नगरकोटी–चेलाको सङ्गीतः दुई वर्ष दुई गीत

अंकित लामो दौडमा सुस्तरी हिँड्ने यात्री हुन्, जसलाई कुनै हतारो छैन


Infocus



अंकित अधिकारी
अंकित अधिकारी

सहरका नामी लेखक कुमार नगरकोटी अंकितबाबु अधिकारीका गुरु–प्लस–छिमेकी हुन्। नगरकोटी हरेक वर्ष केही न केही ‘कृति’सहित पाठकबीच छाइरहेका हुन्छन्। मिडियामा उनको छायावी अनुहार र मायावी रचना बहुप्रसारित छन्। तर नगरकोटी–चेला अधिकारी पूरै वर्षदिन लगाएर एक गीत तयार पार्छन् र शान्त अनि सुस्तरी हिंड्छन्।

NIC ASIA

दाङबाट नेपालगञ्ज हुँदै काठमाडौँ छिरेपछि अंकित नगरकोटी सङ्गतमा पुगे। इन्नोभेटिभ बोर्डिङ स्कुलमा पढ्ने र शङ्खमूल नजिकै बस्ने भएकोले उनलाई नगरकोटीको डायरीका पाना पल्टाउने सुविधा मिल्दै गयो। उनका डायरीभित्रका अक्षरको स्पर्शले मोहनी लाउन थाल्यो। ‘नगरकोटी सरका सुन्दर अक्षरले मात्र नभई उहाँको शैलीले पनि केही फरक लेख्न प्रेरित गर्‍यो।’

सानैदेखि उनमा कविता र सङ्गीतको रस छँदैथ्यो। कक्षा २ मा पढ्दा उनले ‘यस्तै रहेछ यहाँको चलन’ भन्ने गीतको धुनको नक्कल गरेर आफ्नै शब्दमा गीत पनि बनाएका थिए। ‘त्यो देशभक्ति पोखिएको क्लिसे कविता थियो।’ आफ्नै लेखनको आलोचक बन्दै बोले। नक्कल गर्दागर्दै उनमा सक्कली सङ्गीतकार बन्ने रहर पलाउन थाल्यो। यही रहर पूरा गर्न नगरकोटीका कवितामा सङ्गीत र स्वर दिए। तर त्यसलाई सार्वजनिक गर्ने अठोट र आँट दुवैको कमी थियो उनमा। भने, ‘कतैबाट आफ्नो सिर्जना पोख्ने अवसर पनि थिएन।’

स्कुले जीवनमा टाकनटुकन गाउने बजाउने अंकित एसएलसीपछि औपचारिक रुपमै शास्त्रीय सङ्गीत सिक्न कलाकुञ्ज पुगे। त्यहाँ २ वर्ष निशान्त बस्नेत र दिनेश निरौलासँग सङ्गीत सिकेपछि उनी प्रभुराज ढकालका शिष्य बन्न पुगेका छन्।

नयाँ अवसरको खोजीमा थिए, एक दिन नगरकोटी भेटिए। शिल्पी थिएटरमा भेट्न बोलाए। शिल्पीमा ‘कोमा’ नाटक प्रदर्शनको तयारी थियो।

‘गाउने अनुरोध आयो, मैले नगरकोटी सरकै डायरीबाट उतारेर धुन भरेका गीत सुनाएँ,’ छेउमै कोमाका निर्देशक घिमिरे युवराज चाख लिएर सुनिरहेका थिए।

गीत सुनाउँदा नाटकका लागि भनेरै सुनाएका थिएनन्। तर जब उनको मोबाइलमा युवराजको फोन आयो, सोचे– अब किस्मतकै घन्टी बज्यो।

‘नाटकमा मेरो गीत राख्ने कुरा सुखद थियो, तर गीतसँगै म पनि स्टेजमा उत्रिनु पर्ने कुराले अलिकति डराएँ,’ भन्छन्, ‘तर यो अवसर गुम्न दिनु हुँदैन भन्ने निष्कर्षमा पुगेपछि आँटेरै ‘ओके’ भनिदिएँ।’

