हिमाल चढ्ने केटीको अमेरिकाको गथम हँसाउने कमेडी यात्रा




शैली बस्नेत
शैली बस्नेत
फोटो: प्रबिन कोइराला

अमेरिकाको टप १० मा पर्ने कमेडी क्लबमा शैलीको प्रस्तुतिको नाम दिइयो– सेप्टेम्बर २०, टप सट कमेडी विथ शैली बस्नेत। शैली ‘लाउड्ली’ हाँस्दै भन्छिन्– म जाबोलाई किन शो दिएको होला भनेर एक हप्तासम्म त मेरो दिमाग घुमिरह्यो।

काठमाडौंकी शैली बस्नेत स्कुल पढ्दा उनका साथीहरु कविता लेख्थे। कवितामा जिन्दगीका अँध्यारा कथा–व्यथा हुन्थे। विछोडका कुरा, पीडाको अनुभूति पढेर साथीहरू निराश हुन्थे। यसो गरेको शैलीलाई मन पर्दैनथ्यो। उनलाई लाग्थ्यो– जिन्दगी त रमाइलो छ तर यस्ता बोरिङ कविता किन लेख्छन् साथीहरु!

कक्षा ६–७ मा पढ्दा नै उनले फरक धार निर्माण गरिन्। कविता त लेखिन्। तर, पीडा वा दुःखका शब्दहरु मिसाएर होइन कि ठट्यौली पाराका।

उनको सोचाई पनि अरुको भन्दा फरक थियो। ‘अन्तिम पटक भेट्न आऊ’ बोलको गीत सुनेर कोही भावुक भइरहेका बेला शैली ‘अर्कैसँग बिहे भएको मान्छेलाई किन भेट्न बोलाएको होला’ भनेर हाँस्थिन्।

आफूभित्र किन यस्ता विचार खेलाइरहेकी छु भन्ने उनमा चेत थिएन। उनलाई हाँस्न र हँसाउन मज्जा आउँथ्यो। त्यसैले, उनी रमाइला गफ गर्थिन्, जोक सुनाउँथिन्।

‘मेरो पारिवारिक माहोल अत्यन्तै फन्नी टाइपको थियो। साथीको सर्कल पनि त्यस्तै हुँदै गयो,’ शैली भन्छिन्, ‘त्यसैले जिन्दगीमा म धेरै हाँसेँ। यतिसम्म कि कुकुर देख्दासमेत किन यसको पुच्छर बटारिएको होला है भन्दै हाँसियो।’

कमेडी यात्रा
शैलीको ‘स्कुले शैली’ पछिसम्म पनि परिवर्तन भएन। कलेज जीवनमा प्रवेश गरिसकेपछि पनि उनले ठट्टा गर्न छाडिनन्। आफूले ठट्टा गर्दा अरु हाँसेको देख्दा उनलाई झन् हौसला मिल्थ्यो।

यतिसम्म कि, कक्षा कोठामा शिक्षकले पढाइरहँदा उनी शिक्षकले भनेका कुराको अर्थलाई बङ्ग्याएर कापीमा लेखी साथीलाई पास गर्थिन्। उनले लेखेका कुरा पढेर साथीहरु मुख छोपीछोपी हाँस्थे।

उनी यस्तै थिइन्– घरमा होस् या स्कूलमा। उनले न आफूलाई परिवर्तन गर्न चाहिन्, न चाहेर सकिन्। शैलीले नेपाली कमेडियनका थुप्रै शोहरु हेरेकी थिइन्। तर, त्यसमा उनको रस खासै बसेन।

एकदिन युट्युबमा स्ट्याण्ड अप कमेडीको विदेशी शो देखिन्। शो हेरेपछि बल्ल चाल पाइन्, उनको मनले चाहेको यही हो। त्यसपछि उनी ढुक्क भइन्, ‘म क्रेजी भएको होइन रहेछु, यो त कला पो रहेछ।’

‘हाँस्ने, अरुलाई हँसाउने र हँसाएबापत इज्जत, सम्मान र पैसा कमाइने रहेछ भन्ने चाल पाएपछि त कमेडी झन् खत्रा लाग्न थाल्यो’ शैली कमेडीप्रति आफ्नो रुची बढ्नुको रहस्य खोल्छिन्।

तर, नेपालको परिवेश त्यस अनुकूल थिएन। त्यसैले, उनले पत्रकारिता गर्न थालिन्। पत्रकारिता गर्नुको पनि एउटा उद्देश्य थियो। समाज र सामाजिक परिवेशलाई बुझेर एउटा कमेडी फिल्मको स्क्रिप्ट लेख्ने।

२०६४ सालमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि शैलीको मनमा एउटा प्रश्न उब्जियो, ‘मैले गर्ने काम सिरियस छ, मैले कसरी कमेडी फिल्म बनाउन सकुँला?’

