चिम्पु–चम्पा तस्करी प्रकरणः लन्डनको कलपछि प्रधानमन्त्री कार्यालय ‘अलर्ट’




जाउलाखेलस्थित चिडियाखानामा रहेका चिम्पु र चम्पाकाे हेरचाह गरिँदै। तस्विर साैजन्य: न्युयाेर्क टाइम्स
जाउलाखेलस्थित चिडियाखानामा रहेका चिम्पु र चम्पाकाे हेरचाह गरिँदै। तस्विर साैजन्य: न्युयाेर्क टाइम्स

नाइजेरियाको जंगलबाट तस्करहरूले बलजफ्ती पक्रेर काठमाडाैं ल्याएका चिम्पु र चम्पा एक वर्षभन्दा बढी समयदेखि ललितपुरस्थित सदर चिडियाघरमा छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन मन्त्रालयको आदेशमा चिम्पु र चम्पालाई आधिकारिक ब्यक्ति बाहेक अन्यलाई भेट्न राेक लगाएकाे छ। ‘हाम्रा क्युरेटरहरुले रेखदेख गरिरहेका छन्, अहिलेसम्म कुनै समस्या आएको छैन,’ चिडियाखाना प्रमुख डा.चिरञ्जिवी पोखरेलले नेपालखबरसँग भने, ‘चिञ्पान्जी तस्करीकाे यो घटना देशकै लागि प्रतिष्ठाको विषय बनेको छ।’ चार जनाको क्युरेटर समूहले दुर्इ चिञ्पान्जीलार्इ रेखदेख गरिरहेका हुन्।

चिडियाघरको क्वारेन्टाइनमा क्युरेटरहरु गणेश र रचना साह चिम्पु र चम्पाको स्याहार सुसारमा खटिएका छन्। बालक अवस्थामै तस्करीमा परेर काठमाडौं आइपुगेका चिम्पु र चम्पका लागि उनीहरुले खाना तयार गर्ने, चिसोबाट जोगाउने र नियमित स्वास्थ्य चेकजाँच गर्ने काम गर्छन्। काठमाडौं आएपछिका १४ महिनामा दुवै चिम्पाञ्जी बिरामी भएका छैनन्।

चिम्पु र चम्पा कहिले घर फर्किने भन्ने भाग्य फैसला काठमाडौं जिल्ला अदालतमा अड्किएको छ। चिम्पाञ्जी तस्करीसम्बन्धी मुद्दा सुनुवाईको अन्तिम चरणमा छ। न्यायाधीश अम्बरराज पौडेलको इजलासले मंसिर २० गते भन्सारबाट थप विवरण ल्याउन आदेश गर्दै पुस ११ गतेका लागि पेशी तोकेका छन्।

‘उनीहरुलाई पठाउनै पर्ने बाध्यकारी नियम छ। यहाँ राख्न मिल्दैन। तर अदालतकाे फैसलापछि मात्र आवश्यक प्रक्रिया सुरु हुन्छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले नेपालखबरसँग भने, ‘हामीले दुवैलाई अति सुरक्षित र उच्च प्रबन्धका साथ राखेका छौं।’

यसरी आइपुगेका थिए काठमाडौं

जंगलमा भर्खरै हुर्कंदै गरेका दुई अवोध बालक चिञ्पान्जीलाई नाइजेरियाको जंगलमा तस्करहरुले समाते। बन्धक बनाए। काठको बाकसमा राखे। करिब ३० घन्टासम्म विमानमा उडाएर काठमाडौं ल्याइपुर्याए। यहाँसम्म आइपुग्दा उनीहरुले ८ हजार १ सय ६ किलोमिटर दुरी पार गरे। टर्किस एयरलाइन्सको विमानबाट काठमाडौं अवतरण गरेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कक्ष र पशु क्वारेन्टाइनका अधिकारीहरुले ‘देखेनन्’। तस्करसँगकाे सेटिंगका कारण गैरकानुनी रूपमा नेपाल भित्र्याइएका दुर्लभ जनावर र पन्छी सजिलै  भित्रिए।

