चीनका नेपाली–५

हङकङका लाहुरे छोरा, बेइजिङका शल्य चिकित्सक



डा. विकास राई र उनकी चिनियाँ पत्नी चाङ चियान
डा. विकास राई र उनकी चिनियाँ पत्नी चाङ चियान

थ्यानचिनको रंगशालामा अरूहरूको फुटबलको गोल हुन्थ्यो, उनीहरूको हृदयमा पिरतीको गोल हुन थाल्यो। अन्ततः ढुकढुकीले गोलकै वर्षा गर्न थालेपछि उनीहरू प्याराफिटबाट पनि बाहिर निस्केर एकान्तको खोजीमा भाग्न थाले।

झण्डै एक शताब्दीपछि १ जुलाई १९९७ मा हङकङ बेलायतबाट चीन फर्किएको थियो। अहिले हङकङ चीनको ‘एक देश, दुई व्यवस्था’ नीति अन्तर्गत छ। बेलायती सेनामा काम गरेका नेपाली लाहुरेहरू अहिले पनि बेलायत र हङकङमा जीवनयापन गरिरहेका छन्।

लाहुरे परिवारमा जन्मिएर ७ कक्षासम्म हङकङमै पढेका थिए, अहिलेका डा. विकास राईले।

चीनको थ्यानचिन मेडिकल युनिभर्सिटीमा पढ्न गएका ६,७ जना नेपाली केटाहरू सप्ताहन्तमा फुटबल खेल्थे। युनिभर्सिटीको ठूलो मैदान पैसा तिरेर बुक गर्नुपर्थ्यो। त्यहाँ विश्वविद्यालय बाहिरका युवाहरू पनि टिम बनाएर फुटबल खेल्न आउँथे। उनीहरूले मैदान बुक गरेका बेला नेपाली ठिटाहरू भने प्याराफिटमा बसेर दर्शक बन्थे। फुटबल खेल्नेहरूबीचमा कुनै न कुनै रूपमा मन त मिल्ने नै भयो। एकदिन त्यो समूहले प्रस्ताव गर्यो, ‘कि हामी बाजी राखेर खेलौं, कि हामीसँग मिसिएर खेल्न आओ।’

उनीहरू शौखिन फुटबलर, साथीभाइहरू जम्मा पारेर कारमा आउँथे। ड्रिङ्स, खानेकुरा, चाहिने सामाग्री इत्यादि बोकेर मैदान ओगट्थे। पहिला पहिला त विदेशी र चिनियाँ फुटबल टिम प्रतिष्पर्धी बनेर खेल्थे, अनि पछि पछि मिस्सिएर। ७ कक्षासम्म हङकङमै पढेका विकास स्थानीय क्यान्टोनिज भाषाका कार्टून पनि खूब हेर्थे। एक दिन जिस्क्याउने हिसाबले केही शब्द फुत्काए।

‘ए तिमीलाई पनि क्यान्टोनिज आउँदो रहेछ’, विकासले ख्यालख्यालमै केही शब्द फुत्काएपछि एकजना चिनियाँ युवा तुरून्तै नजिकिए। उनी थिए, ज्यासोन मा।

फुटबल हेर्न वा खेल्न ज्यासोनसँगै अरू आफन्तहरू पनि आउँथे। ठूलो परिवार भएकोले नेपालको नेवारी संस्कृतिजस्तै अनेक जमघटको विशाल थलो बन्थ्यो ज्यासोनको घर। विकासहरू पनि आमन्त्रित हुन थाले। त्यसका अलावा रंगशालामा लगातारको आवतजावतपछि विकास र एउटी युवतीबीच आँखा जुध्न थाल्यो। मैदानमा अरूहरूको फुटबलको गोल हुन्थ्यो तर उनीहरूको हृदयमा पिरतीको गोल हुन थाल्यो। अन्ततः ढुकढुकीले गोलकै वर्षा गर्न थालेपछि उनीहरू प्याराफिटबाट पनि बाहिर निस्किएर एकान्तको खोजीमा भाग्न थाले।

विकासले सम्झिए, ‘दुवैजना एकअर्काप्रति इन्ट्रेस्टेड जस्तो भइयो। हामी फुटबल हेर्न भन्दा पनि त्यतैबाट बाहिर बाहिर डुल्न थाल्यौं। आफू आफू मिलाएर निस्किन थाल्यौं।’

