जाडोबाट बच्न खोज्दा इन्जिनियर दम्पतिको यसरी भयो दुःखान्त



छोरा प्रयानका साथमा पुस्कर–अप्सरा कलंकी मन्दिरमा
छोरा प्रयानका साथमा पुस्कर–अप्सरा कलंकी मन्दिरमा

यतिबेला राजधानी काठमाडौंसँगै देशैभर चिसो बढेको छ। यस्तो जाडोबाट बच्न शहरवासी ग्यास, इलेक्ट्रिक हिटर प्रयोग गर्छौं। पछिल्लो समय ग्यास हिटरको प्रयोग धेरै बढेको छ।

चिसोबाट बच्न यस्ता सामाग्री प्रयोग गरिन्छ तर, अलिकति सचेत भइएन भने ठूलो दुर्घटना निम्तिन सक्छ। ७ पुषमा काठमाडौँको कलंकीमा एउटा त्यस्तै ठूलो दुर्घटना भयो, जसले इन्जिनियर दम्पति पुष्कर जोशी र अप्सरा श्रेष्ठ जोशीको ज्यान लियो।

उनीहरुले कोठामा एलपीजी ग्यास जोडेर बाल्ने हिटर प्रयोग गरेका थिए। त्यही हिटरको ग्यास लिक भएर आगलागी हुँदा यो दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। त्यो दुर्घटनाको कथा यस्तो छः
***
७ पुष २०७५। शनिबारको दिन। साँझ ५ः३० बजेको समय। कालिमाटीबाट कलंकी मन्दिर नपुग्दै दाहिनेतिर रहेको होण्डा शोरुमदेखि करिब १०० मिटर भित्रपट्टि रहेको एक घरबाट आवाज आयो, गुहार–गुहार।

सुरुमा त घरको तल्लो तला र नजिकैको घरमा भाडामा बस्नेले ‘चोर–चोर’ भनेको सुने। तर, आवाज पटक–पटक आइरहेपछि नजिकैको घरको बरन्डाबाट संगीता थापा र उनका भाइले यताउता चिहाए। उनीहरुको आँखा झट्ट छिमेकी घरको एक फ्ल्याटमा पुग्यो।

सो फ्ल्याटको ढोकामा हल्का आगो बलिरहेको थियो। कोठामा पुष्कर जोशी, उनकी श्रमती अप्सरा श्रेष्ठ र १६ महिने छोरा प्रयान थिए। हेर्दा–हेर्दै आगो फैलियो। संगीताका भाइले आफ्नो घरबाट हाम फालेर वारी आउने प्रयास गरे। तर, सफल भएनन्।

लगत्तै संगीताले घरनजिकै रहेको होटलमा गएर कोठामा आगलागी भएको कुरा सुनाइन्। त्यसपछि त्यहाँ रहेका केही मानिस घटनास्थल पुगे। कोठाको भित्रबाट चुकुल लगाएका कारण ढोका खोल्न कठिन भयो। केही समयको प्रयासपछि ढोका फोडियो। सबै मिलेर आगो पनि निभाए।

ढोका फोडेपछि पुष्करले नै श्रीमती र छोरालाई बाहिर निकाले। त्यतिन्जेल छिमेकीले प्रहरी, एम्बुलेन्स र दमकललाई खबर गरिसकेका रहेछन्। सबै घर अगाडि आइपुगे। छिमेकी र प्रहरी मिलेर पुष्कर र उनकी श्रीमतीलाई कलंकीको सहीद मेमोरियल अस्पताल पुर्याए। छोरालाई भने अन्य छिमेकीले स्कुटरमा राखेर नेपाल नेसनल अस्पताल लगे।

घटना भएको झन्डै १० मिनेटपछि उनीहरुको उद्दार भएको थियो। तर, विडम्बना उद्धार गर्दा सामान्यजस्तै देखिएपनि जोशी दम्पत्तिको केही दिनको अन्तरालमा मृत्यु भयो।

केही मिडिया र सामाजिक संजालमा घटनाको विषयलाई लिएर सत्य–तथ्य बाहिरका खबर आए। जसले परिवारका सदस्य र छिमेकीमा थप पीडा थपिदियो। नेपालखबरले मृतक दम्पत्तिका आफन्त र केही प्रत्यक्षदर्शीसँग भेटेर घटनाबारे सत्य–तथ्य बुझ्ने प्रयास गरेको छ।

