खगेन्द्र संग्रौलालाई नारायण वाग्लेको प्रश्नः खोइ त्यो रातो झोला?




नारायण वाग्ले र खगेन्द्र संग्राैला
नारायण वाग्ले र खगेन्द्र संग्राैला

‘मलाई उहाँ (खगेन्द्र संग्रौला) लेखक र व्यक्तिका रुपमा एउटै लाग्नु हुन्न। प्रचण्ड लेख्ने तर मानिस निकै सीतल। यस्तो हाँसिमजाक गर्ने मान्छेले कसरी त्यति तीखो लेख्न सक्छ होला? अचम्म लाग्छ’, लेखक एवं कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्ले साहित्यकार खगेन्द्र संग्रौलाको जीवन र लेखनबीचको फरक केलाउन प्रयास गर्दैछन्।

फेवाताल किनारमा शनिबार साँझ चिसो बढ्दै गएको छ। सुस्त सुस्त चलिरहेको बतासले त्यो चिसोलाई बढाउँदै लगेको छ। ‘आइएमई नेपाल साहित्य महोत्सव’को ‘सम्पादक र स्तम्भकार’ सत्रमा संग्रौला र सम्पादक वाग्लेबीचको सम्वाद सुन्न करिब २ सय हाराहारी स्रोता उपस्थित छन्।

‘खगेन्द्र दाईलाई मैले यहाँ आउने बित्तिकै बायाँ बस्नोस् भनेँ र त्यसको राजनीतिक अर्थ छ’, दुई उपन्यासका लेखक नारायाण वाग्लेले भूमिका बाँध्दै प्रश्न तेर्साए, ‘तपाईंको लेखाइमा यस्तो हाँसीमजाक किन पाइँदैन? लेख्ने बेलामा अर्कै खगेन्द्र संग्रौला किन हुनुहुन्छ ?’ 

‘मैले यो प्रश्नको जवाफ अहिलेसम्म न त प्रश्न सोध्नेलाई चित्त बुझ्नेगरी दिन सकेँ न त दिएको जवाफबाट आफैँलाई चित्त बुझ्यो’, सुरुदेखि नै ठट्यौली मुद्रामा पेश भएका संग्रौलाले आफूबारे प्रस्ट पारे, ‘प्रकृतिबाट संस्कृतिमा प्रवेश गरिसकेपछि जीवनमा ढोँग सुरु भयो। मानिसका दुई वटा रुप भए। त्यसैगरी ती मेरा दुई रुप हुन्।’

संग्रौलाको लेखन सधैँ प्रतिपक्षी रहँदै आएको छ। ती सदाबहार प्रतिपक्षीलाई संकेत गर्न सायद वाग्लेले उनलाई सुरुमै बायाँतिरको कुर्सी छुट्याइदिएका थिए। राजनीतिमा प्रतिपक्षी बायाँ बस्छन्। पूर्वको झर्रो नेपाली भाषा चलाउने खगेन्द्र संग्रौलाको कलम सत्तासीनका लागि एउटा तिर समान हो। ‘साहित्य लेख्दा म लालित्यपूर्ण भाषाको प्रयोग गर्छु, बिम्ब प्रयोग गर्छु, रुप प्रयोग गर्छु। अनि मलाई शासन गर्नेहरु के भन्छन् भने तिमीले साहित्य लेख्नु राम्रो, अखबारमा नलेख’, उनले सुनाए।

कुनै बेला खगेन्द्र संग्राैलाको पहिचान, रातो क्याप, रातो झोला बनेको रहेछ। वाग्लेले त्यसबारे पनि सोध्न भ्याए। 'कहाँ हरायो तपाइँको रातो क्याप, रातो झोला?'

संग्रौला आफूलाई सुरबीर ठान्दैनन्। सुन्दा उनी सामान्य लाग्छन्। तर उनका केही अभिस्टहरु छन्, केही प्रतिबद्धताहरु छन्। कुनैबेला कम्युनिस्ट दर्शनबाट प्रभावित उनी भन्छन्, ‘आफूले काँधमा बोकेर सत्तामा चढाएको मान्छे, सत्तामा पुगेपछि सुँगुरजस्तो देखियो। त्यसले मेरो मनमा आक्रोश, आवेग उत्पन्न गरायो। म त्यही लेख्छु। मेरो अखबारी लेखन सडकको गर्जन हो।’

नारायण वाग्लेका प्रेम सम्बन्ध कति?

कुनै बेला खगेन्द्र संग्रौला कान्तिपुर दैनिकमा नियमित स्तम्भकार थिए। त्यहाँ वाग्ले सम्पादक थिए। यिनै दुई फरक व्यक्ति यहाँ सम्वादमा छन्। सम्पादक र स्तम्भकार सम्वादमा अब प्रश्न सोध्ने पालो खगेन्द्रको छ। मिडिया पछिल्लो समय चर्चामा रहेको सम्पादकीय स्वतन्त्रताबारे उनी जानकार लाग्छन्। कान्तिपुरका प्रधान सम्पादक समेत रहेका वाग्लेलाई सोध्छन्, ‘तपाइँ आफ्नो सम्पादकीय निर्णय, पत्रिकाको चरित्र, त्यसको प्राथमिकता, कसलाई प्रहार गर्ने, कसलाई जोगाउने भन्ने कुरामा पनि कति प्रतिशत स्वतन्त्र र स्वायत्त हुनुहुुन्छ?’

