दिव्यदेवको 'रुदाने' यात्रा



दिव्य देव
दिव्य देव

दिव्यदेवको आत्मविश्वास आफ्नो उचाइ‌ँभन्दा अग्लो थियो। तर ‘रुदाने’ फिल्ममा अभिनय गर्ने कुरा चलेपछि उनमा आफैंप्रति शङ्का जाग्यो। रुदाने अर्थात् रुपचन्द्र विष्ट रोचक, क्रान्तिकारी तर जटिल चरित्र हुन्। उनको जीवनीमा आधारित फिल्ममा मुख्य भूमिका निर्वाह गर्नु जोकोहीका लागि चुनौतीपूर्ण हुने नै भयो।

त्यही भएर होला दिव्यको मनमा घरीघरी प्रश्न उठिरह्यो, ‘यति गम्भीर विषय र यति अप्ठ्यारा पात्रको भूमिकालाई न्याय गर्न सकूँला?’

उसो त दिव्यले रङ्गमञ्चमा आफ्नो क्षमता देखाएर धेरैको मन लुटिसकेका थिए। ह्याम्लेट, लुक ब्याक इन एन्गर, सान्दाजुको महाभारतजस्ता नाटकमा गरेको अभिनयबाट उनले धेरैको मन जितिसकेका थिए। तर हरेक पल्ट दिव्यलाई नयाँ पात्र बन्दा भोक नलाग्ने, निद्रा नलाग्ने हुँदोरहेछ। उनी हरदम आफूलाई कसरी पात्रमा ढाल्ने भनेर घोत्लिनेरहेछन्। अनि हरेक पटक यस्तो निष्कर्षमा पुग्दारहेछन्, ‘उफ! म यो पात्रलाई न्याय गर्नै सक्दिनँ।’

मधुरो आवाजमा सुनाए, ‘रुदाने बन्ने कुराले त एङ्जाइटी झनै बढायो।’ रुपचन्द्र थिए नै ‘जरा हट्के’।

६ फुट २ इन्च अग्ला देव र रुदानेको अग्लाइ मिल्थ्यो। रुदानेलाई देख्नेहरुले उनको ‘लुक्स’ पनि मेल भेटेका थिए। तर दिव्यको चिन्ताचाहिँ रुदानेबारे सकेसम्म बढी कुरा थाहा पाउनु थियो। आफूले निभाउने चरित्रको मनोविज्ञान बुझ्नु थियो। उनी सोधखोजमा लागिपरे। युट्युबमा उपलब्ध रुपचन्द्रको भाषण र केही अध्ययन सामग्री उनलाई अपूरो लाग्यो। र अन्ततः उनले चार महिना समय मागे।

यसपछि सुरु भयो, थाहा आन्दोलनका प्रणेताबारे उनको 'थाहा यात्रा'।

दिव्यको बुझाइमा उनी ‘नेचुरल एक्टर’ होइनन्। उनी आफूलाई ‘मेथड एक्टर’ भन्न रुचाउँछन्। रुदाने जीवनीमा आधारित फिल्म हो। यस्तो फिल्ममा कलाकारले चरित्रबारे आफ्नो कल्पनाशीलतालाई लगाम लगाउनु पर्छ, र यथार्थलाई बढी पछ्याउनु पर्ने हुन्छ। आफूलाई ‘मेथड एक्टर’ भन्ने उनले पहिलो ‘मेथड’ सुनाए, ‘सबैभन्दा पैला आफूलाई पुराना कुराहरुबाट अलग पार्न थालेँ। म दिव्य हैन रुदाने हुँ भनेर सोच्न थालेँ।’ त्यसपछि उनी थाहा अभियानमा रुदानेसँगै सहयात्रा गरेका मान्छेहरु भेट्न भनी मकवानपुरतिर लागे। ‘उहाँसँग संगत गरेका मान्छेलाई नभेटी मैले पात्रलाई ठम्याउन मुस्किल हुन्थ्यो।’ यसो भन्दै गर्दा उनका आँखामा आफ्नो कामप्रतिको समर्पण झल्किरहेको थियो। 

रुदानेको छायाङ्कनमा दिव्य र अन्य कलाकार

रुदानेको छायाङ्कनमा दिव्य र अन्य कलाकार

आवाज र केही तस्बिर मार्फत रुपचन्द्रलाई चिने पनि दिव्यले रुपचन्द्रलाई भिजुअली देख्न पाएका थिएनन्। तत्कालीन समस्या पोखे, ‘तर हाउभाउको भेउ थिएन। एक त मान्छेसँग जोडिएको सम्झना धेरैको स्मृतिबाट उड्ने, त्यसमाथि मान्छेका कतिपय कुरा एकअर्कासँग मेल नखाने।’ तर अर्को कुनै उपाय नभएकोले मान्छेहरुले भनेका महत्वपूर्ण कुराहरु टिपोट गर्दै गए। लामो श्वास तान्दै भने, ‘पन्ध्र बीस जनासँग कुराकानी गरेपछि बल्ल मन केही शान्त भयो।’

