आफ्नै गुँड फर्केकी गायिका


Infocus



NIC ASIA

‘चाहना सकियो, बहाना सकियो’ बोलको पहिलो गीतबाटै शशी रावलले प्रशस्तै स्रोता कमाएकी थिइन्। तर धेरैलाई निराश बनाउँदै सन् २००८ को अन्त्यतिर उनी जापान हिँडिन्। 

विदेश गएर काम गर्ने लहडमा जापान पुगेकी उनले ब्युटिसियनको कामका लागि २ वर्ष त्यहीँको भाषा सिक्नु पर्ने भयो। तर डेढ वर्ष जापानमा बिताएपछि उनको छटपटी सुरु भयो। बारम्बार चुकचुकाइन्, ‘मैले सङ्गीत क्षेत्र छोडेर यहाँ आउने नहुने रहेछ।’ अन्ततः डेढ वर्ष बिताएर पुनः नेपाल फर्किन्।

जापान जान १३ लाख खर्च गरेकी थिइन्। बीचमा घरमा तीन लाख मात्र पठाएकी उनको खल्तीमा नेपाल फिर्दा चानचुन एक लाख बचेको थियो। आर्थिक घाटाको धर्सा मुस्कानले छेक्ने प्रयास गर्दै बोलिन्, ‘नेट १० लाख डुबाइयो। जापान बसेर जीवनको पाठ त सिकेँ, तर धेरै महँगो भयो।’

जापान बसाइँका क्रममा उनले घरमा कहिल्यै नगरेको खाना बनाउनेदेखि कपडा धुनेसम्मको काम गरिन्। ठूलै रकम डुबाएर काठमाडौं फिर्नुको कारण अरु केही नभएर सङ्गीत नै रहेको उनी बताउँछिन्। ‘आफ्नो परिचय बन्दै गरेको अवस्थामा सङ्गीतको दुनिया छोडेकोमा पछुतो लागिरह्यो। पुनः साङ्गीतिक क्षेत्रमै अघि बढ्ने अठोट लिएर फर्कें।’

जापानमा १० लाखको बदला उनले एउटा अमूल्य कुरा पनि पाइछिन्। के हो त त्यो अनमोल कुरा? अलिकति लजाउँदै भनिन्, ‘मेरो जीवनसाथी।’

जापानको योकोहामामा उनी दुई नेपाली केटी साथीका साथमा बस्थिन्। छिमेकी पनि नेपाली नै थिए, निराजन शाही। सुरुमा प्रायः फुर्सद हुन्थ्यो, उनीहरु सबै निराजनकै थलोमा गएर गफ्फिन्थे।

शशी निराजनलाई नियाली रहन्थिन्। आफ्नो अवलोकनको आधारमा उनले निष्कर्ष निकालिन्, ‘यो केटा अलि भावुक छ।’ निराजनको आमा चाँडै बितेकाले उनी आमालाई धेरै मिस् गर्दारहेछन्। निराजनप्रति शशीको मनमा सुरुमा सहानुभूति पलायो। पछि त्यही सहानुभूति मित्रता हुँदै प्रेममा बदलियो।

शशी आफैं गीत लेख्थिन्, लेख्दै जाँदा लय पनि आइहाल्थ्यो। एकदिन निराजनमा समर्पित गीत भन्दै सबै साथीका माझमा गुनगुनाइन्,
‘तिम्रो हात समाइ, आँट बटुल्छु,
तिम्रो काँधमा, दुःख भुलाउँछु’

सबैले मन पराए। त्यसबेला गीतको मुखडा र पहिलो अन्तरा मात्रै बनेको थियो। नेपाल फर्कने बित्तिकै नयाँ एल्बम ल्याउने हुटहुटी थियो उनमा। तर निकै डराएकी थिइन्। डर साटिन्, ‘पुनः नयाँजस्तै फिल भएको थियो।’ तर आफ्नै प्रेम कथामा आधारित गीतले उनको डरलाई निरर्थक साबित गर्यो।

 

‘चाहना सकियो’जस्तै तिम्रो हात समाइलाई पनि धेरैले मन पराए। गीतको शब्द उनले आफैं कोरेकोले पनि उनलाई धेरैले ‘वाह’ भने। गीतको प्रतिक्रियाबारे भनिन्, ‘युवा समूहबाहेक धेरै हाउसवाइफको पनि रोजाइमा पर्यो यो गीत।’ कलाकार हरिवंश आचार्यले यो गीतको प्रशंसा गर्दा फुर्किएकी उनी ‘जात्रा’मा सँगै गाउने अवसर पाउँदा झन् मखलेल भइन्।

