विद्या र कमलको ‘हेर्ने कथा’ भित्रका कथा



कार्यालयमा विद्या र कमल
कार्यालयमा विद्या र कमल
प्रविन कोइराला

अहिले युट्युबमा हिट बनिरहेको ‘हेर्ने कथा’ को रचना गर्भ बीबीसी मिडिया एक्सनबाट सुरु हुन्छ। त्यतिबेला विद्या चापागाईं बीबीसी साझा सवालको प्रस्तोता थिइन्, कमल कुमार निर्माता। त्यहाँ उनीहरुले पाउने पैसा राम्रै थियो, कार्यक्रम चर्चाको उचाइमै थियो। यो २०७४ सुरूकै कुरा हो। भनिन्छ नि पैसा, चर्चाले मात्र सन्तुष्टि दिने सामर्थ्य राख्दैन। यो दर्शन कमल–विद्याको व्यवसायिक जीवनमा ठ्याक्कै मेल खान्छ।

अर्थात् उनीहरु नेताहरुका अवास्तविक ‘ठूला गफ’ होइन जनताका सामान्य कथा बुन्न चाहन्थे। रहरलाग्दो चमकदमक जीवनशैली होइन दूरदराजका मानवीय अनुभव सुनाउन चाहन्थे। अहिले लाखौंको मन छुन सफल ‘हेर्ने कथा’ यही ‘स्पिरिट’ को उत्पादन हो। तर ‘हेर्ने कथा’ उत्पादन प्रक्रिया भित्रको कथा फरक छ। ललितपुरको सानेपास्थित एउटा कोठामा रहेको कार्यालयमा विद्या र कमलले हेर्ने कथाभित्रका थुप्रै ब्यथा सुनाए।
***
१६ वर्ष भयो उनीहरुको चिनजान भएको। आरआर क्याम्पसमा सँगै पढे। पछि पत्रकारितामा थोरै समय एउटै संस्थामा बिताए। बीबीसीमा काम गर्न थालेपछि उनीहरुको मित्रता अझ झाँगिंदै गयो।

विद्या साझा सवालकी संचालिका थिइन्, कमल निर्माता। उनीहरु नेताको भाषण, जनतालाई देखाइएका ठूलाठूला सपना सुनेर दिक्क भइसकेका थिए।

आफ्नो कार्यक्रममा आएर ठूला कुरा र बाचा गर्ने तर त्यसलाई पुरा नगर्ने नेताको व्यवहारले उनीहरुको मन चसक्क हुन्थ्यो। अर्थात्, नेताका ठूला कुरा सुन्ने र अरुलाई सुनाउने कामबाट सन्तुष्ट थिएनन्।

त्यसैले, चिया पिउँदा होस् वा बाटोमा हिँड्दा, सानो काम गरेरै कसरी सन्तुष्ट हुन सकिन्छ भन्ने विषयमा दुईबीच छलफल भइरहन्थ्यो।

सामाजिक परिवेशका वास्तविक कथा जसलाइ मुख्य मिडियाले त्यत्ति अन्तर्वस्तु बनाएका छैनन्। कसैको संघर्षको कथा, कसैको जीवन भोगाईको कथा जसले सिंगै समाजको प्रतिनिधित्व गर्छ, मानवीय जीवनको अनुभव सुनाउँछ। तिनलाई कसरी विषय बनाउने भन्नेमा उनीहरुको छलफल भइरहन्थ्यो।

‘यत्तिकैमा एकदिन दुवैले जागिर छाडेर यस्ता विषयलाई कथा बनाउने सोच बनायौँ’ विद्या सुनाउँछिन्, ‘सहमति जुटेपछि हामीले मानिसको जिन्दगीको कथा बटुल्न थाल्यौँ।’

त्यसो त सुरूमा उनीहरुले ‘हेर्ने कथा’ नै गछौँ भन्ने कुनै सोच भने बनाएका थिएनन्। एउटा सपना थियो, मानिसको कथा देखाउने।

विद्या कमलतर्फ संकेत गर्छिन्, ‘होइन त कमल?’

