पोखराको पर्स्याङमा बनेको घरमाथि महानगरको डोजर

‘स्थानीय भन्छन्: अन्याय भयो, महानगर भन्छ: सार्वजनिक जग्गा मिच्न पाइन्नँ’

पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा बनाएको घरमा डोजर लगाएको छ।

महानगरले वडा नम्बर ५ पर्स्याङस्थित धारापानी मार्गमा रहेको युवराज खतिवडाले सार्वजनिक जग्गा मिचेर घर बनाएको जिकिर गर्दै उनको घरमा डोजर चलाएको हो।

महानगरपालिकाले घर भत्काउन एक महिनाअघि नै सूचना दिएको थियो। अटेर गरेपछि सोमबार सुरक्षाकर्मीसहित पुगेको महानगरको टोलीले घर भत्काएको हो।

घर भत्काउने कामको नेतृत्व सोही वडाका वडाध्यक्ष धनबहादुर नेपालीले गरेका थिए। उनले मापडण्ड विपरित सार्वजनिक जग्गामा बनाइएको घर कानूनसम्मत रुपले भत्काइएको दावी गरे।

घर भत्काउने क्रममा महानगरको टोलीलाई स्थानीयले प्रतिकारसमेत गरेका थिए। घर भत्काउने क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले घरधनी खतिवडा र केही स्थानीयलाई नियन्त्रणमा समेत लिएको छ।

संरचनामा डोजर चलाइरहँदा स्थानीयले वडा सदस्य मन्जु केसीमाथि हातपात गरेका छन्। स्थानीयहरूले त्यहाँको विवाद उच्च अदालत पुगेको र आगामी १३ गते पेशी रहेकाले त्यतिञ्जेलसम्म पर्खन आग्रह गरेका थिए।

तर, वडाध्यक्ष नेपालीले पटक–पटकको वार्तामा खतिवडाले आफै भत्काउने कबोल गरेर पनि अटेर गरेकोले डोजर चलाउन बाध्य भएको बताए। स्थानीयले जग्गाको तिरो तिर्दै आएको र अदालतमा मुद्दा पुगेकोले फैसला अगावै वडाले डोजर आतंक मच्चाएको स्थानीयको गुनासो छ।

त्यहाँको जग्गा बिवादमा केहीअघि वडासदस्य मञ्जु केसी मुछिएकी थिइन्। स्थानीयले पत्रकार सम्मेलन नै गरेर उनले स्थानीयहरुसँग पैसा मागेको र आफ्नो घरचाहिँ नभत्काएको आरोप लगाएका थिए।

प्रकाशित 2019-03-25 20:51:12