Alpha Travel

भिडियो– ‘शिक्षक भएकाले मलाई सगरमाथा चढ्न ऋण लिन सजिलो भयो’

हङकङकी पहिलो महिला सगरमाथा आरोही भन्छिन्– शेर्पाको पछि लाग्दै चुचुरोमा पुगेँ



शेर्पाहरुको सहयोगबिना सगरमाथा आरोहण सम्भव नै छैन। ९० प्रतिशत काम तिनले नै गर्छन्। म त उनीहरुले भनेको अनुसरण गर्दै सँगै हिँडेको मात्र हुँ।

माध्यमिक स्कुलको शिक्षक भएतापनि मलाई आउटडोर स्पोर्टसमा रुचि थियो। साइक्लिङ, स्विमिङ, दौड र पहाड चढ्ने जस्ता खेलमा रमाउने गर्थेँ। हिमाल आरोहणमा पनि मेरो चाख थियो, त्यसैले मैले बिस्तारै हिमाल आरोहण पनि सुरु गरेँ।

सानोमा पुस्तक पढेर मैले विश्वको सर्वोच्च शिखर सगरमाथाबारे जानकारी प्राप्त गरेकी थिएँ। सन २००९ मा तिब्बतको सिन्ज्याङ हिमाल चढ्दा पहिलो पटक मैले सगरमाथा देखेँ। सगरमाथा मेरै आँखाको सामुन्ने उभिएको थियो। त्यतिबेला मनमा यो हिमाल चढ्ने लालसा जागेर आयो। सन २०१० मा सगरमाथा चढने सपना बुनेँ र त्यसैलाई लक्ष्य बनाएँ।

कसैले प्रसिद्धिको लागि कसैले आत्मिक सन्तुष्टि र कसैले सौखको लागि सगरमाथा आरोहण गर्छन्। मलाई चाहिँ यी कुराले तानेको होइन। मलाई थाहा थियो, सगरमाथा चढ्नु सजिलो छँदैछैन। तर म जसरी पनि यो चुचुरोमा पुग्न चाहन्थेँ।

म विद्यार्थीलाई सँधै भन्ने गर्थेँ, ‘तिम्रो सपना पूरा गर्न सजिलो हुँदैन, बाटामा अनेक समस्याहरु आउँछन् तर हार नमानी निरन्तर प्रयास गर्नुपर्छ।’ मैले त्यही गरेँ।

जतिबेला म आरोहणको योजनामा काम गर्दैथिएँ, त्यतिबेला सगरमाथा आरोहण मेरा लागि सबैभन्दा गाह्रो काम हो भन्नेबाहेक अरु केही दिमागमा थिएन।

भिडियो वार्ता यहाँ हेर्न सकिन्छ

२०१५ मा सगरमाथा चढ्ने योजना बनाएपछि शारिरीक अभ्यासमा लागेँ। मलाई थाहा थियो, सगरमाथा आरोहणका लागि शारीरिक रुपले असाध्यै बलियो र हिमाल चढ्ने कलामा पारंगत हुनु जरुरी छ। त्यसका लागि कडा मेहनत गर्न थालेँ।

म दैनिक १० घन्टाभन्दा बढी दौडिन थालेँ। चीनमा गएर आइस क्लाइम्बिङ र रक क्लाइम्बिङ तालिम लिन थालेँ। फरक–फरक मौसम र पहाडमा उक्लने अभ्यास गरेँ। किनकि सगरमाथा चढ्दा कस्तो मौसम हुन्छ, अनुमान लगाउन सकिँदैनथ्यो। मलाई हरेक मौसममा फिट हुनेगरी तयारी गर्नु जरुरी थियो।

यी सब तयारीका साथसाथै सगरमाथा चढ्न ठूलो धनराशी पनि चाहिन्थ्यो। मेरो आर्थिक हैसियत त्यस्तो थिएन। त्यसका लागि मैले २०१४ मा बैंकबाट ऋण लिएँ। म शिक्षक भएकोले ऋण तिर्न अरुलाई भन्दा सजिलो हुने हुनाले त्यसो गरेकी थिएँ। तर पछि यसबारे मिडियामा खबर आएपछि एकजना दयालुले मैले लिएको सबै लोन तिरिदिए।

