पृथ्वीनारायणको जीवनका समग्र पक्ष मथेर ‘शिलान्यास’ बन्योः सुजित मैनाली



सुजित मैनाली
सुजित मैनाली
प्रविन कोइराला

सुजित मैनाली समाज र इतिहासका विषयमा कलम चलाउँछन्। यसअघि सौरभसँग मिलेर ‘ब्रेकिङ नेपाल’ नामक पुस्तक प्रकाशन गरेका सुजितको ‘शिलान्यासः नेपाल निर्माणको नालीबेली’ वैशाख १४ गतेदेखि बजारमा आउँदै छ। अखबारहरुमा इतिहास र समाजका बारेमा लेख लेख्दै आएका मैनालीको यो नै पहिलो एकल पुस्तक हो। नेपालखबरले आउँदै गरेको उनको पुस्तकमा केन्द्रित रहेर गरेका पाँच प्रश्नको जवाफ उनले यसरी दिएका छन्ः 

१. ‘शिलान्यासः नेपाल निर्माणको नालीबेली’ कस्तो पुस्तक हो?
पछिल्लो समय नेपाली जनजीवनका विविध पक्षबारे चिन्तन, मनन, विमर्श हुने क्रम बढेको छ। विभिन्न कोणबाट नेपाली समाज, नेपाली संस्कृति, नेपाल राष्ट्रको ब्याख्या भइरहेका छन्। यो सुखद् विषय हो। समाज र राष्ट्रले अहिले भोगिरहेका समस्याबारे विमर्श गर्दैगर्दा स्वाभाविक रूपमा हामी इतिहासमा पुगेर ठोकिन्छौं किनभने इतिहासकै गर्भबाट वर्तमान जन्मिएको हुन्छ। अबको हाम्रो गन्तव्य, हाम्रो भविष्य कस्तो बनाउने भन्ने कुरा पनि इतिहासको आलोकमा वर्तमानलाई हामीले कति राम्रोसँग बुझेका छौं भन्ने कुराले धेरै हदसम्म निर्धारण गर्छ।

नेपालमा प्रखर रूपमा उठिरहेका राजनीतिक तथा सामाजिक मुद्दालाई जरोसम्म पुगेर खोतल्ने काम किताबमा गरिएको छ। नेपाल राष्ट्रको जगलाई उपलब्ध तथ्यका आधारमा विभिन्न कोणबाट हेरिएको र ब्याख्या गरिएकाले किताबको नाम ‘शिलान्यास’ शब्दबाट जुराइएको हो। यसमा नेपालको अहिलेको संस्कृतिक जीवन कसरी निर्मित भयो? इतिहास अर्को ढंगले अघि बढेको भए कस्तो परिदृश्य बन्ने थियो? इतिहासमा यस क्षेत्रमा रहेका अन्य मुलुकभन्दा हामी किन फरक भयौं? के कारणले अरू सबै मुलुकलाई औपनिवेशिक शक्तिले निलिरहँदा हामीले हाम्रो स्वतन्त्रता जोगाउन सक्यौं? किताबमा म यस्ता प्रश्नहरूमाथि घोत्लिएको छु।

२. शीर्षकमै ‘नालीबेली’ शब्दको प्रयोग गरिएको छ। हालसम्म बाहिर नआएका तथ्यहरूको पनि खुलासा गरिएको छ कि?
आम पाठक र इतिहास तथा समाज विज्ञान विधाका प्रौढ अनुसन्धानकर्ता दुवैलाई लक्षित गरेर मैले किताब लेखेको हुँ। पाठकले किताबमा समेटिएकोे विषय, तिनको प्रस्तुति, दृष्टिकोण सबैमा नवीनता महसुस गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु। यसअघि कतै प्रकाशमा नआएका तथ्य पनि किताबमा समावेश छन्। यसका अतिरिक्त अभिलेख, ऐतिहासिक कागजात, पत्राचार, वंशावली, धर्मशास्त्रजस्ता मूल सामग्रीलाई किताब लेखनका क्रममा पर्याप्त दोहन गरिएको छ। अखबारी आलेख लेख्न बस्दा पनि मैले पाठकले मेरो लेखोटबाट नयाँ सूचना हासिल गर्नैपर्छ भन्ने आग्रह पाल्ने गरेको छु। यस्तो आग्रह किताब लेखिरहँदा अझ प्रबल भएको थियो।