कमल मुस्कुराउँछन्, ‘नाम के राख्ने भन्ने सोचिसकेका थिएनौँ। गफैगफमा भिडियोमार्फत् मानिसका कथा देखाउने भएपछि ‘हेर्ने कथा’ राख्दा कस्तो होला भन्ने कुरा उठ्यो र त्यही राख्यौँ।’

प्राय कथाहरु सुनिन्छन्, पढिन्छन्। तर, कथाहरु युट्युबमार्फत् दृश्यसहित राख्ने भएकाले शीर्षक ‘हेर्ने कथा’ बनिदियो।

विद्या चापागाईं

विद्या चापागाईं

विद्या र कमल फरक खालको कथा गर्नुपर्छ भनेर खोजमा थिए। सोही क्रममा एकदिन कपिलवस्तुको भैसकुण्डस्थित मदरसामा पुगे। तर कथा नै बनाउन भने गएका थिएनन्।

यसअघि सो मदरसामा कुनै पनि सञ्चारकर्मीले प्रवेश पाएका थिएनन्। त्यसैले प्रवेश पाउनेमा नै ढुक्क थिएनन्। तर उनीहरुले सहज रुपमै प्रवेश पाए। केही क्षण बिताएपछि उनीहरुलाई त्यहाँको परिवेशले छोयो।

विद्या भन्छिन्, ‘उहाँहरुको व्यवहार र त्यहाँको परिवेशले हामीलाई यसरी छोयो कि हामी त्यहाँबाट कथा नगरी आउनै सकेनौँ।’

‘हेर्ने कथा’ को युट्युब च्यानलमा अपलोड भएको पहिलो कथा ‘एउटा स्कुलको कथा’ त्यही नै बन्यो।

कथा खोज्न कत्तिको गाह्रो हुन्छ त?

कमलको बुझाईमा, उनीहरुले गरिरहेको कथा खोजेर भेटिने कुरा होइन, महसुसबाट जन्मन्छ। उनीहरु दूरदराजमा पुग्छन्। त्यहाँ कथा बन्ने खालका कुनै न कुनै विषय फेला परिहाल्छन्। जुन विषयले उनीहरुलाई छुन्छ, त्यसलाई नै कथा बनाइदिन्छन्।

कतिपय अवस्थामा कतै जानुअघि उनीहरु कुनै कथाको कल्पना गर्छन्। जुन कल्पनामा सामाजिक परिवेश र पात्रहरु नाच्छन्। र, तिनै कल्पनाका पात्र उनीहरुले फेला पार्छन्।

कहिलेकाहीँ कल्पनाभन्दा बाहिरका पात्र पनि भेटिन्छन्, जसका कथा कल्पनामा भन्दा मीठा–मीठा हुन्छन्।

हो, हृदयस्पर्शी, मार्मिक अनि यथार्थपरक।

पात्र छनोट गर्दा उनीहरु कर्म र इमानदारितालाई प्राथमिकतामा राख्छन्। कमल भन्छन्, ‘जो आफ्नो कर्म र जीवनप्रति खुसी र इमानदार छन्, उनीहरु नै कथा बन्छन्।’

मिडियामा नआएका, आफ्नो बारेमा आफै प्रचार नगर्ने मानिसका कथाले उनीहरुलाई छिटो छुन्छ। त्यस्ता पात्रहरु जो निर्दोष हुन्छन्, जसलाई न त आफ्नो कथा बनिरहेको छ भन्ने ज्ञान हुन्छ, न कथा बनेपछि अरुले आफूलाई चिन्छन् भन्ने जानकारी नै, तिनैका कथा विद्या र कमल ‘हेर्ने कथा’ मा सुन्दर तरिकाले बुन्छन्।

बाटोमा हिँड्दै गर्दा पनि पात्रहरु भेटिन्छन् कतिपय अवस्थामा। ‘गजेन्द्र सरको कथा’ त्यसरी नै भेटिएको हो। सुर्खेतको दुर्गम स्थान गुमीमा एउटा स्कूल छ– जनसंयुक्त प्रावि। त्यहाँका शिक्षक हुन्, गजेन्द्र।

