जहाँ चेलीहरु घरमा भन्दा जंगलमा सुरक्षित महसुस गर्छन्



उमाको फोटो प्रदर्शनी ‘वनका हाम्रा गीत’ मा समेटिएकी एक युवती
उमाको फोटो प्रदर्शनी ‘वनका हाम्रा गीत’ मा समेटिएकी एक युवती

१६ वर्षीया गीता मिजारको काँधमा सम्पूर्ण घरायसी कामदेखि मेलापात र गाईवस्तुको हेरचाह गर्ने जिम्मेवारी छ। महिनावारी भएको समयमा समेत उनी बिहानै ३ बजे उठेर घाँस–दाउरा गर्छिन्। तर, न उनले कसैलाई छुन मिल्छ, न घरमा बस्न नै। उनी छाउ गोठमा रात बिताउन बाध्य हुन्छिन्।

छाउ गोठ अर्थात् महिनावारी भएका युवतीका लागि एउटा अध्यारो संसार– जहाँ उनीहरु डर, त्रास र भयबीच रात काट्छन्। अलिअलि आफूजस्तै मानिसहरुको, अलिअलि जनावर र किरा, फट्याङ्ग्राको।

तर, धर्म–संस्कृतिको नाममा रचिएको अन्धविश्वासी परम्परा सामु उनीहरुको कुनै सीप चल्दैन। न विवसताले जित्न सक्छ, न उनीहरु छाउ प्रथा बहिस्कार नै गर्न सक्छन्।

यसरी सन् २००५ मा प्रतिबन्ध लगाइएको र २०१८ मा दण्डनीय घोषणा गरिएको छाउपडीले अछामको ओली गाउँका गीताहरुमा कुनै परिवर्तन ल्याउन सकेको छैन।

तेजना खनाल र मनिषा नाथ

तेजना खनाल र मनिषा नाथ

सदरमुकाम मंगलसेनबाट हिँडेर १ घन्टाको दुरीमा रहेको सो गाउँमा क्षेत्री, परियार र मिजार थरका बासिन्दाको बसोबास छ। धेरैजसो घरमा पुरुष नै छैनन्। उनीहरु कामको सिलसिलामा भारत पुगेका छन्। गाउँमा भएका युवाहरुमा पनि त्यहाँ बस्न रुचि छैन।

धेरै घरमा युवतीका हजुरआमा र आमा छन्। तैपनि आफूले भोगेको नियति आफ्नी छोरीले भाग्नु नपरोस् भन्ने उनीहरुलाई कत्ति पनि लाग्दैन।

ओली गाउँका यिनै चेलीहरुको कथालाई फोटो पत्रकार उमा विष्टले तस्वीरमार्फत् उतारेकी छन्। २० दिन यी चेलीहरुसँग बिताएकी उमाले उनीहरुको भोगाईमात्र होइन, हृदयसमेत पढ्ने प्रयास गरिन्। ठमेलको छायाँ सेन्टरको छैठौँ तलामा ती चेलीका हृदयका कथा बोलिरहेका छन्।

०००
छाउपडीबारे बुझेदेखि नै उमामा आफ्नै आँखाले यस प्रथा नियाल्ने चाहना थियो। चाहना पुरा भयो पनि। छाउपडीको विकराल अवस्था आफ्नै आँखाले देखेपछि उनको मनमा एउटा प्रश्न खेल्यो, ‘छाउगोठ भित्रको कथा त धेरै आए, धेरै पढिए र धेरै सुनिए पनि। तर, गोठबाहिरको वास्तविकता के रहेछ त?’

