काठमाडौंमा झमक घिमिरेलाई लिफ्टसहितको यस्तो सरकारी घर



घर निर्माणको काम गर्दै कामदार
घर निर्माणको काम गर्दै कामदार
प्रविन कोइराला

गोठाटार डाँडाको १२ आना जग्गामा झमक मैत्री घर बनाउन सरकारले दुई करोड ४० लाख रुपैयाँ छुट्याएको छ। ठेकेदारसँग १ करोड ८० लाखमा निर्माण सम्झौता भएयता सात महिनामा झन्डै ६० प्रतिशत काम सम्पन्न भैसकेको छ।

तल्लो तलामा सुत्ने कोठा, भान्सा कोठा, पुस्तकालय र बैठक कोठा, जहाँ साहित्यकार झमक घिमिरेले आफ्ना गतिविधि आफै गर्न सक्नेछिन्।

पुस्तकालयमा रहेको पुस्तक झिक्न, बैठक कोठामा ओहोर–दोहोर गर्न होस् या नित्यकर्म गर्न, उनलाई अरुको सहारा आवस्यक पर्नेछैन।

यी कुरा तब सम्भव हुनेछन्, जब झमकका लागि काठमाडौँको गोठाटारमा बन्दै गरेको भवनले पूर्णता पाउने छ।

झमकको जन्मदेखि नै हात–गोडा चल्दैनन्। बोल्न, उभिन र हिँड्न सक्दिनन्। उनका खुट्टाका तीन औँलामात्र चल्छन्। आफ्ना सबै काम तीनै औँलाका भरमा गर्छिन्। खाने, लेख्ने, नित्यकर्म गर्ने आदि।

उनी कसैले बोलेको सुन्न र बुझ्न भने सक्छिन्। यताउता गर्नुपरे घस्रिएर हिँड्छिन्।

जन्मस्थान धनकुटाको विकट गाउँ कचिडे उनको दैनिक नित्यकर्मका लागि सहज छैन। शारीरिक अशक्तताका कारण उनी कसैको भरमा जिइरहेकी छन्।

गोठाटारमा भवन बनेपछि भने झमकलाई कसैको सहारा चाहिने छैन। अर्थात् मष्तिस्क रोगबाट पीडित विश्वकै प्रतिभावान ११ जनामध्ये जीवित एक झमकका लागि बन्दै गरेको भवन पूर्णरुपमा झमक–मैत्री हुनेछ।

रफ्तारमा काम
पशुपति क्षेत्रको पछिल्लो बाटो (वागमति नदी किनारैकिनार) गोठाटार पुगिन्छ। गोठाटारको जम्बो डाँडामा नवतमधाम (कृष्ण मन्दिर) छ। मन्दिरबाट पूर्वतिर हेर्दा बन्दै गरेको एउटा साढे तीन तले घर देखिन्छ। यो त्यही घर हो, जहाँ केही महिनापछि साहित्यकार झमक घिमिरे देखिनेछिन्।

२०७२ सालमा भएको मन्त्री परिषद्को निर्णयअनुसार पशुपति विकास कोषको १२ आना क्षेत्रफल जग्गामा झमकका लागि यो घर बन्न लागेको हो। निर्माणको सम्पूर्ण खर्च सरकारले बेहोर्नेछ।

भवन निर्माणका लागि सरकारले दुई करोड ४० लाख रुपैयाँ छुट्याएको छ। ठेकेदारसँग १ करोड ८० लाखमा निर्माण सम्झौता भएको छ। २०७५ जेठमा ठेकेदार कम्पनी ज्ञानज्योती बिल्डर्ससँग सम्झौता भएपछि साउनदेखि धमाधम निर्माण कार्य सुरु भएको थियो।

७ महिनामै झन्डै ६० प्रतिशतभन्दा बढी काम सकिएको सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर अनिलराज शाक्य बताउँछन्।

२०७७ सम्ममा भवन हस्तान्तरण गर्ने सम्झौता रहेतापनि भवन निर्माणको जिम्मा पाएको सहरी विकास तथा भवन निर्माण विभाग, पशुपति विकास कोष र ठेकेदार सम्पनीको सहकार्यमा एक वर्षअघि नै काम सकिने देखिएको छ।

ठेकेदार कम्पनीले २०७६ को जेठमै भवन हस्तान्तण गर्नेगरी काम अगाडि बढाइरहेको छ। सरकारले तोकिएको समयावधि अगावै काम सक्ने ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने भनेको पनि छ। ज्ञानज्योतिको लक्ष्य उदाहरणीय काम गरेर सरकारबाट पुरस्कृत हुनु पनि हो।

हालसम्म भवनको ढलानको काम सकिएको छ। अब फिनिसिङको काममात्र बाँकी छ। ‘यही रफ्तारमा काम हुने हो भने आउँदो जेठमै भवन निर्माण सम्पन्न हुनेछ’ शाक्य भन्छन्।

भवन भूकम्पप्रतिरोधी हुनेछ। भवनमा १६ इन्च मोटो डन्डी र एउटै पिलरमा २० बोरासम्म सिमेन्टको प्रयोग गरिएको छ।

दोस्रो तलामा झमकको रेखदेखका लागि परिवारका सदस्य बस्नेछन्। तेस्रो तलामा सभाहल हुनेछ। सभाहलमा विभिन्न सभा, गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्न सकिनेछ।

सुविधा सम्पन्न घरको तेस्रो तलासम्म लिफ्टको व्यवस्था छ। झमक लिफ्टमार्फत् तल–माथि गर्न सक्नेछिन्। भवनको पहिलो र दोस्रो तलमा समान ५–५ वटा कोठा छन्।

