१८ नाति, ३५ पनाति र एक खनातिकी यी आमा मोबाइल देख्दा छक्क!



रुपा अधिकारी
रुपा अधिकारी

९५ वर्षीया रुपा अधिकारी घाममा बसेर सुन्तला खाइरहेकी थिइन्। यी बृद्धालाई सुन्तला छोडाएर खान त्यति अप्ठेरो छैन। तर, समय भने लाग्छ। दाँत नभएकाले सुन्तलाको भित्री भागमात्र छुट्याएर खान्छिन् उनी।

रुपा फूर्तिका साथ भित्र-बाहिर गर्न र आफ्नो नृत्यकर्म आफै गर्न सक्छिन्। टन्न खाना खान्छिन्। बिरामी भएको अहिलेसम्म चाल पाएका छैनन् परिवारका सदस्यले। आँखा निकै तेजिला छन्, मान्छे सजिलै ठम्याउन सक्छिन्। अनि कान पनि राम्रै सुन्छिन्। घण्टौँसम्म गफ गर्दा पनि उनमा फूर्ति हराउँदैन।

समस्या एउटै छ, निद्रा नलाग्न। कहिले छर्लङ्ग उज्यालो हुँदासमेत निद्रा लाग्दैन, त कहिले मध्यरातसम्म। भन्छिन्, ‘बुढेशकालमा यस्तै रहेछ बाबु।’

५ छोराछोरी, १८ नाति, ३५ पनाति र एक खनाँति देखिसकेकी रुपालाई जिन्दगीदेखि कुनै गुनासो छैन। कहिलेकाहीँ धेरै वर्ष बाँचेर छोरा–बुहारीलाई दुःख दिएँ कि भन्ने लाग्छ। तर, दुई पनातिले ‘हजुरआमा’ भनेर बोलाउँदा उनलाई स्वर्ग नै पुगेजस्तो लाग्छ। र, फेरि पलाउँछ बाँच्ने रहर।

९ वर्षमा बिहे
रुपाको बिहे ९ वर्षको उमेरमा भएको हो। त्यतिबेला १० वर्ष कटेपछि कन्यादान गर्न हुँदैन भन्ने प्रचलन रहेछ। उनका बुबा धार्मिक प्रबृतिका थिए। त्यसैले, उनमा त्यसको प्रभाव नपर्ने कुरै थिएन। र, त ९ वर्षको उमेरमै उनी कसैकी श्रीमती बनिन्, कसैकी बुहारी बनिन्। अनि कसैकी भाउजु।

त्यतिबेला छोरीहरुले पढ्नु हुँदैन भन्ने थियो। रुपाले कहिल्यै स्कुलको मुख देखिनन्। सानैदेखि दुना–टप्री खुट्न सिकिन्। घरमा आमालाई काममा सघाइन्।

प्युठानमा जन्मे–हुर्किएकी रुपा बिहे गरेको तीन वर्षसम्म माइत नै बसिन्। चैतमा माइतीको धूर देख्न हुँदैन भनेर दिदीको घरमा जान्थिन्।

 सन्ततीहरुसँग रुपा

सन्ततीहरुसँग रुपा

उनलाई आफ्नो बिहे भएको समेत थाहा थिएन। न यी मेरा श्रीमान् हुन् भन्ने नै चाल पाउँथिन्। बिहे भएको ३ वर्षसम्म त उनले श्रीमानको मुखसमेत देखिनन्।

३ वर्षपछि घर गइन्। घरकाले ‘तेरो बुढो यही हो’ भनेर चिनाउँथे। उनी लाजले भुतुक्क हुन्थिन्। अनि लुक्न जान्थिन्। उनका श्रीमान् पनि लजाउँथे। ‘हामीबीच त लुकामारी नै चल्थ्यो नि’ उनी विगत सम्झिन्।

घर पुगेपछि उनको कामको दायरा बढ्यो। घाँस काट्नेदेखि घर सफा गर्ने, भैँसीको स्याहार गर्ने, घर पोत्ने आदि काम गर्नुपर्ने भयो।

उज्यालो नहुँदै उठेर घरको लिपपोत गर्नुपथ्र्यो। सासु–ससुराले उज्यालो भयो भने ‘अलच्छिन लाग्छ, त्यसैले उज्यालो हुनुभन्दा पहिल्यै लिपपोत गर्नुपर्छ’ भन्थे।

मज्जासँग सुत्न पनि कहाँ पाइन्थ्यो र? रातभर ढिकी–जाँतो गर्नुपथ्र्यो। त्यस्तै, ससुरालाई दैनिक सात माना दूध घोटेर दिने काम रुपाको थियो। यसरी नै रुपाको जीवन बित्दै गयो।

लगातार ४ छोरी
१६ वर्ष पुगेर १७ मा प्रवेश गर्दा रुपाले कोखबाट छोरीलाई जन्म दिइन्। त्यसपछि दुई–दुई वर्षको अन्तरालमा लगातार उनले ४ छोरी जन्माइन्।

लगातार चार छोरी भएपछि रुपालाई घरकाले निकै गाली गरे। ‘दाइजो के दिने, कसरी पाल्ने?’ भन्दै उनलाई दिनरात नानाभाँति भन्थे। कतिसम्म भने ‘छोरीलाई खोल्सामा लगेर फाल्’ भन्नेजस्ता तिता बचनसमेत सुन्नु प¥यो उनले।

एकदिन जेठाजुले ‘छोरीलाई पाल्न सकिदैन, भैसीलाई खुवाउने दाना खुवाउनु’ भनेपछि रुपाको मनमा चिसो पस्यो।