गुमी पुगेपछि उनीहरुले गजेन्द्र सरबारे सुने। उनको कथा बनाउने मनसाय बनाए। उनलाई भेट्न चाहे। तर असल शिक्षक मात्र होइन, कुशल व्यवस्थापक र विद्यार्थीका साथी पनि बनिसकेका गजेन्द्रलाई आफ्नो कामको प्रचारप्रचारमा कुनै चासो थिएन।

उनीजस्तै, व्यक्ति ‘हेर्ने कथा’ को कथा बनिदिन्छन्।

कथा बनाउँदै जाँदा पात्रसँग दुई–तीन दिन बिताउने भएकाले विद्या र कमल उनीहरुलाई मज्जैले पढ्छन्। सो समयमा उनीहरुको इमानदारिताको मापन हुन्छ। ऊ आफ्नो कर्म र जीवनप्रति इमानदार छैन भन्ने थाहा पाएपछि उनीहरु त्यस्ता व्यक्तिका कथा प्रशारण गर्दैनन्। यसरी कतिपय कथाहरु ल्यापटपमै थन्किएर बसेका छन्।

कथा बनेकाहरुले आफ्नो कथा चाहिँ हेर्छन् कि हेर्दैनन्?

‘प्रायले हेर्नुहुन्छ’, विद्या भन्छिन्।

कसरी?

‘ढोरपाटन पुगेर हामीले ‘चौकीनीको कथा’ बनाएका थियौँ। त्यहाँ इन्टरनेट छैन’ कमल भन्छन्, ‘तर, बजारमा एक आफन्तले हेरेर त्यो कथा उहाँलाई देखाइदिनुभएछ।’

यसरी कथा बनेका मानिसले नै आफ्नो कथा हेरेको सुन्दा विद्या र कमलमा खुसीको सीमा नै रहँदैन।

‘बबनपुरका गोठालाहरु’ को कथा पनि कथा बन्नेहरुले हेर्न पाए। बर्दियाको बबनपुरमा इन्टरनेट छैन। त्यहाँ पुग्नेहरुले कुनै माध्यमबाट गोठालाहरुलाई उनीहरुकै कथा देखाए।

कथा बन्नेहरुले नै कथा हेरेको चाल पाउँदा विद्या र कमललाई अच्चाक्ली खुसी मिल्छ।
***
विद्या र कमलले धेरै ठूलो सपना देखेका छैनन्। उनीहरुका लागि सबैभन्दा महत्वपूर्ण पक्ष आत्मसन्तुष्टि हो।

‘हामीले ठूलो सपना देखेको भए, हाम्रो कामबाट समाज र सामाजिक परिवेशलाई परिवर्तन गर्ने सोच बनाएको भए एनजिओ, आईएनजिओ खोल्थ्यौँ होला, अन्य सामाजिक काम गथ्र्यौं होला’, कमल भन्छन्, ‘तर, पत्रकारितामा रहेर हामीले निर्वाह गर्नुपर्ने धर्मले हामीलाई आकर्षित गर्यो र सामान्यभन्दा सामान्य मानिसका सामान्य कथा बाहिर ल्याउने प्रयत्नमा हामी जुट्यौं।’

यिनै सामान्य कथाले धेरै मानिसलाई प्रभाव पारिरहेका छन्। आफूलाई जीवनमा सबैभन्दा दुःखी सम्झनेहरुले कथा हेरेपछि बिरहका गीत गाउन छाडेका छन्। यस्तो प्रतिक्रिया दर्शकको कमेन्टबाट विद्या र कमलले पाउँछन्। उनीहरु कुनै पनि कमेन्ट नछुटाई पढ्छन्। हरेक कमेन्टमा लाइक गर्छन्।

किन कि, उनीहरुको सबैभन्दा ठूलो कमाई भनेकै दर्शकको प्रतिक्रिया हो, माया हो। त्योभन्दा धेरै कमाउन सकेका पनि छैनन्।

‘हेर्ने कथा’ को युट्युब च्यानलमा हालसम्म १ लाख २३ हजार ‘सस्क्राइब’ पुगेको छ। पछिल्लो दुई महिनामा ‘अपलोड’ भएका प्रत्येक कथामा २ देखि ३ लाखसम्म ‘भ्यूज’ छ। सबैभन्दा धेरै ‘भ्यूज’ भएको कथा ‘बाबु छोरीको कथा’ हो, जसलाई ९ लाख बढीले हेरेका छन्।

यसवापत कति नै पैसा आउँछ?