विश्वविद्यालयमा पढ्दापढ्दै पिरतीको गोल गर्ने वातावरण बन्दै गयो। सन् २००० देखि नै उनीहरू ‘लिभिङ टुगेदर’ मा रहे। फुटबल हेर्न दाजु ज्यासोनसँगै प्याराफिटमा देखिने युवती चाङ चियान थिइन्। ज्यासोन चाहिं उनका मामाका छोरा। चाङ चियान तिनै दाजुको कम्पनीमा काम गर्थिन्।

लिभिङ टुगेदर चल्दै गर्दा विकास वीर अस्पतालमा काम गर्न काठमाडौं फर्किए तर पनि उनीहरूबीचको ममता टुटेन। विकासले भने, ‘म नेपाल हुँदा उनी पनि आऊजाऊ गरिरहन्थिन्। एकअर्कालाई राम्रैसँग बुझियो र मुटु बलियोसँग जोडियो। त्यसैले दायाँबायाँ गर्ने समय नै भएन।’

फेमिली हस्पिटल बेइजिङमा ६ वर्षदेखि शल्यक्रिया चिकित्सकका रूपमा कार्यरत डा. विकास राई सन् १९९७ मा हङकङ चीनमा फिर्ता भएको एक महिनापछि अर्थात् अगष्टतिर काठमाडौंबाट मुख्यभूमि चीन हानिएका थिए।

कक्षा ८ पढ्न नेपाल फर्किएका विकासले काठमाडौंको लिटिल एन्जेल्सबाट एसएलसी र काठमाडौं विश्वविद्यालबाट आईएस्सी गरे। त्यसपछि चीनको हनान प्रान्तमा चिनियाँ भाषा पढेर थ्यानचिन नगरमा चिकित्सा पढ्न हिँडे। सन् २००३ मा एमबीबीएस सके र एमडी पनि गर्न थाले। सन् २००६ मा एमडीपश्चात् काठमाडौंको वीर अस्पतालमा चार वर्ष काम गरे। सन् २०१० मा पीएचडीका लागि थ्यानचिन फर्किए। सन् २०१३ मा पीएचडी सकेर बेइजिङको युनाइटेड फेमिली हेल्थ केयर अस्पतालमा काम गर्न थाले।

बलियो प्रतिवद्धताका कारण पहिलो प्रेम सफल भयो उनको। विकासकी आमाले विरोध जनाएपनि बुबाको अवरोध थिएन। तर बीचमै उनकी आमाको मृत्यु भयो। पीएचडी गर्न पुनः चीन आएका बेला उनले विवाह गरिहाले।

विकास भन्छन्, ‘विहे दुई पटक गरियो। राई जातिको रीति अनुसार नेपाल (धरान) मा गएर र चिनियाँ परम्परा अनुसार चीनमा भएर। तर दुइटै विहेमा दुलाहा दुलही चाहिं उही।’

बेइजिङस्थित एउटा होटेलको ठूलो हलको स्टेजबाट कार्यक्रम संचालकले विहेको कार्यक्रम गरिरहँदा दुलाहा विकास भने एक्लै थिए। उनका अभिभावक कोही आउन पाएनन्। श्रीमती चाङसँग हार्दिक रूपमा घुल्न थालेको १७ वर्षपछि मात्रै उनले सम्धीभेट गराउन सके।

उनले भने, ‘वर्षमा १–२ चोटी श्रीमती र छोरीलाई लिएर नेपाली समाज र परिवारसँग चिनाइरहेको हुन्छु।’

पहिलो पटक चीनको हनानमा उत्रिँदा उनलाई पिछडिएको गाउँमा पुगेजस्तै लाग्यो रे। चीन तीव्र गतिमा विकासको बाटोमा गैरहेको भएपनि केही क्षेत्रहरूले काँचुली फेर्नै बाँकी थियो। त्यसअघि उनले हङकङसँग जोडिएको क्वाङ्चौ, शनचन त बारम्बार देखेका थिए नै।