यो कुरा उनको मनमा खेलिरहेको थियो।

यत्तिकैमा २०६६ मा ‘ठाडै ठट्टा’ नामक एक कमेडी शो गर्ने अवसर उनले पाइन्। मनोज गजुरेल लगायतका दिग्गज कलाकारसँग आफ्नो पहिलो प्रस्तुति दिइन्। लामो तयारी र मेहनतका कारण उनको प्रस्तुति बबाल भयो।

४५ मिनेटको प्रस्तुतिले दर्शक त हाँसे नै, अतिथिले पनि उनलाई रोक्न सकेनन्। शैली भन्छिन्, ‘त्यसपछि मलाई यही संसार रमाइलो लाग्न थाल्यो।’

कमेडीको एउटा विधा हो– स्ट्याण्ड अप कमेडी। यस्तै कमेडी गर्ने क्रममा चार्ली च्यापलिनले नबोली हसाउँथे। धुर्मुस्–सुन्तलीले हाउ–भाउमार्फत हसाउँछन्, शैली बोलेर हँसाउँछिन्।

बोल्नु अर्थात् भाषण गरेर हँसाउन त्यति सजिलो छैन। दर्शकको साथ र भरोसा हुनुपर्छ। अर्थात, जबसम्म दर्शकले हाँसेर ‘हामी पनि तपाईंसँगै छौँ है’ भन्ने भान गराउँछन् तबसम्म शैलीलाई ऊर्जा आइरहन्छ।

‘दर्शकलाई हँसाउन नसक्ने हो भने हाम्रो काम नै छैन’, शैली भन्छिन्, ‘हँसाउन नसक्नेले बरु दुखी कविता लेखे भइहाल्यो नि!’

अरुलाई हँसाउने शैली कत्तिको रुन्छिन् त!

उनी खुलेर हाँस्छिन्, ‘बच्चामा त रुन्थेँ, अहिले स्टेजबाट अरु हाँसेको देखेर रुन बिर्सिएको हुँ कि१’

त्यसो भए उनको आँखाबाट आँसु नै आउँदैन त?

‘कहिलेकाहीँ फिल्म हेर्दा रुन्छु नि’, आँसुको कुरा गर्दा पनि हाँस्दै उनी भन्छिन्, ‘सकेसम्म नरुनु, सकेसम्म धेरै हाँस्नु। यी दुबै नसके मेडिटेसन गर्नु।’

अमेरिकाको त्यो शो
शैलीले नेपालमा पर्वतारोहणसम्बन्धी व्यवसाय गर्ने अमेरिकी नागरिक टायलस मेक्मोहनसँग बिहे गरिन्। बिहे भएको ३ वर्षपछि (२०६८) मा उनी आफ्ना पतिसँग अमेरिका पुगिन्।

अमेरिका स्ट्याण्ड अप कमेडीका लागि निकै प्रसिद्ध छ। त्यहाँ कमेडीका लागि भनेरै प्रत्येक राज्यमा थुप्रै क्लबहरु खोलिएका छन्। हजारौँ कमेडियन छन् र लाखौँ मानिस त्यसको मज्जा लिन्छन्। त्यहाँको ओपन मिक कमेडीमा मानिसहरु झुम्मिन्छन्।

यसबारे राम्रोसँग बुझेकी शैलीलाई अमेरिकाको कोलोराडो राज्यमा आफ्नो समय त्यतिकै घुमेर मात्र खेर फाल्नु थिएन। केही सिक्नु थियो, आफूलाई केही पोख्नु थियो, अनि अमेरिकनलाई नेपाली कमेडीको स्वाद चखाउनु थियो।

उनले त्यहाँको प्रख्यात बोल्डर कमेडी शोमा आफ्नो प्रतिभा देखाउने प्रस्ताव राखिन्। प्रस्ताव स्वीकारियो। तर, शोको आयोजना र दर्शक आफै जुटाउनु पर्ने भयो। उनी तयार भइन्।

निकै संघर्ष र मेहनत गरेर शो गरिन् । मानिसहरु राम्रै संख्यामा उपस्थित भए। नेपाली चेलीले अंग्रेजी भाषामा कमेडी गरेको दर्शकले पनि मन पराए। ‘हिमाल चढ्ने केटीको कमेडी’, अमेरिकामा उनले ययो नयाँ ‘ट्याग’ पाइन्।

त्यस दौरान उनले के पनि बुझिन् भने, नेपाल र अमेरिकाको ‘कमेडी स्टाइल’ निकै भिन्न रहेछ। त्यहाँ नेता, माइक्रोबस, बिजुली बत्ती, भ्रष्टाचार जस्ता विषयमा गरिएका कमेडी नबिक्दा हरेछन्।