यस्ता बचनले आजित भएकी रुपा त्यसपछि आफ्ना पति (लोकराज) लाई भनेर दाजु–भाइसँग छुट्टिन कर गरिन्। पतिले उनको कुरा माने।

केही समयपछि (२०११ सालमा) रुपाले छोरा पनि पाइन्। तर, बिडम्बना, छोरा जन्मिएको ४ महिनापछि उनका पतिको निधन भयो। त्यसपछि रुपाको दुःखका दिन सुरु भए। तर, उनले हार मानिनन्। आफ्नै बलमा छोरा–छोरी हुर्काइन्।

आफूले स्कुलको मुख नदेखेपनि रुपाले छोरीलाई भने पढ्ने वातावरण बनाइदिइन्। जेठी र कान्छी छोरीलाई स्वस्थानी ब्रत कथाको किताब पढ्न सक्नेसम्म बनाइन्।

छोराछोरीका लागि जंगलबाट सेतो माटो (कमेरो) ल्याएर त्यसलाई सुकाउने, अनि काठको पाटी बनाएर त्यसमा लेख्ने वातावरण बनादिएकी थिइन् रुपाले।

पाटीमा खरी लगाएर कालो बनाइन्थ्यो। अनि, त्यसमा सेतो कमेरो माटोले लेखिन्थ्यो। ‘उहिलेको जमान त्यस्तै थियो’ रुपा भन्छिन्, ‘अहिले त थरिथरीका कलम छन्, महंगा–महंगा कापी छन्।’

यसरी पाटीमा कखरा लेख्न सिकेपछि सालको बोक्रा, आँपको बोक्रा पकाएर डब्बामा राखिन्थ्यो। अनि, बाँसको सिन्कोलाई कलमजस्तो बनाएर पकाएको बोक्रालाई मसीको रुपमा प्रयोग गरी सिन्को चोप्दै कापीमा लेख्ने गरिन्थ्यो।

कापीमा लेख्ने सौभाग्य भने छोरीले कमै पाउँथे। किनकी उनीहरुलाई स्कुल पढ्ने छुट थिएन।

तर, रुपाले भने आँट गरेर दुई छोरीलाई कपीमा लेख्न बनाइन्। कान्छी छोरीलाई त कक्षा ७ सम्म पढाइन् पनि।

यसरी पालैपालो सबैको कन्यादान गरिदिइन्। उनको आँट र संघर्ष देखेर गाउँले दंग पर्थे।

ऊ बेला र अहिले
रुपाका अनुसार, त्यतिबेलाको जमाना नै फरक थियो। जीवनको उत्तरार्धसम्म रुपाले न बजार देख्न पाइन्, न गाडी। चाउचाउ–विस्कुट भन्ने त उनले धेरैपछि सुनेकी हुन्। घरमा जे पाक्छ, त्यही खाने चलन थियो।

त्यतिबेला गाउँलेहरु वनबाट सालको पात टिपेर ल्याउँथे, सालको पातको टपरी बनाएर त्यसैमा खाना खाने गर्थे। रुपाले थाल, कचौरा निकै पछि देखेकी हुन्। मही पिउने गिलास भने हुन्थ्यो।

नुन वा अन्य लत्ताकपडा ल्याउनु परे प्युठानबाट दाङको कोइलाबास (भारतीय नाका) पुग्नुपथ्र्यो। ‘हिँडेर जान–आउन नै दुई दिन लाग्थ्यो’ रुपा भन्छिन्, ‘सामान घोडामा बोकाएर ल्याउनु पथ्र्यो।’

कोइलाबास जाँदा घ्यू लगेर बेच्ने, अनि घ्यू बेचेर आएको पैसाले आफूलाई आवस्यक पर्ने सामान ल्याउने हुन्थ्यो।

चामलको भात र मासु खान चाडपर्व नै कुर्नुपथ्र्यो । भातको साटो आटो, तरकारीको रुपमा पिडालु, मुलाको चाना, गहतको बोरी आदि हुन्थ्यो ।

सबै छोरीको बिहे गरिदिएपछि उनीहरु बसाई सरेर दाङको देउखुरी आए। त्यहाँ आएपछि उनको जीवनशैली फेरियो। उनले गाडी देखिन्, बजार देखिन्। सबैभन्दा रमाइलो त, दुध पनि किनेर खानुपर्दोरहेछ भन्ने चाल पाइन्। प्यूठानमा छँदा दुध सित्तैमा खान पाइन्थ्यो।

उनले जिन्दगीमा थुप्रै अनुभव संगाल्दै आएकी छन्।

अहिले सबैजना मोबाइलमा झुम्मिएको देख्दा उनलाई अचम्म लाग्छ। ‘त्यसमा के हेर्छन् होला, मन्टो नै बटारिने गरी?’ रुपा प्रश्न गर्छिन्।

उतिबेला हिरो, सिनेमा भन्ने उनलाई केही थाहा थिएन । दाङमा पहिलोपटक टिभीमा मान्छे बोलेको देख्दा उनलाई अचम्म लागेको थियो । अहिले त बुहारीहरुसँग बसेर टेलिश्रृङ्खला हेर्छिन् ।

दुई वर्षअघि दाङबाट काठमाडौँ आएकी उनलाई फोनमा छोरीहरुसँग कुरा गर्न पाउँदा औधी खुसी लाग्छ। ‘के होला यस्तो, भाँडो कानमा लगाएर कुरा गर्न पाइने!’ उनी अचम्म मान्छिन्।

काठमाडौँ कीर्तिपुरमा उनी बदलिएको समयसँगै दंग छिन्। लुगासमेत मेसिनबाट धोएको देख्दा अचम्म छिन्।

प्रकाशित १९ माघ २०७५, शनिबार | 2019-02-02 10:51:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।