३. तपाईं पछिल्लो समय पृथ्वीनारायण शाहमा बढी केन्द्रित भएकोजस्तो देखिन्छ। पुस्तकमार्फत उनैलाई नायक बनाउन खोज्नुभएको हो ?
मेरा पछिल्ला आलेखहरू पृथ्वीनारायणमा बढी केन्द्रित छन् भन्ने कुरा साँचो होइन। मेरा पछिल्ला १५ वटा लेखमध्ये पृथ्वीनारायणबारे एउटा मात्र लेखिएको छ। त्यस लेखमा मैले पृथ्वीनारायणले इसाई मिसनरीहरूलाई उनीहरूका करिब ६० जना स्थानीय चेलाहरूसहित बेत्तियातिर किन लखेटे भन्नेबारे प्रकाश पारेको छु। इसाई मिसनरीसँग पृथ्वीनारायणको सम्बन्धको उतारचढावबारे लेखेको छु। पृथ्वीनारायणबारे मैले लेखेका लेखले पाठकमाझ बढी चर्चा पाएको छ। यसकारण सुजित पृथ्वीनारायणमाथि बढी केन्द्रित छ भन्ने परेको हुनसक्छ। यस्तो धारणा अरूले पनि बनाएको मैले पाएको छु।

तथ्यभन्दा दायाँबायाँ गएर इतिहासका कुनै पात्रलाई उठाउने अथवा गिराउने नियत लेखकले राख्नु हुँदैन भन्नेमा म सचेत छु। शाहकाल आरम्भ भएपछि तयार पारिएका विभिन्न वंशावलीमा यस्तै गरिएका छन्। तिनले तथ्य तोडमोड गरी पराजित राजवंश र भारदारको उछित्तो काड्ने, शाहवंश र गोरखाली भारदारको ‘विरुदावली’ गाउने काम गरेका छन्। बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, चित्तरञ्जन नेपालीजस्ता नामी इतिहासकारले पनि यही शैली पछ्याए। पृथ्वीनारायण र उनका सन्ततीलाई उठाउने प्रयत्नमा उनीहरूले जयप्रकाश मल्ललगायतलाई गिराउने, पृथ्वीनारायणको कीर्तिलाई अतिरिञ्जित पारामा व्याख्या गर्ने काम गरे। यही शैलीलाई अहिलेका थुप्रै टिप्पणीकारले भिन्न शैलीमा अनुशरण गरिरहेका छन्।

पृथ्वीनारायणलगायत ऐतिहासिक व्यक्तिलाई गिराउने उद्देश्यले उनीहरूले तथ्य तोडमोड गर्नेदेखि त्यस्ता व्यक्तिको बाघी बनेर इतिहासमा उभिएका पात्रहरूका आलोच्य कदमलाई पनि न्यायोचित ठह¥याउने प्रयत्न गरिरहेका छन्। नियोजित ढंगले कलम चलाउनुहुँदैन, नत्र फितलो सिर्जना जन्मिन्छ भन्ने कुरामा यो किताब लेखिरहँदा म अतिरिक्त सचेत भएको छु। त्यसैले किताब लेख्ने क्रममा ‘सेलेक्सन बायस’ले ठाउँ नपाओस् भनेर पृथ्वीनारायणलगायत व्यक्तिको जीवनका समग्र पाटो प्रस्तुत गरी तिनलाई मथेर निश्कर्ष निकालेको छु।

४. नेपालको इतिहासबारे आइरहेका पुस्तक गहन अध्ययन, अनुसन्धान र खोजमुलक छैनन् भन्ने छ। तपाईंको पुस्तक पनि त्यही दायरामा पर्दैन भन्ने के आधार छ?
नेपालमा गहन अध्ययन, अनुसन्धान हुन सकेको छैन भन्ने कुरा आंशिक मात्र सत्य हो। संशोधन मण्डलको जर्नल ‘पूर्णिमा’लगायत त्यहाँका प्रकाशन गहन छन्। पछिल्लो समय मार्टिन चौतारीबाट गहन अनुसन्धानमुलक लेखरचना र किताब प्रकाशन भइरहेका छन्। यस्ताखालका काम हुनुपर्ने जति भएका छैनन् भन्ने कुरा चाहिँ साँचो हो।

