बैंश पर्खदैं दरबार हाइस्कुल

पुरानै शैलीमा पुनर्निर्माण हुनेछ ऐतिहासिक विद्यालय



‘अब दरबार हाइस्कुलको रुप–रङ्ग पुरानै शैलीको हुन्छ।’

आर्किटेक्ट प्रज्जवल हाडाले नयाँ डिजाइन शिक्षा मन्त्रालयलाई बुझाएपछि भने, ‘तर यसको भित्री रुप अलिक आधुनिक र विद्यार्थीमैत्री हुने छ। किनभने त्यहाँ कक्षा कोठाहरु छन्।’

देशकै सवैभन्दा जेठो विद्यालय हो दरबार हाइस्कुल। यहाँबाट उत्पादन भएका विद्यार्थी देशविदेशका अनेका कुनामा पुगे। देशभित्र सत्ता र शक्तिका अनेक वुर्जामा उभिए। तर यो विद्यालयले पटक पटक घुँडा टेक्दै उभ्भिदै गरेको छ।

पछिल्लो पटक २०७२ बेशाख १२ को भुकम्पले पनि यो विद्यालयलाई क्षति पुर्यायो। यसको पुनर्निमाण गर्ने कि सजसाज मात्र गर्ने भन्नेमा पनि छलफल भयो। अब यसको ढाँचा कस्तो बनाउने भन्ने डिजाइन नेपाल बास्तुविद् समाज (सोना) लाई तयार पार्न लगाइयो । सोनाले मंसीर पहिलो साता नै यसको नापनक्शा शिक्षा मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

सोनाले निर्माण गरेको पछिल्लो डिजाइनमा विद्यालयको बाहिरी स्वरुप जस्ताको तस्तै राखेर भित्री संरचनामा भने केहि मात्रामा परिवर्तन गरिएको छ। आर्किटेक्ट हाडाका अनुसार, दरबार हाईस्कुल देशकै गरीमा र इतिहास बोक्ने पहिलो विद्यालय भएकोले यसको बाहिरी स्वरुपलाई परम्पराको निरन्तरताका रुपमा राखिरहने तयारी छ। ‘भुकम्प प्रतिरोधी बनाउनका लागि भित्री संरचनामा त केहि परिवर्तन गर्नै पर्यो नि।’

भवन सबलीकरण (रेक्ट्रोफिट) गर्नका लागि दोब्बर खर्च लाग्ने हुनाले यो विद्यालयलाई पुनः निर्माण नै गर्न लागिएको रहेछ।

हाडाका अनुसार अब दरबार हाइस्कुल अगाडि रहेको अर्थात् प्राङ्गणमा रहेको भानुभक्तको सालिकलाई गेटभित्र छिर्ने बित्तिकै मजाले देख्न सकिने छ। सालिकको दायाँबायाँको भागमा पुस्तकालय राखिने छ। पुस्तकालयसँगै भानुभक्तको सालिकको बायाँ छेउमा संस्कृत माध्यमिक विद्यालय र दायाँ छेउमा दरबार हाइस्कुलको भवन रहने भएको छ।

विसं १९१० सालमा स्थापित दरबार हाइस्कुल १९४८ सालमा रानीपोखरीस्थित अहिलेको भवनमा सरेको थियो। तीनधाराबाट सारेर रानीपोखरीमा ल्याइएको हाइस्कुलको नाम २०२४ सालमा भानु माध्यामिक विद्यालय (दरबार हाइस्कुल) मा परिवर्तन गरियो। दरबारियाहरुका लागि भन्दै स्थापना गरिएको यो विद्यालय सर्वसाधारणका लागि खुल्ला गर्दै रानीपोखरीमा स्थानान्तरण गरिएको दुई वर्षपछि संस्कृत मावि पनि सोही भवनमा राखिएको छ।

निर्माणका बेला यो भवनमा खाँटी नेपाली सामग्रीहरु बज्र (सुर्की, चुन, मास र चाकुको मिश्रण), ईंटा र काठको प्रयोग भएको पुरातत्वविदहरु बताउँछन्। दरबार हाइस्कुल सय वर्ष पुरानो नेपालको ईतिहासभित्रको सम्पदामा पर्छ। राणा कालमा बनेको यो विद्यालय भवनको निर्माण संरचनाले युरोपीयन शैली आत्मसाथ गरेको पुरातत्वविद् राम बहादुर कुँवर बताउँछन्। ‘यसको बनावटमा त्यतिबेलाको राणाकालको शान–सौकत झल्कन्छ’ कुँवर भन्छन् ‘त्यसैले यसको निर्माण शैलीलाई बचाइरहनु नै, मौलिकता बचाइरहनु हो। यसमा ध्यान दिनु पर्छ।’

स्मारक संरक्षण ऐन २०१३ ले एक सय वर्ष भन्दा पुराना भवनहरुलाई पुरातात्विक महत्वका भवन मान्दछ। त्यसैले पुरातत्वविदहरु पनि दरबार हाइस्कुल भवनको शैली र संरचनाप्रति त्यत्तिकै चासो दिन्छन्।

उता डिजाइनर हाडा पनि यसको संरचना जोगाउनु सबैको दायित्व ठान्छन्। ‘हामीले सबैको मनोभावना बुझेर नै यस्तो डिजाइन प्रस्ताव गरेका छौ। हुन्छ हुँदैन थाहा छैन।’

२०४२ सालमा कक्षा चलिरहेको बेलामा कक्षा १० को कोठाको तला भत्किदा दरबार हाइस्कुलका छात्रछात्राहरु घाईते भएको थिए। त्यतिबेला सरकारी अनुदानबाट भित्री भागको दुवै तला र दुवै कौसी ढलान गरी यसको मर्मत सम्भार गरिएको थियो। विद्यालयको माथिल्लो हल र कोठाहरु पनि त्यति नै बेला निर्माण गरिएको थियो। त्यसपछि २०४५ सालको भूकम्पले पनि भवनलाई आंशिक क्षति गरेपछि केही भाग मर्मत गरिएको थियो।

२०४६ सालमा यही स्कुलबाट प्रवेशिका पास गरेका मीन बहादुर बस्नेत पुनर्निमाणका नाममा मुलुककै जेठो विद्यालयले पटक पटक धोका खाएको अनुभव सुनाउँछन्। हाइस्कुल व्यवस्थापन समितीको सदस्य समेत रहेका बस्नेतले हाइस्कुल पुनः निर्माणको लागि चीन सरकारसँग सम्झौता भएको र सन् २०१७ को जनवरीदेखि विद्यालय पुर्निर्माण हुने भने पनि त्यसको कुनै सुरसार नदेखिएकाले आफू अलिक निरास भएको बताउँछन्।

विद्यालयका प्रधानाध्यापक हेम चन्द्र महतो स्थिर सरकार नभएका कारण नै विद्यालय पुनर्निर्माणमा लाचारी देखिएको प्रतिक्रया दिन्छन्। भन्छन् ‘ अब ढिलासुस्ती नहोस्। समयमै काम होस्।’ १ सय ८० विद्यार्थी र २१ जना शिक्षक, शिक्षिका रहेको यो विद्यालयको विद्यार्थीहरु अहिले खेल मैदानमा रहेको टहरामा बसेर पढ्ने र पढाउने काम गरिरहेका छन्।

(तस्विर – दरवार हाइस्कुलको वेबसाइट)

प्रकाशित १७ पुस २०७३, आइतबार | 2017-01-01 15:39:10

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • संसद बैठक ( फाइल )

    सदनमा संविधान संशोधन पक्ष-विपक्षबीच घोचपेच

    व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...