हङकङमा किन सुत्या–सुत्यै भए भवीसरा र कल्पना



हङकङमा अज्ञात रोगले हालै ज्यान गुमाएका भवीसरा पुन र कल्पना गुरुङ
हङकङमा अज्ञात रोगले हालै ज्यान गुमाएका भवीसरा पुन र कल्पना गुरुङ

न ज्वरो छ, न रुघाखोकी। हेर्दा हठ्ठाकठ्ठा तन्नेरी छ। रोग केही लाग्या छैन। खाना खाएर राती बिस्तरामा पल्टेको मान्छे बिहान हेर्दा निस्तेज छ। हङकङमा केहि वर्षयता ‘सुत्या–सुत्यै’ हुने रोगले नेपाली समुदायमा ठूलो आतंक सिर्जना गरेको छ।

पछिल्लो समय यो रोगको शिकार भवीसरा (देवी) पुन बनिन्। २८ डिसेम्बर राती खाना खाएर स्वस्थ रुपमा बिस्तरामा पुगेकि पुन ‘सुत्या-सुत्यै’ भइन। श्रीमानको भनाइमा उनी शौचालयबाट फर्कंदा भवीसरा छटपटाएको देखेपछि अस्पताल दौडाएका थिए। तर डाक्टरले ढिलो ल्याइपुर्याएको भन्दै मृत घोषित गरे। भवीसराका अहिलेका श्रीमान्बाट ६ वर्षीय छोरी हङकङमै छिन् भने पहिलोबाट एक छोरा र छोरी नेपालमा छन्।

नेपाली लगायत दक्षिण एशियाली जातिका स्वास्थ्यबारे काम गरिरहेका यानचाई अस्पताल चुनवानका वरिष्ठ सर्जन तथा ‘हेल्थ इन एक्सन’ का अध्यक्ष डा.फान निङ् भन्छन्, ‘सुत्या-सुत्यै हुनुका बिभिन्न कारण हुन्छन् तर रोगका केही लक्षण नदेखिइ मारिनुका पछाडि हृदयघात प्रमुख कारण हुनसक्छ।’

११ डिसेम्बर राती मुटु रोगका कारण ३५ वर्षीय कल्पना गुरुङ पनि सुत्या–सुत्यै भइन। कल्पनालाई उच्च रक्तचापको समस्या रहेकाले डाक्टरले खानपानमा ध्यान दिन सुझाव दिइरहेका थिए। निर्माण क्षेत्रमा काम गरेर फर्केकी कल्पनालाई अप्ठेरो महसुस भएपछि अस्पताल भर्ना गरिएको थियो। केही दिन डाक्टरको सुपरिवेक्षणमा बसेकी उनलाई डाक्टरले ‘तिमी ठिक भयौै, भोली घर जान सक्छौ’ भनेका थिए। तर डिस्चार्ज हुने दिन नै कल्पना सुत्यासुत्यै भइन।

कल्पनाका आफन्तहरुका भनाइमा उनले खानपानमा डाक्टरको सुझाव पछ्याइरहेकी थिइनन्। निर्माण क्षेत्रमा ‘ओभर टाइम’ मजदुरी गर्ने भएकाले सुताई राम्रो हुन पाउँथेन।

नौ वर्षीय छोरा र लोग्नेलाई छाडेर गएकी भवीसरा र कल्पनाजस्ता अकालमा मृत्युको मुखमा पुगेका हङकङका नेपालीको यकिन तथ्याङक त छैन, तर यो डरलाग्दो क्रम बढिरहेको छ। अनुमान के छ भने, गएको दुई वर्षमा मात्र एक दर्जनभन्दा बढी नेपाली अल्पायुमै ‘सुत्या-सुत्यै’ भएका छन्। कल्पना गएको एक साताकै अन्तरालमा उनकै उमेरका म्याग्दीका एक युवाको निमोनियाबाट मृत्यु भयो। निर्माण क्षेत्रमै काम गर्ने म्याग्दीका उमेश पुन (नाम परिवर्तन) पनि निमोनिया भएपछि उपचार गराउन हङकङ र नेपालका अस्पताल धाइरहेका थिए।