कसैले मलाई सोधे, ‘तलाई थाहा छ हङकङबाट सगरमाथा चढ्ने तँ पहिलो महिला होस्?’ मलाई यसबारे त्यसबखत थाहा थिएन, पछि जानकारी भयो। हङकङको पहिलो महिला आरोही भए पनि त्यस्तो महसुस भएन। किनकि हरेक दिन हङकङका महिलाहरुले केही न केही विषयमा रेकर्ड राखिरहेकै हुन्छन्। म यसअघि ७ हजार मिटर उचाइका हिमाल थुप्रै पटक चढिसकेको हुनाले मेरा मित्रहरु पनि सगरमाथा आरोहणले त्यति आश्चर्यचकित भएनन्।

२१ मे २०१७ को बिहान ८ बजेको हुँदो हो, हामी सगरमाथाको चुचुरोमा थियौँ। यसो किन भनिरहेकी छु भने त्यतिबेला मैले घडी हेरिनँ। त्यहाँ बसिरहनु म र मेरो शेर्पाको लागि उच्च जोखिम थियो। जतिबेला जे पनि हुन सक्थ्यो। त्यसैले जति सक्दो तल सेल्टरमा झर्नु थियो। मैले केही तस्वीर खिचेँ र शेर्पासँग फर्किहालेँ।

त्यसबेला मेरो दिमाग शून्य अवस्थामा थियो। समय हेर्ने ख्याल मेरो दिमागमै आएन। तर अहिले भिडियो फुटेजहरु हेर्दा १० मिनेट जति चुचुरोमा बसिएको रहेछ। चढ्नभन्दा झर्न सजिलो भनिन्छ। तर मेरो चाहिँ झर्दै गर्दा मुटुको धडकन अझ तीव्र भएको थियो।

तेन्जिङ शेर्पा र एडमण्ड हिलारीको समयमा भन्दा अहिले सगरमाथा चढ्न धेरै सजिलो छ। यतिखेर हामीसँग पर्याप्त सूचना छ। मौसमबारे पहिले नै थाहा हुन्छ। प्रविधिहरु उन्नत भएका छन्। बाटो स्पष्ट थाहा हुन्छ। तालिम र अनुभव पनि पर्याप्त छ। मुख्य कुरो राम्रा र अनुभवी गाइडहरु छन्। मैले शेर्पाको सहयोगमा सगरमाथा चढेँ।

शेर्पाहरुको सहयोगबिना सगरमाथा आरोहण सम्भव नै छैन। सबै सामान तिनैले बोकिदिन्छन्। बाटो तिनैले देखाउँछन्। के गर्ने के नगर्ने तिनैले निर्देशन गर्छन्। ९० प्रतिशत काम तिनले नै गर्छन्। म त उनीहरुले भनेको अनुसरण गर्दै सँगै हिँडेको मात्र हुँ। अरु सबै तिनले गरिदिएका हुन्। शेर्पाहरुको सहयोगबिना मेरो सगरमाथा आरोहण लक्ष्य पूरा हुने थिएन। म उनीहरुको सहयोगका लागि कृतज्ञ छु।

प्रकाशित ३ असार २०७४, शनिबार | 2017-06-17 12:19:07

प्रतिकृया दिनुहोस

Alpha Travel

Blog

  • मेरो राष्ट्रियता


    नेपालखबर हङकङले हरेक शनिबार साहित्यक रचनालाई स्थान दिन थालेको छ। कथा, निबन्ध, यात्रा संस्मरणसहित आफ्ना रचना हामीलाई पठाउन अनुरोध गर्छौँ। यो शनिबार पढ्नोस् मगेन्द्र राईको कविताः

  • तुहिएको सपना

  • नानुको मलामी म !

Special

NepalKhabar Tweets