उनले ठाडै प्रतिशत सोधेका थिए। तर वाग्लेले त्यसको व्याख्यात्मक जवाफ दिए। ‘प्रकाशन गृहमा प्रकाशकलाई नेपथ्य भन्ने कुरा चाहिँ हुँदैन। प्रकाशन गृहको मुख्य विश्वसनीयता कसले लगानी गरेको छ, त्यो कतिको पारदर्शी छ। त्यसको बिजनेस इन्ट्रेस्ट छ छैन, मिडिया बाहेक अन्त लगानी छ छैन भन्ने कुराले निर्धारण गर्छ’, उनले व्याख्या गरेर बुझाउन खोजे। तीन दशक बढी पत्रकारितामा बिताएका वाग्लेको बुझाइमा सम्पादक भनेको अखबारी मोर्चाको अग्रभाग हो जो टाढैबाट देखिन्छ।

‘सम्पादक फ्रन्ट हो। पाठकसँग विश्वास कायम गर्न, न्युजरुममा विश्वास बनाउन सम्पादकले प्रकाशकको तर्फबाट जिम्मेवारी लिएको हुन्छ। बहुमतको चरित्र अंगिकार गर्ने पत्रिकाको स्वभाव हो’, वाग्लेले सुनाए।

पोखराको चिसो मौसमलाई दुई लेखकबीचको छलफलले रोमाञ्चक बनाइरहेछ। खगेन्द्र संग्रौला आफैँ पनि रोमाञ्चक देखिइरहेछन्। वाग्लेलाई उनी दोस्रो प्रश्न तेर्साउँछन्।

‘नारायणजी अत्यन्तै रोमाञ्चित देखिनुहुन्छ। रसिक हुनुहुन्छ। हरेक मानिसको जीवनमा गरिने तर भन्न नहुने केही कर्महरु हुन्छन्’ खगेन्द्र छोटो भूमिका बाँधेपछि थपे, ‘तपाईंको प्रेम कतिवटा भए?’

संग्रौलाको प्रश्नले भूपि कक्षको माहोल एकाएक गुञ्जयमान भयो। दर्शक तथा स्रोताहरु कान ठाडो पारेर वाग्लेको उत्तरको प्रतिक्षामा थिए। केहीले टाउको यताउता बटारेर उनीतिर हेर्न पनि खोजे।

नेपाल साहित्य महोत्सवका सहभागी। तस्विर साैजन्य: खिमलाल लामिछाने

नेपाल साहित्य महोत्सवका सहभागी। तस्विर साैजन्य: खिमलाल लामिछाने

वाग्लेले सानो ‘पज’ लिए। भनिन्छ नि बुद्धिको उच्च अभ्यासकर्ताहरु कसैलाई चित्त नदुखाई अप्ठ्यारो छल्नुपर्दा प्रश्न गर्छन् वा मुस्काइदिन्छन्। वाग्लेले दुवै जादु चलाए। मजाले हाँसे र उल्टो प्रश्न तेर्साए, ‘तपाइँले आत्मकथा लेख्ने विचार गर्दै हुनुहुन्छ?’

तर संग्रौला उत्तरको व्यग्र प्रतिक्षामै छन्। लाग्छ आज यो कुरा उनलाई जसरी भए पनि जान्नुछ। उनी मात्र होइन करिब २ सय स्रोता पनि कफीगफे लेखकको प्रेम कहानी सुन्न आतुर देखिन्छन्। ‘मैले कुनै दिन आत्मकथा लेखेँँ भने...अलि उमेर भएपछि...’ अप्ठ्यारो प्रश्नलाई सहज ढंगले लिन उनको प्रयास जारी छ। उनले वाक्य पूरा नगरे पनि स्रोताले कुरो बुझे। भूपि कक्ष फेरि एक पटक हाँसोले गुञ्जयमान भयो।

वाग्लेको प्रेम सम्बन्ध खोतल्न नसकेपछि खगेन्द्रल लेखक कृष्णचन्द्र सिंहको एउटा कथा पेश गर्छन्ः

कृष्णचन्द्र नामक एकजना नामी लेखक थिए। उनलाई एकदिन सोधियो, तपाईंका प्रेम सम्बन्धहरु कति भए? कृष्णचन्द्रले जवाफ दिएः म पनि अरु मानिसजस्तै एउटा मानिस भएकाले मेरा पनि अरुकैजस्ता केही कथाहरु भए होलान्। वाग्लेको जवाफ त्यस्तै भएको उनले निष्कर्ष निकाले। फेरि भूपि कक्षमा हाँसो गुञ्जियो।

