पर्यटक भेषमा प्रवेश, जघन्य अपराध कर्म

२८५ दिनमा ५३७ विदेशी नागरिक देश निकाला



अन्नपूर्ण ट्रेकमा उकालाे लाग्दै पर्यटक
अन्नपूर्ण ट्रेकमा उकालाे लाग्दै पर्यटक

पर्यटकको भेषमा नेपाल आएर जघन्य अपराधमा संलग्न ५ सय ३७ विदेशी नागरिक देश निकाला भएका छन्।

उनीहरु नेपालको प्रचलित कानून अनुसार सजाय भुक्तानपछि देश निकाला भएका हुन्।

अध्यागमन विभागको सिफारिसमा गृहमन्त्रालयले उनीहरुलाई देश निकाला गरेको हो। भिषा शुल्क माफि मिनाह गर्नुपर्ने नागरिकका हकमा भने मन्त्रिपरिषद् बैठकको निर्णयबाट देश निकाला गरिएकाे हाे।  विभागका अनुसार २०७५ साउन १ देखि १५ बैशाख २०७६ सम्म (जम्मा २८५ दिन) मा देश निकालाको निर्णय भएका उनीहरुमध्ये ८६ जना जघन्य अपराधमा संलग्न थिए।

‘अपहरण, तस्करी देखि सरकारी छाप किर्तेसम्म विदेशी नागरिकको संलग्नता भेटियो,’ विभागका प्रवक्ता उपसचिव रामचन्द्र तिवारीले नेपालखबरसँग भने ‘उनीहरुलाई सजाय भुक्तान पछि देश निकालाको निर्णय भएको हो।’

जघन्य अपराधमा संलग्न विदेशी नागरिकहरुलाई प्रहरीले पक्राउ गरि कारबाही थालेसँगै त्यसको जानकारी विभागलाई गराइन्छ। नेपालको प्रचलित कानून अनुसार सजाय भुक्तानपछि रिहाभएसँगै उनीहरुलाई देश निकाला गरिएको हो।

देश निकाला भएका अधिकांसलाई अर्कोपटक नेपाल प्रवेशमा रोक लगाइएको छ। विभागका अनुसार केहीका हकमा भने निश्चित अवधिका लागि नेपाल प्रवेश रोकिएको हो।

तिलिचाेमा नांगाे फाेटाे खिचाउँदै दुई इजरायली पर्यटक। तस्विर: नाैशेर घले

तिलिचाेमा नांगाे फाेटाे खिचाउँदै दुई इजरायली पर्यटक। तस्विर: नाैशेर घले

यी देशका नागरिक भए देश निकाला

विभागले जाली राहदानीमा नेपाल प्रवेश गरेका २१ इरानी, १० पाकिस्तानी, केन्याका १ र सेनेगलका १ जना गरि ३३ जनालाई देश निकाला गरेको छ।

हवाईमार्ग हुँदै नेपाल प्रवेश गरेका अफ्रिकी देश इरटेरियाका ५ र क्यामरुनका २ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भिषा दिइएन। पर्यटक भिषामा नेपाल आएका उनीहरुका गतिविधि शंकास्पद भेटिएपछि विभागले ‘इन्ट्री रिफ्युज’ गरेको हो।

यस्तै राहदानी बिनै नेपाल आएका चीनका २, बंगलादेशका ८, पाकिस्तान, नेदरल्याण्ड र जोर्डनका एक–एकजना गरि १३ विदेशी नागरिकलाई कारबाही गरेको हो।

‘अध्यागमन कानूनको उलंघनका घटनामा विभागले नै नियमावलीअनुसार कारबाही अघि बढाउँछ,’ उपसचिव तिवारीले भने ‘विकसित देशका नागरिक समेत बिना राहदानी नेपाल आउने घटना भेटिएको छ।’

लागूऔषधको ओसारपसार तथा बेचबिखनमा संलग्न नाईजेरिया र फिलिपिन्सका एकएकजना नागरिकलाई देश निकाला गरिएको छ। विभागका अनुसार बैकिंङ कसुरमा मुछिएका ९ जना विदेशी नागरिक समेत यो अवधिमा देश निकालामा परेका छन्।

बैंकिङ कसुरमा संलग्न रहेका चीन १, बुल्गेरिया १, टर्की २, माल्डोभा ४ र रोमानिया १ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउदै देश निकाला गरिएको हो।

यस्तै नक्कली विदेशी मुद्राको कारोबारमा पाकिस्तानी र भारतीय बाहेक चीन, नर्वे, फिलिपिन्स र इजरायली नागरिकको संलग्नता समेत भेटिएको छ। विभागले खोटाचलन मुद्दामा कारबाही भोगेका ७ विदेशी नागरिकलाई देश निकाला गरेको हो।

देश निकाला हुनेमा चीन १, पाकिस्तान ३, फिलिपिन्स १, नर्वे १ र इजरायलका १ जना रहेका छन्।