ज्यानमारा १० रोग
हङकङमा केही वर्षयता फैलिरहेको ज्यानमारा रोगले स्थानीय चिनियाँ मात्र हैन नेपालीहरुको पनि शिकार गरिरहेको छ। अस्वस्थ खानपान, शारिरीक रुपमा निष्क्रिय जिवनशैली (बढी समय काम गर्ने, कम सुत्ने, मद्यपान र धुम्रपान गर्ने, फास्टफुड बढी खाने) र बढ्दो जनसंख्या तथा प्रदुषणका कारण उत्पन्न भएको भनिएका ज्यानमारा रोगले विश्वकै राम्रो स्वास्थ्य स्थिति रहेको हङकङलाई चुनौती दिइरहेको छ।

हेल्थ डिपार्टमेन्ट अफ हङकङको रेकर्ड हेर्ने हो भने, सन् २००३ मा ३१ हजार १ जनाको मृत्यू भएकोमा सन् २०१३ मा त्यो संख्या बढेर ३६ हजार ५ सय ५२ मा उक्लिएको छ। यो दश वर्षमा जनसंख्याको चाप पनि त्यही अनुपातमा बढेको छ। २००३ मा हङकङको जनसंख्या ६.८ मिलियन थियो भने पछिल्लो जनगणनामा ७.२५ मिलियन पुगेको देखिन्छ। यही एक दशकमा नयाँ रोगका कारण थप १८ प्रतिशत मानिसको मृत्यु भएको छ। शीर्ष १० ओटा ती रोगलाई ज्यानमारा रोग नामाकरण गरिएको छ। संयोग के भने, नेपालीहरुको समूहगत हङकङ आगमन पनि यही दशकमा बढी भएको देखिन्छ। बेलायती सेनाको हैसियतमा चालीसको दशकमै आगमन प्रारम्भ भइसकेको नेपालीहरुको हङकङ बसोबास सन् १९९७ पछि मात्र बाक्लिएको हो। यो संख्या बढेर अहिले ३० हजार पुगेको विश्वास गरिन्छ।

हङकङमा क्यान्सरले सबैभन्दा बढी ज्यान लिने गरेको छ। एक दशक अघिसम्म केहि मान्छेमात्र क्यान्सरका कारण मर्दथे। अहिले ४० प्रतिशत मृत्युको कारण क्यान्सर बनेको छ। २००३ देखि २०१० को अवधिमा क्यान्सरबाट मर्नेको संख्या २६ प्रतिशतले बढेको थियो। अहिले यो १७ प्रतिशतमा झरेको छ। २०१३ मा १३ हजार ५ सय ३८ जना यो रोगका कारण मरेका छन्।

दोस्रो ज्यानमारा रोग निमोनियाले २०१३ मा छ हजार ७२२ जनाको ज्यान लियो। कुनैबेला तेस्रो डरलाग्दो रोगको रुपमा रहेको छातीको संक्रमण (निमोनिया) अहिले दोस्रोमा उक्लिएको छ। निमोनियापछि मुटु रोग तेस्रोमा छ। २०१३ मा यो रोगबाट १ हजार जना मरेका थिए। गएको दशक भन्दा चार गुणाले बढी हो यो। त्यसपछि मस्तिष्क घातले मर्नेहरुको संख्या बढिरहेको छ। यो चौथौ ज्यानमारा रोग मानिन्छ। नेपालीलाई बढी भएको ठानिएको उच्च रक्तचाप र मुटु रोगसँग यसको खास सम्बन्ध रहेको ठानिन्छ। सुत्यासुत्यै हुनुको मुख्य कारण यही रोगलाई मानिएको छ।

नेपालीहरुलाई बढी भएको भनिएको अर्का रोग मधुमेह (डायबिटिज) पनि शीर्ष दश रोगमा पर्छ। मधुमेह आफैमा रोग नभइ ‘अवस्था’ भएपनि यसले समातेपछि आँखा, मुटु, कलेजो जस्ता संवेदनशील अंगमा प्रहार गरी ती अंग ध्वस्त बनाइदिने हुनाले खतरनाक मानिन्छ। दशौं नम्बरमा रहेको यो ज्यानमारा रोगले २००३ मा ७ सय ८३ जनाको ज्यान लिएको थियो भने २०१३ मा घटेर त्यो संख्या ३ सय ५६ मा झरेको छ। माथिका ४ वटा रोगले हङकङका नेपालीलाई बढी प्रभावित पारेको विश्वास गरिन्छ। यसमध्ये पनि उच्च रक्तचापले नेपाली सबैभन्दा बढी पीडित हुन पुगेका छन्।

