मविरुद्ध महाअभियोग दर्ता भए सबै अमेरिकी गरिब हुने छन्ः ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक छविमा खोट लाग्न थालेपछि रिपब्लिकन पार्टीकै नेताहरु उनीसँग रुष्ट बनेका छन्। यसले अमेरिकामा अहिले ट्रम्पविरुद्ध महाअभियोग लाग्न सक्ने आशंका उत्पन्न भएको छ।

विशेषगरी ट्रम्पले दुई महिलालाई राष्ट्रपति निर्वाचनको समयमा चुनावी कानुन मिचेर रकम भुक्तानी दिएको विषयले त्यहाँको अवस्था यतिबेला निकै गम्भीर बनेको छ।

रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेर २०१६ नोभेम्बर ८ मा सम्पन्न चुनावमा उनी राष्ट्रपतिमा विजयी भएका थिए। खर्बपति व्यापारी ट्रम्प विभिन्न कारणले सधैँ विवादमा रहँदै आएका छन्। अमेरिकाभित्र उनको छवि राष्ट्रवादी नेताका रुपमा छ।

अमेरिकाको ४५ औँ राष्ट्रपतिका रुपमा सन् २०१७ जनवरी २० बाट उनको कार्यकाल शुरु भएको हो। त्यसलगत्तै उनले निर्वाचनमा गरेका वाचा अनुसार छिमेकी मुलुक मेक्सिकोसँगको सीमानामा अग्ला पर्खाल लगाउने तथा आप्रवासी नीति कडा पार्दै लगेका छन्। विशेषगरी उनले मुस्लिम समुदायलाई अमेरिका प्रवेशमा कडाइ गर्ने योजना ल्याएका छन्, जसले त्यसले उनको लोकप्रियता बढाएको पनि छ।

डोनाल्ड ट्रम्प(बायाँ) र किम जोङ उन।

डोनाल्ड ट्रम्प(बायाँ) र किम जोङ उन।

ट्रम्पको करिब डेढ वर्षे कार्यकालमा सबैभन्दा उल्लेखनीय घटना उत्तर कोरियासँगको सम्बन्ध सुधारको प्रयास हो। उत्तर कोरियाली नेता किम जोङ उनसँग उनको वार्ता सफल रह्यो।

सन् १९५० को कोरियाली गृहयुद्धमा अमेरिकी संलग्नतापछि अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध बिग्रिएको थियो। त्यसक्रममा अमेरिकाले दक्षिण कोरियाको समर्थन गर्दै आएको छ।

विशेषगरी उत्तर कोरियाले बेला बखत गर्ने क्षेप्यास्त्र र परमाणु परीक्षणका कारण अमेरिका र उत्तर कोरियाबीच टकराब थियो। तर यसै वर्षको जुन १२ मा दक्षिण कोरियाको संयोजनमा ६८ वर्षमा पहिलो पटक अमेरिकी तथा उत्तर कोरियाली उच्च-स्तरीय प्रतिनिधिबीच द्वन्द्व अन्त्यगर्ने विषयमा सकारात्मक छलफल हुन सक्यो।

त्यसक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच भेट भयो र यतिबेला द्वन्द्व लगभग साम्य भएको अवस्था रहेको छ।

ट्रम्पसँग रुष्ट अमेरिकी  
तर यति हुँदाहुँदै पनि ट्रम्प सरकारविरुद्ध अमेरिकीहरु रुष्ट छन्। अमेरिकी नागरिक, विपक्षी पार्टीदेखि आफ्नै रिपब्लिकन पार्टीका नेताहरु पनि उनीसँग यति धेरै निराश देखिन्छन् कि, त्यही कारण ट्रम्पलाई महाअभियोग लाग्छ वा लाग्दैन भन्ने बहस सुरु भएको छ।

ट्रम्प प्रशासनले सन् २०१७ जुन १ मा ओबामा सरकारले सन् २०१५ मा गरेको जलवायु परिवर्तन न्युनिकरण गर्ने पेरिस सम्झौताबाट हात झिक्यो। विश्वलाई प्राकृतिक विपत्ति, जलवायु परिवर्तनको जोखिमबाट बचाउने अभियानबाट अमेरिकाले हात झिकेपछि विश्वभरबाट ट्रम्पको आलोचना भएको थियो। यसको उग्र विरोध नागरिक समाजदेखि डेमोक्रेटिक पार्टीले गरेको थियो।