पुस्कर र अस्परा

पुस्कर र अस्परा

शनिबार (७ पुष)। साँझ ५ बजेपछि।

पुष्कर एउटा हातमा मःम र अर्को हातमा ग्यास हिटर (मर्मत गराएर ल्याइएको) बोकेर घरभित्र छिरे।

उनकी श्रीमती अप्सरा बरन्डामा धोएर सुकाएको छोराको लुगा उठाइरहेकी थिइन्।

पुष्कर कोठाभित्र पसे। अप्सरा पनि लुगा उठाएर कोठामा आइन्। छोरा त्यहीँ खेलिरहेका थिए।

पुष्करले भर्खरै बनाएर ल्याएको ग्यास हिटर बाले। उनीहरुले हिटरको नजिकै बसेर मःम पनि खान थाले।

त्यत्तिकैमा आगलागी भयो। पल्लो घरको बरन्डाबाट घटना देखेकी संगीता भन्छिन्, ‘मैले देख्दा कोठामा आगो लागिरहेको थियो। पुष्कर दाइले जसरी हुन्छ, हामीलाई बचाइदेऊ भन्नुभयो। त्यसपछि मैले तल झरेर अरुलाई भनेँ।’

संगीताका अनुसार, उनले कोठामा पुष्करले आफ्नी श्रीमती र श्रीमतीले छोरालाई घेरेर आगोको रापबाट बचाएको देखेकी थिइन्। अर्थात्, आफू आगोमा पोलिएर उनीहरुले छोरालाई बचाइरहेका थिए।

हिटर नजिकै छिट्टै आगो टिप्ने कार्पेट भएकाले एकैछिनमा आगो दन्कियो। कोठाभरी फैलियो। लत्ताकपडा सबै जले।

यसबीच पुष्करले ढोका खोलेर बाहिर निस्कने प्रयास नगरेका पनि होइनन्। तर, ढोका नजिकै हिटर भएको र ढोकाको कुनामा आगो बलिरहेकाले त्यो सम्भव भएन। अर्को प्रयासस्वरुप उनले झ्यालको सिसा फुटाएका छन्। झ्यालमा ग्रील भएकाले बाहिर निस्कन सक्ने अवस्था भने रहेन।

‘उहाँहरु बस्ने घर अलि खाल्डोमा भएकाले गुहार मागेको राम्रोसँग सुनेनौँ’, छिमेकी सानु धिताल भन्छिन्, ‘तर, जब थाहा पायौँ, हामीले गर्न सक्ने कुनै कसर बाँकी राखेनौँ।’

केही मिडियामा भित्रबाट गुहार मागिरहँदा छिमेकी ढोका थुनेर बसेको भन्ने समाचार आएकोप्रति उनले दुखेसो पोखिन्।

***
साँझ ६ बजेपछि।

उद्धार भएको १५ मिनेटभित्र पुष्कर, उनकी श्रीमती र छोरालाई अस्पताल पुर्याइसकिएको थियो।

अस्पताल पुर्याउनुअघि पुष्कर र उनकी श्रीमती होसमै थिए। छोरा भने बेहोस थिए। अप्सराले एम्बुलेन्समै ‘मेरो आफन्त’ भनेर आफ्नी भाउजु प्रभा योञ्जनको फोन नम्बर दिएकी थिइन्। उनीहरुको काठमाडौँमा नजिकका आफन्त खासै थिएनन्। प्रभाको परिवार र उनीहरुबीचको सम्बन्ध पनि भावनात्मक हो। प्रभा भन्छिन्, ‘तर, रगतको नाताभन्दा बलियो थियो।’

पुष्कर एम्बुलेन्समा पीडाले छट्पटाउँदै चिच्याइरहेका थिए। अवस्था भने त्यति नाजुक भइसकेको थिएन। एम्बुलेन्समा उनलाई खुट्टाबाट सलाइन पानी दिइयो। उनको हातको धेरै भाग पोलेको थियो।

सहीद मेमोरियल अस्पताल पुग्नासाथ ‘इमर्जेन्सी वार्ड’ मा उनीहरुको उपचार सुरु भयो। नर्सहरुले मल्हम लगाउने, सलाइन दिने काम सुरु गरे। डाक्टरहरु जाँच्न आइपुगे। डाक्टरले करिब ५० प्रतिशत शरीर जलेको अनुमान लगाउँदै तत्काल आइसियुमा राख्नुपर्ने बताए।