रुपचन्द्र एउटा पात्र मात्रै थिएनन्। रुदानेको जन्मगाउँ घर्तीखोला, मकवानपुरमा उनीबारे अनेक किस्सा यथार्थ भन्दा किम्बदन्तीका रुपमा समेत छरिएका थिए। यसले दिव्यलाई अलमलाउनु स्वभाविक थियो। तर जति जटिल उत्ति नै रोचक पात्र भएकाले यो सोधखोज उनलाई झन्झन् रोचक लाग्यो।

एकातिर मान्छे भेट्ने, अर्कोतिर रुदानेबारे भेटेजत्तिका सामग्री पढ्ने काम पनि सँगै गरे उनले। तर यो काम पनि सहज थिएन। भन्छन्, ‘वहाँको भाषा एकदमै जटिल। एक पटक पढेर वा सुनेर नबुझ्ने खालको। डिकोड गर्न समय लाग्यो।’

रुदानेको पोस्टर

रुदानेको पोस्टर

रुपचन्द्रका किस्सा सुन्दै बुझ्दै गएपछि उनी नयाँनयाँ प्रयोग गर्न थाले। आफ्नो संकोच चिर्दै उनले एकदिन दिउँसै रुपचन्द्रकै गाउँको भित्तामा ‘थाहा’ लेखे। ‘रुदाने र मेरा धेरै कुरा नमिल्ने। उहाँ जनतामा जाने, कम्युनिकेट गर्ने अनि मचाहिँ भीड देख्दा लजाउने।’ आत्मसमीक्षा गर्दै भने, ‘आफ्नो संकोचलाई मार्नु थियो। यसले त्यो ब्रेक दियो।’

रुदानेजस्तै उनी भित्ताभित्तामा ‘थाहा’ लेख्दै हिँडेपछि उनले पर्चा पनि बेच्न थाले। भित्तामा कोर्नुभन्दा पर्चा बेच्नु गाह्रो काम रहेछ। उत्साहित हुँदै बोले, ‘पर्चा बेचेर मैले पाँच सय रुपमा कमाएँ।’

तर यो काम सजिलो थिएन। मान्छेहरुले उनको पर्चा किन किन्ने भनेर मनाउनु जरुरी थियो। सबैभन्दा असहज क्षणबारे सुनाए, ‘रुदानेलाई नचिनेको मान्छे भेट्दा त ठिकै हो। तर उहाँलाई चिन्ने मान्छे भेटेमा केरकार नै गर्थे।’ यस्ता मान्छेलाई चाहिँ उनले फिल्मको बारेमा बेलिबिस्तारै लाउनुपर्ने रहेछ।

उनी रुदानेमा लगाउने लामो कोट र टोपी लगाएर हिँड्दा मान्छे ट्वाँ पर्थे। फिस्स हाँस्दै भने, ‘तीन महिना त आफ्नो लुगै लगाइनँ। पात्रकै हुलियामा हिँडेँ।’ रुदाने बन्ने एकपछि अर्को प्रयास उपलब्धीपूर्ण भए पनि अझै केही पुगिरहेको थिएन। एकदिन राजधानीको काठमाडौं मल अगाडिको आकाशे पुलमा पुग्दा उनलाई अचानक केही भयो। दायाँ वायाँका मान्छेको परवाह नगरी उनी भाषण गर्न थाले। उनलाई आनन्द आयो। यस्तै मजा लुट्न उनले अर्को दिन रत्नपार्कको भीडमा फेरि भाषण गरे। मजा झन् बढ्यो।

यी सबै प्रक्रियाको उद्देश्य के भने, दिव्य रुदाने बन्न चाहन्थे। थाहा अभियानका अभिन्न गतिविधि भित्ते लेखन, पर्चा वितरण र भाषणजस्ता कुराले उनलाई यसको नजिक पुर्यायो। झट्ट सुन्दा पत्याउनै गाह्रो अनुभवको गुह्य खोले, ‘मलाई यो चरित्रमा काम गर्ने इनर्जी चाहिएको थियो। यति गरिसकेपछि बल्ल त्यो इनर्जी पाएँ।’

