सङ्गीत क्षेत्रमा बौद्धिक दरिद्रता कहिलेसम्म?

अलिकति विगततिर जाऔँ, अनि फेरि फर्कौंला वर्तमानमा। नारायणगोपाल गुरुवाचार्यकी श्रीमती पेमला गुरुवाचार्यले बागीनाको नारायणगोपाल स्मृति अंकमा उल्लेख गरेअनुसार नारायणगोपाल आफ्नो शेषपछि एउटा सङ्गीत प्रशिक्षण दिने विद्यालय खुलोस् भन्ने चाहन्थे। र, त्यसमा निमुखा बच्चाहरुलाई सङ्गीत सिकाउने वातावरण बनोस् भन्ने उनको इच्छा थियो। पेमलाले नारायणगोपालका हितैषि मित्र नगेन्द्र थापा, वसन्त चौधरीलगायत केही शुभेच्छुकको सहयोगमा 'नारायणगोपाल सङ्गीत कोष' खोलेर उनको सदीक्षालाई मूर्तरुप दिइन्।

अलिकति विगततिर जाऔँ, अनि फेरि फर्कौंला वर्तमानमा। 

नारायणगोपाल गुरुवाचार्यकी श्रीमती पेमला गुरुवाचार्यले बागीनाको नारायणगोपाल स्मृति अंकमा उल्लेख गरेअनुसार नारायणगोपाल आफ्नो शेषपछि एउटा सङ्गीत प्रशिक्षण दिने विद्यालय खुलोस् भन्ने चाहन्थे। र, त्यसमा निमुखा बच्चाहरुलाई सङ्गीत सिकाउने वातावरण बनोस् भन्ने उनको इच्छा थियो।

पेमलाले नारायणगोपालका हितैषि मित्र नगेन्द्र थापा, वसन्त चौधरीलगायत केही शुभेच्छुकको सहयोगमा 'नारायणगोपाल सङ्गीत कोष' खोलेर उनको सदीक्षालाई मूर्तरुप दिइन्।

नारायणगोपाल बितेको केही महिनामै स्थापना भएको यो कोषले सुरुका केही वर्ष अनाथ बालबालिकाहरुलाई भायलिन प्रशिक्षण दिने काम गर्यो। कोषका सदस्यसमेत रहेका प्रशिक्षक राजकुमार श्रेष्ठका अनुसार नारायणगोपालले आफूले रेडियो नेपालमा गीत रकर्ड गर्ने क्रममा दक्ष भायलिनवादकको अभाव भोगेकाले भायलिन नै सिकाउन जोड दिएका थिए। कोषले पनि उनको रहरलाई प्राथमिकता दियो। सङ्गीतकार अम्बर गुरुङले यसको अभिभारा आफ्ना विद्यार्थी राजकुमारलाई दिए। उनी सम्झन्छन्, ‘नेपालमा भनेजस्तो भायलिन नपाइने भएपछि कलकत्ता पुगेर ३० वटा भायलिन छानेर ल्याएँ।’

तर यो काम जति उत्साहका साथ सुरु गरिएको थियो, अपेक्षा विपरीत यसमा ठोस उपलब्धी हात लागेन। उनी स्वीकार्छन्, ‘हालसम्म मैले प्रशिक्षण दिएका नियमित अनियमित सयौँमध्ये १५/१६ जनाले मात्र व्यवसायिक रुपमा भायलिनवादनलाई अघि बढाएका छन्। धेरैले त बीचैमा छोड्छन्।’

सुन्दै ठूलो नाम 'नारायणगोपाल सङ्गीतकोष'सँग नगेन्द्र थापा, वसन्त चौधरी, फत्तेमान राजभण्डारी, डा. बानिरा गिरी जस्ता उत्तिकै ठूला नामहरु जोडिइसकेका छन्। तर यो कोषले नारायणगोपालको भौतिक सम्पत्तिको संरक्षण गर्नेबाहेक के गर्यो त? श्रेष्ठ भन्छन्, ‘सानै समूहलाई भए पनि निरन्तर रुपमा भायलिन सिकाउनुबाहेक ठोस केही काम गर्न सकिएजस्तो लाग्दैन।’

