रेखा थापाको राप्रपा अवतार


गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेको ३ हप्ता नबित्दै नायिका रेखा थापाले पनि राप्रपा प्रवेश गरेको खबरले एकै पटक कला र राजनीति क्षेत्र तरङ्गित भएको छ।

रेखाले माओवादी अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'सँगै स्टेजमा 'कि लाउँ माया मैतिर कि लाउँ उहीतिर निर नलाऊ दुईतिर‘ भनेर नाँच्दा पनि झण्डै झण्डै यस्तै तरङ्ग सिर्जना भएको थियो। त्यसयता उनले आफूलाई कहिले प्रचण्डकी फ्यानका रुपमा त कहिले माओवादी पार्टीको निकट पात्रका रुपमा प्रस्तुत गर्दै आएकी थिइन्।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बनेको समयमा उनलाई बधाइ दिन रेखा लाजिम्पाटसमेत पुगेकी थिइन्। र, दोश्रो संविधानसभा चुनावमा त उनले उम्मेदवारी दिने चर्चा समेत चलेको थियो।

यस्तो पृष्ठभूमिबीच राप्रपा पार्टी प्रवेश गरेकी रेखाले पार्टी प्रवेश घोषणा कार्यक्रममा बडो कुटनीतिक भाषा प्रयोग गरिन्। राजनीतिक माहोलले माग गरेजस्तै शालीन मुद्रामा आमासँगै कार्यक्रम थलो बुद्धनगर पुगेकी उनले सबैभन्दा पहिले मिडियालाई सम्बोधन गरिन्। मन्द पारामा हाँस्दै बोलिन्, 'तपाईंहरुलाई रेखा थापा अवसरवादी बनेर राप्रपा प्रवेश गर्न लागेकी होला भन्ने लागेको होला। म माओवादीको सदस्य हो भन्ने भ्रम या सोच पनि होला।’

आफू कहिल्यै पनि माओवादी पार्टीको सदस्य नरहेको दाबी गरिन्। घुमाउरो पाराले आफूले माओवादीबारे दिएका अभिव्यक्ति त्यसबेलाको माहोलको असरका रुपमा अथ्र्याइन्। उनले भनिन्, ‘म जनताको खुसीका निम्ति, केही परिवर्तन हुन्छ कि भनेर गएको थिएँ। नेपाली जनताले सधैं नयाँलाई चान्स दिन्छन्, म पनि त्यही जनलहरमा मिसिएँ।’

नेपाली चलचित्रको इतिहास र पृष्ठभूमि हेर्दा, रेखा थापा को हो भनेर चिनाइराख्नु पर्दैन होला। आज रेखा जुन मन्चमा उपस्थित छे वा जुन पार्टीमा आवद्ध भई। किन, केका लागि भनेर उत्तर दिइरहनु नपर्ला। त्यो कुरा मेरा विगत र वर्तमानका फिल्महरुले पुष्टी गरिसकेका छन्। कहिले दुर्गा, रामप्यारी, कहिले काली बनेर पर्दामा अन्याय अत्याचारको विरुद्ध उभिइसकेको छु।'

उनले फिल्महरुमा कहिले दुर्गा, काली वा रामप्यारीको अवतारमा पर्दामा अन्याय अत्याचारको विरुद्ध उभिने छविजस्तै वास्तविक जीवनमा पनि आफूमा नेतृत्वदायी क्षमता भएको दाबी गरिन्।

राप्रपा प्रवेश गर्ने कारणबारे उनले पटक पटक दोहोर्याइन्, ‘म सच्चा हिन्दुवादी र राष्ट्रवादी भएकोले राप्रपा नै मेरो वास्तविक घर हो। यही पार्टीले नै हिन्दुत्व र परम्पराको रक्षा गर्छ।’