‘त्यही हो, हाम्रो सानो कोठाको मासिक ६ हजार ५ सय रुपैयाँ भाडा र इन्टरनेटको वार्षिक १५ हजार रुपैयाँ तिर्न पुगेको छ’, विद्या भन्छिन्, ‘बीबीसीमा काम गर्दा बचाएको र सञ्चय कोषबाट आएको रकमबाट अहिलेसम्म हामी चलिरहेका छौँ।’

हुन पनि एउटा कथाका लागि उनीहरु कहाँसम्म पुग्दैनन्? खान, बस्न, कथा तयार पार्न आवश्यक प्राविधिक सामानको भाडा तिर्न, गाडी भाडा लगायतका खर्च जोड्ने हो भने राम्रै खर्च हुन्छ।

अनि आम्दानी? त्यो भनेकै सन्तुष्टि हो।

कमल भन्छन्, ‘हामीले धेरै कमाउँला वा पैसा छापौँला भनेर काम सुरु गरेका होइनौँ। हाम्रा दर्शकहरु नै हाम्रो सम्पत्ति हुन्। हामी यसमै सन्तुष्ट छौँ।’
***
विकट गाउँहरुमा पुगेर त्यहाँका मानिससँग कुरा गर्न जत्तिको मजा विद्यालाई अहिलेसम्म जीवनमा अर्को लागेको छैन।

‘मैले राष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च ओहदाका मानिसहरुसँग कुरा गरेकी छु दूरदराजमा रहेका मानिस उहाँहरुभन्दा धेरै फरक हुनुहुन्छ। उहाँहरुसँग रहेको ज्ञानको तुलना कुनै शिक्षित ब्यक्तिसँग गर्न मिल्दैन’, विद्या भन्छिन्, ‘उहाँहरुको निर्दोषपना सम्झँदा अहिले पनि मेरो आँखा भरिन्छ।’

कहिलेकाहीँ विद्यालाई ‘हामीले उनीहरुको निर्दोषपनको फाइदा त उठाएका होइनौँ’ भन्ने प्रश्नले झकझक्याउँछ। मिडियामा कुराहरु आएपछि ‘उनीहरुलाई कुनै अप्ठ्यारो त पर्ने होइन’ भन्ने सोच्छिन्। ‘उनीहरुको आफ्नै मौलिक जीवनशैलीमा हस्तक्षेप हुने त होइन’ भन्ने डर पैदा हुन्छ।

‘तर, उनीहरुबाट कहिल्यै अप्ठ्यारो भने भएको छैन’ विद्या कमलतिर हेर्दै भन्छिन्, ‘होइन त कमल?’

‘मलाई त मानिसले आफ्ना मनका कुरा व्यक्त गर्न पाउँदा आफूलाई झन् हलुका महसुस गर्नुभएजस्तो लाग्छ’, कमल भन्छन्, ‘उनीहरुको भन्दा बाहिरी संसारबाट कोही मानिस त्यहाँ आएर पाइला टेकेको हुँदैन। त्यसैले, हामी जाँदा उहाँहरु आत्मियता प्रकट गर्दै आफ्नो कथा सुनाउन थाल्नुहुन्छ।’

यसरी, आफैभित्र गुम्सिएर, पिल्सिएर रहेका कथालाई कसैसँग सुनाउन पाउँदा उनीहरुलाई जिन्दगीको भारी बिसाएसरी आनन्द आउँछ। त्यसैले, त काठमाडौँ आएपछि पनि विद्या र कमल उनीहरुलाई सम्झिएरै मुस्कुराउँछन्। अलिअलि उनीहरुको निर्दोषपनमा, अलिअलि उनीहरुको हाँसो, खुसी अनि जीवनशैलीमा।