जीवनशैली र मुटुरोग
ब्रिटिश हेल्थ फाउन्डेसनको ‘जाति र मुटुरोगबीच सम्बन्ध’ रिपोर्टमा उल्लेख भए अनुसार दक्षिण एशियाली समुदायलाई मुटु रोगको संभावना बढी हुने गर्दछ, जुन रोगले हृदयघात समेत निम्त्याउन सक्छ। पुस्तैनी रुपमा यस्तो ‘जोन’ मा बाँचिरहेका नेपालीको अस्वस्थ जीवन शैली झन् रोग निम्त्याउने कारक बनिदिन्छ। हङकङमा नेपाली लगायत दक्षिण एशियाली समुदायमाथि भएका अध्ययनले तिनको स्वास्थ्य अवस्था राम्रो देखाएको छैन।

‘नेपाली लगायत दक्षिण एशियाली समुदाय तेल, मर–मसला र खुर्सानी बढी हालेका खाना खान्छन्। मद्यपान बेसी गर्छन। कसरत गर्दैनन। त्यसैले यीनलाई मोटोपन, मधुमेह र उच्च रक्तचापको खतरा बढी छ’, डा. फान निङ् भन्छन, ‘यकिन तथ्यांङक छैन तर हामी के विश्वास गर्छौं भने खानपान र रहनसहनमा लापरवाह रहेका कारण हङकङमा बस्ने दक्षिण एशियाली समुदायमाझ यो रोग बढी फैलिएको हुनुपर्छ।’

हङकङमा बस्ने मात्र होइन, नेपालमै बस्ने नेपालीमा पनि यो रोग बढी भेटिएको फानको अनुभव छ। यानचाई अस्पताल चुनवानका सर्जन डा. फान त्यतिबेला छक्क परे जतिबेला तुलनात्मक रुपमा स्वस्थ हावापानी भएको मानिएको खुम्बु क्षेत्रका बहुसंख्यक मान्छेलाई मधुमेह र उच्च रक्तचाप लागेको भेटे। गतवर्ष भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा लिएर जाने क्रममा डा. फानको नेतृत्वमा हङकङबाट खुम्बु क्षेत्रमा गएको टोलीले त्यस भेगमा स्वास्थ्य जाँच गर्दा अधिकांशलाई यी दुई रोग लागेको भेटेको थियो। तीमध्ये बहुसंख्यक महिला यी रोगबाट पीडित थिए।

‘भूकम्पपछि मेरो नेतृत्वमा खुम्बु क्षेत्रका जनतामाझ ६ महिना भन्दा बढी समय काम गर्दा त्यहाँका मानिसमा खानपान र रहनसहनका कारण यो रोग लागेको थाहा पाएँ’, फान निङ् भन्छन्, ‘नेपालीहरु दुध हालेको चिया खुब मन पराउँछन्। त्यहाँ मैले दैनिक ८ कप चिया पिएको पनि देखेँ। एक कपमा ३ चम्चासम्म चिनी हाल्छन्। त्यसमाथि उनीहरु शारिरीक अभ्यास पनि गर्दैनन्। मलाई त्यहाँका डाक्टरले स्वस्थ जीवन शैलीबारे सम्झाइदिन अनुरोध गर्थे।’

सोचले बेसाएको रोग
हामी अधिकांश नेपालीलाई के भ्रम छ भने, पहाड पखेरा हिंड्दा र शारिरीक श्रम गर्दा स्वस्थ भइन्छ र रोग लाग्दैन। तर डा. फानका अनुसार यो धारणा वैज्ञानिक छैन। यदि यो धारणा सही हो भनेर मान्ने हो भने निर्माण क्षेत्रमा कडा मेहनत गर्ने हङकङका ८० प्रतिशत नेपाली श्रमिकहरु सबैभन्दा बढी स्वस्थ हुन्थे। तर उनीहरु नै बढी अल्पायुमै ‘सुत्या-सुत्यै’ भैरहेका छन्। मोटोपन, मधुमेह र उच्च रक्तचापले उनीहरू नै बढी आक्रान्त छन्। यी रोगले हृदयघाततर्फ लैजान्छ। बलको काम गर्नुको अर्थ कसरत गर्नु होइन, त्यो शक्ति प्रयोग गरेको मात्र हो। बलको काम गर्दा तनाव हुन्छ। कसरत भनेको तनाव रहित भएर शरिरको सबै भागमा रक्त संचार गराउन गरिने व्यवस्थित कर्म हो।