प्रभासहित त्यहाँ उपस्थित केहीले के गर्ने भनेर सल्लाह गरे। आइसियुमा त्यहाँ राख्नुभन्दा पोलेको राम्रो उपचार हुने कीर्तिपुर अस्पताल (बोर्न सेन्टर) मा लैजाँदा राम्रो हुने निस्कर्ष निस्क्यो। छिमेकीहरुले मिलेर बिल तिरे र चाँजोपाँजो मिलाएर दुबैलाई कीर्तिपुर अस्पताल लगे।

एम्बुलेन्समै अप्सराले प्रभासँग आफूहरुलाई दशा लागेको बताइरहेकी थिइन्। कुनैबेला पोल्यो–पोल्यो भन्दै चिच्याउँथिन् पनि।

यता, पुष्कर भने कुनैबेला अक्सिजन सकियो भन्थे त, कुनैबेला आफ्नो हातले काम नगरेको बताउँथे। यो सबै गतिबिधिलाई हेर्दा पनि आफन्त र डाक्टले उनीहरु निको हुन्छन् भन्ने विश्वास गरेका थिए। तर, अपचारकै क्रममा पुष्करको पुष १२ गते किर्तिपुर अस्पताल र अप्सराको पुष १७ गते मेडिसिटी अस्पतालमा निधन भयो।

१६ महिनाका प्रयान भने खतरामुक्त छन्। भैंसेपाटीसिथत मेडिसिटी अस्पतालमा उपचारपश्चात उनलाई डिस्चार्ज गरिएको छ। उनको हात र अनुहारको केही भागमा पोलेको छ। 

प्रयान जोशी

प्रयान जोशी

पुष्कर र अप्सराले चार वर्षअघि प्रेम विवाह गरेका थिए। पेसाले दुबै इन्जिनियर थिए। पुष्कर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मा कल्सल्टेन्ट थिए भने अप्सरा सडक विभागमा इन्जिनियर थिइन्। पुष्करको कार्यक्षेत्र गोरखा थियो। उनी बेलाबेला परिवार भेट्न काठमाडौँ आउने गरिरहन्थे।

प्रभाका अनुसार पुष्कर र अप्सराबीच अथाह प्रेम थियो। माइतितर्फ त हुने नै भयो, घरतिर पनि अप्सराले सुमधुर सम्बन्ध कायम गरेकी थिइन्। आमा–बाबु, सासु–ससुरा सबैले उनलाई उत्तिकै माया गर्थे।

१६ महिनाअघि प्रयानको जन्म भएदेखि अप्सराका आमा–बुबा उनीहरुसँगै बसेर प्रयानको हेरचाह गरिरहेका थिए। तर, घटना हुँदा उनीहरु कुल पुजा गर्न घर (तनहुँ) गएका थिए।

छिमेकी सानु धिताल पुष्कर र अप्सरा संसारकै राम्रा मानिसमध्येको एक जोडी भएको बताउँछिन् ।

भन्छिन्, ‘उहाँहरु निकै मिजासिलो हुनुहुन्थ्यो। उहाँहरुलाई नराम्रो भन्ने सायद नेपालभर कोही छैन होला। भगवानले राम्रा मानिसलाई नै छानिछानी किन लान्छन्?’

पुस्कर र अप्सरा

पुस्कर र अप्सरा

घटना हुनुभन्दा ३ दिनअघि अर्थात् ४ पुषमा अप्सराले आफ्नो जन्मदिन मनाएकी थिइन्। ‘म जन्मदिनमा जान पाइनँ, अहिले पछुतो लागिरहेको छ’, प्रभा दुःखेसो पोख्छिन्, ‘के थाहा त्यो नै उनको अन्तिम जन्मदिन हुन्छ भन्ने१’

प्रयानको यही ९ भदौमा जन्मदिन परेको थियो। केही आफन्त र साथीभाइलाई बोलाएर पुष्कर–अप्सराले उनको जन्मदिन धुमधामका साथ मनाइदिएका थिए।

नेपालखबरलाई प्राप्त जन्मदिन मनाउँदै गरेको भिडियोमा पुष्कर–अप्सराको छोराप्रतिको गहिरो माया झल्कन्छ। उनीहरुको परिवार कति रमाइलो थियो भन्ने पनि भिडियो संवादबाट बुझिन्छ।

तर, सानो दुर्घटनाले ठूलो क्षति निम्त्याउँदा उनीहरू आफ्नो प्रिय छोरा प्रयानबाट छुट्टिएका छन्, अब अर्को जन्मदिन मनाउन नपाउने गरी।

प्रकाशित १९ पुस २०७५, बिहिबार | 2019-01-03 14:05:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।