चलचित्र ‘प्रसाद’को बाबुराम एउटा यथार्थ पात्र




नितान्त दर्शक भएर म ‘प्रसाद’ फिल्म हेर्न गएकी थिएँ। यसको ट्रेलर र गीतले मलाई राम्रो प्रभाव पारेको थियो।

फिल्म थिएटरमा लागेकै दिन हेर्न जान मन थियो तर केही दिन पछि मात्रै हेर्ने मौका पाएँ। मैले सिनेमा हेर्नु अगावै फिल्मबारे विभिन्न विचार सार्वजनिक भइसकेका थिए। तीमध्ये कति सकारात्मक थिए, कति नकारात्मक। कुनै पनि फिल्मलाई दर्शकले आ–आफ्नै तरिकाले बुझ्छन्। त्यो बुझाइलाई सम्मान गर्नुपर्छ।

यो फिल्ममा उठाइएको जातीय मुद्दाबारे बहस भइरहेको छ। एक हिसाबले त्यसले विवादकै रूप लिइरहेको छ। महिलाको संवेदनशीलतालाई लिएर पनि फिल्मबारे बहस उठेको छ। दुवै सवालको म आफैँ पनि भोक्ता भएको हिसाबले मेरो पनि यसमा मत छ। यस सन्दर्भमा मलाई लाग्छ, बसहमा उठेका कुराहरू किन यस्तो भएन, यस्तो पनि हुन सक्थ्यो भन्ने कपोलकल्पित कुराहरुको संकलन मात्र बढी भएको जस्तो लाग्यो।

फिल्म एउटा क्यानभास हो, जस्को निश्चित सीमाहरु हुन्छन्। त्यसको सबैभन्दा महत्वपूर्ण सीमा भनेको समय सीमा हो। दुई घन्टाको समयमा के भन्ने, कति भन्ने भन्ने कुरालाई सिनेमाकै क्यानभासमा बुझ्नुपर्छ। त्यसलाई बुझेर हेर्दा यो फिल्ममा त्यति धेरै समस्या छ भन्ने लागेन।

फिल्ममा पात्र छ– ‘बाबुराम परियार’, जसको बागलुङमा आफ्नै गाउँको वडा अध्यक्षको छोरी अर्थात क्षेत्री समुदायको चेली नारायणीसँग माया बस्छ। उनीहरुको माया गाउँलेले स्वीकार नगरेपछि आफ्नै संसार बसाउन गाउँ छोडेर शहर पस्छन्। अब यहाँ कुरा निस्किन्छ, उनीहरुले किन गाउँलेको विरोध गरेनन्, किन समस्यासँग भागेर शहर पसे? तर वास्तविकता नियाल्ने हो भने हामीले धेरै यस्ता घटना सुनेका, पढेका छौं, जहाँ अन्तरजातीय विवाह गरेकै निहुँमा कुटाइ खाएर कयौँ दलित समुदायका मानिस मारिएका छन्।

केही समय अघिमात्र ‘ज्यान जोगाउन काठमाडौं आए अन्तरजातीय विवाहित जोडी’ शीर्षकको समाचार पढेकी थिएँ। जसमा परियार थर युवा कथित माथिल्लो जातकी युवतीसँग विवाह गरेपछि भागेर काठमाडौ आएका थिए, मारिने डरमा। त्यो त एउटा उदाहरण मात्र थियो। कयौं घटना हरदिन भइरहेकै छन्। यसको अर्थ समस्यासँग भाग्नुपर्छ भन्ने अर्थ मेरो होइन। सामाजिक स्थिति अहिले पनि हामीले सोचे जति सहज छैन। जसलाई हामीले बाध्यतावश स्वीकारिरहेका हुन्छौं। उपदेश दिनु र स्वयंमा लागू गर्नु फरक कुरा हुन्। त्यसैले सिनेमामा व्यवहारिक कुरालाई जसरी देखाइएको छ, त्यसमा समाजको चित्र नआएको मैले देखिनँ।

फिल्मको कथाबारे कुरा गर्दा, बाबुराम परियारलाई किन त्यति कमजोर देखाइयो भन्ने प्रश्न उठ्यो। यसको अर्थ, त्यो पात्र बाबुराम कार्की, बस्नेत वा पौडेल अर्थात कुनै कथित माथिल्लो जात बनाइदिएको भएचाहिँ कमजोर बनाउन उपयुक्त हुन्थ्यो र? अनि परियार भएकै कारण उसलाई कमजोर बनाउन नपाइने हो, परियार कमजोर नै हुँदैनन्? सिनेमाको कोणबाट हेर्ने हो भने नायकलाई कुनै पनि किसिमले कमजोर बनाउन पाइँदैन भन्ने अर्थ हो कि? यहाँ प्रश्नका लागि प्रश्नमात्रै उठिरहेको छ झैं लाग्छ।

फिल्ममा बाबुराम र नारायणीलाई लिन बसपार्कमा उसको गाउँको साथी (कृतिपुरे ज्वाइँ) पुग्छ। जसको घरमा उनीहरु शरण लिन पुग्छन्। जहाँ उसकी श्रीमतीको कचकच सुनिन्छ। उनको बोलीचाली र लवजले नेवार समुदायको लाग्छिन्। फिल्ममा तीन पटक देखिने उनी छुच्ची र लोभी लाग्छिन्। त्यति टाढाबाट आएका श्रीमानका साथीलाई श्रीमानले नभनेको कारण खाना नबनाएको भन्छिन्। अब यहाँ पनि जातकै कुरा गरेर सबै समुदायलाई आरोपित गरेको मान्न त मिल्दैन होला!