मानसिक रुपमा उनी तयार भए पनि प्राविधिक र व्यवहारिक धेरै काम बाँकी थिए। रुदानेसँग उचाइँ र ‘लुक्स’ मिले पनि उनी दुब्ला थिए। तौल बढाउनु प्राथमिक कुरा थियो। तौल बढाउन कसरत गरे, खानपान बढाए। अझै नपुगेपछि करिब दुई हप्ता नियमित रुपमा सुँगुरको मासु खाए। फेरि फिस्स हाँसे, ‘६२ थिएँ, ७५ पुगेँ।’

दिव्यको मातृभाषा डोटेली हो। नेपालीभन्दा अंग्रेजी भाषामा नाटक खेलेका उनले नेपाली राम्रो बनाउन पनि विशेष मिहिनेत गर्नुपर्यो। यसको असर उनको बोलीमा झल्कियो। यसअघिका भेटमा धेरै अंग्रेजी मिसाएर बोल्ने उनी खास अवस्थामा मात्रै अंग्रेजी शब्द घुसाइरहेका थिए। गत वर्षको चैत १८ बाट सुरु भएको रुदानेको धेरै हिस्सा मकवानपुरको पालुङमा छायाङ्कन गरिएको छ। रुदानेप्रति त्यहाँका मानिसहरुको ‘अट्याचमेन्ट’ देखेर उनी कायल भएका छन्। सुनाउँछन्, ‘मकवानपुरका घरघरमा उनको फोटो छ।’

रुदाने छायाङ्कनका क्रममा दिव्य

रुदाने छायाङ्कनका क्रममा दिव्य

फिल्ममा त्यहीँका धेरै स्थानीय कलाकारहरु पनि जोडिएका छन्। उनीहरुबाट अपार माया र साथ मिलेको दिव्य बताउँछन्। यसबाहेक दिव्यलाई लागेको अर्को खास कुरा हो, मकवानपुरवासीको राजनीतिक चेतना उच्च रहेछ। र यसमा रुदानेको ठूलो देन छ।’

यस्तो माहोलमा त्यहीँका स्थानीय माझ रुदानेको भेषमा भाषण गर्ने अवसर पाउँदा देवको छाती चौडा हुने नै भयो। गर्वसाथ भने, ‘मलाई त्यहाँ सबैले रुदाने भन्न थाले। यो दुर्लभ अनुभव हो।’
जसरु, रापसरु, स्वरुपेलगायत रुपचन्द्रलाई अनेक नामले चिनिन्थ्यो। यीमध्ये सबैभन्दा बढी उनी रुदाने(रुप दामन नेपाल)का नामबाट प्रख्यात थिए। १९९० सालमा जन्मिएका उनको ‘रुदाने’मा २००२ देखि २०५६ सालसम्मको समयलाई उतारिएको छ।

फिल्ममा युवावस्थादेखि र वृद्धावस्थासम्मको भूमिका दिव्यले निभाएका छन् भने बालक र ‘टिनएजर’को भूमिकामा बालकलाकारको अभिनय छ। रुपचन्द्र थाहा अभियन्ता एवम् राजनीतिज्ञ रुदाने अजिबोगरिब पात्र थिए। सम्भ्रान्त परिवारमा जन्मिएर पनि जनमुखी राजनीतिमा सक्रिय भएका उनले बीसको दशकको अन्ततिरदेखि ‘थाहा’ अभियान मार्फत मौलिक र सरल सिद्धान्त प्रतिपादन गरेको दाबी गरिन्छ। निरंकुश पञ्चायती व्यवस्थामा मण्डलेतन्त्रका प्रखर विरोधी भएका कारण उनी पटक पटक गिरफ्तारसमेत परेका थिए। उनी पालुङ गाउँ पञ्चायतका प्रधानपञ्चदेखि राष्ट्रिय पञ्चायतसम्म बने। निमुखा र गरिब जनताका पक्षमा लड्ने नेता महलमा हैन छाप्रामा बस्नुपर्छ भनेर आफू पनि छाप्रामै बस्नेसम्मका व्यवहारले उनी लोकप्रिय बने।

निडर र हकी स्वभावका रुदाने सबैलाई तँ भन्थे रे! अझ भाते त उनको थेगो नै भयो। दिव्यलाई यो कुरा खुब घत परेछ। फिल्म छायाङ्कनका क्रममा मकवानपुरका केटाकेटीले उनलाई सधैं तानीतानी ‘एकचोटी भाते भन्नु न’ भन्दारहेछन्। ‘म पनि रमाइलो मान्दै उनीहरुलाई भन्थे, ‘थाहा पा भाते! जान् भाते! बुझ् भाते!’ फिल्ममा उनले बोल्ने रुदानेकै लवजमा स्वर फेर्दै भने, ‘हेर् भाते, तेरा छोराछोरी पढेनन् भने चोर, फटाहा, गुण्डा हुन्छन्। तिनेरले फुटाउने त हाम्रो घर हो। तेरो घर होइन।’

