टिक्न कविता र भान्सा चलाउन ब्यानर कोर्छन् यी पुरस्कृत कवि

नेपाल प्रज्ञा प्रतिष्ठानको ६० ‍‍अौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय  कविता महोत्सव २०७४ मा खोटाङका कवि चन्द्र रानाहँछाको कविता आँधीको यात्राले प्रथम पुरुस्कार पाएको छ।

नेपालखबरले झण्डै दश महिना पहिला यीनै कविका बारेमा फिचर तयार गरेको थियो। हाम्रा प्रतिनिधी प्रविण बानियाँले लेखेको फिचर सान्दर्भिक ठानेर थोरै परिमार्जनसहित प्रस्तुत गरेका छौं। 

 

आफू टिक्न कविता, भान्सा चलाउन ब्यानर

देशको राजधानी काठमाडौँको व्यस्त ठाउँ, बागबजार। छेउमा पद्मकन्या क्याम्पस। रत्नपार्कदेखि बागबजार छिर्ने मुखमा घरैपिच्छे भेटिन्छन् आर्ट हाउसहरू। करिब बीचतिर एउटा कुनामा साधारणजस्तो लाग्ने आर्ट हाउस छ– साकेला आर्ट। त्यही कुनामा ब्यानर लेख्दै गरेको अवस्थामा मध्य उचाइका एकजना चित्रकार कवि भेटिन्छन् चन्द्र रानोहोंछा।चन्द्र रानोहोंछाको पहिलो परिचय हो– कवि। अर्को पाटो छ– चित्रकारिताको। रङ र कुचीसँग खेल्नु उनको पेसा हो। भक्तपुरको जडीबुटीबाट उज्यालो भुइँमा खस्न नपाउँदै चन्द्र घरबाट निस्कन्छन्। र, बस चढेर बागबजार पुग्छन्। साँघुरो कोठामा उभिएर दिनभर ब्यानर लेख्छन्, गाडीका नम्बर प्लेट लेख्छन्, अर्डरअनुसार चित्र कोर्छन्। साथीभाइ आउँदा, कवि–लेखक जुट्दा सडकपेटीका चिया पसलमा बसेर गफिन उनलाई केहीले रोक्दैन।

पूर्वी खोटाङ थातथलो भई करिब १९ वर्षअघि आइए पढ्न राजधानी छिरेका चन्द्रले राजधानीसँगको संगतमा पेन्सन–अवधि पकाइसके। यो बीचमा उनले भोक र अभावका थुप्रै पहाडहरू नाघे, सहरको घामपानी छले, जीवनका रहरलाग्दा देउरालीहरू सहरमै चढे। गाउँबाट पढ्न सहर पसेका उनले पछि पढाइ कजेललाई नै जिम्मा लगाए। अनि रङ र कुचीको श्रमिक बने। ‘सुरु–सुरुमा रहरले ब्यानर लेखिन्थ्यो,’ उनले सुनाए, ‘पछि यही कर्म पेसा बन्यो।’

आमग्राहकका निम्ति चन्द्र ब्यानर पेन्टरभन्दा धेरै अरू केही होइनन्। तर, नेपाली कविताका निम्ति उनी उचाइ बनाइसकेका एक प्रतिनिधि कवि हुन्। दशकअघि नै एउटा कथासंग्रह र गीति एल्बम निकालेका चन्द्रको दुई वर्षअघि पहिलो कवितासंग्रह ‘थिबिया चराको गीत’ छापियो। त्यसयता बजारमा उनको ‘कवितागिरी’ चलिरहेकै छ। सँगै, कविताकर्मबाट उनले जीवनलाई चाहिने अतिरिक्त उज्यालो बटुलिरहेका छन्।

माओवादी जनयुद्धलाई चन्द्रले प्रत्यक्ष–परोक्ष सघाए। जनयुद्ध चर्किंदै जाँदा उनी माओवादीसँग नजिक भए, ब्यानर लेख्ने काममार्फत्। त्यत्तिबेला उनले पुलिस–प्रशासनको आँखा छलेर राति–राति माओवादीका ब्यानर लेखिदिन्थे। पछि देश शान्ति प्रक्रियामा प्रवेश गरेसँगै उनले मजदुर संगठनमा आबद्ध भएर काम गरे। तर, राजनीतिप्रति उनको आकर्षण धेरै समय टिकेन।

‘संसार फेर्न हिँडेकाहरू आफैं फेरिए,’ उनी नमिठो अनुभूति बोल्छन्, ‘राजनीतिले व्यवस्थासँगै जनताको अवस्था पनि फेर्ला भन्ने लागेको थियो, केही भएन।’

पचासकै दशकदेखि ब्यानर लेख्न थालेका चन्द्रले कुनैबेला राजतन्त्रको स्तुति गाइएका नारा कति लेखे कति। पछि जनयुद्धको पक्षमा कवितामा साम्यवादका सुन्दर नारा पनि लेखे। समयक्रमसँगै राजाविरुद्ध कठोर नारा लेख्ने दिन पनि आए। यसरी राज्यव्यवस्था र तिनका प्रवृत्तिहरू फेरिनेक्रममा उनले लेख्ने ब्यानरका थुप्रै भाषा र तौरतरिकाहरू फेरिए। तर, देशको अवस्था उस्तै रह्यो। यदि अधिकार र गणतन्त्रका पक्षमा चन्द्रहरूले लेखेका ब्यानरका नारा सार्थक हुन्थे भने आज अढाई करोड नेपालीको अनुहारमा हिमाल हाँसिरहेको हुन्थ्यो होला। उनीहरू संसारका सबैभन्दा सुखी नागरिक हुन्थे होलान्।

