सगरमाथा दिवसको छेक पारि गरिएको ‘हाइक फर नेपाल’ र ‘च्यारिटी डिनर’ कार्यक्रमको हिसाबकिताब पनि त्यसैगरि सार्वजनिक गरेको हो।

हाइकिङ र च्यारिटी डिनर दुई भिन्दाभिन्दै कार्यक्रमको कुल आय करिब ३७ लाख रुपैयाँ र व्यय करिब २७ लाख ११ हजार थियो। उठेको रकमको ठूलो हिस्सा होटल सेराटानमा आयोजित ‘च्यारिटी डिनर‘ मा खर्च भएको छ। यसै शिर्षकमाथि टिप्पणी गर्दै कतिपयले पाँचतारे होटलमा किन कार्यक्रम गरिएको होला भनि प्रश्न उठाउनु भएको छ।

कतिपय कार्यक्रममा स्थान विशेषले पनि ठूलो महत्व राख्दछ। च्यारिटी डिनरमा हङकङ सरकारका प्रतिनिधि र कूटनीतिक प्रतिनिधिहरुलाई निम्त्याइएकोले यसपालि पाँचतारे होटल रोजिएको थियो। यहाँ हुने अधिकांश नेपाली कार्यक्रम मंकी हिल र ताइमोशन लगायतका डाँडामा गरिएजस्तो कार्यक्रमको प्रकृति र लक्षित समूहका हकमा त्यसो गरिनु सम्भव थिएन।

फाउण्डेसनको आयोजना र स्थानीय करिब एकदर्जन नेपाली संघसंस्थाहरुको सक्रिय सहभागितामा आयोजित हाइकिङमा यहाँ बसोबासरत नेपालीसँगै स्थानीय चिनियाँ, फिलिपिनो, इन्डोनेशियन लगायत अमेरिका, जिम्बाम्बे, कम्बोडिया, भारत, इरान, मलेसिया, म्यानमार, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, दक्षिण अफ्रिका, थाइल्याण्ड समेत गरी दर्जनबढी मुलकका कूटनीतिक प्रतिनिधिहरुको सहभागिता थियो।

नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा गरिएकोले उसको सक्रियताका कारण पहिलोपटक ठूलो समूहमा कूटनीतिक प्रतिनिधिहरुलाई भेला गराउन सम्भव भएको हो। भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय शहरमा प्रर्वद्धन गर्न सघाउ पुर्याउने उद्देश्यसहित गत वर्षदेखि यो कार्यक्रम थालिएको हो। यसलाई अब एभरेष्ट डेको अवसर पारी प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य छ।

पर्यटन प्रर्वद्धनको मुख्य लक्ष्य र उद्देश्यसहित सुरुवात गरिएको भएता पनि यसका बहुपक्षिय पाटाहरु उजागर भएका छन्। हाइकिङमा नेपाली युवा वर्गको अत्यन्तै उत्साहजनक सहभागिता रहने गरेको छ। यिनमा अधिकांश हङकङमै जन्मे हुर्केका वा लामो समयदेखि यहाँ बसोबास गरिरहेकाहरु छन्। युवाहरुलाई आफ्नो स्वास्थ्यप्रति सजग रहन त यस्ता कार्यक्रमले सहयोग पुर्याउँछ नै। अर्कोतर्फ परदेशमा रहेपनि भावनात्मक रुपमा मातृभूमिप्रति नजिक्याउन र मनमा सेवाभाव जगाउन पनि यसले सकारात्मक भूमिका निर्वाह गरेको छ।

च्यारिटी डिनर आर्थिक संकलनका लागि मात्र गरिएको थिएन। सो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धनमा सहयोगी होस् भन्ने प्रमुख उद्देश्यप्रति लक्षित थियो। त्यसैले सगरमाथा आरोही नायिका निशा अधिकारीलाई मन्चमा उतारी नेपालमा पर्यटनको सम्भावनाबारे बोल्न लगाइएको थियो। उनको मन्तव्यले अन्र्तराष्ट्रिय पाहुनाहरु समेत प्रभावित भएका कुरा समाचारहरूमा पनि उल्लेख गरिएका छन्। यसअर्थमा फाउण्डेसनले राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदाय माझ मुलुकको शान र मान उच्च राख्न स्थानीयहरुबाटै स्रोतसाधन जुटाएर एउटा स्तरीय कार्यक्रम आयोजना मात्र गरेन थप सामाजिक कार्यका लागि केही रकम बचत पनि गर्यो।