नेपालगञ्ज उपमहानगरपालिका ‘वडा नम्बर २२’ की नैना होउन् या बबनपुरका गोठाला सुन्दर यादव, उनीहरु आफ्नो जीवन बाँचिरहेका छन्, तर उनीहरुको जीवन भोगाईले लाखौँ मानिसलाई प्रेरणा दिइरहेको हुन्छ। ‘हामीले नभने उनीहरुको कथा कसले भन्ने त?’ विद्या प्रश्न गर्छिन्।

रमाइलो त के हुन्छ भने, विद्या र कमल कथा बनाउन जाँदा कहिले कहीँ स्थानीयहरु उनीहरुलाई सरकारी कर्मचारी सम्झन्छन्– नहर खन्न आएका, बाटो बनाउन आएका वा नागरिकता बाँड्ने टोलीका सदस्य।

उनीहरुसमक्ष ‘फलानोले बृद्ध भत्ता नपाएको, फलानो ठाउँमा सिँचाई नपुगेको’ भन्नेजस्ता गुनासा स्थानीयले सुनाउँछन्। अर्थात्, नौलो मानिस गाउँमा जाँदा स्थानीयमा थुप्रै अपेक्षा हुन्छन्।

तर यी काम गर्ने सम्बन्धित निकायका मानिस त्यहाँ कहिल्यै पुग्दैनन्। जहाँ, विद्या र कमल पुग्छन्। अनि बुन्छन् कथा।
***
‘हेर्ने कथा’ हेर्दा सामान्य लाग्ला। तर, यसको निर्माणमा जटिलता भने उत्तिकै छन्। जसको एक उदाहरण शेरगञ्ज गाउँ हो। नारायणी नदीको छेवैमा जंगलबीच रहेको सो गाउँमा जंगली जनावरले आतंक मच्चाउँछन्। माझीहरु भाँचिएको डुंगा लिएर नदीमा माछा मार्न निक्लन्छन्।

त्यहीँ गाउँमा पुग्दा विद्या र कमल पनि उनीहरुकै जीवनशैलीमा बाँधिए। भाँचिएको ढुंगा चढेर नारायणी नदीमा सयर गरे। त्यतिबेला विद्याको मनमा डर पैदा भएको थियो। तर पनि देखाउनु परेको थियो, साहस।

अझ नदीसम्म पुग्दा घना जंगलको बाटो हुँदै जानुपर्ने। स्थानीयहरु त्यहाँ हात्ती, गैँडा, बाघ आउने बताइरहेका थिए। विद्यालाई पनि ‘कतै अहिल्यै आइदिने त होइन’ भन्ने लागिरहेको थियो।

खासमा उनीहरु ३ सय ६५ दिन नै यस्तै परिवेशमा बिताउँछन्।

‘हामी उनीहरुको कथा बनाउन जाँदा २४ घण्टा सो परिवेशमा बस्न नसक्ने हो भने राम्रो कथा कसरी बन्ला’ विद्या भन्छिन्, ‘उनीहरुको जीवनशैली बुझेर यथार्थपरक कथा बनाउनका लागि यति ‘रिस्क’ त लिनै पर्यो नि।’

कथा बनाउन पनि त्यति सजिलो छैन। सबै मानिस जिन्दगीको पाना पल्टाउन तयार हुँदैनन्।

कथा उत्पादन गर्न पुग्दो जनशक्ति पनि उनीहरुसँग छैन, न उच्च प्राविधिक उपकरण नै। उनीहरुसँग भएका एप्पलका दुई ल्यापटपबाट नै सबै काम हुन्छ।

आर्थिक हैसियत बलियो नभइसकेका कारण अरुलाई काम दिन पनि सकेका छैनन्। उनीहरुले हप्तामा एउटा कथा ‘अपलोड’ गर्नेबारे पनि नसोचेका होइनन्। तर विषयवस्तुमा काम गर्ने पत्रकार भएकाले युट्युबमा विज्ञापन आउन गाह्रो छ।

केही एनजिओ–आइएनजिओ आफूअनुकूल कथा बनाउने प्रस्तावका साथ सहकार्यका लागि आउँछन्। उनीहरु हेर्ने कथालाई आफूअनुकूल बनाउन चाहन्छन्।

