'प्रिन्टर मेसिन' नराख्ने ट्याक्सीको नवीकरण नहुने



सरकारले ‘प्रिन्टर’ मेसिन जडान नगर्ने ट्याक्सीको नविकरण नगर्ने भएको छ। ट्याक्सी व्यवसायीले मिटरको छेउमा राख्नुपर्ने प्रिन्टर मेसिन राख्न आनाकानी गरेपछि सरकारले यस्तो कदम चालेको हो। गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रिन्टर मेसिन नराखेका ट्याक्सीको नविकरण नगर्ने बताए। ‘उपभोक्ता ठगिनबाट जोगाउन सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्नुपर्ने बाध्यकारी नियम लगाएको छ,’ उनले नेपालखबरसँग कुराकानी गर्दै भने, ‘यदि कुनै व्यवसायीले प्रिन्टर मेसिन जडान गर्न आनाकानी गर्छ भने, त्यसको नविकरण हुँदैन।’

उनका अनुसार काठमाडौंमा उपत्यकामा मात्रै ९ हजार ५ सय वटा ट्याक्सी छन्। त्यसमध्ये हालसम्म १ सय ५० वटा ट्याक्सीले प्रिन्टर मेसिन राखेका छन्, बाँकी ट्याक्सीले नविकरण गर्न आउनुपूर्व राखिसक्नुपर्ने छ। यदि प्रिन्टर मेसिन नराखी नविकरण गर्न आए, नहुने पुडासैनीले जानकारी दिए।

‘पहिलो चरणमा प्रिन्टर सपोर्ट गर्ने ट्याक्सीमा परीक्षण गर्छौं,’ उनले भने, ‘पुरानालाई केही समय अवधि दिएर अनिवार्य लागू गर्नेछौं।’ अमेरिकन तथा इटालियन ब्रान्डका मिटर पुराना मोडल भएकाले प्रिन्टर सपोर्ट हुन नसक्ने विभागको भनाइ छ। प्रिन्टररबिल प्रणाली जडान भए ट्याक्सी गुडेअनुसार प्रिन्टरमा बिल आउँछ। बिलअनुसार रकम दिँदा ठगीको समस्याबाट मुक्त हुने उपभोक्ताकर्मीहरू बताउँछन्। विभागका अनुसार मिटर जडानका लागि करिब ६ वटा संस्था छन। ट्याक्सीमा प्रिन्टर भने जो कोहीले पनि जडान गर्न सक्छ।

पुडासैनीका अनुसार विभागले मंसिर २० देखि नै लागू गर्ने तयारीमा जुटेको थियो। तर, ट्याक्सी व्यवसायीहरूले केही समय अवधि माग गरेकाले अन्तिम सातासम्म सारेको हो। बिल प्रणालीका लागि विभागका कर्मचारी, ट्याक्सी व्यवसायी, प्रिन्टर मर्मतकर्ता र ट्राफिक प्रहरीबीच पनि छलफल भएको थियो। त्यसक्रममा समय अवधि बढाउने सहमति भएको हो। ‘छलफलका क्रममा मिटर प्रणाली, प्राविधिक पक्ष र ट्याक्सीको संख्याको आधारमा पूर्ण रूपमा कहिलेसम्म व्यवस्थापन गर्नेबारे छलफल भयो,’ उनले भने, ‘सोहीअनुसार अहिले धमाधम प्रिन्टर राख्ने काम भइरहेको छ।

उनका अनुसार एउटा प्रिन्टर मेसिनको मूल्य ६ हजारदेखि ८ हजार रुपैयाँसम्म पर्ने गरेको छ। ट्याक्सी व्यवसायीले आफूलाई कुन अनुकूल हुन्छ सोही प्रिन्टर जडान गर्न सक्ने पुडासैनीले जानकारी दिए। त्यसैगरी, अहिले दैनिक ५० वटासम्म ट्याक्सी प्रिन्टर जडानका लागि आउने गरेको विभागको भनाइ छ। व्यवसायीले अनिवार्य लागू गरेर नगरेको ट्याक्सी मिटर नवीकरणको अवधिमा यकिन हुने जनाएको छ। ‘प्रभावकारी रूपमा लागू भएर नभएको मिटर नवीकरणको अवधिमा जानकारी हुन्छ,’ उनले भने, ‘बिल प्रणाली नराख्ने ट्याक्सीको मिटर नवीकरण गर्दैनौं।’ त्यसमा यातायात विभागले पनि सहयोग गर्ने जनाएको छ।

‘बिल प्रणाली हुँदा सर्वसाधारणले डिपार्टमेन्ट स्टोरमा सामान खरिदसरह बिल पाउँछन्। ट्याक्सी गुडेको र सर्वसाधारणले तिर्नुपर्ने मूल्य सबै उल्लेख हुन्छ,’ उनले भने, ‘प्रणाली कार्यान्वयन आवश्यक छ।’ उनले मिटर जडान गुणस्तर विभाग र अनुगमन यातायात व्यवस्था विभागले गर्ने बताए।

‘प्रिन्टर राख्ने बित्तिकै विभागमा आउनुपर्छ, एक प्रति प्रिन्ट गरेर विभागलाई बुझाउनु पर्छ,’ पुडासैनीले भने, ‘अनि मात्रै बजारमा जान पाइन्छ।’ यसअघि पनि सरकारले किलोमिटर अनुसार मूल्य निर्धारण गरेको थियो। तर, अधिकांश चालकले कार्यान्वयन गरेका छैनन्। सरकारले पनि अनुगमन गरेको देखिँदैन।

विभागले २०७४ साल साउन ७ गतेसम्म काठमाडौँ उपत्यकाका सबै ट्याक्सीमा मिटर जडान गरेका बारेमा जाँच गरिसकिने जनाएको छ। राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महँगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि मन्त्रालयले ट्याक्सी व्यवसायलाई व्यवस्थित गर्न सो नियम बनाई लागू गरेको हो।सर्वसाधारणले मिटर अनुसार ट्याक्सी चढ्न पाउनुपर्यो र ट्याक्सी सञ्चालकले पनि ट्याक्सी चलाएअनुसार पारिश्रमिक लिनुपर्यो भनेर यो नियम लागू गरिएको पुडासैनीको भनाइ छ। 

ट्याक्सीमा यो प्रणाली लागू भएपछि यसले एकातिर उपभोक्ताले आफू चढेको भाडाअनुसारको बिल पाई पारदर्शी कारोबार हुनेछ भने अर्कातिर कसैको सामान ट्याक्सीमा छुट्यो भने बिलका आधारमा खोज्न सहज हुने विभागको विश्वास छ।

कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर)बाट आउने बिलमा उपभोक्ता चढ्दा र ओर्लँदाको मिटर नम्बर, तिर्नुपर्ने रकम, ट्याक्सीको नम्बरलगायत वितरण हुन्छ। यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्ति नियन्त्रण हुने विश्वास लिइएको छ।

याे पनि पढ्नुहोस्

ठगी रोक्न ट्याक्सीमा अब ‘प्रिन्टर मेसिन’

प्रकाशित २७ पुस २०७३, बुधबार | 2017-01-11 13:37:38

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...