ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर


Kshamadevi Group


दीपक नेपाल
दीपक नेपाल
प्रविन कोइराला

‘धेरै ठूलो काम गर्नु पर्दैन नाम कमाउन। बस्, सही बाटो हिँड, सत्य बोल, सबैको इज्जत गर, आफ्ना लागिभन्दा पनि अरुका लागि सोच, सबैले चिन्नेछ तिमीलाई’, यो भनाई ट्वीटरमा दीपक नेपालले सेयर गरेका हुन्। यो ट्वीट ४ हजार ६ सयभन्दा बढीपटक रिट्वीट गरिएको छ।

दीपक नेपाल अर्थात ट्याक्सी ड्राइभर। सामाजिक सञ्जाल ट्वीटरमा झन्डै ५० हजार ‘फलोअर्स’ कमाएका उनी काठमाडौँको ब्यस्त सडकमा ट्याक्सी गुडाउँछन्। उनले ट्याक्सीमात्र चलाएका छैनन्। ट्याक्सीको स्टेरिङमा आफ्नो जिन्दगी राखेर त्यसलाई पनि सँगै चलाइरहेका छन्।

‘सम्पूर्ण शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर आजभोलि यसैगरी ट्याक्सी चलाइरहेको छु’ एकै छिन रोकिएर उनी थप्छन्, ‘होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

दुबई र कुवेत भर्सेज ट्याक्सी
दीपकले डेढ वर्ष दुबई र ३ वर्ष कुवेतमा श्रमिकको रुपमा काम गरे। २०६७ सालमा दुबई गएका उनले त्यहाँ करिब डेढ वर्ष बिताए। मासिक २० हजार तलब ‘खायो–पियो बराबर’ भनेजस्तै भएपछि स्वदेशमै केही गर्ने उद्धेश्यका साथ नेपाल फर्किए। तर, सोचेजस्तो भएन।

कृषक परिवारमा जन्मिएका उनका एक दाजु मलेसियामा मजुदुरी गर्दै थिए। ४ दिदीहरुको बिहे भइसकेको थियो। बुबाआमाले लगानी गर्ने वातावरण थिएन। गर्ने के?

त्यसैले, ठमेलमा रहेको ‘ओआरटुके रेस्टुरेन्ट’ मा सुरुमा वेटर र पछि कफी मेकरको रुपमा काम गरे। तलब ७ हजार थियो। काठमाडौँ बसाईका क्रममा एक सन्तानसमेत भइसकेको थियो। तलबले परिवार पाल्न सक्ने अवस्था भएन। फेरि पनि विकल्प विदेश नै रह्यो।

३ वर्षको काठमाडौँ बसाईपछि कुवेत हानिए। त्यहाँ उनी ९० केडी (३० हजार नेपाली रुपैयाँ) तलब पाउँथे। एक आर्मी क्याम्पमा वेटरको काम थियो। टिप्स स्वरुप मासिक १० हजार पाउँथे। त्यसले उनको खर्च चल्थ्यो। बाँकी पैसा घर पठाउँथे।

कुवेतमा ३ वर्ष बसेपछि उनलाई परिवारको न्यास्रो लाग्न थाल्यो। ठमेलमा उनका दाजुले ट्रेकिङ एजेन्सी खोलेका थिए। दाजुले पनि सँगै मिलेर काम गरौँला भन्दै नेपाल बोलाए।

२०७३ फागुनमा फेरि नेपाल फर्किए उनी। दाजुसँग मिलेर काम गर्न थाले। तर, डेढ वर्ष काम गरेपछि उनलाई आफै केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो।

उनीसँग होटलसम्बन्धी सीप थियो। तर, लगानी थिएन। अरुको होटलमा काम गर्दाको हबिगत उनले पहिल्यै भोगिसकेका थिए। त्यसैले, के गर्दा राम्रो होला भनेर सोचिरहे।

त्यति नै बेला उनको दिमागमा ट्याक्सी चलाउने काम विकल्पको रुपमा आयो। यो कुरा श्रीमतीलाई सुनाए। उनले पनि सहमति जनाइन्।

दीपक भन्छन्, ‘कुवेतबाट फर्किएपछि खाली समयमा ट्याक्सी चलाउन सिकेको थिएँ, लाइसेन्स पनि निकालेको थिएँ। त्यसैले पनि दिमागमा ट्याक्सी ड्राइभर बन्छु भन्ने कुरा क्लिक भयो।’

