सञ्चारकर्मी कल्पना भण्डारीको तीजको गीत ‘ऐलेको तिजैमा’ सार्वजनिक भएको छ। भण्डारीको एकल स्वर रहेको गीतको भिडियोमा समेत आफै अभिनय गरेकी छन्।
विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको गीत किरण क्रियसनले बजारमा ल्याएको हो। तिज भनेको विशेष गरी दिदीबहिनी भेला हुने, नाचगान गर्ने रमाइलो गर्ने पर्व भएकोले आफूले ल्याएको गीतले मनोरञ्जन दिनेमा विश्वस्त रहेको उनी बताउँछिन्।
‘तीज पर्वमा रंगहरुको संयोजन, एक आपसबीचको रौनकता, मनमा छाउने उत्साह मलाई असाध्यै मनपर्ने पाटो हो,’ उनी भन्छिन्।
गीतको भिडियोमा रामकुमार केसीको छायांकन, राज महर्जनको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको छ।
भण्डारी झण्डै डेढ दशकदेखी नेपाली टेलिभिजनमा सक्रिय छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता हुँदै सगरमाथा टेलिभिजनमा लामो समय समाचार बाचकको रुपमा काम गरेकी भण्डारी हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमको प्रस्तोता तथा निर्माता छिन्।
उनले यस अघि पनि बिपिन किरणको शब्दमा ‘मै कति भाग्यमानी’ बोलको तीज गीत बजारमा ल्याएकी थिइन्।