चीनमा जारी मिस वल्र्ड २०१८ मा नेपाली सुन्दरी श्रृंखला खतिवडाले यो पटक मल्टिमिडिया अवार्डसहित फाइनल राउन्डमा पुग्ने धेरैको अनुमान थियो। तर मल्टिमिडियाको निर्णय हुनुभन्दा पहिले नै खबर आयो, ‘ब्युटी विथ पर्पस अवार्ड जित्दै शृंखला फाइनल राउन्ड प्रवेश।’ पछि मल्टिमिडियाको अवार्ड हात पारे पनि सुरुमा यसले नै उनलाई शीर्ष ३० सुन्दरी रहने फाइनल राउन्डमा पुर्याएकाे थियो। ब्युट विथ पर्पसको उपाधिपछि श्रृंखलासँग मिस वल्र्ड सोसल मिडिया संवाददाता जेके मिराजले लिएको अन्तर्वार्ताको नेपाली अनुवादः
‘ब्यूटी विथ पर्पस’जस्तो गरिमामय उपाधि पाएपछि कस्तो अनुभव भइरहेको छ?
मिस नेपालमा भाग लिएदेखि नै मेरो मुख्य उद्देश्य थियो मिस वल्र्डसम्म आउने। मिस वल्र्ड मेरा लागि रोमाञ्चक क्षण बनिरहेको छ। साँच्चै भन्नुपर्दा यो मेरो लागि सौन्दर्य प्रतियोगिताभन्दा माथिको विषय बनेको छ। त्यसमा पनि मैले ब्यूटि विथ पर्पोस उपाधि जितेँ। यो मेरो लागि मिस वल्र्ड जिते जतिकै ठूलो उपाधि हो। म अत्यन्त खुशी छु। कृतज्ञ छु, धन्य छु। तर अझै टाइटल (मिस वल्र्ड)को लागि मिहिनेत गर्न बाँकी छ।
ब्युटी विथ पर्पस उपाधिले तपाइँ र अन्यको जीवनमा कस्तो प्रभाव पर्नेछ?
यो उपाधिले मलाई अझ अगाडि बढ्ने प्रेरणा र हौसला प्रदान गरेको छ। यदि हामीले चाह्यौ, चेस्टा गर्यौं भने सामान्य मानिसको जीवनमा परिवर्तन ल्याउन सक्छाैं भन्ने आत्मविश्वास बढाइदिएको छ। २० देखि २५ मुलुकको परियोजनाहरु देख्दा र मेरा दिदिबहिनीहरुले विश्वभर गरिरहेको काम हेर्दा हामीले मिलेर एकजुट भएर काम गर्ने हो भने असम्भव केही हुँदैन रहेछ भन्ने आभाष भएको छ। हामीले धेरैको जीवनमा परिवर्तन ल्याउन सक्छौ। यस उपाधिले मलाई अझै दायित्व थपिदिएको छ। अझ केही गर्ने प्रेरणा र हौसला पनि दिएको छ।
के तपाइँ अवधारणा अनुसार नै आफ्नो समाजमा काम गर्न सक्नुहुन्छ?
अवश्य पनि। म आफ्नो कार्यलाई निरन्तरना दिनेछु। मैले आफ्नो फाउन्डेसनबाट स्वास्थ्य चौकी बनाउन थालेकी छु। मैले शिक्षाका लागि विद्यालय पनि निर्माण गर्नेछु। महाभूकम्पपछि हामीले अझै पनि पुननिर्माणको काम सम्पन्न गर्न सकेको छैनांै। अझै मानिसहरु बाहिरै बस्न बाध्य छन्। उनीहरुका लागि घर बनाउने कार्यमा लाग्नेछु। मैले पाएको उपाधि र नामबाट म सहयोग जुटाएर समाज सेवामा लाग्नेछु।
मिस वर्ल्ड आएपछिको सबैभन्दा ठूलो शिक्षा के हो?
यहाँ आएपछि मैले सबैसँग चुनौती हुने थाहा पाएँ। समाजमा केही गरौं भन्ने नै सबैको उद्देश्य हुन्छ। आफूले सबै कार्य गर्न नसके पनि हामी आवाजबिहीनको आवज बन्न सक्छौं। यहाँ आएपछि ममा पनि त्यो केही गरौं भन्ने भावना बढेको छ। सानो कामले पनि अन्यको जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने आभास भएको छ। झनै सेलिब्रेटी भएपछि हामीले सामाजिक दायित्व बोध गर्न जरुरी रहेछ भन्ने महसुस गरेकी छु। आफूले पाए सकेसम्म समाजको लागि समर्पित हुनुपर्छ भन्ने शिक्षा पाएकी छु।
प्रश्न उत्तर कार्यक्रमका केही प्रश्नहरुको जवाफ ब्युटी विथ पर्पस सेग्मेन्टकी जज अर्थात् मिस न्यूजिल्याण्ड २०१५, सामन्था मकलुङले दिइन्। श्रृंखलाको प्रस्तुतिबारे सोधिएका तलका दुई प्रश्नको जवाफ उनले दिएकी हुन्ः
यो अवार्ड प्रदान गरिने प्रक्रिया के हो? किन मिस नेपालले अवार्ड पाइन्?
यो उपाधि दिनु निकै गाह्रो प्रक्रिया पूरा गर्नुपर्छ। किनभने त्यहाँ धेरै उत्कृष्ट प्रतिस्पर्धीहरु थिए। हामीले यस्तो व्यक्ति खोजिरहेका थियौं। जसले राम्रो अवधारण मात्र बताउने होइन। त्यसलाई कार्यान्वयन गर्न सकोस्। जसले समाजमा केही परिवर्तन ल्याउनसक्छ। मिस नेपालको अवधारणा र उनको केही गर्छु भन्ने इच्छाशक्ति एकदमै राम्रो लग्यो।
के कुराले उनलाई नै भोट दिन बाध्य बनायो?
मिस नेपालले मलाई आफ्नो अवधारणामा स्वास्थ्य अवस्था सुधार ल्याउने बताएकी छन्। शुद्ध खानेपानीको व्यवस्थाबारे उल्लेख गरेकी छिन्। त्यतिमात्र होइन उनले भविष्यबारे पनि आफ्नो योजना बनाएकी छन्। त्यो एकदमै उत्कृष्ट कुरा हो।
मिस वर्ल्डबारे नेपालखबरका थप खबर:
१. श्रृंखलाको त्यो चर्चित भिडियो कसरी बन्यो?
२. मिस वर्ल्ड भाेटिङमा नेपाली सुन्दरी श्रृंखला उपाधि नजिक
३. जापानी कनाकाले जितिन मिस ट्यालेन्टको उपाधि, श्रृंखलाले दिइन् बधार्इ
४. मिस वर्ल्डमा श्रृंखलालाई कसरी भइरहेछ भोटिङ?
५. सुन्दरी बहसः विराेधी पुरुषको मन फर्कियाे, महिला उस्तै
६. शृंखलाले मल्टिमिडियासँगै ब्युटी विथ द पर्पस अवार्ड पनि जितिन्(भिडियो)