दीपकले बैँकबाट ऋण लिएर ट्याक्सी किन्ने पक्कापक्की गरे।

तर, ट्याक्सी किन्न सोचेजस्तो सहज थिएन। उनको गोजीमा १ हजार रुपैयाँमात्र थियो।

श्रीमतीले आफ्नो माइतबाट सहयोग मागिन्, आफूसँग भएको गहना बेचिन् र दीपकको हातमा ७ लाख रुपैयाँ थमाइन्। भनिन्, ‘बाँकी रकम कसरी हुन्छ, मिलाएर ट्याक्सी किन्नुस्। अब आफैले केही गर्नुपर्छ।’

हातमा ७ लाख परेपछि उनी ट्याक्सीको खोजीमा लागे। कसरी किन्ने, कति लगानी लाग्छ, आम्दानी कति हुन्छ भन्ने बुझ्न नै उनलाई एक महिना लाग्यो। ट्याक्सी निकै महंगो पर्ने रहेछ भन्ने पनि थाहा पाए।

२२ लाखदेखि ४० लाख पर्नेसम्मका ट्याक्सी हेरे। अन्त्यमा ७ लाख नगद र १६ लाख बैँक किस्ता तिर्नेगरी २३ लाखमा ट्याक्सी किने। त्यो ट्याक्सी उनी आफैले चलाइरहेका छन्। सुरुमा काठमाडौँका भित्री गल्लीमा चलाएर हात बसालेपछि अहिले बल्ल ब्यस्त सडकमा हुइँकाउन थालेका छन्।

ट्याक्सीबाट दैनिक ३ हजार रुपैयाँ कमाई हुन्छ। किस्ता, पेट्रोल र अन्य खर्च कटाएर १५ सय रुपैयाँ बच्छ। यत्ति कमाईबाट दीपक निकै खुसी छन्।

‘विदेशमा अरुको गाली सुनेर मरिमेट्नुभन्दा त यो पेशामा कति सुख कति! परिवारसँग बसेर, स्वदेशी माटोमा रमाउँदै, घरको खाना खाएर ट्याक्सी चलाउने कुरा मेरो दिमागमा पहिल्यै किन खेलेन होला?’, दीपक भन्छन्, ‘तर, खट्नु चाहिँ पर्छ है! ट्राफिक, यात्रुको अनेकथरि बचन सहनु पनि पर्छ।’

तर, त्यहाँका सुपरभाइजर, क्याप्टेन र पाहुनाको गालीभन्दा स्वदेशमा नेपाली दाजुभाइ, दिदीबहिनीको गाली स्वादिलो लाग्छ दीपकलाई। त्यसैले त भन्छन्, ‘विदेशमा त पीडै–पीडा, जे–जस्तो छ नेपालमै ठीक।’

कुवेतको आर्मी क्याम्पमा काम गर्दा केहीले नेपाली भन्नासाथ उनीसँग निकै निच व्यवहार गर्थे। आफूले खाएर बचेको भातको थाल हु¥र्याएर ‘ल खा’ भन्थे। त्यो सम्झँदा अहिले दीपकलाई स्वर्ग (आफ्नो देश) छाडेर नर्क (अरुको देश) पुगेजस्तो लाग्छ।

ट्वीटरमा हिट
ट्याक्सी चलाउन थालेको झन्डै महिना दिनपछि दीपकले ट्याक्सी चलाइरहेको तस्वीरसहित एउटा यस्तो ट्वीट गरेका थिएः

यसको आशय के हो त?

