हुवावेका कर्मचारी जासुसीको आरोपमा पोल्याण्डमा पक्राउ

पोल्याण्डमा चिनियाँ कम्पनी हुवावेका एक कर्मचारी जासुसी गरेको आरोपमा पक्राउ परेका छन्। उनीसँगै एक पोल्याण्डकै नागरिक पनि जासुसीको आरोपमा पक्राउ परेको रोयटर्सले जनाएको छ।

क्यानडामा हुवावे कम्पनीकी वित्तीय प्रमुख मेङ्ग वान्जु प्रहरीको नियन्त्रणमै रहँदा सोही कम्पनीका कर्मचारी जासुसीको आरोपमा पक्राउ परेपछि हुवावेलाई झड्का लागेको छ।

अमेरिकाको आग्रहमा वान्जुलाई क्यानडाले गत डिसेम्बरमा नियन्त्रणमा लिएको हो। अमेरिकाले हुवावे कम्पनीले इरानमाथि लगाएको प्रतिबन्ध तोडेका कारण सोही अनुसन्धानका लागि वान्जुलाई पक्राउ गर्न लगाएको जनाएको छ।

अमेरिका लगायत पश्चिमा देशहरुले हुवावे कम्पनीको मोबाइलबाट जासुसी हुने खतरा रहेको यसअघि जनाउँदै आएको थियो। सोही क्रममा हुवावेका कर्मचारी पोल्याण्डामा जासुस रहेको आरोपमा पक्राउ परेका हुन्।

हुवावेले फाइभ–जी सन्चार प्रणाली विस्तारमा तिव्रता दिइरहँदा यी घटनाहरु घटेका छन्। यसले हुवावेलाई फाइभ–जी विस्तारमा नोक्सानी हुने अनुमान लगाइएको छ।

पोल्याण्ड विशेष सेवाका कार्यकारी प्रमुख म्याकेज वासिकले भने,‘पक्राउ परेका चिनियाँ नागरिक हुवावेका कर्मचारी हुन्। उनी पोल्याण्डमा विद्युतीय कम्पनीका उद्यमी पनि हुन्।’ चिनियाँ नागरिकमाथि अनुसन्धान थालिएको छ।

पक्राउ परेका पोल्याण्डका नागरिकका बारेमा भने केही खुलाइएको छैन।

 यो पनिl

हुवावे उपप्रमुखलाई पक्रन अमेरिकाले किन क्यानडालाई दियो निर्देशन?

प्रकाशित 2019-01-11 16:52:50