७८ लाख घूसकाण्डका मुख्य आरोपी पाठक कालो बोलेरो चढेर कता?

राजनारायण पाठक सवार बा७प २२५७ नम्बरको कालो गाडी
राजनारायण पाठक सवार बा७प २२५७ नम्बरको कालो गाडी
७८ लाख रुपैयाँ घूस लिएको आरोपमा अनुसन्धानमा भइरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक मंगलबार बिहान कालो बोलेरोमा कहाँ गए?

यो विषयमा अख्तियार तथा सुरक्षा निकायहरू अनविज्ञता प्रकट गर्छन्।

‘हामीलाई कुनै जानकारी छैन’ आयोगका प्रवक्ता सहसचिव प्रदिप कोइराला भन्छन् ‘अन्य स्रोतबाट बुझ्नुहोला, मलाई थाह हुँदैन।’

पाठक बिहान साढे सात बजे घरबाहिर तयारी अवस्थामा रहेको बा ७ च २२५७ नम्बरको कालो बोलेरो चढेर शान्तिनगर, बाबुछिरी चोकस्थित घरबाट बाहिरीएका हुन्। गाडीमा चालकसहित उनको सवारी साधनमा तीन जना थिए। उनीहरुको ‘ड्रेस कोड’ कोट, शर्ट र पाइन्ट देखिन्थ्यो।

पाठकलाइ घूस दिने चाँगुनारायण, भक्तपुरको  नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष  लम्बोदर न्यौपाने फरार छन्। उनी भागेपछि आयोगले पाठकमाथि निगरानी बढाइरहेको अवस्थामा मंगलबार बिहान उनी एकाएक घरबाट निस्किएका हुन्। आयोग निगरानीमा रहेका पाठकलाई लिएर जाने गाडी र ब्यक्तिहरु को हुन् भन्नेबारे आयोग तथा सुरक्षा स्रोतहरूले अनविज्ञ छन्।

न्यौपानेले आर्थिक अनियमितता र स्वामित्व विवादसम्बन्धी कारबाहीबाट बच्न बिचौलियामार्फत पाठकलाई दुईपटक गरी ७८ लाख घूस दिएका थिए। उनी आयोगमा बयानका लागि २८ फागुन २०७५ मा हाजिर भएका थिए। बयानका दिन स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई उपचारका लागि छोडिएको थियो। उनी फरार भएकोबारे आयोगले अहिलेसम्म औपचारिक रूपमा केही बताएको छैन।

यो प्रकरणमा मुछिएका पाठकका भाई पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठक, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य तथा घूस बोकेर जाने ज्ञानेन्द्र झा र स्टिंग अपरेसन गर्ने ध्वजमान मोक्तानसँग नियमित बयान लिइरहेको छ।

अख्तियारका तत्कालीन आयुक्त पाठकले ७८ लाख रुपैयाँ घूस लिएकोबारे नेपालखबरले गत फागुन १ गते खुलासा गरेको थियो। त्यसको दुई दिनपछि पाठकले पदबाट राजीनामा दिएका थिए।

आयोगले महान्यायाधिवक्ताको कार्यालयको राय लिएर ७८ लाख घूस प्रकरणको बिस्तृत्त अनुसन्धान गरिरहेको छ। एकजना सहसचिवको नेतृत्वमा तीन सदस्य अनुसन्धान टोलीले कारवाही गरिरहेको हो।

पाठक प्रकरणसम्बन्धी विस्तृत सामग्री पढ्न क्लिक गर्नुहोस्

प्रकाशित 2019-03-19 11:20:30