आउलिन् त काठमाडौँ?
‘जीवन काँडा कि फूल’ का लागि मदन पुरस्कार प्राप्त गरेकी झमकको स्वास्थ्य अवस्था जटिल छ। उनले नियमित औषधि सेवन गरिरहेकी छन्। धरानमा रहेकाले नियमित चेकअपका लागि विभिन्न जटिलता छन्। त्यसैले पनि काठमाडौँमा बन्न लागेको भवन उनका लागि महत्वपूर्ण छ।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं कुनैपनि साहित्यकारका लागि सरकारले गरेको यो सबैभन्दा ठूलो सम्मान भएको बताउँछन्।

त्यसैले, झमक र उनको परिवारले सरकारको सम्मानलाई सहजै स्वीकार्ने उनको भनाई छ।

हुन पनि झमकका लागि घर बन्नु उनको सम्मानमात्र नभएर नेपाली साहित्य अन्तर्राष्ट्रिस्तरमा विस्तार गर्ने एउटा खुड्किला पनि हो।

झमकको पुस्तक ‘जीवन काँडा कि फूल’ विभिन्न ५० वटा भाषामा अनुवादित छ। साथै, उनलाई अन्तर्राष्ट्रिस्तरबाट चासोका साथ हेरिएको छ। भवन निर्माणपछि उनीबारे अध्ययन, अवलोकन गर्न या सोधपत्र तयार पार्नसमेत सहज हुनेछ।

आफूमैत्री घरमा बसेपछि लेखनका हिसाबलेसमेत झमकलाई निकै सहज हुनेछ। त्यसपछि उनका उत्कृष्ट कृतिहरु आउने सम्भावना उत्तिकै छ। किनकी उनमा साहित्य लेखनप्रति निकै लगाव छ।

अहिले झमक खुट्टाको औँलाको सहायताले आफै मोबाइलमा चलाउँछिन्। फेसबुक चलाउने, म्यासेज गर्ने काम आफै गर्छिन्। उनलाई आफै ल्यापटप चलाउने मन छ। आफूमैत्री भवन बनेपछि झमकलाई शारीरिक तथा मानसिक रुपमा सहज महसुस हुनेछ।

प्रतिष्ठानकी उपाध्यक्ष अनिता लामा भन्छिन्, ‘उहाँलाई आफै ल्यापटप चलाएर लेख्ने मन छ। हामीलाई आशा छ, उहाँमैत्री भवन बनेपछि त्यो पनि सम्भव हुनेछ।’

पछि संग्रहालय
झमकका लागि निर्माण हुने भवन ‘झमक निवास’ का रुपमा रहने छ। हाल भवन पशुपति विकास कोषको स्वामित्वमा रहेको छ भने भोगाधिकारको रुपमा झमकको नाम छ।

यसलाई ट्रस्टको रुपमा लाने वा के गर्ने भन्ने विषयमा अझै कुनै निर्णय भएको छैन। तर, झमकले प्रयोग गर्ने भवन सार्वजनिक सम्पत्ति भएको विषयमा भने दुईमत छैन।

अध्यक्ष गुरागाईं झमकको शेषपछि भवनलाई संग्रहालयको रुपमा विकास गरिने बताउँछन्। झमक अन्तर्राष्ट्रिय सम्पत्ति र चासोको व्यक्ति भएकाले भवनलाई संग्रहालयको रुपमा विकास गर्ने रणनीति सरकारको रहेको उनको भनाई छ।

भवनमा झमकले प्रयोग गर्ने सबै चिजबस्तु रहने भएकाले उनका बारेमा अध्ययन तथा अनुसन्धान गर्नेका लागिसमेत भविष्यमा भवन विशेष हुनेछ। त्यसैले, पनि सरकारले भवन स्थल, भवनको बनावटलगायतका विषयमा विशेष ध्यान दिएको छ।

प्रधानमन्त्री पत्नीको चासो
प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको विशेष पहलमा भवन निर्माण कार्य सुरु भएको हो। गत साउनमा उनले नै जग्गा हेरेर तत्काल निर्माण कार्य थाल्न निर्देशन दिएकी थिइन्।

त्यसको चार महिनापछि गत मंसिरमा शाक्यले भवनको अवलोकन गरेर निर्माण प्रगति विवरण बुझिन्। उनी झमकलाई छोरी समान मान्छिन्। त्यसैले, पनि भवन निर्माणमा उनको विशेष चासो छ।

भवनको अवलोकनपछि शाक्यले निर्माणप्रति सन्तुष्टि जनाउँदै झमकलाई अब छिट्टै काठमाडौँमा भेट्न पाइने भन्दै खुसी व्यक्त गरेकी थिइन्।

काठमाडौँ ल्याउने तयारी
झमकको स्वास्थ्य जटिलताका कारण उनलाई भवन निर्माणअघि नै काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

उनले हाल मासिक रुपमा नियमित २० हजार रुपैयाँ बराबरको औषधि प्रयोग गरिरहेकी छन्। औषधि भने काठमाडौँबाट पठाउनुपर्छ। धरानमा रहेका कारण उनको नियमित स्वास्थ्य जाँचसमेत हुन सकेको छैन।

डाक्टरले पनि काठमाडौँमा राखेर नियमित स्वास्थ्य जाँच र थेरापी गर्नुपर्ने सुझाव दिएका छन्। प्रतिष्ठानकी उपाध्यक्ष अनिता झमकलाई तत्कालै काठमाडौं ल्याउने विषयमा छलफल भइरहेको बताउँछिन्।

तर, काठमाडौँ आएर फ्ल्याटमा बस्न उनलाई त्यति सहज हुनेछैन। त्यसैले, जतिसक्दो चाँडो भवन निर्माणका लागि पहल गरिरहेको अनिता बताउँछिन्।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 14:06:54
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।