विमानस्थलबाट बाहिरिएका बाकसहरु सोझै बाँसबारी सल्लाघारीमा रहेको सञ्जिव भारीको घरमा पुगे। बासकमा एकजोडी दुर्लभ चिम्पाञ्जीसहित, बाँदर, गोल्डेन फेजन चरा, रिङ्नेट फेजन चरा, परेवा र सुगा थिए।

जीवित बन्यजन्तुको अन्तर्राष्ट्रिय तस्कर समूह केही दिनमै काठमाडौंबाट स्थलमार्ग हुँदै ‘बाकस’ भारत पठाउने तयारीमा थियाे। तर त्यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले छापा मार्यो। ब्युरोले २०७४ असोज ३१ मा भारीको घरमा छापा मार्दै तत्काल तस्कर समुहका ६ जना पक्राउ गर्याे।

ब्युरोको बयानमा आरोपीहरुले भनेः चिम्पान्जी र अन्य पशुपन्छी नाइजेरियाका हुन्। उनीहरुलाई पाकिस्तान भएर काठमाडौं ल्याइएको हो। नाइजेरिया, पाकिस्तान र नेपालका चेकजाँच अधिकारीसँग ‘सेटिङ’ देखियाे।

ब्युरोले घरधनी भारीसहित भारत बिहार घरभई स्वयम्भु बस्ने मोहम्मद उष्मान, मोहम्मद फईमर चांदबाबू मोहम्मद शरीफ सहीदलाई पक्राउ गर्याे। उनीहरुको बयानले भन्सार एजेन्ट राजकुमार तिवारी र पाकिस्तान कराँचीका जावेद अस्लाम खान ब्युरोको फन्दामा परे।

‘यो एउटा अन्तरदेशिय तस्करीको ठूलो सञ्जाल हो। नेपालजस्ता कमजोर संयन्त्र भएका देशहरूकाे फाइदा उठाउँदै जीवित बन्यजन्तुको तस्करी भइरहेको थियो,’ तत्कालीन ब्युरो प्रमुख रहेका एआईजी पुष्कर कार्की भन्छन्, ‘यो घटनालाई अन्तर्राष्ट्रिय जगतले ट्रायल केशका रुपमा निगरानी गरिरहेको छ।’

अदालतको चलखेलबारे लन्डनबाट फोन

प्रधानमन्त्री कार्यालयमा मंसिरको तेस्रो साता बेलायतबाट एकजना पशु अधिकारकर्मी बताउने व्यक्तिले फोन गर्दै घटनाको जानकारी गराएका छन्। उनले काठमाडौंमा रहेका आफ्ना सहयोगीले मुद्दा प्रक्रियामा निगरानी गरिरहेको र अदालतले प्रतिवादी उम्काउन चलखेल गरिरहेको माैखिक 'उजुरी' गरेका छन्।

स्रोतअनुसार पूर्पक्षका लागि थुनामा रहेका नेपाली, भारतीय र पाकिस्तानी नागरिकलाई धरौटीमा रिहा गराउने र धरौटीमा छाडेका सरकारी कर्मचारीलाई सफाई दिन चलखेल भइरहेको प्रधानमन्त्री कार्यालयमा टिपाइएको अनौपचारिक नोटमा उल्लेख छ। यो सूचनापछि सम्बन्धित निकायका पदाधिकारीहरुलाई प्रधानमन्त्री कार्यालयले मौखिक सूचना दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसम्म कुरा पुगेपछि यो मुद्दामा निगरानी गर्ने जिम्मा सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता अग्नी खरेललाई दिइएको स्रोतले बतायो।