‘नेपालमा भने यिनै बढी बिक्छन्’, हाँस्दै उनी भन्छिन्।

रोकिएन यात्रा
शैलीले अमेरिकाबाट फर्किएपछि नेपालमा स्ट्याण्ड अप कमेडी शोहरु गर्दै गइन्। हाँस्ने, हँसाउने र सिक्ने क्रम चलि नै रह्यो।

नेपालमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, सन्तोष पन्त, नारायण त्रिपाठीलगायतले विभिन्न कमेडी शोहरु गर्थे। शोका कारण हाँस्यब्यंग्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका थिए उनीहरु।

तर, उनीहरुले गर्ने कमेडी र शैलीले गर्ने कमेडीमा भिन्नता थियो। शैली स्ट्याण्ड अप कमेडी गर्थिन्। जसको नेपालमा खासै चर्चा थिएन।

‘नेपालमा केही वर्ष अघिसम्म साथीभाई र केही दर्शक गरी सय–डेढ सयको अगाडि कमेडी गर्नुपर्ने अवस्था थियो’, उनी भन्छिन्।

यसै क्रममा उनले सिमा गोल्छा र वासु प्रिमलानीसँग २०७३ चैतमा काठमाडौँमा स्ट्याण्ड अप कमेडी शो गरिन्। विश्वका विभिन्न देशमा कमेडी शो गरेकी प्रिमलानी र कमेडी मार्फत् आफ्नो छुट्टै पहिचान बनाएकी सिमासँग स्टेज सेयर गर्नु चानचुने कुरा थिएन। तर, उनी सफल भइन्।

सोल्टी होटलमा भएको शो पछि भारतीय कमेडियनले भनेकी थिइन्, ‘मैले विश्वका धेरै देशमा शो गरेँ। तर, नेपालमा जत्तिको मज्जा कहिँ पनि आएन।’

वासुले शैलीको प्रस्तुति पनि मन पराइन्।

अमेरिकामा अर्को फड्को
स्ट्याण्ड अप कमेडी शैलीको प्यासन बनिसकेको थियो। र, उनलाई आफ्ना पञ्जा अझ फिँजाउनु थियो। त्यसैले, उनी काठमाडौँको शोपछि अमेरिकाको न्यूयोर्क हानिइन्। त्यहाँको म्यानहटन कमेडी स्कुलमा ६ हप्ते कोर्ष गरिन्।

खासमा उनको उद्देश्य कमेडी सिक्नका लागि कक्षा लिनु थिएन। ‘अमेरिकाको चर्चित क्लबमा छिर्नका लागि मैले ढोका खोजिरहेकी थिएँ’, शैली भन्छिन्, ‘त्यसैले म त्यहाँ पुगेँ।’

उद्देश्य बमोजिम शैलीको भेट चर्चित गथम कमेडी क्लबका संस्थापक एन्डी एन्गेसँग भयो। एन्डीको अगाडि उभिएर शैलीले गथममा प्रस्तुत हुने अवसर मागिरहेकी थिइन्। तर, एन्डीले गथममा दुई हजार कमेडियनहरु आफूसँग अवसर माग्न आउने गरेको भन्दै उनलाई पत्याउनुपर्ने कुनै कारण नभएको बताए।

शैलीले पनि आफूले नेपालमा थुप्रै शो गरेको कुरा सुनाइन्। तर, एन्डीले ‘पछि विचार गरौँला’ भनेर उनको कुरा टारिदिए।

कमेडी क्लासको ग्य्राजुएसन शोको समय आयो। अमेरिकी मूलका लोकप्रिय कलाकारको पनि शो थियो। अनि, यता शैलीको मनमा डर। तर, उनका लागि त्यो आफूमा रहेको प्रतिभा चिनाउने एउटा ठूलो अवसर थियो। किन कि एन्डी त्यहीँ थिए।

शैलीको पालो आयो। उनले राम्रो प्रस्तुति दिइन्। दर्शकले उनको प्रस्तुति खुबै मन पराए। दर्शकले मात्र होइन, एन्डीले पनि। त्यसपछि एन्डीले पनि भन्न बाध्य भए, ‘लेट्स सी सम नेपाली एक्सन इन गथम।’

अमेरिकाको टप १० मा पर्ने कमेडी क्लबमा शैलीको प्रस्तुति हुने भयो। त्यसको नाम दिइयो– सेप्टेम्बर २०, टप सट कमेडी विथ शैली बस्नेत।

नेपाली मिडियामा हेडलाइन बने, ‘शैलीले अमेरिकाको चर्चित क्लबमा प्रस्तुति दिने।’

‘पहिला शो नपाएर टेन्सन, पाएपछि झन् दिमाग खराब भन्या’, शैली ‘लाउड्ली’ हाँस्छिन्, ‘म जाबोलाई किन शो दिएको होला भनेर एक हप्तासम्म त मेरो दिमाग घुमिरह्यो।’