यो सफलतापछि उनलाई आफू बाटो बिराएर पुनः सही गोरेटो भेट्टाएको सन्तुष्ट यात्री झैं लाग्यो। उनको अस्थिर मन थिर भयो। लडखडाइसकेका उनका पाइला फेरि दरिला भएका छन्।

शशीले साङ्गीतिक यात्रा सुरु गर्दा मेलोडियस गीत गाए पनि उनी फर्कंदा डान्सिङ नम्बर र आइटम गीतको माग बढिरहेको थियो। त्यसै पनि उनको स्वर अलि बोल्ड खालको थियो। उनको आवाज पृथक छ, अलिकति मोटो र जोसिलो। सायद यही भएर उनलाई ‘उत्सव’देखि ‘जात्रा’सम्मका सिनेमामा उनलाई फास्ट बिटकै गीतको प्रस्ताव बढी आइरहेछन्।

अचेलका सिनेमामा आइटम गीत अनिवार्य बन्दै गएकोले उनलाई यस्तो प्रस्तावले फाइदै पुर्यायो। पहिलो पटक उनले ‘उत्सव’को टाइटल गीत ‘उत्सव’ गाउने अवसर पाइन्। ‘लुटेरा’को ‘ब्लास्ट हुनेवाला छ मेरो जवानी’ र ‘रातो घर’को ‘झक्कास झापाली’ चर्चित भएपछि उनलाई यस्तै खालका गीत गाउने प्रस्ताव बढिरहेको छ। अझ कन्सर्टमा पनि यस्तै गीतको माग बढी भएकोले आर्थिक हिसाबले पनि गीत गाएरै टिक्न सघाएको छ।

आफ्नै स्वरबारे भन्छिन्, ‘हुन त म क्लासिक सङ्गीत पढेरै आएकी हुँ। तर मेरो स्वरमा मेलाडियसभन्दा अलि इनर्जेटिक नम्बर ठिक हुन्छ भन्छन् र त्यस्तै काम पाउन थालेँ।’ तर शास्त्रीय सङ्गीत पढेर गोल्ड मेडल समेत जितेकी उनलाई आइटम गीत मात्रै गाउन दिइँदा भने खिन्न पनि लाग्छ।

कवि रावतको शब्दमा उनले गाएको ‘रित्तो रित्तो’ गजल सुन्दा उनको स्वर सेमी क्लासिकलमा पनि जम्छ भन्ने थाहा हुन्छ। भन्छिन्, ‘तर पातलो आवाजलाई मात्र केटीको स्वरको मानक मानिएकोेले मेरो स्वरलाई धेरै फास्ट र आइटम गीतको प्रस्ताव आएको होला।’

उनको गायन शैली र स्वरलाई कसैले उषा उत्थुप त कसैले सुनिधि चौहानसँग मिल्ने भनिदिँदा उनी मख्खै पर्छिन्। तर यही आवाजका कारण भोगेको दुःखद प्रसङ्ग भावुक हुँदै सुनाइन्, ‘एउटा फिल्ममा गीत गाउने मौका पाएको थिएँ। पछि फिल्मकी हिरोइन पातली भएको भन्दै अर्कैलाई गाउन दिइएछ।’

केही आइटम गीतले उनलाई चर्चा दिलाए पनि यस्ता गीतमा प्रयोग हुने अश्लिल र द्वैअर्थी शब्दका कारण उनले हालसम्म तीनटा गीत छोडिसकेकी छिन। भन्छिन्, ‘मनोरञ्जनकै नाममा जे पायो उही गाउन चाहन्नँ।’ रेकर्डिंङ गर्ने बेलामा यस्ता गीतमा आवाज अझ ‘सेक्सी’ बनाउन आग्रह पनि गरिँदोरहेछ। थपिन्, ‘कहिलेकाहीँ त निकै अप्ठ्यारो लाग्छ।’ तैपनि काममा व्यवसायिक बन्न केही सम्झौता गर्नु पर्ने उनको विचार छ। गीतलाई सिनेमा वा भिडियोमा कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले पनि धेरै अर्थ राख्ने उनको राय छ।

सङ्गीत क्षेत्रमा गतिलो गाउन नसके पनि सम्बन्धकै भरमा देश विदेश घुम्ने सूचीमा परिरहेका छन्। मान्छे रिझाउने खुखी नभएका क्षमतावानहरु पनि ओझेल पर्छन्। यो कुरा शशीले देखिको र भोगेका धेरै भइसक्यो। बच्चैदेखि लजालु शशी महिला गायकलाई त झन् गाह्रो छ भन्दै चिन्ता पोख्छिन्, ‘केटीलाई उसको कामले भन्दा उसको पहिरन, उसको संगत र सेक्चुआलिटीबाट जज गरिन्छ। केटाहरुजस्तो रातिसम्म हिँड्न सहज नहुने भएकोले पिआर बनाउन थप गाह्रो हुन्छ।’