कोषको स्थापना भएपछि नारायणगोपालले नगेन्द्र थापा र गोपाल योञ्जनको साथमा मिलेर सुरु गरेको बाजा, गीत र नाचसम्बन्धी बागीना पत्रिकाको पुनः प्रकाशन गर्ने भन्दै नारायणगोपालको स्मृति ग्रन्थ प्रकाशित गरेको थियो। तर त्यसपछि अर्को बागीना फेरि निस्केन।

बागीना नारायणगोपालको बौद्धिक कर्म थियो। यसको प्रकाशन २०३० सालदेखि त्रैमासिक पत्रिकाको रुपमा भएको थियो। करिब ५ वर्षको अवधिमा बागीना जम्मा २२ अंक निस्किएर बन्द भयो। नारायणगोपालको मृत्युपछि भने बागीना नामबाटै नारायाणगोपाल स्मृति अंक निकालिएको थियो।

बागीनाले सुरु गरेको बौद्धिक कसरतलाई अघि बढाउन नसके पनि कोषले उनका रचनाहरुको एउटा किताब तयार पारेको छ, जसमा करिब १ सय ५० गीतहरु संकलित छन्। तर यो संकलनमा नपरेका उनका गीत कति छन्, कहाँ छन् यसको जवाफ कसैसँग छन्। झण्डै एक दशकअघिसम्म कोषलाई म्युजिक नेपालले नारायणगोपालका सिर्जनाबाट आउने रोयल्टी राम्रै बुझाउँथ्यो। तर अचेल सिडी र क्यासेट नबिक्ने भन्दै युट्युबबाट उठेको हिसाबकिताब पनि बुझाउन छोडेको छ।

नेपाली सङ्गीत र कला क्षेत्रमा भएको खडेरी कति चर्को छ, केही उदाहरण हेरौँ। नारायणगोपाल बितेपछि लेखक लक्ष्मण सिटौलाको नाममा उनको जीवनी भनेर दाबी गरिएको एउटा किताब निस्कियो ‘मीतज्यू’। तर यो किताब पढ्नेलाई नारायणगोपालको सम्मान गरेको कि अपमान अन्योल बढ्छ।

उनको नाममा एउटा गतिलो किताब निकाल्न नसक्नुमा दोष कसको? पुरै नभए पनि नारायणगोपाललाई स्वरसम्राट र नेपाली जातिकै महान् गायक भनेर कहिल्यै नथाक्ने यसै क्षेत्रका तथाकथित् विज्ञ पनि यसका कसुरदार हुन्। धेरै ‘विज्ञ’ र ‘वरिष्ठ’हरुमा नारायणगोपाल वा उनीजस्तै सर्जकलाई महान् बनाउने अनि उनीहरुको महानतासँग आफ्नो साइनो जोड्ने धुन देखिन्छ।

यहाँ चर्चा गरिएको नारायणगोपाल सङ्गीत कोष प्रतिनिधि संस्था मात्रै हो। आज नारायणगोपालकै घर महाराजगञ्जको भवनमा रहेको कोषजस्तै अन्य गायक र कलाकारका नाममा खुलिएका यस्ता कोष वा संस्था सबैजसोको काम गर्ने ढर्रा वर्षमा एक दुई पटक सम्झने खालका छन्।