ट्रम्पले बारम्बार अमेरिकी सञ्चार माध्यमहरुलाई निशाना बनाउँदै आएका छन्, उनी आलोचित हुनुको एउटा कारण यो पनि हो। ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचन जितेयता सञ्चारजगतको आलोचना गर्दै आएका छन्।

उनले समाचारलाई ‘अपवाह फैलाउने खबर’ भन्दै आएका छन् भने पत्रकारलाई ‘नागरिकको शत्रु’ करार गरेका छन्। ट्रम्पले कैयौँ पटक केबल न्यूज नेटवर्क (सिएनएन) का पत्रकारलाई ह्वाइट हाउसमा रिपोर्टिङ निषेधसमेत गरेका थिए। उनले सिएनएनलाई निर्वाचन ताका केबल न्यूज नेटवर्क नभर्इ क्लिन्टन न्यूज नेटवर्क भएको टिप्पणी गरेका थिए।

ट्रम्पले मिडियाहरु एकोहोरो हिलारी क्लिन्टनको पक्षमा उभिएको आरोप लगाउँथे। तर ट्रम्पले सञ्चार माध्यमलाई ‘नागरिकको शत्रु’ नै भनेपछि गत हप्तामात्र अमेरिकाका तीन सयभन्दा बढी पत्रपत्रिकाले ट्रम्पविरुद्ध एकै दिन सम्पादकीय लेखे। ‘द बोस्टोन ग्लोब’ दैनिक पत्रिकाले अमेरिकाभर रहेका पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई ‘प्रेसमा सरकारी हस्तक्षेपको खतरा’ शीर्षकमा सम्पादकीय लेख्न आह्वान गरेको थियो।

राष्ट्रपति ट्रम्पको उग्र शैलीका कारण पनि अमेरिकी लगायत विश्वका नेताहरु उनीप्रति रुष्ट छन्। विशेषगरी सामाजिक सञ्जाल ट्वीटरमा निकै उग्ररुपमा प्रस्तुत हुने गर्छन् ट्रम्प। यसअघि उत्तर कोरिया लगायत अतिवादी समूह आइएसलाई चेतावनी दिने क्रममा उनका शब्दहरु निकै धम्कीपूर्ण थिए। साथै चीन तथा इरानमाथि भर्खरै भन्सार शुल्क बढाउने निर्णय पनि गरे।

राजनीतिक विश्लेषकहरुले ट्रम्प अध्ययन बिना नै निर्णय गर्ने व्यक्ति भएको बताउँछन्। यही स्वभावका कारण उनले हालसम्म आफ्ना प्रशासनका दर्जनौँ सहयोगीहरु गुमाइसकेका समेत छन्। अमेरिका र चीनबीचको व्यापार युद्ध यतिबेला चरम उत्कर्षमा पुगको छ। दुबै देशले एक-अर्कामाथि भन्सार शुल्क बढाएका छन्। जसले विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रमा असर पारिराखेको छ।

ट्रम्पलाई आप्रवासी नीति आफैमा चुनौती बनेको अधिकारीहरु बताउँछन्। आप्रवासीलाई अमेरिकामा कडाइ गर्ने नीतिले विशेषगरी मुस्लिम समुदायका अमेरिकी नागरिक प्रताडित छन्। ट्रम्पको भूमिका देश एकतावद्ध बनाउने नभएर विखण्डन सिर्जना गर्ने भएको विपक्षी तथा आप्रवासीहरुको टिप्पणी छ।

आलोचनाको घेरामा
राष्ट्रपति ट्रम्पको कार्यकाल कठिन रुपमा अघि बढिरहको समयमा अर्काे एउटा नयाँ घटना सार्वजनिक भयो, जसका कारण उनी झनै संकटमा परेका छन्। यो घटनाको कारण ट्रम्पमाथि महाअभियोग लाग्छ या लाग्दैन भन्ने विषय अमेरिकामा मुख्य बहसको विषय बनेको छ।

त्यो घटना हो, मंगलबार ट्रम्पका पूर्ववकिल माइकल कोहेनले दिएको बयान। राष्ट्रपति चुनावका समयमा ट्रम्पकै निर्देशनमा आफूले निर्वाचन कानुनको उल्लंघन गरेको बयान कोहेनले दिएका छन्।

म्यानह्याटनको अदालतमा उनको बयानपछि ट्रम्पप्रति नागरिकको असन्तुष्टि ह्वात्तै बढेको छ। उनकै पार्टीभित्रबाट महाअभियोगको विषय पनि उठ्न थालेको छ। अदालतले निर्वाचनका बेला तोकिएको आर्थिक नियमभन्दा बाहिर गएर कोहेनले कार्य गरेको आरोप लगाएको थियो।