अपहरण तथा शरिर बन्धक र मानव बेचबिखन तथा ओसारपसार जस्तो गंभिर अपराधमा संलग्न बंगलादेशी २ र सुडानी १ नागरिकलाई देश निकालाको निर्णय भएकाे हो।

विभागका अनुसार नेपालमा बाल यौन दूराचारमा संलग्न ३ विदेशी नागरिक देश निकाला भएका छन्। सामाजिक कार्य र पर्यटक भिषामा नेपालमा रहेका उनीहरुले बाल यौन दूराचार गरेको प्रमाणित भएपछि प्रचलित कानून बमोजिम सजाय भएको थियो।

सजाय भुक्तान गरी कारागार मुक्त भएका अमेरिका १, जर्मन १ र क्यानडा १ जना नागरिकलाई देश निकाला गरिएको छ।

‘विभागले बाल यौनदूराचारमा संलग्न विदेशी नागरिकका हकमा विशेष निगरानी समेत गरिरहेको छ,’ उपसचिव तिवारीले भने ‘अध्यामगन कार्यालयमै यसको विवरणसहित जानकारी राख्ने ब्यवस्था गरिएको छ।’

नेपाल भएर भारत तर्फ हुने सुन तस्करीका लागि नेपाली र भारतीय बाहेक पाकिस्तानी र थाईल्याण्डका नागरिक समेत सक्रिय छन्। विभागले १ पाकिस्तानी र पाँचजना थाई नागरिकलाई देश निकाला गरेको हो। विभागका अनुसार कल बाईपास र बन्यजन्तुसम्बन्धी अपराधमा संलग्न एकजना चिनियाँ नागरिक सहित जघन्य अपराधमा संलग्न ८६ जना देश निकाला भएका हुन्।

ओभरस्टे मुख्य समस्या

देश निकाला भएका ५ सय ३७ मध्ये ४५१ जना विदेशी नागरिक बिनाभिषा नेपालमा बसेका थिए। उनीहरु काठमाडौं र पोखरासहित देशका विभिन्न स्थानमा धर्म प्रचारक, ब्यापारी, शिक्षक, समाजसेवी र कामदारका रुपमा भेटिएका हुन्।

यसरी ओभर स्टे भएका नागरिकलाई विभागले विभिन्न स्थानमा छापा मारेर पक्राउ गरी जरिबाना तिराएर देश निकाला गरेको हो। विभागले स्थानीय प्रशासनको सहयोगमा ओभरस्टे भएका विदेशी नागरिकको खोजी तीब्र बनाएसँगै पक्राउ पर्नेको संख्या ह्वात्तै बढेको हो।

विभागका अनुसार अघिल्लो वर्ष ६७ जना मात्र ओभरस्टे भएका नागरिक देश निकाला भएका थिए।

विभागकै पक्राउ तथा खानतलासी पूर्जी
विभागले विदेशी नागरिक अनुगमन निर्देशिका २०७५ अनुसार आफैँ पक्राउ तथा खानतलासी पूर्जी जारी गर्दै अवैध आप्रबासीको खोजी तीब्र बनाएको हो।  गृहमन्त्री रामबहादुर थापा 'बादल'ले २ जेठ २०७५ मा मन्त्रीस्तरीय निर्णयगर्दै निर्देशिका स्वीकृत गरेपछि जिल्ला तहसम्म अनुगमन समिति गठन भएको हो।

गृह सचिव संयोजक रहने गरी संघीय सरकारमा केन्द्रीय अनुगमन निर्देशन समिति गठन गरिएको छ। यो समितिमा विभागका महानिर्देशक सदस्य सचिव रहन्छन्। यस्तै  गृहकै सम्बन्धित महाशाखा, परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्य रहेका छन्।

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिआईजी सदस्य तोकिएका छन्।

‘समितिले जिल्ला तहसम्मलाई आवश्यक निर्देशन, नीति तथा कार्यविधि निर्माण गर्नेछ,’ महानिर्देशक ईश्वरराज पौडेलले भने ‘केही जिल्लामा बाहेक शंकास्पद क्षेत्रमा हामीले सक्रियता बढाएका छौं।’ यस्तै विभागका महानिर्देशककाे नेतृत्वमा गठन भएकाे अनुगमन तथा कार्यान्वयन समितिले आवश्यक कामकारबाहीलाई तीब्रता दिइरहेको छ।

विभागले प्रमुख जिल्ला अधिकारीको संयोजक्तवमा जिल्लामा रहेका रहेको समितिलाई अवैध आप्रबासीको बसोबास र कारोबारमा विशेष निगरानीका लागि सक्रिय पारेको हो। जिल्ला तहमा रहेको समितिलाई खानतलासी पूर्जी जारी गरि छापामार्ने सम्मको अधिकार प्रत्योजन भएको छ। जिल्ला तहकाे समितिमा समेत  सम्बन्धित निकायका पदाधिकारी सदस्य छन्। 

प्रकाशित १५ बैशाख २०७६, आइतबार | 2019-04-28 19:34:26
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...