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षका लागि पर्यटन प्रवद्र्धनका लागि भन्दै १ अर्ब १२ करोड रुपैयाँ हाराहारीको बजेट सार्वजनिक गरेको छ। यसमध्ये भारत, चीन र गल्फ मुलुकका लागि मात्र २३ करोड रुपैयाँ विनियोजन गरिएको छ। तर यसको थोरै हिस्सा पनि हङकङका लागि खर्चिएको हाम्रो जानकारीमा छैन्। फाउण्डेसनले बिना सरकारी सहयोग स्थानीयको सकृयतामा वृहत प्रर्वद्धनात्मक कार्यक्रमको आयोजना गरेर दस लाख रुपैयाँ बचत गरेको छ। उक्त रकम मुलुकको दुर्गम क्षेत्रको शिक्षामा खर्च गर्ने बताइसकिएको छ।

हङकङेली समाजमा हक्की छवि बनाएका तुलसी गुरुङको प्रमुख सकृयतामा हाइक फर नेपाल आयोजना हुँदै आएको छ। यसपालि देवराज राई, डम्बरकृष्ण श्रेष्ठ, अमोद राई, अम्बु गुरुङ, देवमान लिम्बू, सुरज गुरुङ, दिनानाथ बगाले, राजेन्द्र गुरुङ, रक्ष गुरुङ लगायत आ–आफ्ना क्षेत्रका अनुभवीहरुको साथ पाएपछि कार्यक्रमले थप उचाई लिएको हो। यसलाई सफल पार्न गैरआवासीय नेपाली संघ हङकङ, नेपाल चेम्बर अफ कमर्श हङकङ, सहारा क्लब, नेपाली महिला संघ, लालीगुराँस एसोसियसन, एचकेएनटीएन, मितेरी सेवा समिति पोखरा हङकङ, लुम्बिनी मंच लगायतको महत्वपूर्ण योगदान रह्यो।

आज यो लेख्न पाउँदा अत्यन्त गर्व महसुस हुन्छ की ‘हामी उठ्ने छौं’ अभियानको जननी हङकङ हो। ‘एक नेपाली जो जहाँ भएपनि’ भन्ने नाराका साथ सुरु भएको यो अभियान स्वदेश एवं विदेशमा रहेका नेपालीहरूबीच एक आपसमा सुमधुर साइनो कायम राख्ने माध्यम हो। राष्ट्र निर्माणका लागि हातेमालो हो। राष्ट्रिय समुन्नतिको सकारात्मक सोच भएका नेपालीहरूबीच विश्वव्यापी सञ्जाल बनाउने अभियान हो। महाभूकम्पले जन्माएको यो अभियानले पछिल्लोसमय आफ्नो दायरा फराकिलो बनाउँदै अघि बढिरहेको छ।

त्यही सम्बन्ध, सञ्जाल र भावनाको उपयोगबाट देशलाई परेको बेला भरथेग हुन सकोस् भन्ने अभियानको लक्ष्य हो। अझ भन्नुपर्दा देश निर्माणको भावना जगाउने/जगाइदिने प्रयास हो। त्यसबाट व्यक्ति, समुदाय वा राष्ट्रलाई अधिकतम लाभ पुग्न सकोस् भन्ने ध्येय हो। यो कुनै पेशागत, जातीय, वर्गीय वा राजनीतिक संगठन नभएर केवल संसारभर छरिएर रहेका नेपाली मनहरूलाई जोड्न बनेको नेपालमा दर्ता गैरसरकारी संस्था हो।

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 09:03:35
author photo

निर्मल श्रेष्ठ वि विल राइज फाउण्डेसनका निर्देशक हुन्

प्रतिकृया दिनुहोस

Loading...

Alpha Travel

Condolence

Blog

Special

NepalKhabar Tweets