त्यो आरोपमा निर्वाचनताका पोर्नस्टारलाई पैसा दिएकोदेखि कर छली गरेको आरोप समेटिएका छन्। पोर्नस्टार स्टोर्मी ड्यानियल्स तथा ट्रम्पकी पूर्व प्रेमिका प्लेब्वाइका मोडल कारेन म्याकडगलाई वकिल कोहेनले ट्रम्पको निर्देशनमा पैसा दिएका थिए। उनले ट्रम्पकै निर्देशनमा सबै कार्य गरेको स्वीकार गरेका छन्।

 क्याप्सन: दायाँबाट क्रमश ः पूर्व वकिल कोहेन, राष्ट्रपति ट्रम्प, ड्यानियल्स र करिन म्याक्डुगल

क्याप्सन: दायाँबाट क्रमश ः पूर्व वकिल कोहेन, राष्ट्रपति ट्रम्प, ड्यानियल्स र करिन म्याक्डुगल

सुरुवातमा ट्रम्पले यस विषयलाई बेवास्ता गरे। तर यतिबेला उनीहरुलाई पैसा दिएको स्वीकारेका छन् उनले। यद्यपि निर्वाचन कानुनकै दायरामा रहेर पैसा दिएको प्रतिक्रिया उनले बुधबार दिएका छन्।

तर, अमेरिकी निर्वाचन कानुन अनुसार निर्वाचनका बेला कारण र स्रोत नखुलाई पैसाको लेनदेन भए त्यसलाई निर्वाचन विरोधी कार्यको रुपमा लिने गरिन्छ। ट्रम्पले पोर्नस्टार तथा पूर्व प्रेमीलाई पैसा दिएको विषय यसअघि खुलाएका थिएनन्।

यस विषयलाई लिएर रिपब्लिकन पार्टीभित्रैबाट ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने माग उठ्न थालेको छ, जसले ट्रम्पमा चिन्ता झनै बढाएको छ।

ट्रम्पको जवाफ
ट्रम्पको चरित्रमाथि विभिन्न टीकाटिप्पणी निकै बढ्न थालेपछि पार्टीभित्रैबाट महाअभियोगको विषयलाई उठाउन थालिएको छ। तर ट्रम्पले आफूमाथि महाअभियोग लगाइए अमेरिकी अर्थतन्त्र धराशायी हुने चेतावनी दिएका छन्।

उनले बिहीबार ‘फक्स एण्ड फ्रेन्ड्स टेलिभिजन’ सँगको अन्तर्वार्तामा भनेका आफनो राष्ट्रपतिको पद खोसिए अमेरिकी जनता गरिब हुने दावी गरेका छन्। ‘राम्रो काम गर्दागर्दै कसैले ममाथि किन महाअभियोग दर्ता गराउँछ, यदि त्यस्तो भएको खण्डमा अमेरिकी अर्थतन्त्र धराशायी बन्ने निश्चित छ’ उनले भनेका छन्, ‘त्यो अवस्थामा सबै अमेरिकी गरिब हुनेछन्।’

राजीनामाको अवस्था
अमेरिकी संविधानमै महाअभियोग सम्बन्धी प्रस्ट व्यवस्था छ। राजद्रोह, भ्रष्टाचार, कानुनको उल्लंघन लगायत देशको हितविपरीत कार्य गरेमा सरकारी अधिकारीप्रति महाअभियोगको प्रस्ताव संसदका प्रतिनिधिले अघि बढाउन सक्छन्।

पार्टीकै प्रतिनिधिले समेत राष्ट्रपतिविरुद्ध सदनमा महाअभियोग दर्ता गराउन सक्छन्। यदि सो प्रस्ताव पारित भए महाअभियोगले पदच्युत समेत गर्नसक्छ। तर महाअभियोग पुष्टि नभएमा उसको पद सुरक्षित हुन्छ।

अमेरिकामा यसअघि ८ राष्ट्रपतिमाथि महाअभियोग लागेको थियो। विविध कारणले महाअभियोग लागेका राष्ट्रपतिले पदबाट राजीनामा दिएका उदाहरण छन्। सन् १९७४ मा रिचार्ड निक्सनले महाअभियोगका कारण पदबाट राजीनामा दिएका थिए।

प्रकाशित ९ भदौ २०७५, शनिबार | 2018-08-25 07:07:06
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।