दिवङ्गत भइसकेका नातिकाजी, शिवशङ्कर, अतुल गौतम, फत्तेमान धेरै सर्जकका नाममा यस्ता कोषहरु खुलेका छन्। यी सबैले सम्बन्धित सर्जकका रचनाको संकलन गर्ने, एउटा स्मृति ग्रन्थ निकाल्ने र केही विद्यार्थीलाई सङ्गीत प्रशिक्षण गर्ने काम गर्दै आएका छन्। यस्ता कामको सराहना गर्नैपर्छ। तर उनीहरुको काम गर्ने दायरा यति सङ्कीर्ण छ कि यसको असर र उपलब्धिमा मात्रै रमाउनु क्षणिक आत्मरति मात्र हुन्छ।

यसबाहेक मुख्यतः नई प्रकाशनले मेलवादेवी, सेतुराम, अरुणा लामा, नातिकाजीजस्ता कलाकारबारे किताब छाप्दै आएको छ। तर ती सबै किताब अनुसन्धान र सिर्जनात्मक पाटोबाट भने निकै कमजोर छन्। ती किताब सङ्गीत र कलाको सामाजिक ऐतिहासिक दस्तावेज नभएर गन्थन मन्थन र भारीभरकम विशेषणको सँगालो मात्र बनेका छन्।

नारायणगोपाल सङगीत कोषकै कुरा गर्दा, यसको गतिविधि हिजोभन्दा आज झन्झन् सुस्त बन्दै गएको छ। कोषले आफ्नो कामको दायरा फराकिलो पार्न नसक्दा कोषभन्दा बाहिर बसेर नारायणगोपालको जयगान मात्रै गाउनेहरुमा पनि रचनात्मक सम्मान गर्ने परिपाटीको आरम्भ हुनै सकेको छैन।

हामीकहाँ सङ्गीत क्षेत्रसम्बन्धी जानकारी लिन पाइने स्रोत केन्द्र वा अभिलेखालय छैन। र, सार्वजनिक वृत्तमा यस्तो थलोको महत्व छ भनेर बहस र त्यसका लागि पहल भएको पाइँदैन। यस्तो परिप्रेक्ष्यमा आलोचनात्मक दृष्टिकोणबाट सर्जकको मूल्याङ्कन, तिनका कामको सामाजिक ऐतिहासिक विश्लेषणको कल्पना गर्नु त सूदुर क्षितिजको कल्पना सिवाय अरु केही लाग्दैन।


हरेक वर्ष केही सर्जक यो लोकबाट हराउँछन्। उनीहरुको काम पनि उनीहरुसँगै नहराओस् भनेर हामीले तिनका कामलाई बचाउन, तिनका सिर्जनात्मक उपलब्धीलाई साझा सम्पत्तिका रुपमा उपयोग गर्न ज्ञान हस्तान्तरणको विभिन्न उपाय अपनाउनु पर्ने आवश्यकता छ।

तर विगत २६ वर्षदेखि नारायणगोपाल स्मृति दिवस मनाउने जुन कर्मकाण्डी अभ्यास छ, के त्यसले उनको साङ्गीतिक उपलब्धिलाई साझा सम्पत्ति बनाउने दिशामा ठोस काम भएको छ त? दुःखका साथ भन्नु पर्छ, अहँ।

आममान्छेमा कलाकारको सिर्जनासँगै कलाकारप्रति पनि लगाव हुन्छ। उनीहरु बितेर गएपछि पनि स्मृतिमा विभिन्न गतिविधि हुन्छन्। नारायणगोपाल थोरै मध्येका एक हुन्, जसको स्मृति दिवसमा विगत २६ वर्षदेखि सानाठूला कार्यक्रम हुँदै आएका छन्। र, सङ्गीत सर्जकहरुमा उनीमात्रै त्यस्ता पात्र हुन् जसको सम्झनामा मंसिर १९ आउनुअघिदेखि नै चर्चा परिचर्चा हुने गर्छ। यस्तो सौभाग्य मंसिर ६ गते स्मृति दिवस पर्ने लोककै गायक भनिएका झलमान गन्धर्व वा अरु गन्धर्वहरुले कहिल्यै पाएनन्।

प्रकाशित 2016-12-04 14:18:40