पृथ्वीनारायण शाहको स्मृति दिवसको सन्दर्भ पारेर भएको रेखाको पार्टी प्रवेशको कार्यक्रममा रेखाले आफूलाई राष्ट्रवादी र हिन्दु नारी भएका अनेक प्रमाण पेश गर्ने कोसिस गरिरहिन्। त्यसैले दसौँ पटक भनिन्, ‘म सधैं राष्ट्रवादी हिन्दू चेली हुँ।’ आफूसँगै आफ्नी आमा सरस्वती थापालाई पनि राप्रपाकै सदस्य बनाएकी रेखाले राप्रपा आफ्नो पहिलो र अन्तिम पार्टी भएको उद्घोष गरेकी थिइन्। जोस्सिएर भनिन्, ‘मर्दा पनि राप्रपाकै झण्डा ओढेर मर्न चाहन्छु।’

कार्यक्रममा रेखा र उनकी आमालाई पत्र दिएर पार्टीमा स्वागत गर्दै राप्रपा अध्यक्षले बोलेका थिए, ‘फिल्ममा नम्बर एक जस्तै राजनीतिमा पनि रेखा बहिनी सफल हुनुहुने विश्वास छ।’

उसो त हिरोबाट फिल्मी दुनियामा प्रवेश गरेयताको १५ वर्षको अवधिमा नायिका रेखा थापा सधैं कुनै न कुनै कारण चर्चामा रहँदै आएकी छिन्। तत्कालीन नेकपा माओवादीका प्रचण्डसँगको नृत्य र माओवादी पार्टी प्रवेशको प्रसङ्गले रेखा सधैं मिडियामा छाइरहिन्। राप्रपाभित्र उनले सम्हाल्ने कार्यभार र पदको विषयले पनि उनको चर्चा सेलाउन दिने छैन।

राजनीतिबाहेक उनको निजी जीवनका प्रसङ्गले पनि उनलाई बेलाबेला चर्चा र विवादमा ल्याउने गरेको छ। निर्माता छवि ओझासँगको विवाह र सम्बन्ध बिच्छेदको विषयले त तहल्का नै मच्चाएको थियो।

‘हिम्मतवाली’ रेखाको गणतन्त्रवादी पार्टी माओवादीप्रतिको मोह भङ्ग भएर अब राष्ट्रवाद र हिन्दुवादको छहारीमा पुगेको छ। यसले उनका शुभेच्छुकको संख्या बढाउँला कि घटाउला अहिल्यै भनिहाल्नु हतारो होला। तर गायिकाहरु मीरा राणा, कोमल वलीपछि रेखाको प्रवेशले कला क्षेत्रका सेलिबे्रटीलाई पार्टीमा तान्ने अभियानमा राप्रपा भने सफल भएको मान्न सकिन्छ।

कमल थापा र उनका हिन्दूवादी कार्यकर्ताहरुले विजयी मुद्रामा रेखालाई माला लगाउँदै गर्दा उनीबारे नेतादेखि अभिनेतासम्मले आलोचनात्मक टिप्पणी गरेका छन्। धेरैको चासो र चिन्ताको सार एउटै छ- धुर्मुस सुन्तलीजस्ता अभियन्ता कलाकारलाई रोज्ने कि रेखाजस्ती 'सच्चा हिन्दु चेली'लाई?

 

 

प्रकाशित २७ मंसिर २०७३, सोमबार | 2016-12-12 18:39:25

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

    नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने फेरि एकपटक चर्चामा छन्। सिंगापुरमा आयोजित एसिया क्षेत्रको यू–१९ विश्वकप छनौटका खेलमा एकपछि अर्को गर्दै...

  • चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्ग

    भारतले जति छिटो कुरा बुझ्छ, उति छिटो दोक्लम विवाद सुल्झिन्छः चीन

    चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै...

  • म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्ल

    बयरको झाडी र सिरु फाँडेर बनाइएको नमूना कृषि फार्म

    “हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको...

  • यू-१९ विश्व कपमा छनोट हुन सकेन नेपाल

    एसिया क्षेत्रको छनोटमा विजेता राष्ट्रले यू–१९ विश्वकपमा छनोट हुन पाउने प्रावधान थियो। सोही प्रावधान बमोजिम अपराजितले रहेको अफगानिस्तानले यू–१९...