आगलागीबाट पन्ध्र लाखको क्षति

आगलागी
आगलागी
नुवाकोटमा आज बिहान विदुर नगरपालिका वडा नं ५ माझीटारस्थित पूर्णिमा अर्यालको घरमा आगलागी हुँदा करीब रु १५ लाख बराबरको क्षति भएको छ।

घर धनी अर्याल आफन्तको वैवाहिक समारोहमा भाग लिन गएको र उहाँका दुई छोरा आफन्तको घरमा बसेका कारण कुनै मानवीय क्षति भने हुन पाएन। आगलागीका कारण अर्यालको नगद र सुनका गहनासहित करीब रु १५ लाख बराबरको क्षति भएको छ। आगलागी कति बजेदेखि शुरु भएको भन्ने यकिन नभए पनि छिमेकीले बिहान ५ बजेमात्र आगलागी भएको थाहा पाएका थिए।

त्यसपछि स्थानीय र नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो। आगलागीका कारण भूकम्पपछिको पुनःनिर्माणका लागि प्राप्त सरकारी राहतसमेतबाट निर्माण भएको भुइँतल्ले घर धेरै ठाउँमा चर्किएर बस्न अयोग्य बनेको स्थानीयले बताएका छन्। रासस

प्रकाशित 2019-03-14 21:59:46