आफूले ट्याक्सी ड्राइभरलाई हेर्ने धेरैको दृष्टिकोण सम्मानजनक नरहेको पाएको अनुभव उनले सुनाए। ‘सबै त्यस्ता त हुँदैनन् तर, ट्याक्सी ड्राइभरलाई धेरैले हेप्दा रहेछन्। ठग, चोर, फटाह हो भन्ने धारणा बनाउँदा रहेछन्’ दीपक भन्छन्, ‘त्यसैले त्यस्तो लेखेको हुँ।’

दीपक बेलाबेला यस्ता ट्याक्सी साहित्य पनि ट्वीटरमा पोस्ट गर्छन्। समसामयिक तथा राजनीतक विषयमा चित्त बुझेन भने उनले ट्वीटमार्फत् आफ्नो धारणा व्यक्त गर्छन्। प्रायः मुक्तक, भावना वा गजल लेखेर पोस्ट गर्छन्।

तर, आजभोलि उनी सामाजिक सञ्जालमा त्यति झुन्डिन पाउँदैनन,। कामको व्यस्तताका कारण। कुनैदिन उनले एउटा ट्वीट गर्नासाथ ५० देखि सयसम्म रिट्वीट आउँथ्यो। तर, आजभोलि ब्यस्तताका कारण जम्न पाएका छैनन्। कहिलेकाहीँ पुराना रचना पोस्ट गर्छन्।

दुबई छँदा नै उनले ट्वीटर अकाउन्ट खोलेका थिए। तर, खासै सकृय थिएनन्। जब कुवेत गए, त्यहाँ आर्मी क्याम्पमा वाईफाई सुविधा थियो। त्यसको सदुपयोग गर्दै उनी ट्वीटर चलाउँथे।

‘ट्वीटरमा म आफ्ना पीडाहरु ब्यक्त गर्थेँ। नत्र विदेशी भूमिमा मनको बह कोसँग साट्नु?’, दीपक भन्छन्, ‘घरमा फोन गरेर परिवारका सदस्यसँग पीडा पोख्ने कुरा भएन।’

जसरी सुक्छ चैतमा मुल विस्तारै विस्तारै
त्यसरी हुन्छ बैँसमा भुल विस्तारै विस्तारै

भाग्यले मेरो तक्दिर यस्तो लेख्यो कि
हेरेर झ¥यो फूलेको फूल विस्तारै विस्तारै

पुलमा बसी बगर हेर्दै टिप्पणी देखियो
सपना थियो, भाँचियो पुल विस्तारै विस्तारै

यसरी, पीडाहरु ब्यक्त गर्दा–गर्दै उनका ट्वीट हिट हुँदै गए। उनको लेखन शैलीलाई धेरैले मन पराए। जतिजति ट्वीटेले दीपकका रचना रुचाए, उनमा पनि त्यति नै हौसला थपिदै गयो। र, विस्तारै साहित्यमा रुची बढ्न थाल्यो।

दीपकका अुनसार, उनले हालसम्म हजारभन्दा धेरै मुक्तक र २ सयभन्दा धेरै गजल लेखेर पोस्ट गरिसकेका छन्। ती सबैलाई समेटेर किताबकै रुप दिने इच्छा उनको छ।

उनको फेसबुकमा पनि ५ हजार साथी र २ हजार ‘फलोअर्स’ भइसकेका छन्। ती ‘फलोअर्स’ आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण कमाईजस्तो लाग्छ। यसको पनि एउटा कारण छ।

दीपकले ट्याक्सी चलाउन थालेको थाहा पाएपछि उनका ‘फलोअर्स’ ले सामाजिक सञ्जालमार्फत् नै ट्याक्सी बुक गर्छन्। दीपक मुस्कुराउँछन्, ‘विदेशबाट आउने साथीहरुले उतैबाट बुक गरेर एयरपोर्ट बोलाउनुहुन्छ।’

सामाजिक सञ्जालमा ५० हजारभन्दा धेरै मानिस जोडिएकाले दीपकलाई बाटोमा धेरैले चिन्छन् पनि। तर, ट्याक्सी ड्राइभर बनेकोमा उनमा कत्ति पनि लाज वा सरम छैन। बरु गर्व छ, स्वदेशमै केही गर्न पाएकोमा।

पहिलो एसएलसी ब्वाई
गरिबी र अभावका बीच २०६२ मा दीपकले जसोतसो धादिङबाट एसएलसी पास गरे। नेपाल परिवारमा नियमिततर्फ पहिलोपटक एसएलसी पास गर्ने उनै थिए। दोस्रो श्रेणीमा एसएलसी पास भएका दीपकलाई परिवारले अच्च शिक्षा पढाउन सक्ने अवस्था थिएन। तर, एसएलसी पास भएर परिवारको नाक राखेका कारण उनलाई पढाउनुपर्छ भन्ने चेत परिवारमा थियो।