हङकङका नेपालीलाई यो यथार्थ बुझाउन फानलाई समेत ठूलो सास्ती छ। आफुकहाँ आउने नेपाली विरामीहरुलाई खानपानमा ध्यान दिन र कसरत गर्न सुझाव दिँदा कतिपयको जवाफ माथिको गलत धारणामा आधारित हुने फान बताउँछन्। ‘तेल र पिरोले रोगसँग लड्ने क्षमता बढाउँछ, रक्सी पिउने हाम्रो संस्कृति भएकाले छाड्न सक्दैनौँ’, नेपाली विरामीका भनाइ उद्धृत गर्दै फान भन्छन्, ‘हामीलाई कसरत पनि गर्नु पर्दैन, किनकी हामी निर्माण क्षेत्रमा दिनहुँ १२ घन्टा काम गर्छौँ।’

कतिपय चिनियाँ परिकारमा पनि बढी गुलियो र धेरै मर–मसला हालिएको हुन्छ तर चिनियाँहरू स्वास्थ्यप्रति संवेदनशील भएको आफुले पाएको फानको अनुभव छ। तेल, चिनी, मर–मसला र पिरो कम राखेर आफ्नै संस्कृति र परम्परामा आधारित परिकार बनाउन सकिने सुझाव दिन्छन् फान। ‘एकैचोटी घटाउन सकिँदैन तर विस्तारै बानी पार्न असम्भव छैन। त्यसलाई पचाउन मज्जाले कसरत गर्नुपर्छ’, उनी भन्छन्।

रोग लागेपछि अस्पताल पुग्नुपर्छ भन्ने सोच राख्ने नेपालीलाई ७० प्रतिशत रोग खानपानका कारण लाग्छ भन्ने ज्ञान नै नभएको उनी बताउँछन्। कसरतबारे उनी भन्छन्, ‘३० प्रतिशत रोग शारिरीक अभ्यासले नियन्त्रण गर्न सकिन्छ तर सडक र चौरमा हिंडडुल गर्दैमा स्वस्थ भइँदैन। दैनिक कम्तिमा आधा घन्टा कसरत गर्नुपर्छ। दौडने, पौडने, फुटबल, ब्याडमिन्टन खेल्ने जस्ता कर्मले शारिरीक अभ्यास हुन्छ।’

अस्वस्थ जीवन शैलीले रोगीहरु बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले तीन वटा रोग मधुमेह, मोटोपन र उच्च रक्तचापमा विशेष ध्यान दिन सचेत गराएको् छ। डा. फानको भनाइमा हङकङमा ६ मध्ये १ जनालाई उच्च रक्तचापको समस्या छ तर यो रोग लागेकामध्ये आधा मानिसलाई उच्च रक्तचापको विरामी छु भन्ने थाहै हुँदैन। डा. फान भन्छन्, ‘धेरै सोच्नै पर्दैन, खानपान र जीवन शैलीमा सुधार गर्नुभयो भने खतरनाक रोगहरुबाट धेरै बच्न सकिन्छ।’

डा. फान भन्छन्, ‘स्वस्थ बनौँ दुनियाँ आफै ठीक हुन्छ’

मान्छेको स्वास्थ्यमा खानपानले महत्वपूर्ण भूमिका खेल्छ। हामीले जीवनशैली परिवर्तन गर्नुपर्छ– ‘नो फ्याट, नो सुगर, नो ओयल’ मा जानुपर्छ। कामपछि प्रशस्त आराम गर्नुपर्छ। कसरत गर्न बिर्सनु भएन। प्रत्येक दिन ३० मिनेट कसत गर्नुपर्छ। समय नभए भर्याङबाट तल माथि गरेपनि नहुनु भन्दा केही हुन्छ। हाइकिङ राम्रो कसरत हो। तर नजिकै पहाड नभएकाले प्रत्येक दिन हाइकिङ सम्भव छैन। साताको एक दिन हाइकिङ गरेर पुग्दैन। त्यसैले सरकारले बनाइदिएको पार्क र कसरत गर्ने थलोको धेरै फाइदा उठाऔँ। बास्केटबल चौरमा दौडिए पनि हुन्छ।