अवसरले ढोका ढकढकाइसकेको रहेछ, उनी छानिए।

२०७१ सालमा नेपाली ताराको अडिसनबारे थाहा पाए। त्यसपछि भने उनको सङ्गीत क्षेत्रमा उडान भर्ने सपनाका पखेटाहरु जोडले फडफडाए। नेपाली ताराको अन्तिम आठसम्म मात्र पुगे पनि उनको गायन क्षमताबारे श्रोता/दर्शकले एकै पटक चाल पाउनु ठूलो उपलब्धि थियो। ‘सङ्गीत क्षेत्रकै कलाकारसमेतको राम्रो प्रतिक्रियाले हौस्यायो। आत्मविश्वास पनि बढ्यो,’ यही उत्साहमा नेपाली ताराबाट एलिमिनेट हुने बित्तिकै एउटा मात्र भए पनि गीत रेकर्ड गराउने निर्णय लिएको उनी बताउँछन्। र, जन्मियो उनको पहिलो गीत ‘राम नाम’। अनि त्यही ‘राम नाम’ बाट उनको काम मन पराउनेको सङ्ख्या थपियो।

‘एउटै गीतबाट एल्बम निकालेसरहको सराहना पाएँ,’ उनी भन्छन्। उर्दू/हिन्दी सूफी सङ्गीतमा रमाउने उनको पहिलो गीतमा पनि यसको प्रभाव देखियो। अचेलका जोरजोरले चिच्याएर नेपाली सूफी भनेर बजारमा हल्ला पिटिएका गीतभन्दा नयाँ स्वाद भेटे ‘राम नाम’मा।

सिर्जनात्मक काम गर्न नहिच्किचाउने अंकित एल्बम नै निकाल्न भने हच्किए। त्यसैले दुई वर्षभन्दा लामो अवधिमा उनको गीत संख्या दुई मात्रै छ। पहिलो गीत सूफी गाएका उनी दोस्रो गीतमा राजनीतिक अवतारमा उत्रिए। भारतीय नाकाबन्दीको विषयमा बनाइएको ‘नौ फुटे भूत’लाई उनले नाकाबन्दीको एक वर्ष बितेको समय पारेर सार्वजनिक गरे।

अंकित अधिकारी

अंकित अधिकारी

यसमा प्रयोग गरिएको ‘नौ फुटे भूत’ विम्ब ठूलो शक्ति केन्द्र भारत र नेपालभित्रकै तमाम नकारात्मक स्वार्थ समूहप्रति लक्षित थियो। गीतबारे उनको भनाइ छ, ‘ठूलो आकारको इभिल कोनोटेसन दिन विम्ब खोज्दा नौ फुटे भूत फुर्यो।’ नाकाबन्दी राजनीतिक समस्यासँगै सामाजिक तथ्य पनि मान्ने उनले यसलाई गीतमा अभिलेख गर्न ‘हार्डकोर’ राजनीतिक कुरा नगरेर विम्बात्मक बनाए–
जंगलको त्यो नौ फुटे भूत
बस्तीको दक्षिण मोड्मा बस्न थालेपछि
नाकाबन्दी लाग्यो, घाम नि छेकियो
दक्षिणबाट हावा चलेन

राजनीतिक गीतपछि हालै उनले नुसरत फतेह अलि खानको चर्चित सूफी ‘आफरिन’ गाउने ‘दुस्साहस’ गरेका छन्। यो ‘कभर सङ’मा उनलाई प्रविशा अधिकारी र कोविद बज्रले साथ दिएका छन्। जावेद अख्तरको रचना, नुसरतको सङ्गीत र स्वरको ‘आफरिन’लाई उनकै भतिजा राहत फतेह अलि खान र मोमिना मुस्तेहासनले पाकिस्तानी कोक स्टुडियोमा गाएका थिए। यो कभर भर्सन युट्युबमा सार्वजनिक भएको तीन महिनामै भन्डै तीन करोड हिट भइसकेको छ।

