‘सरकारी राहत लिन खोजेको’ भन्दै यज्ञराजले निर्मलाकी आमालाई गरे कुटपिट

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई पति यज्ञराज पन्तले कुटपिट गरेका छन्।

भीमदत्त नगरपालिका २ उल्टाखाम घरमा बिहीबार बिहान खाना बनाइरहेको बेलामा एक्कासी यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताएकी छन्।

‘सरकारले घोषणा गरेको राहत रकम लिन तयार भएर डिएनए परीक्षणका लागि रगतको नमूना दिएको’ भन्दै यज्ञराजले बिहीबार कुटपिट गरेको दुर्गादेवीले बताइन्।

‘दुई छोरी स्कुल गएका थिए, म भान्सामा भात पकाइरहेकी थिएँ, यज्ञराजले मेरो घाँटी च्यापेर मसँग नसोधी रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गरे।’

निर्मलाका बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसँग सल्लाह नै नगरी अरुले उक्साएको भरमा परिक्षणका लागि रगत दिएको र राहत बुझ्न राजि भएको आरोप लगाएका छन्। तर निर्मलाकी आमा दुर्गाले न्याय पर्खिंदा पर्खिंदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीहरूको भविष्य बनाउने भन्दै राहत बुझ्ने बताएकी छन्।

यज्ञराज र लक्ष्मीले भने ‘राहत बुझे आत्महत्या गर्ने’ चेतावनी दिएका छन्।

यज्ञराजले भने श्रीमती दुर्गादेवीलाई कुटपिट नगरेको दाबी गरेका छन्। ‘किन सल्लाहबिनै रगत दिएको र राहत बुझ्न तयार भएको भनेर सोधेको चाहीँ हो’, उनले भने, ‘मैले शुरुदेखि नै छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिएँ, अहिले किन यसो गरेको भनेको हो।’

‘पुसको चिसोमा पनि धर्नामा बसेर आफुले चिसो खाइरहेको अवस्थामा नदेउ भन्दा भन्दै रगत दिएर आफ्नो सहमति बिनै सरकारले दिने राहत बुझ्छु भनेपछि आपत्ति जनाएको’ उनले बताए।

दुर्गादेवीले बुधबार निर्मलाको ‘भजाइनल स्वाब’ को वैधानिकता जाँच्न रगतको नमुना दिएकी थिइन्। रगतको नमूना दिँदै उनले तीनै तहका सरकारले दिने राहत रकम बुझ्ने बताएकी थिइन्।

प्रकाशित 2019-01-10 15:47:42