मेरा विरामीहरू जगिङलाई पनि कसरत मान्छन्। केही गृहिणी मैले घरमा झाडु पोछा लगाएको छु, भाँडा माझेको छु कसरत भएन र भन्छन्। वृद्धहरु पार्कमा गएर जगिङ गरेँ, हातगोडा हल्लाएँ भन्छन्। त्यतिले पुग्दैन। कसरत गरेपछि मज्जाले स्वास फेर्न सक्नु पर्यो। बढी अक्सिजन लिनु पर्यो। मेहनत गरी पसीना बगाउनु पर्यो। नियमित रनिङ, स्विमिङ, फुटबल, ब्याडमिन्टन खेल्नु पर्यो।

निर्माण सम्बन्धी काम गरेर बेलुकी धुम्रपान, मद्यपान र मोटोपना बढाउने खाना लिने र निद्रा नपुर्याउने जीवनशैलीले नेपालीहरुलाई अस्वस्थ बनाइरहेको छ। अकस्मात मृत्युका बिभिन्न कारणहरु हुन्छन्। बलिया देखिने युवाहरू, जसलाई कुनै संक्रमण छैन तर सुतेको वा बसिरहेको बेला तिनको अकस्मात मृत्यु हुन्छ भने त्यसका पछाडि हृदयघाट कारण हुनसक्ने संभावना प्रवल हुन्छ। हङकङमा यसरी यसरी मृत्यु हुनेमा चिनियाँहरू पनि कम छैनन।

चुरोट एकैचोटी छाड्नोस भन्दिन तर बिस्तारै बिस्तारै कम गर्न सकिन्छ। हङकङमा तनावका कारण डाक्टरले पनि चुरोट तान्छन् (हाँस्दै)। तर यसले बिभिन्न खाले क्यान्सर निम्त्याउँछ। क्यान्सर नभए पनि फोक्सो खराब भएपछि तपाईं काम गर्न सक्नुहुन्न। मादक पदार्थ पनि त्यसरी नै नियन्त्रण गर्नुपर्यो। रक्सीले झगडा हुने, दुर्घटना हुने र परिवार र साथी भाँडिएका उदाहरण छन्। लामो समय मादक पदार्थ सेवन गर्नेलाई पनि क्यान्सर लाग्छ।

तपाईं एकैचोटी बानी सुधार्न सक्नुहुन्न, तर बिस्तारै कम गर्दे जान सकिन्छ। पहिला आफुलाई तयार गर्नोस् र लक्ष्य निर्धारण गरी अभ्यास गर्न थाल्नोस्। एक महिनामा २ पाउन्ड तौल घटाउँछु भनेर लाग्नोस्। तपाईं के बन्ने तपाईंकै हातमा छ। मेहनत गरी आत्मअनुशासनमा बसे केही महिनामै देखिने गरी बलियो र निरोगी भइन्छ। हैन ठिकै छ भनेर हेलचेक्र्याइँ गर्नुहुन्छ भने रोगले थिच्दै लग्छ र थला पार्छ।

स्वास्थ्य तिम्रो व्यक्तिगत मुद्दा हैन यो त पारिवारिक मुद्दा हो। तपाईं स्वस्थ भए कमाएर परिवार पाल्न सक्नुहुन्छ। स्वस्थ रहन शरिरका मेसिनहरूले राम्ररी काम गर्नुपर्छ। मेसिन स्वस्थ राख्न खानपान र रहनसहनमा अनुशासित हुनुपर्छ। मान्छे स्वस्थ भएपछि दिमाग स्वस्थ हुन्छ। दिमाग स्वस्थ छ भने व्यक्ति र परिवार खुशी हुन्छन्। अनि संसार आफै ठीक हुन्छ।

डा. फानसँग अन्तर्वार्ताको भिडियो हेर्नुस् 

प्रकाशित १७ पुस २०७३, आइतबार | 2017-01-01 18:13:27
author photo

जेवी पुन मगर नेपालखबर हङकङ सम्पादक हुन्


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...