उनलाई गथममा शो गरेपछि आफू कुन दुनियाँमा पुग्छु होलाजस्तो लागेको थियो। तर, जब शो सकियो त्यस्तो केही भएन। उनको खुट्टा यही दुनियाँमा थियो।

उनकै भाषामा भन्ने हो भने आफूले गरिसकेका कुराले उनलाई ‘किक’ दिँदैन। सधैँ केही नयाँ गरौँ भन्ने लागिहाल्छ। नयाँ अर्थात्, ‘मोर कमेडी, मोर लाउड।’

त्यसैले त उनको माग भारतमा पनि भयो। उनले भारतीयहरुलाई पनि नेपाली कमेडियनको स्वाद चखाउन पाइन्।

काठमाडौँमा त कति शो गरिन् कति। तर, अझै पनि उनमा उत्तिकै भोक छ। यसैगरी अरुलाई हँसाइराख्नु छ, अनि अरु हाँसेको हेर्दै आफू पनि हाँस्नु छ।

इज्जतको सवाल
अरुलाई हँसाउन त्यति सजिलो छैन। आफ्नो इज्जत हत्केलामा राखेर स्टेज चढ्नुपर्छ। हँसाउन सकिएन भने इज्जत गयो।

‘हिमाल चढ्दा ज्यान दाउमा राख्नुपथ्र्यो, अहिले इज्जत राख्नुपर्छ’, शैली भन्छिन्, ‘हुन त नेपालीलाई इज्जतभन्दा ज्यान नै प्यारो हो।’

तर, अमेरिकाको सवालमा भने फरक रहेछ। उनले अमेरिकामा सुनेअनुसार अमेरिकनलाई सबैभन्दा डर लाग्ने ‘पब्लिक स्पिकिङ’ हो, अनि दोस्रोमा मृत्यु। त्यसैले, उनी अलमलमा छिन्– ज्यान ठूलो हो कि इज्जत ठूलो हो भन्नेमा।

हँसाउन सबै ठाउँमा एउटै कलाले काम गर्दैन। विद्यार्थीका अगाडि ‘ननभेज जोक’ गर्दा उनीहरु मरिमरी हाँस्छन्। तर, सोही जोकले अरु नहाँस्न पनि सक्छन्। त्यसैले, पालैपालो दुई–चार वटा विषयमा जोक गरिसकेपछि माहोल जुन कुरामा हाँस्छ, त्यही विषयमा केन्द्रित हुनुपर्छ।

‘मानौँ, राजनीतिक जोकले बढी हँसायो भने त्यो मान्छे सामाजिक जोकमा पनि हाँस्छ’, शैली भन्छिन्, ‘यसरी आफ्नो दिमाग खराब गराउनु पर्छ। त्यसपछि बल्ल हाँसो र जोकको दोहोरी चल्छ।’

शैलीका अनुसार, विश्वमा कुनै पनि मानिस तनावमुक्त छैन। एकातिर मानिस धेरै बाँच्न चाहन्छ भने अर्कोतर्फ हाँस्न। भनाई नै छ नि, ‘जो धेरै हाँस्छ, त्यो बढी बाँच्छ।’

‘कमेडीले मानिसलाई हँसाउँछ। हाँस्नु अर्थात्, आफ्ना दुःख, पीडालाई बिश्राम दिनु’, शैली भन्छिन्, ‘त्यसैले त अहिले मान्छेहरु टिकट नै काटेर कमेडी शो हेर्न पुग्छन्।’

काठमाडौँ सहरमा हुने स्ट्यान्ड अप कमेडी शोहरुमा तीन सयदेखि सात सयसम्म दर्शक हुन्छन्। फिल्म हेरेजस्तै कमेडी हेर्न मानिसको लाम लागेको देखेर शैलीले नेपाली कमेडियनको भविष्य उज्जवल देखिरहेकी छिन्।

उनलाई त यस क्षेत्रमा लागेकोमा कुनै पश्चाताप छैन नै, न परिवारका सदस्यको शैलीको फरक शैलीप्रति कुनै गुनासो नै छ।

‘हाम्रो त मेरो बुबा, आमा, श्रीमानलगायत परिवारका सबै सदस्य मिलेर कमेडी गर्छौं’, शैली भन्छिन्, ‘हामी त घरमा पनि हाँसेको हाँस्यै हो।’

अन्तमा उनले भनिन्ः
‘डोनाल्ड ट्रम्प इज अ म्यान हु इज अ विलिनियर, हु ज्वइन पोलिटिक्स, बट आवर लिडर्स ज्वइन पोलिटिक्स टु विकम अ विलिनियर्स।’

हा हा हा ... ।

प्रकाशित १७ माघ २०७५, बिहिबार | 2019-01-31 16:37:07
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।