यति भनिसक्दा पहिलो पटक उनी अलि खुलेरै हाँसे। रुदानेको विशिष्ट र पृथक जीवनलाई उतार्न फिल्मका निर्देशकहरु अमित किशोर सुवेदी र विकास ढकालले अनुसन्धानका क्रममा करिब तीन सयभन्दा बढी मानिसलाई भेटेको दिव्य बताउँछन्। भन्छन्, ‘स्क्रिप्ट नै ९/१० पटक दोहोर्याएको थियो।’ उनलाई फिल्ममा काम गर्ने आकर्षण बढाउने मुख्य कारण यही रहेछ।

फिल्मका दृश्य खिच्नभन्दा पनि यसअघिको तयारीले उनको दिमागमा गहिरो छाप छोडेको छ। बैतडीबाट देउडा गायक बन्ने सपना बोकेर आएका दिव्यलाई अचेल लाग्न थालेको छ, ‘जिन्दगी नै थाहातर्फको यात्रा हो।’ कुनै समय अष्ट्रेलिया पुगिसकेका दिव्य अभिनयप्रतिको नशाले तानिएर फेरि नेपाल फर्केका थिए। रङमञ्चको अभिनय यात्रा सुखद रहे पनि आफ्नै फिल्म यात्राप्रति उनमा असन्तोष थियो। नागरिक, सुपरहिट र आवरणजस्ता फिल्ममा अभिनय गरेपछि त उनलाई फिल्म नै नखेलुम् कि भन्ने समेत लागेको रहेछ। 

ह्याम्लेट नाटकको एउटा दृश्यमा दिव्य

ह्याम्लेट नाटकको एउटा दृश्यमा दिव्य

तर रुदानेले उनमा नयाँ उमङ्ग थपिदिएको छ। उनको चाहना पहिल्यैदेखि गम्भीर भूमिकामा काम गर्ने थियो। खुसी साट्दै बोले, ‘म सामान्य भूमिकामा फिट नै हुन्नजस्तो लाग्छ। रुदाने मैले सोचेको भन्दा पनि गम्भीर पाएँ। खुसी छु।’ दिव्यका लागि रुदाने फिल्म मात्रै होइन। नेपाली समाज र राजनीतिलाई चिहाउने आँखिझ्याल पनि हो। देश र समाजका लागि एउटा मान्छले कति गहिरोसम्म सकारात्मक छाप छोडेको हुँदोरहेछ उनले छायाङ्कनकै क्रममा बुझ्ने मौका पाए।

रुदानेको सार्वजनिक भएको पोष्टरमा दिव्यले टोपी लगाएका छन्। त्यो टोपी रुदानेकै चेलाले कुभिण्डोबाट बनाएर उपहार दिएका रहेछन्। उनी काठमाडौं आएका बेला दिव्यलाई फोन गरेर फोनमै सुकसुकाएछन्। यस्ता भावनात्मक कुराहरुले पनि रुदानेप्रति दिव्यको विशेष सम्मान पलाएको छ।

फिल्मका निर्माता जागृत रायमाझी रुदानेसँग लामो समय संगत गरेका व्यक्ति हुन्। वर्कसपको चरणमा दिव्यलगायत सबै कलाकारलाई रुदानेबारे सबैभन्दा बढी जानकारी दिने उनै थिए। जागृतलाई १२ वर्षकै उमेरमा रुदानेले भाषण गर्न सिकाएका रहेछन्। यही कारण फिल्मको अन्तिम दृश्यको छायाङ्कनमा यति भावुक भएछन् कि उनी छायाङ्कन स्थल नै छोडेर हिँडेछन्।

रुदानेको पोस्टर

रुदानेको पोस्टर

यी सबै भए अरुका कुरा। रुदानेको दर्शन र सिद्धान्तले दिव्यलाई चाहिँ कस्तो असर पार्यो त? ठट्टा गर्दै भने, ‘म कमजोर उहाँ हकी। म एकलकाटे, उहाँ सामाजिक। मिल्ने त हाइट मात्रै हो।’ तर एकाएक गम्भीर बन्दै थपे, ‘रुदानेले मेरो जीवनमा दीर्घकालीन छाप छोड्छ होला। अनुभूतिको तहमा यति धेरै कुरा छन् कि व्यक्त गर्ने शब्दै छैन। यत्ति भन्छु आइ लभ रुदाने।’

प्रकाशित ३१ असार २०७४, शनिबार | 2017-07-15 16:13:33

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी

    मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा...

  • रोहित, अनिल र अासिफ

    यी हुन् राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाउने युवा खेलाडीहरु

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत डिसेम्बरमा हुने युएई विरुद्धको खेलको तयारीका लागि यसअघि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुकाे नाम...

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...