२०७४ पुसको पहिलो साता थुनछेक भएको मुद्दा गत असार २१ देखि काठमाडौं जिल्ला अदालतमा बिचाराधीन छ। वनले बुझाएको मुद्दामा असार २१ बाट अदालती प्रक्रिया सुरु भएको थियाे। न्यायाधीश राजेन्द्र नेपालको इजलासले साक्षी बुझेको थियो। त्यसपछि तीनपटक विभिन्न मितिमा मुद्दा सरकारी वकिलबाट स्थगित भएको छ। एकपटक प्रतिवादीका कानून व्यवसायीले स्थगित गरेको मुद्दामा मंसिर १८ र १९ मा बहस भएको थियो।

काठमाडौं जिल्ला अदालतले २०७४ पुस ६ गतेको थुनछेक बहसले प्रतिवादीहरु सञ्जिव भारी, राजकुमार तिवारी, मोहम्मद उस्मान, चांदबाबू मोहम्मद शरीफ सहीद, मोहम्मद फईम र जावेद अस्लाम खानलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको थियो। उनीहरु जगन्नाथ देवल सुन्धारा कारागारमा छन्।

अन्य प्रतिवादीहरु चुडामणि दाहाल र धिरेन्द्रबहादुर शाहलाई जनही दुई लाख पचास हजार र आशुतोष राईलाई पाँच लाख धरौटी माग भएको थियो। यस्तै राज कुमार तिवारी उच्च अदालत पाटनको आदेशले ५ लाख धरौटी बुझाएर छुटेका थिए।

तीन देशका २० प्रतिवादी 
ब्युरोले थालेको अनुसन्धानमा तत्काल सञ्जिव भारी, राजकुमार तिवारी, मोहम्मद उस्मान, चांदबाबू मोहम्मद शरीफ सहीद, मोहम्मद फईम र जावेद अस्लाम खान पक्राउ परेका थिए। यी ६ जनाको बयानले २०७४ कार्तिक २९ चुडामणि दाहाल र सोही वर्ष मंसिर ६ मा धिरेन्द्रबहादुर शाह पक्राउ परे। दुवैजना भन्सार कर्मचारी हुन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आएका सामानहरुको चेकजाँच गर्ने तथा चिम्पाञ्जी आएका बाकसको सतही रुपमा चेक गरी भन्सार एजेन्ट राजकुमार तिवारीसँग मिलेर सामान पास गर्ने काम चुडामणि दाहालको थियो। यस्तै पशु क्वारेन्टाइन कार्यालय काठमाडौंमा पशु स्वास्थ्य प्राविधिक धिरेन्द्रबहादुर शाहले चिम्पाञ्जी समेतका सामानहरु आएको समयमा ड्युटीमा रहे पनि पशु क्वारेन्टाइन चेकजाँच नगरी पशु क्वारेन्टाईनको पत्र भन्सार एजेन्ट राजकुमार तिवारीलाई उपलब्ध गराएका थिए। यसमा आशुतोष राईको भूमिका मुख्य थियो। 

प्रहरी कारवाहीमा त्यसपछि एकपछि अर्कोगर्दै भन्सार एजेन्ट र सरकारी अधिकारी तानिए। ब्युरोले भन्सार एजेन्टहरु राजेशकुमार बैद्य र उदयसिह बिष्ट पनि नियन्त्रणमा लियो।

त्रिभुवन बिमानस्थल भन्सार कार्यालय काठमाडौंमा कार्यरत भन्सार अधिकृत नवराज चौलागाईं र उदयसिंह बिष्ट कारवाहीमा तानिए। भन्सारकै नायव सुब्बा लिला देवी पनेरू, प्रकाश गौतम, पार्वता पोखरेल, तुलसीराम बस्याल, बसन्तराज ढकाल, कम्प्युटर अपरेटर बिष्णु प्रसाद अर्यालर कार्यालय सहयोगी प्रल्हादबहादुर खड्का तस्करीमा प्रत्यक्ष सहयोगी देखिए। प्रहरीले नेपाल वायुसेवा निगममा स्थायी लोडर गणेश बहादुर खतिवडासहित २० जनालाई प्रतिवादी कायम गरेको थियो।

प्रकाशित १ पुस २०७५, आइतबार | 2018-12-16 14:38:31
Max TV
Max TV
Zen Travels
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?