शशीको हकमा भने जोसँग प्रेम भयो, उनैसँग विवाह भयो। उनले लेखेको-गाएको गीतकै झैं आँट बटुल्न सघाउने जीवनसाथी पाएकी छिन्। श्रीमान्बाट भरपुर साथ पाए पनि छोरी मान्छेको व्यवहारिक उलझन कहाँ सजिलो छ र भन्दै दुखेसो पोखिन्, ‘घरबाट अवरोध नहुँदा पनि नियमित रियाज गर्न नपाएको तीन वर्ष भयो।’

झन् अहिले त छोरा कहिले हुर्केला भन्ने ध्याउन्नमा छिन् उनी। यस्तो हतारो गर्नुको कारण खुलाइन्, ‘छोरा जन्मेदेखि सङ्गीतलाई पर्याप्त समय दिन पाएकी छैन।’

तर जे जति गर्न पाएकी छिन्, त्यसबाट हतास छैनिन्। पहिला किताब पढ्ने बाहेक अरु कुनै काम नगर् भन्ने बुबा अचेल छोरीको गीत टेलिभिजनमा हेरेर दङ्ग परेको कुरामा गर्व लाग्छ उनलाई।

काभ्रेस्थलीमा जन्मिएकी शशीका बुबाले आठ वर्षको उमेरमा मात्रै स्कुल टेकेका रहेछन्। पढाइमा अब्बल हुँदाहुँदै पनि अभिभावकले पढाइलाई महत्व नदिएका कारण पढ्नै पाएनछन्। त्यसैले आफ्ना सन्तानलाई कढाइका साथ पढाउन जोड दिएका थिए। घरको माहोल र बुबाको जिद्दी सम्झिन्, ‘टिभी पनि सानो आवाजमा हेर्थ्यौ‌। बुबा आउनेबित्तिकै अफ गरिहाल्थिम्। हुँदाहुँदा होलीको दिन समेत किताब समातेर बस्नुपर्थ्यो।’

शशीका दाइ महेश्वर रावल ड्रम बजाउँथे। उनी दाइको नक्कल गर्दै गीत गुनगुनाउँथिन्। अनि, दाइलाई सङ्गीत सिक्न लग्देऊ भनेर उनी किचकिच गरिरहन्थिन्। दाइले एक दिन बहिनीलाई समेत थाहै नदिइ ‘डोरेमी’मा भर्ना गर्दिए। ‘चाहना सकियो’ चर्चित भएपछि बल्ल बुबाले पनि पत्याए।

शशीले आफ्नै मर्जीमा विदेश जाँदा होस् चाहे बिचमै फर्कंदा परिवारको साथ पाइरहिन्। तर सङ्गीतमा लाग्न दाइबाहेक उनलाई सघाउने व्यक्ति हुन्, सङ्गीत विद्यालय ‘डोरेमी’का गुरु भानुभक्त ढकाल। कृतज्ञ हुँदै गुरुको सहयोग सम्झिन्, ‘भानुभक्त सरले सधैं हौसला बढाउनु भयो। कोरसका रुपमा काम दिएर अर्को महत्वपूर्ण सहयोग गर्नुभयो।’

विदेश गएर झन्नै गुमेको पहिचान शनैशनै फिर्ता ल्याइरहेकी शशीको अबको चिन्ता भनेको यो क्षेत्रबाट टाढिनु नपरोस् भन्ने हो। उनले आदर्श मानेका धेरै अग्रज र प्रतिभावान ठानेका धेरै समकालीन हराउँदै गएको परिप्रेक्ष्यमा उनको यो डर स्वाभाविक छ।

शशीमा आफ्नो कामप्रति माया र लगाव छ। भविष्यप्रति चिन्ता र चासो छ। अझ त्योभन्दा बढी हरहालतमा सङ्गीत नछोड्ने जिद्दी पनि छ। भन्छिन्, ‘रिटर्न केही नआउने स्थितिमा पनि सङ्गीतलाई निरन्तरता दिन चाहन्छु।’ यसका लागि ‘साइड बिजनेस’बारे पनि सोच्न थालिसकेकी छन् उनी।

प्रकाशित ७ माघ २०७३, शुक्रबार | 2017-01-20 11:20:43
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...