एकताका ब्यानर लेखेर राम्रै आम्दानी गरिरहेका चन्द्र्रजस्ता आर्टिस्टहरूको पेसा अहिले धराशायी बन्दै गइरहेको छ। प्रविधिको बढ्दो प्रयोग र विस्तारसँगै उनीहरूको श्रम–बजार दिनहुँ खुम्चिँदो छ। यसरी रोजीरोटी काटिन थालेपछि केही समयअघि चन्द्र गहिरो सोचमा परेछन्। र, उनले पेसाको विकल्प रोजे– विदेश। नभन्दै अरब जाने निधो गरी उनी हातमा बायोडाटाको फाइल च्यापेर सहरका मेनपावर अफिस चहार्दै हिँडे। ६ वटा अन्तरवार्ता दिँदा ६ वटैमा पास भए। पासपोर्ट मेनपावरलाई बुझाए। तर, पासपोर्टमा भिसा लाग्न नपाई उनको मन फेरियो। अन्ततः उनले देश नछाड्ने निधो गरे।

चन्द्रको आर्ट हाउसको सामुन्नेमा यौटा चियापसल छ। जहाँ देशका चल्तापुर्जा कवि–लेखकको जमघट हुन्छ। चन्द्र, श्रवण मुकारुङ, विप्लव ढकाल, शशी लुमुम्बू, टीका चाम्लिङलगायतको समूहको अगुवाई श्रवणले गर्छन्। समूहका बहुसंख्यक सदस्य भेला हुनासाथ सडकमै सानोतिनो कवि गोष्ठी चलिहाल्छ।

अक्सर चिया पसलमा जुटेका कविहरू मधुशालाबाट छुटिन्छन्। त्यस्ता बसाइमा उनीहरू कविताका कुराभन्दा बढी अरू कविलाई खुइल्याउने र उनीहरूका पिस बनाउन अग्रसर हुन्छन् (श्रवणले बनाएका त्यस्ता कतिपय पिस बजारमा निकै हिट छन्)। झट्ट हेर्दा ‘सोझोजस्तो’ देखिने चन्द्र खासमा मध्यमार्गी भूमिका निभाउँछन्, समूहमा।
सादा जीवन बाँचिरहेका यी कविको एउटा अम्मल छ– रक्सी। समूहमा पिउन बसेपछि उनी यतिसम्म पिउँछन् कि, उनले थुप्रैपल्ट घर जाने बाटो बिर्सेका छन्, पर्स हराएका छन्, मोबाइल भट्टिमै छाडेर हिँडेका छन्, नशामा कतिपटक अरूलाई आफ्नै नाम सोधेका छन्। रक्सी नपिउँदा पनि हुने तर पिउँदा खुस्किनेगरी पिउने उनले धेरैपल्ट फेरि रक्सी नपिउने कसम पनि खाए। यतिसम्म कि, पिउने संगतका कवि साथीभाइले उनले ‘भोलिदेखि रक्सी खान्नँ’ भनेर कसम खाएको ३५ पटकसम्म गन्न भ्याएका छन्। रक्सीकै कारण बेला–बेला श्रीमती अम्बिकासँग चन्द्रको ठाकठुक पर्छ। तर, श्रीमती फकाउने उनीसँग फर्मुला छ। कविता लेखेर आएको पारिश्रमिक र सम्मान–पुरस्कारमा आएको पैसाको केही भाग काटेर उनी श्रीमतीलाई बुझाउँछन्। र, फेरि पिउने छुट प्राप्त गर्छन्।

एकदिन नशामा निबास फर्कंदै गर्दा उनी सडकमा नराम्ररी पछारिए, शरीरको हड्डीले ठाउँ छाड्नेगरी। पछि डाक्टरकहाँ धाउँदा–धाउँदा बल्ल ठीक भए। त्यसपछि उनले ‘कसम ! अबचाहिँ रक्सी खान्नँ’ भनेर ‘अन्तिमपल्ट’ कसम खाए। तर, त्यो कसम पनि २४ घण्टाभन्दा बढी टिकेन। ‘आजसम्म कतिपटक अब रक्सी खान्नँ भनेर कसम खाएँ र कतिपल्ट आफ्नै कसम तोडें, आफैंलाई थाहा छैन,’ उनले ठट्टिँदै भने।

चन्द्रलाई आफू कवि हुनुको धेरथोर फाइदा व्यवसायबाट मिलेको छ। अथवा, उनको आर्ट व्यवसाय केही फराकिलो छ भन्दा हुन्छ। त्यो कसरी भने, उनीकहाँ काम लिएर आउने कतिपय कविताप्रेमीले फ्रेम हालेर भित्ताभरि झुन्ड्याएका चन्द्रका कविता पढ्छन्। र, उनका पुस्तक बोनससहितको मूल्यमा किनेर लैजान्छन्।

त्यसरी चिनिएकाहरू उनका नियमित ग्राहक हुने भइहाले। कतिलाई उनले उपहारमा पुस्तक दिएर पठाउँछन्। ‘कवि र कवितालाई माया गर्ने मान्छे भेट्दा बेग्लै आनन्द लाग्छ,’ उनले कविता–प्रेम सुनाए, ‘सामान्य मानिसले पनि कविता पढ्दा मिठो सन्तुष्टि मिल्छ।’

प्रकाशित 2017-06-23 17:50:49