लामो समयदेखि सूफी सङ्गीत फलो गर्दै आएका उनले ‘आफरिन’ गाउने कारण खुलाए, ‘सन् २०१२ मा गुलाम अलि र अन्य पाकिस्तानी कलाकारका सामु गाउने मौका पाएको थिएँ। त्यहाँ पाएको सकारात्मक प्रतिक्रियाले उताकै कलाकारको कुनै गीत गाउन मन थियो।’ यस्तैमा प्रविशाको ‘कभर सङ’ गाउने प्रस्ताव आयो।

अनौपचारिक रुपमा आफरिन गाइरहेका उनलाई रेकर्ड गर्ने बेला बल्ल यो गीत स्टुडियोमा गाउन कति गाह्रो रहेछ भन्ने थाहा भयो। नुसरतको 'ए मेजर स्केल'मा भएको आफरिनको कोक स्टुडियो भर्सन 'जि सार्प स्केल'मा छ। यसका दर्जनौं कभर सुन्दा उनलाई लाग्यो, धेरैले मेलोडीमा मात्रै जोड दिएका रहेछन्।

यो गीतको ‘हार्सनेस’ कायम राख्नु पर्छ भन्ने सोचले उनले 'जि मेजर'मा कोसिस गरे। ‘कहाँ सकिन्थ्यो स्वर नै फाट्यो,’ आफ्नो सीमा स्वीकार्दै उनी भन्छन्। दोस्रो पटक स्केल घटाएर 'एफ सार्प स्केल'मा गाए। यसपछि उनलाई लागेको छ, ‘मेरो/हाम्रो कन्सर्न टिपिकल लभ सङ जस्तो मात्रै नसुनियोस् भन्नेबारे सचेत थिएँ, सूफीको मर्म कायम राख्दै गीतको एलिमेन्ट मेन्टेन गर्न सक्यौँ भन्ने लागेको छ।’

यो गीत गाउन उनलाई लामो समय लाग्यो। यसको एउटा कारण उर्दू उच्चारण बन्यो। सुनाउँछन्, ‘उर्दू उच्चारणको शुद्धता बुझ्न पाकिस्तानका साथीहरुलाई गीत पठाएँ। उनीहरुले नौ ठाउँमा बिग्रेको भने। सुझावअनुसार फेरि सच्याएर गाएँ।’

हरेक गीतका लागि उनले लगाएको समय, मिहिनेत हेर्दा लाग्छ– अंकित लामो दौडमा सुस्तरी हिँड्ने यात्री हुन्, जसलाई हतारो छैन्, बस् यात्राको आनन्दमा डुब्नु छ।

प्रकाशित ७ मंसिर २०७३, मंगलबार | 2016-11-22 15:27:38
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नवीन न्यौपाने

    सफल खेलाडीको काँधमा टोली च्याम्पियन बनाउने जिम्मा

    ‘मणि दाईहरुको पुस्तालाई मनाङको पहिलो स्वर्णिम पुस्ता भनिन्छ’ मणि शाहको बर्हिगमनसँगै टोलीमा भित्रिएका नवीनले सम्झिए, ‘त्यसपछि मनाङलाई उचाईमा...

  • भुटानका नेपाली भाषी सांसद

    भुटानमा सांसद बने नौ जना नेपाली भाषी, मन्त्री पनि बन्लान?

    नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत।

  • ग्रेटवाल

    बेइजिङको ग्रेटवालका भित्तामा भेटियो नेपाली गौरव– रञ्जना लिपि

    ग्रेटवालको भित्तामा कोरिएको नेपाल भाषा अर्थात् रञ्जना लिपि नेपाली मात्रैले गर्व गर्न पाउने ऐतिहासिक अवसर हो। इतिहासले कोरेको यो सुनौलो अवसरबाट...

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।