त्यसैले, दीपक थानकोटमा रहेको दिदीको घरमा बसेर काम गर्दै उच्च शिक्षा हासिल गर्ने सपना बोकेर काठमाडौँ प्रस्थान गरे। सपनाको सहर काठमाडौँ उनका लागि सोचेजस्तो सजिलो थिएन। काम पाउनै धौ–धौ।

जसोतसो ठमेलमा रहको मुक्तिनाथ थकाली रेष्टुरेन्टमा मासिक १५ सय रुपैयाँ तलब पाउने गरी वेटरको काम पाए। एक वर्ष यत्तिकै बित्यो।

दोस्रो वर्ष गीतामाता माविमा कमर्स विषय ल्याएर ‘प्लस टु’ मा भर्ना भए। बिहान कलेज जाने र दिउँसो २ बजेदेखि राति १० बजेसम्म काम गर्ने उनको दिनचर्या नै बन्यो। यस्तै, मेहनत र संघर्षका बीच उनले ‘प्लस टु’ पास गरे। अर्थात, नेपाल खानदानमा ‘प्लस टू’ पास गर्ने पहिलो व्यक्ति पनि दीपक नै बने।

त्यसपछि पब्लिक युथमा स्नातकमा भर्ना भए। कमलादीको एक रेस्टुरेन्टमा काम गर्दै पढ्दै गरे। मासिक ३५ सय तलब आउँथ्यो। तर, अवस्था यस्तो आइदियो कि ८ घण्टा मरिमेटेर काम गर्दा क्याम्पसको फिस तिर्नसमेत गाह्रो प¥यो। अझ स्नातक पढ्दै गर्दा उनले प्रेम विवाहसमेत गरिसकेका थिए। काठमाडौँमा एक्लो ज्यान पाल्न मुस्किल भइरहेका बेला विवाह समेत गरेपछि परिवार पाल्ने जिम्मेवारी पनि थपियो। उनमा विदेश मोह पलाउनुको कारण यही थियो।

‘ब्याचलर तेस्रो वर्ष पढ्दै गर्दा अवस्था निकै दयनीय भएपछि दुबई हानिएँ’ दीपक भन्छन्, ‘३५ सयले कोठा भाडा तिर्नु कि, श्रीमती पाल्नु कि कलेजको फिस तिर्नु? त्यसैले, जसोतसो ८० हजार जुटाएर, एउटा सपना बोकेर उडियो भनौँ।’

तर, स्वदेश फर्किएपछि दीपकले धेरै ठूलो सपना पालेनन्। काठमाडौँमा घर–घडेरी जोडुँला भन्ने महत्वकांक्षा पनि छैन। बस्, २ वर्षमा ऋण तिरेर ट्याक्सी आफ्नो बनाउन पाए र त्यसपछि अर्को ट्याक्सी थप्न पाए पुग्छ उनलाई। यसरी उनको ‘ट्याक्सीको संसार’ बसाउने एउटा सपना छ।

अर्को कुरा, ट्याक्सी ड्राइभरप्रति रहेको आम मानिसको धारणा पनि मेट्न चाहन्छन् उनी। २९ वर्षीय दीपकलाई लाग्छ, गुणस्तरीय सेवा दिने, मीठो बोली बोल्ने र ठगी नगर्ने हो भने मात्र पनि सबैले ट्याक्सी ड्राइभरलाई सकारात्मक रुपमा हेर्छन् भन्ने लाग्छ।

कहिलेकाहीँ आफन्त र पढेलेखेकाहरुले दीपकलाई भन्छन्, ‘हैट ट्याक्सी ड्राइभर नि बन्छन्? बरु पसले बन्, साहुजी त बन्छस्।’

दीपक उनीहरुको कुरा सुन्छन् मात्र। कुनै प्रतिक्रिया जनाउँदैनन्। तर, उनीहरुलाई दिने जवाफ भने उनीसँग छ। भन्छन्, ‘पेशाले कोहीपनि ठूलो–सानो हुँदैन। यो कुरा अहिले म बुझ्दै छु। जसले जे भनोस्, एम्बुलेन्सको दोस्रो रुप ट्याक्सी चलाउन पाउँदा मलाई गर्व लाग्छ।’

प्रकाशित ६ चैत २०७५, बुधबार | 2019-03-20 10:41:21
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।