‘बमजन २४ सै घण्टा निगरानीमा छन्, सिन्धुलीबाट तुरुन्तै पक्राउ गर्न सक्छौं’


Kshamadevi Group


रामबहादुर बम्जन
रामबहादुर बम्जन

सिन्धुलीको सिलामेस्थित आश्रममा रहेका तपस्वी भनिएका रामबहादुर बमजन प्रहरीको २४ घण्टे निगरानीमा परेका छन्। सादा पोशाकमा खटिएका प्रहरी अधिकारीले सिन्धुली बजारदेखि ६ किलोमिटर दुरीमा रहेको बमजनको आश्रमका हरेक गतिविधी निगरानी गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले खटाएका प्रहरी अधिकारीहरुले अहिले सिन्धुली आश्रममा रहेका बमजनको निगरानी गरिरहेका हुन्।

आश्रमबाट आफ्ना अनुयायी बेपत्ता बनाएको आरोप लागेका र बलात्कारका मुद्दामा समेत तानिएका बमजनमाथि कारवाही गर्न दबाब बढिरहेका बेला उनी सिन्धुलीको आश्रममा पुगेका हुन्।

सिन्धुली प्रहरी प्रमुख रामेश्वर यादवले आफ्नो जिल्लामा कुनै उजुरी नभएकाले हाललाई माथिको आदेशमा आश्रम र बमजनको निगरानी गरिरहेको बताए।

‘उजुरी परेका जिल्लाले उपस्थित गराउन भने तुरुन्त पठाउन सक्ने व्यवस्था गरेका छौं, आश्रम र व्यक्ति हाम्रो निगरानीमा छन्’, यादवले नेपालखबरसँग टेलिफोनमा भने।

बमजनको आश्रमबाट दुई महिला र दुई पुरुष हराएको निवेदन तीन वटा जिल्लामा परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। प्रहरी प्रधान कार्यालय आफैले यो अनुसन्धानको अगुवाई गरिरहेको छ भने केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पनि छुट्टै अनुसन्धान  गरिरहेको छ।

‘सम्बन्धित जिल्ला र केन्द्रबाट अनुसन्धान भइरहेको छ, हामी केही दिनमै वास्तविकता सार्वजनिक गर्नेछौं,’ प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले काठमाडौंमा नेपालखबरसँग भने, ‘हामीले मिडियामा आएका विषय समेत नोटिसमा राखेका छौं।’

गृह मन्त्रालयले बमजनका देशभर रहेका आश्रम र सम्पर्क केन्द्रहरूलाई अनुसन्धानको दायरामा ल्याउने तयारी गरिरहेको छ। मन्त्रालयले बमजनको आश्रमबाट केही व्यक्ति हराएको उजुरी परेपछि पाँच जिल्लामा रहेका आश्रमलाई अनुसन्धानको दायरामा राखेर कारवाही अघि बढाएको हो। सिन्धुपाल्चोक, सिन्धुली र बाराका आश्रमबाट चारजना अनुयायी गायब भएपछि बमजन अनुसन्धानमा तानिएका हुन्।

गृहमन्त्रालय प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार बारालाई केन्द्रमा राख्दै बमजनको आश्रमबाट हराएका व्यक्तिको खोजी भइरहेको हो।

बमजनको आश्रमबाट २०६९ देखि २०७२ को अवधीमा चारजना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ। बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा (पासाङ, नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाउने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका छन्।

‘हामीले बुझ्ने काम गरिरहेका छौं, स्थानीय प्रहरी सक्रिय छ,’ बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले भने, ‘बारा र मकवानपुरमा दर्ता निवेदनका विषयमा यहाँबाट अनुसन्धान भइरहेको छ।’

प्रहरी प्रवक्ता सुवेदीले हालसम्म तीन जिल्लामा दुई महिला र दुई पुरुष हराएको निवेदन परेको बताए। उनले निवेदन परेका जिल्ला प्रहरीले आवश्यक कारवाही र अनुसन्धान गर्ने बताए।

प्रहरी प्रधान कार्यालयले तपस्वी भनिने बमजनका विभिन्न जिल्लामा रहेका आश्रम, आश्रमका मुख्य व्यक्ति र बमजन निकटहरुको विवरण मगाएर अनुसन्धान गरिरहेको छ। 

सिन्धुपाल्चोक आश्रमबाट दुई गायब
हेटौंडा उपमहानगरपालिकाका सन्चलाल वाईबाले २०७१ चैत १४ गते सिन्धुपाल्चोकको बाढेगाउँ आश्रमबाट छोरा महेन्द्र वाईबाको मोबाइलमा फोन गरे। ९८६०....१६ मा फोन गर्दै ५१ वर्षीय सन्चलालले आफु १५ गते घर आउने बताएका थिए। अर्को दिन बुवा आउने प्रतिक्षामा बसेका महेन्द्र निरास भए।
त्यसपछि न उनका बुवा आए, न त उनको कुनै खबर नै आयो।

२०७२ बैशाख २८ मा महेन्द्रले सिन्धुपाल्चोक आश्रममा गएर सोधपुछ गरे। सन्चलालले आश्रम छाडेर गएको उनलाई बताइयो। तर कहाँ गए, कहिले गए, केही भनिएन।

