अनप्लग कविता साँझमा तीन कविका कविता प्रस्तुत

नेपाल लिटरेरी ग्रुप झापाको १६ औं अनप्लग साँझमा यसपटक तीन कविले कविता सुनाएका छन्।

 शुक्रबार दमकमा आयोजित कार्यक्रममा कविहरु राज माङ्लाक, राजु स्याङ्तान र सुन्दर कुरुपले दुई दर्जनभन्दा बढी कविता सुनाए।

कार्यक्रममा कवि राज माङ्लाकले ‘लिम्बुनी गाउँ’, ‘प्रेम कविताको अवसान’, ‘गाउँ र सहर’, ‘साँवा खोलाको गीत’, ‘राष्ट्रियता’ र ‘यौटा मिल्किसकेको पर्स देखेपछि’ लगायतका कविता सुनाए।

अर्का कवि राजु स्याङ्तानले ‘गुमनाम ताराहरु’, ‘आमा तिमी मात’, ‘रेमिट्यान्स’, ‘नागरिकता’, ‘रामबहादुर मार्ग’ लगायत कविता सुनाए।

त्यस्तै सुन्दर कुरुपले ‘लालमाया धिमालको मुस्कान’, ‘सुनसान गाउँ’, ‘रक्सी नपिएको साझँ’, ‘बाउ’, ‘गीतार’, ‘सोल्टिनी साइली’, ‘पृथ्वीको आविष्कार’ लगायत कविता प्रस्तुत गरे।

लिटरेली ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीले फरक फरक परिवेशमा रहेर कविता लेखिरहेका कविहरुलाई अनप्लगमा उभ्याइएको बताए। ग्रुपका सचिव विराट किराँतीले पूर्वी नेपाललाई साहित्यको हब बनाउनु अनप्लपको उद्देश्य रहेको प्रस्ट्याए। उनले भने, ‘हामी नियमित कार्यक्रम गरिरहेका छौं। यसको उद्देश्य साहित्यलाई समाजसँग जोड्नु हो।’

अनप्लग साँझमा कविहरु बद्रि भिखारी, देवान किराँती, प्रकाश थाम्सुहाङ आचार्य प्रभा, श्याम सिङ्घक, नवराज मैनाली अभागी थेगुगा लगायतले स्वागत तथा शुभकाम मन्तव्य राखेका थिए।

प्रकाशित 2018-09-14 18:24:38