यही प्रश्नको उत्तर खोज्न उमाले ओली गाउँमा २० दिन बिताएकी हुन्। भन्छिन्, ‘गोठमा ५ वा ७ दिनसम्म छाउपडी हुन्छ। तर, गोठबाहिर त हरेक दिन छाउपडी हुँदोरहेछ।’

यसरी छाउ प्रथाले उनीहरुको दैनिक जीवनशैलीमा नै असर पुगेको छ। भर्खर बोल्न जानेको बच्चालेसमेत ‘यो त छाउ भएकी छ’ भनिदिन्छ। छाउ भइसकेपछि एक्लै कतै जान बन्देज लगाइन्छ र अरुसँग बोल्दा पनि ख्याल गर्नुपर्छ।

‘छाउ भएकी युवती कुनै केटासँग बोलीमात्र भने पनि गाउँभर कुरा काट्न थाल्छन्’ यी सबै कुरा नजिकबाट नियालेकी उमा सुनाउँछिन्, ‘त्यसैले, उनीहरु गोठबाहिर झन् बढी मानसिक पीडा महसुस गर्छन्।’

कतै हिँड्दा वा घरमा धामी आउँदा ‘यो छाउ भएकी हो कि होइन?’ भन्दै गरिने अनेकन प्रश्नले कलिलो उमेरमा युवतीहरुको मानसिकतामा नकारात्मक असर परेको उमाले महसुस गरेकी छन्। ओली गाउँका हरेक चेलीले यस्तैसामना गरिरहेका छन्।

उमा बिष्ट

उमा बिष्ट

स्कुलमा कसैलाई छोप्ने ब्यथा (छाहारे रोग) लाग्यो र बेहोस भयो भने पनि कसैले छुँदैन। छाउ भएकी युवतीले छोएका कारण देउता लागेको भन्दै सबै टाढा–टाढा भाग्छन्। अस्पताल लाने कुरा त परै जाओस्, उसलाई कुनै रोग पो लागेको हो कि, बिरामी पो भएकी हो कि भन्ने कसले सोचिदियोस्!

यस्ता घटना गाउँघर फैलन्छन्। त्यसले गर्दा युवतीहरुमा छाउसम्बन्धमा अर्को मानसिक पीडा थपिन्छ।

अझ अरुलाई छाउपडी बार्नु हुँदैन भन्ने सल्लाह दिने स्वयंमसेकिाले नै छाउ बारेको देख्दा उमालाई अचम्म लागेको छ। अनि त, हरेकको घर–परिवारमा छाउपडीबारे उनै स्वयंमसेविकाको उदाहरण टक्र्याइन्छ। यस्ता कुराले युवतिहरुमा अन्धविश्वासप्रति झन् विश्वास बढ्न थाल्छ।

०००
ओली गाउँका चेलीहरु वनमा स्वतन्त्र महसुस गर्छन्। उनीहरु खुलेर हाँस्ने, एकअर्कासँग मनको बह बिसाउने थलो वन नै हो।

घरमा रहँदा खुलेर हाँस्दा, बोल्दा देवर, दाजु–भाइ, बुबाले सुन्छन्। ‘केही भन्छन् कि, गाउँलेले सुन्छन् र अरुसँग कुरा काट्छन् कि’ भन्ने भय पालेर बस्नुपर्छ। त्यसैले साथीसँग भेट हुने र मनको कुरा साट्ने स्थल पनि वन नै हो।

उनीहरुका लागि सपनाको सहर हो, वन। जहाँ उनीहरु हाँस्न, रमाउन र खेल्न मात्र होइन गुनगुनाउन पनि पाउँछन्। आफ्नो दैनिकी र विद्यालयका कुरा गर्छन्।

साथै, समूहमा बसेर छलफलसमेर्त गर्छन्। छाउको विषयमा कुरा गर्छन्। उमाले पनि उनीहरुसँग वनमा केही पल बिताएकी छन्। भन्छिन्, ‘उनीहरुलाई छाउविरुद्ध आवाज उठाउन समूह चाहिएको छ तर, साथ दिने कसले?’