‘हेर्ने कथा’ को मर्म नै मर्नेगरी विद्या र कमल कसैसँग सहकार्य गर्न तयार छैनन्।

‘विषय चयन गर्ने स्वतन्त्रता हामीलाई दिएर कोही सहकार्य गर्न आउनुहुन्छ भने हामी त्यसबारे सोच्छौँ’ कमल भन्छन्, ‘तर, हेर्ने कथाको मर्म मर्नेगरी हामी कसैसँग सहकार्य गर्दैनौँ।’

विद्या र कमलले आफ्नो कामबाट आत्मसन्तुष्टि र कर्मसन्तुष्टि पाइरहेकै छन्। बाँकी रहेको आर्थिक सन्तुष्टि हो। उनीहरुको अपेक्षा नै धेरै छैन। जीवन जिउन आवश्यक खर्च जुटे पुग्छ।

दुवैलाइ परिवारबाट राम्रो साथ र सहयोग छ। परिवार सदस्यले कामको सिलसिलामा घरबाहिर रहँदा र कमाईभन्दा खर्च बढी भइरहँदा पनि अहिलेसम्म कुनै गुनासो गरेका छैनन्।

विद्याका श्रीमान् र कमलकी श्रीमतीले जागिर गर्छन्। घरखर्च त्यसैबाट चलिरहेको छ। कमल बैँकको किस्ता तिर्नका लागि थोरै पैसा लिन्छन्।

विद्या भन्छिन्, ‘थोरै मात्र लिन्छ है ऊ।’

कमल हाँस्दै थप्छन्, ‘हो, थोरै लिन्छु।’

विद्याले भने सुरुवाती दुई महिनाको मात्र तलब लिएकी छन्।

विद्या चापागाईं र कमल कुमार

विद्या चापागाईं र कमल कुमार

विद्या र कमलका लागि हरेक यात्राहरु अविस्मरणीय छन्। त्यसमध्ये केही भने खास हुन्छन्।

गन्धर्वको कथा गर्नका लागि एकदिन उनीहरु झापाको दक्षिणी भेगको एक गन्धर्व गाउँ पुगे। त्यहाँ पुगेपछि जीविकोपार्जनका लागि सारङ्गी रेट्ने बाबु–छोरी वा छोराको विषयमा बुझ्न थाले।

संयोग यस्तो भइदियो कि उनीहरुले जसलाई यसबारे सोधे, उनी नै उचित पात्र रहेछन्। शिव गन्धर्व आफ्नी छोरी रेजिनालाई लिएर सारङ्गी रेट्दै हिँड्दारहेछन्। १४ वर्षीया छोरी गीत गाउने, बाबु सारङ्गी रेट्ने।

बराह क्षेत्रमा जाँदाको एउटा पल पनि उनीहरुको स्मरणमा छ।

खासमा विद्या र कमल अर्कै कथाका लागि त्यहाँ पुगेका थिए। तर सम्बन्धित व्यक्ति बोल्न नमानेपछि उनीहरुले १२ वर्षीय साजन बिकलाई भेटे। र, बन्यो एक्लोपनका साथी साजनको जिन्दगीको ‘एक्लो कथा’।

इन्टरनेटको पहुँच पुगेको स्थानमा पुग्दा धेरैले विद्यालाई देख्नासाथ ‘साझा सवाल’ भन्छन्। यस कुराले विद्या र कमललाई एक हिसाबले रमाइलो त अर्को हिसाबले भारी लाग्छ। किन कि उनीहरु नयाँ कामबाट चिनिन चाहन्छन्।

एकदिन उनीहरु अछाम पुगे। दुई घन्टा जति ओरालो हिँडेर कुनै गाउँमा जाँदै थिए। ‘त्यसपछि ...’ कमल विद्यातिर संकेत गर्छन्।

‘एक जना भाई दाउरा बोकेर हिँडिरहेका थिए। मलाई देखेपछि यो दिदीलाई मैले ‘हेर्ने कथा’ मा युट्युबमा देखेको छु भने’, विद्या भन्छिन्, ‘म त्यो खुसीलाई अन्य कुनै खुसीसँग दाँज्न सक्दिनँ।’

प्रकाशित १३ फागुन २०७५, सोमबार | 2019-02-25 12:08:45
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।