वाग्ले र संग्रौलाबीचको सम्वाद सुनिरहँदा लाग्छ यी दुई सम्पादक र स्तम्भकार निकट दोस्त हुन्, ह्याङ आउट पार्टनर हुन्। यिनको सम्बन्धबाट लेखकीय मोर्चासँगसँगै निजी जीवनका किस्सा पनि निर्माण भएका छन्।

विगत, वर्तमान र आगतसम्म दुवैलाई एक अर्काको कुरा थाहा छ। वर्तमानबाट फुत्केर संग्रौला विगत कोट्याउँछन्। ‘कुनैबेला नारायणले मलाई साँढे भनेको छ। साँढे अर्थात, अराजक, छाडा। सम्पादकले स्तम्भकारलाई साँढे भन्यो। आखिर त्यो के भनेको ?’ उनी आफैँबारेको प्रश्न तेर्साउँछन्।

‘बेलुका ट्वाक, बिहान वाक’

‘तपाईं भएर नै भनेको’, वाग्लेको जवाफ आउँछ। भूपी कक्षमा ताली र हाँसोले फेरि गुञ्जिन्छ। साँढे भनेर वाग्लेले संग्रौलासँग आफ्नो पीडा पोखेका रहेछन्। कारण ज्ञानेन्द्र संकटकालमा खगेन्द्र संग्रौला उच्च तहको स्वतन्त्रता अभ्यास गरेका लेख पठाउने रहेछन्। ती लेखले सम्पादकको जागिर संकटमा पार्ने खतरा बढाएको रहेछ।

प्रश्न फेरि पनि खगेन्द्रले तेर्साए। ‘तपाईं र ममा को अग्लो?’ शारीरिक उचाइको कुरा गर्ने हो भने यी दुई लेखकबीच प्रस्ट भिन्नता देखिएला। तर एकैछिन् भूपी कक्षमा भेला भएकाहरु असमञ्जस्यमा परे। नारायाण वाग्ले बोलेकै थिएनन् जावफ खगेन्द्र संग्रौला आफैँले दिए।

‘मानिसको उचाई दुईवटा हुन्छ। एउटा दैविक र अर्को आत्मिक। आत्मिक अर्थात् बौद्धिकता, चिन्तनशील र सिर्जनाको उचाई। नारायण मभन्दा धेरै अग्लो हो।’ अग्ला नारायणको उचाइ चर्चाले उनको आफ्नै कद बढाएको गाइँगुइँ श्रोताकक्षमा सुनियो।

‘अब मैले केही लेख्नु भनेको त अभिन गर्नु हो। म त अब बुढो भइसकेको मान्छे हुँ’, उनले आफ्नो जीवनको तथ्य सम्झिए। जसको सार थियो, कसैले पनि सधैँ उसैगरी कलम चलाउन सक्दैन। परिवर्तन दुनियाँको एक मात्र सत्य हो।

‘एकछिन्, एकछिन्’, नारायाण वाग्लेले बीचमै उनलाई रोके। ‘तपाइँको हरेक बिहान आउने ट्विट जुन २४० अक्षरको हुन्छ त्यो एउटा सिंगो आलेखभन्दा शक्तिशाली छ। किन कि त्यसमा बुढेशकालको कुनै छनक देखिदैन’, सम्पादकले फेरि मौखिक सम्पादन गरे।

***
अन्तरक्रिया निकै रोचक भइरहेछ। मानिसहरु भूपी कक्ष वरिपरि झुम्मिएका छन्। सम्वाद लम्बिँदै जाँदा वाग्लेले संग्राैलाका केही गोप्य किस्सा झिके। संग्रौला रातभर रक्सी पिउँछन् भन्ने धेरैको अनुमान छ। सत्य होस् वा नहोस् मान्छेहरु त्यही ठान्छन्। सत्य यो हो कि उनी राति चाँडो सुत्ने मान्छे चाहिँ होइनन्।

एक दिन वाग्लेले उनलाई मर्निङ वाकमा देखेछन्। ठूलो फड्को मार्ने वाग्लेले पनि संग्रौलालाई भेट्नै सकेनछन्। यसले पुष्टि भयो संग्रौला रातभर बसे पनि बिहानै उठेर दौड्दा रहेछन्। त्यो पनि ‘सुपर फास्ट।’

वाग्लेको कुराले संग्राैला फेरि विगततिर फर्किए। एकदिन मर्निङ वाक क्रममा एक पण्डितजस्ता व्यक्ति भेटिएछन्। खगेन्द्र दौडिरहेको देखेपछि उनले भनेछन्, ‘सर, वाक गर्नुपर्छ। बेलुका ट्वाक, बिहान वाक।’

हा... हा... हा... भूपी कक्ष फेरि हाँसोले गुञ्जियो।

प्रकाशित ८ पुस २०७५, आइतबार | 2018-12-23 13:19:41
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...