उमाले वनका रुखमा चढेर युवतीहरुले देउडा गीत गुनगुनाएको पनि सुनिन्। उनले भाषा त बुझिनन्। तर, महसुस गरिन्– उनीहरु गीतमार्फत आफ्नो पीडा बिसाइरहेका छन् भन्ने। पीडा बिसाउन पनि स्वतन्त्रता चाहिन्छ। त्यो स्वतन्त्रता ओली गाउँका युवतीहरु वनमा महसुस गर्छन्।

त्यसैले त, उमाले फोटो प्रदर्शनीको शीर्षक नै राखिन्, ‘वनका हाम्रा गीत।’

साथै, वनमा छाउप्रतिको भ्रम र यथार्थबारे पनि कुरा हुन्छ। एकपटक गीता मिजारले महिनावारी हुँदा कसैलाई नभन्ने निर्णय गरिन्। घरमा आफै खाजा बनाइन्, खेतालालाई खान दिइन्। छिमेककी हजुरआमालाई पनि छोइन्।

गीताले ती हजुरआमाले छाउ भएकी महिलाले छुँदा मान्छे बौलाउँछ, धामी आउँछ भन्ने सुनेकी थिइन्। तर, उनलाई विश्वास लागेको थिएन। त्यसैले, आँट गरेर डरका बीच उनलाई यथार्थ पत्ता लगाउनु थियो। त्यसका लागि उनले निकै ठूलो हिम्मत जुटाएकी थिइन्।

तर, कसैलाई केही भएन। न देउता लागे, न अनिष्ट नै भयो। त्यसपछि गीतालाई यी सबै कुरा भ्रममात्र रहेछन् भन्ने एकिन भयो। अब उनलाई छाउ बार्ने मन छैन। बाध्यता र बिवसता छ।

वनमा गीताले यो कुरा आफ्ना अन्य साथीलाई पनि सुनाएकी छन्। तर, एकजुट भएर छाउविरुद्ध लड्ने आँट कसैमा छैन।

उमा भन्छिन्, ‘यसरी भ्रमको अन्त्य त भएको छ। तर, उनीहरुको मनमा डर भने जीवितै छ।’

१८ वर्षीया तेजना खनाल यसको एक उदाहरण हुन्। छाउपडी अन्धविश्वास हो भन्ने चाल पाएकी उनी धर्म र संस्कृतिमा विश्वास गर्ने भएकाले छाउपडीका सामाजिक नियम नमान्दा केही अनिष्ठ होला कि भन्ने डरमा बाँचिरहेकी छन्।

०००
उमाले ओली गाउँमा देखिन्, महिनावारी भएका युवतीहरु हिँड्ने बाटोसमेत अलग हुने गर्छ।

‘छाउ नबार्दा देउता रिसाउँछन, परिवारका सदस्यलाई नराम्रो हुन्छ, गाईले दूध दिँदैन, घरमा सर्प–बाघ आउँछ’ भन्ने अन्धविश्वास छ। र, यो कुरा महिनावारी भएका युवतीमा डरको रुपमा विकास भएको छ।

फोटो प्रदर्शनी

फोटो प्रदर्शनी

कतै कुनै दुर्घटना भयो या अस्वभाविक घटना घट्यो भने कसैमाथि छाउ नबारेको आरोप लगाइन्छ। यसरी मनको डरले युवतीहरु छाउप्रति सकारात्मक भइदिन्छन्।

यस विषयमा उमाले युवतीका आमा–हजुरआमासँग पनि कुरा गरिन्। उनीहरु छाउ बार्नुलाई आफ्नो संस्कृति मान्छन्। उनीहरु भन्ने गर्छन्, ‘हामीले मान्यौँ, यिनीहरुले पनि मानिरहेका छन्।’

छाउ बार्न बाध्य पार्नेलाई दण्ड गर्ने कानुन आएको छ रे भन्ने पनि सुनेका छन् परिवारका सदस्यले। उनीहरु बरु जेल बस्न र जरिवाना तिर्न तयार छन्। तर, छोरीलाई छाउगोठ पठाउन छाड्न तयार छैनन्।

त्यसैले, कडा कानुन बनाएर वा कसैलाई दण्डित गरेर छाउ प्रथा उन्मुलन नहुने उमाको बुझाई छ।

उनले निष्कर्षमा भनिन्, ‘समाजका हरेक मानिसको सोचमा परिवर्तन नआएसम्म छाउ प्रथा उन्मुलन हुन मैले सम्भव देखेकी छैन।’

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 15:12:54
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।