महेन्द्रले बुधबार बुवा हराएकाले खोजिदिन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका छन्।

सन्चलाल जस्तै सिन्धुपाल्चोक आश्रमबाटै फुलमाया रुम्बा पासाङ समेत हराएको भन्दै खोजिदिन भाई विजय रुम्बाले निवेदन दिएका छन्। उनले दिदी सम्पर्क विहिन भएकाले खोजिदिन भन्दै निवेदन दिएका हुन्।

उनको निवेदनमा भनिएको छ, ‘करिब १० वर्षअघि नेवारपानी आश्रममा आनी बन्न जानुभएकी दिदी २०६८ मा बारा र त्यसपछि सिन्धुपाल्चोक जानु भएको थियो, २०७१ माघदेखि अत्तोपत्तो छैन।’

विजयले दिएको निवेदनमा फुलमायासँग अन्तिम पटक २०७१ माघमा सम्पर्क भएको थियो। उनले विजय बाहेक छरछिमेकीसँग समेत कुरा गरेकी थिइन। लामो समय दिदीको खबर नआएपछि विजयले आश्रममा सोधखोज गरेका थिए। आश्रमले उनी छाडेर हिँडेको जवाफ दिएको थियो। 

जसबहादुरले लगेका सुरेश हराए
३४ वर्षीय छोरा सुरेश आलेमगर हराएको भन्दै बारा प्रहरी र जिल्ला प्रशासनको सम्र्पकमा पुगेका हस्तबहादुर आले उनलाई तपस्वी भनिने बमजनका विश्वासपात्र जसबहादुर वाईबाले लिएर गएको बताएका छन्।

उनले छोरा खोजिदिन दिएको निवेदनमा तपस्वी बमजनको अनुयायी हुन गएका सुरेश तीनचार महिनामा घर आउने गरेको उल्लेख गरेका छन्। लामा पोशाकमै २०७२ को जेठमा घर आएका सुरेश आश्रम नफर्कने मनस्थितीमा थिए। उनी घरमै रहेका बेला जसबहादुर आएर फकाएर लगेकाले खोजिदिन निवेदनमा आग्रह गरिएको छ।

हस्तबहादुरले छोरा हराएपछि आफुले रामबहादुर बमजनको आश्रम र काठमाडौंसम्म पुगेर हारगुहार गरेको निवेदनमा उल्लेख गरेका छन्। 

सिन्धुली हिँडेकी थिइन चिनिमाया
नुवाकोट मेघान गाँउपलिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएकी थिइन। चुल्मा र कर्मा भनेर बोलाइने उनी बमजनको आश्रमका आनीहरूमध्यै एक थिइन।

नुवाकोटबाट सिन्धुली जान हिँडेकी उनी त्यसयता सम्पर्कविहीन छिन्। नुवाकोट प्रहरीमा बिहिबार दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएकी हुन्। 

बमजनको धुमिल छवि
सरकारले २०७४ माघ २६ मा मन्त्रीपरिषद् निर्णयबाट बमजनको बाराको हल्खोरियास्थित आश्रम क्षेत्रलाई धार्मिक बनक्षेत्र घोषणा गरेको थियो। सरकारको यो निर्णयले विवादमा आइरहने बमजनलाई ‘क्लिन चिट’ मिलेको थियो।

बमजनले २०६२ जेठ २ गतेदेखि सुरु गरेको निराहार तपस्या छ वर्षपछि २०६८ जेठ २ गते सकिएको भनिएपछि उनी चर्चामा आएका थिए। बाराको जंगलमा उनी तपस्या गर्दै गरेको सार्वजनिक भएपछि उनलाई ‘लिटिल बुद्व’ को उपमा दिएर समाचार आउन थालेको थियो।

यो तथ्य नै मिथ्या भएको भन्दै त्यसबेला नै उनी विवादमा आएका थिए। उनी ध्यान गर्नुअघि भारतका विभिन्न बौद्ध धार्मिक स्थल गएको भनिएको थियो। तर उनी पोखराको एउटा चामल मिलमा काग गर्दा घाईते भएपछि घरमै बसेको तथ्य बाहिर आएको थियो।

त्यसपछि ७ वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेको अर्को विवादमा बमजन मुछिएका थिए। त्यसपछि विदेशी नागरिकलाई बन्धक बनाएको, बन क्षेत्रका विषयमा विवाद गरेको र बलात्कार तथा हत्यासम्मको आशंका उनीमाथि हुँदै आएको हो।

आफुलाई ‘महा सम्बोधी धर्म संघ गुरु’ भन्ने बमजनले तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुसिल कोइरालासँग बालुवाटारस्थित सरकारी निवासमा भेट गरेका थिए। बारा रतनपुरको सामान्य परिवारका बमजन विवाद सुरु भएपछि नयाँ गन्तव्यमा जाने र जंगल क्षेत्रमा आश्रम बनाएर बस्ने गरेका छन्। 

बाराको हल्खोरिया जंगल, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुरमा उनका आश्रम छन्।

प्रकाशित १९ पुस २०७५, बिहिबार | 2019-01-03 19:13:23
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...