यसो हुनुका अनेक कारण होलान्। विद्या र वृत्ति नजोडिनु एउटा कारण होला। अध्ययन, अनुसन्धानमा राज्यले पर्याप्त लगानी नगर्नु, राज्यभन्दा बाहिरबाट आउने लगानी एउटा समूहभित्र सीमित हुनु, त्यहाँबाट एउटै ढाँचाका अनुसन्धान मात्र गरिनु अर्को कारण होला। अनुसन्धानमुलक ग्रन्थको नेपाली बजार असाध्यै सानो हुनुले यस्तो कर्मलाई व्यक्तिको सौखमा सीमित गरिदिएको छ, यो अर्को कारण होला। गहन अध्ययन, अनुसन्धान गर्न आवश्यक उपकरणको चरम अभाव अर्को महत्वपूर्ण कारण हो। हाम्रोमा एउटै पनि गतिलो सार्वजनिक लाइब्रेरी छैन जहाँ पुराना ग्रन्थहरू सबै पाइऊन्। भर्खरै छापिएका ग्रन्थहरू पनि उपलब्ध होऊन्। गहन अध्ययन, अनुसन्धान गर्न विद्वत समुदायलाई प्रेरित गर्ने मुख्य थलो भनेको विश्वविद्यालय हो। तर नेपालका विश्वविद्यालय ठोस योजनाका साथ होइन भगवान भरोसामा चलिरहेका छन्। पत्रु बनाइएको दशकौं पुरानो प्रणालीले तय गरेको बाटोमा हाम्रा विश्वविद्यालय घिस्रिरहेका छन्। यो अर्को कारण होला।

मेरो किताब गहन छ÷छैन भनि टिप्पणी गर्ने उपयुक्त पात्र म होइन। यति चाहिँ भन्छु– किताबलाई गहन बनाउन मैले आफ्नो ठाउँबाट कुनै सम्झौता गरेको छैन। यसमा म कति सफल भएँ, मूल्यांकन गर्ने जिम्मा पाठकहरूको हो।

५. काठमाडौं उपत्यकामा पाइएका नियोलिथिक उपकरणबाट नेपालमा ९ हजार वर्ष पहिलेबाट मानिसको बसोबास रहेको भन्ने छ। ‘शिलान्यासः नेपाल निर्माणको नालीबेली’ त्यही समयदेखिको नालीबेली हो वा एउटा निश्चित समयलाई आधार मानेर तयार पारिएको हो?
किताबमा मल्लकाल र लिच्छविकालसँगै नेपालको प्रागइतिहाससम्बन्धी सन्दर्भबारे विभिन्न ठाउँमा उल्लेख गरेको छु। तर यी अवधीलाई किताबले प्राथमिकता दिएको छैन। पृथ्वीनारायणको उदयपछिका घटनामा म बढी केन्द्रीत छु। आधुनिक नेपाल स्थापना भएको अवधिदेखि २०७२ सालमा संविधान जारी भएका घटनासम्मका विवरणलाई विश्लेषण गरेको छु।

किताबमा मैले पृथ्वीनारायणको नेतृत्वमा निर्माण भएको आधुनिक नेपालको चरित्र; यसले खासगरी नेपालको पहाडी जनजाति समुदायको राजनीतिक तथा सांस्कृतिक जीवनमा पारेको प्रभाव; पृथ्वीनारायणको मृत्युपछि पर्वतेइतर समुदायले बेहोर्नुपरेको बहिष्करण; कैयौं प्रतिकुलताका बीच पनि नेपालले आजपर्यन्त आफ्नो सार्वभौम अस्तित्व जोगाउँदै आउनुपछाडिको कारण; नेपाली इतिहास, समाज र संस्कृतिबारे पूवर्वती लेखकहरूका लेखोइमा विद्यमान कमजोरी आदिलाई मैले केलाएको छु।

प्रकाशित १३ बैशाख २०७६, शुक्रबार | 2019-04-26 16:58:30
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...