सोझो हुनु, अरुले भन्ने कुरालाई सामान्य तरिकाले लिनु, इमान्दार हुनु मान्छेको सद्गुणभित्र पर्छन्। ती गुण फिल्मको मुख्य पात्र बाबुरामभित्र छ तर उसको पछाडि जोडिएको थरले समस्या खडा गरेको देखिन्छ। किनकि आफ्नो समुदायकै पात्र भएकाले नजिकबाट हेर्दा पनि मैले बाबुराम परियारलाई गलत किसिमले प्रस्तुत गरेको देखिनँ।

यदि उक्त फिल्मले बाबुरामलाई प्रतिनिधि पात्र बनाएर दलितहरू कमजोर हुन्छन्, जे पनि सहर्ष स्वीकार गर्छन् भन्ने देखाउन खोजिएको हो भन्ने अर्थ दिने हो भने कथित माथिल्लो जातको रमेश, जो बलात्कारी बनाइएको छ, सबै कथित माथिल्ला जातलाई बलात्कारी बनाइएको अर्थमा लिइयो भने के होला? त्यसैले बहसले बिषयको नियत र अन्तर्य खोतल्नुपर्छ भन्ने मलाई लागिरह्यो।

यो फिल्मको केन्द्र जात भन्दा पनि सम्बन्धहरुको उतारचढाव र संघर्षको कथा हो। जहाँ हाम्रो समाजको चरित्र विभिन्न रूपमा देखिएको छ। र, यहाँ बाबुराम परियार कुनै कमजोर पात्रको रूपमा चित्रित छैन। हुँदो हो त उसले कथित माथिल्लो जात समुदायकी छोरीलाई प्रेम गर्ने र उसका लागि गाउँ नै छोड्ने साहस गर्दैनथ्यो। बाबुरामले बलात्कारलाई चुपचाप स्वीकारेको पनि छैन, त्यस्तो भएको भए एकैछिन अघिसम्म भगवान देखिरहेको साथीलाई मार्छु भन्ने तहमा पुग्ने थिएन। श्रीमती बलात्कार भएकोमा ऊ लाचार भएर बसेको छैन। ऊ विद्रोहमा उत्रिएको छ।

उसैले कुटाइ खाएर फर्किएको प्रसंगलाई कमजोर भएको मान्न सकिएला तर यो समाजको वास्तविक चित्र हो। जसको प्रतिविम्वन सिनेमामा भइरहेकै हुन्छ। यो पहिलो सिनेमा होइन, जहाँ खलपात्रको कुटाइ नायकले खाएको होस्।

यस सन्दर्भमा म चर्चित फिल्म ‘पशुपतिप्रसाद’को सन्दर्भ सम्झिएँ। फिल्ममा नायक पशुपतिप्रसादलाई खलपात्र भष्मे डनले पशुपतिलाई लखेटी–लखेटी कुट्छ। पशुपतिप्रसादलाई त्यस ठाउँबाटै हटाउन यसरी लागिपर्छ कि मानौं त्यो ठाउँ उस्को पुर्ख्यौली बिर्ता हो, बारम्बार दु:ख दिइरहन्छ, घर न घाटको बनाइदिन्छ। त्यहाँ त ‘हिरो’ले ‘भिलेन’को किन कुटाई खायो भनेर प्रश्न उठेन! सिनेमाको अन्तिममा पशुपतिप्रसादको कुटाइ खाएरै मृत्यु हुन्छ। त्यहाँ पनि पशुपतिप्रसाद कमजोर भयो भनेर किन प्रश्न उठेन होला?

फिल्म यथार्थसँग कत्तिको नजिक भएको छ भन्ने कुराले त्यसको कथानकमाथि दृष्टिकोण निर्माण हुन्छ। मलाई लाग्छ, फिल्म हेरुन्जेल जे महसुस हुन्छ, त्यो असली प्रभाव हो। साँच्चै भन्नुपर्दा बाबुराम परियारमा मैले मेरो हिजोको बा र आजको दाइ देखेँ। जो केहीसँग पनि डराउँदैनन्। दिनरात मेहनत गर्छन्, आफ्नो परिवारको लागि संघर्ष गर्छन्। आफ्नो परिवारको हाँसोको लागि जे पनि गर्न तयार छन्। सम्बन्धको अर्थ राम्ररी बुझेका छन्।

अन्तिममा, मलाई लाग्छ– सबै बिषयलाई जातसँग मात्रै जोडेर हेर्नु पनि अर्को अति हुन सक्छ। पहिले मानवीय दृष्टिकोणले हेर्न सक्नुपर्छ। कुनै कुरा गलत हुन्छ भने त्यो गलत हो। प्रतिनिधि पात्रले गलत गर्नु उसले प्रतिनिधित्व गरेको सम्पूर्ण समुदायले गरेको गलतको कामको रूपमा चित्रण गर्न सकिँदैन।

एउटा प्रतिनिधि पात्रकै कारण सम्पूर्ण जाति नै राम्रो या नराम्रो हुँदैन। यो जात वा त्यो जातको भनेर हीनताबोध वा गर्व गर्नु पहिले मान्छे बन्ने सोच निर्माण गर्नु जरुरी छ। गलतविरूद्ध विद्रोह अनिवार्य छ तर विद्रोहले एक–अर्काबीचको खाल्डो पुरोस्, अर्को खाडल पैदा नगरोस्। ‘प्रसाद’को प्रसंगमा पनि यही होस्।

प्रकाशित ७ पुस २०७५, शनिबार | 2018-12-22 18:03:58
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?