विकास चिनियाँ भाषा बोल्छन् र अन्तर्राष्ट्रिय अस्पताल भएकाले अंग्रेजीमा पनि सिपालु। छोरीले नेपाली भाषा र संस्कृति सिकून् भन्ने उनको चाहना छ। उनी भन्छन्, ‘आफ्नो त हप्तामा एक दुई चोटी नेपालमा रहेकी दिदी र बेइजिङका नेपालीबन्धुहरूसँग बोल्नेबाहेक नेपाली भाषा अभ्यास गर्ने ठाउँ नै छैन।’

एड्भान्स्ड टेक्नोलोजीमा अभ्यस्त जनरल सर्जन डा. विकास आर्थिक क्रान्तिमार्फत् कायापलट गरेको चीनबाट नेपालले पनि फाइदा लिनसक्ने देख्छन्। फेरि तुरून्तै निराशामा उत्रिन्छन्, ‘नेताहरू गतिलो भएन भने सबै कुरा डाँवाडोल हुन्छ। चिनियाँ नेतृत्व सबल छ। भ्रष्टाचार उन्मुलन गर्ने सूत्र पनि नेपालले यताबाट सिक्न सक्छ।’

आफ्नो वर्तमान बताइसकेपछि डा. विकास विगततर्फ मोडिए। नेपाली जनजाति भएकाले पनि उनको अनुहार चिनियाँजस्तै छ। जब कुनै चिनियाँसँग हिंड्यो, विदेशीसँग हिँडेको नठानेर चिनियाँहरू माण्डारिनमै कुरा गर्न खोज्थे। त्यसैले पनि उनको भाषा छिट्टै फस्टायो।

‘नेपाल गरीब मुलुक भनिन्थ्यो, नेपालीहरू कुनै सपिङ मलमा जाँदा पनि हेर्ने नजरिया अर्कै लाग्थ्यो र मन खिन्न हुन्थ्यो’, विद्यार्थी जीवनका नमीठा पल सम्झिँदै उनले भने। नेपाली साथीभाइहरूसँग हिंडेका बेला चिनियाँहरूले गरीब देशको मान्छेहरू पनि चीनमा पढ्न आउने रहेछ भन्ने गरेको याद छ। उनले सुनाए, ‘नेपाल र नेपालीबारे नसुनेका चिनियाँलाई सम्झाउन गाह्रै पर्थ्यो, किनकि भाषाको स्तर कमजोर थियो त्यतिबेला।’

नेपालमा जान पाएपछि श्रीमती र छोरी खुशीले उफ्रिन्छन्। नेपाली खानेकुरा मन पराउँछन्।

‘छोरीको अंग्रेजी छैन। नेपाली बाजेसँग हातको इशाराले कुरा गर्छिन्। पहिला श्रीमती र दिदीबीच अनुवादक बनिदिनुपर्थ्यो। अझै पनि उनीहरू एकअर्काको भाषा बुझ्दैनन्, तर कसरी हो, कसरी, भान्छाका कुरा सजिलै मिलाउँछन्’, उनी अचम्म मान्छन्।

सोध्न बाँकी केही कुराका लागि फोन गर्दा उनले वीच्याटमा विरामीले शल्यक्रियाको मिति सारेकोले एकैछिन व्यस्त रहेको बताए। केहीबेरपछि फोन फर्काए र आफ्नो कार्यालयको जिम्मेवारीहरूबारे सुनाए।

नेपालमा डाक्टरहरूसँग सम्पर्कमा रहेर चिनियाँ प्रविधि र उपचार पद्धतिको अनुभव आदानप्रदान गर्छन् विकास। कार्यालयको काम सकिएपछिको समय जिम जाने, दौडिने अनि राती घर फर्किने, यस्तो दैनिकीका बीच उनलाई परिवारसँग मिलन हुने सप्ताहान्तको प्रतीक्षा पनि भैरहेको हुन्छ।

हङकङ आइडी, नेपाली पासपोर्टले बेइजिङ बसिरहेका उनी भविष्य चाहिं नेपाल नै हो भन्छन्।

‘हाल नजिकै रहेको सानो परिवारको माया नै जीवन हो’, अस्पतालको सेवासुविधा सुनाएपछि उनले व्यंग्य गर्ने पाराले जवाफ फर्काए, ‘ल है, यसरी केही पर्यो भने अस्पताल आउने योजना चाहिं नबनाउनुस्, सकेसम्म स्वस्थ भएरै रहनुस्।’

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 12:35:30
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi

लक्ष्मी लम्सालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।