चीनका नेपाली–४

बेइजिङको अमेरिकन स्कूलका नेपाली ‘लाउ श्’



राजीव कुमार
राजीव कुमार

‘तराइमा चीन नपसोस्, हिमालमा भारत नचढोस् भन्ने सोच हटाउन नेपाल नै मध्यस्थ बन्नुपर्छ। लगानी र समृद्धिका लागि दुबै छिमेकीबीच सन्तुलन मिलाउने दायित्व नेपालकै हो।’

सन् २०१२ मार्चको कुरा हो, धनुषाका राजीव कुमार आफ्नी श्रीमतीलाई लिएर पहिलो पटक बेइजिङको कुनै रेस्टुरेन्टमा छिरे। चिनियाँहरू जाडोगर्मी जे भएपनि तातोपानी र ग्रीन टीका पारखी नै हुन्छन्। चपस्टिकले खाने सँस्कृति भएकाले हात धुनैपर्ने जरूरी भएन र खानासँगै पानी पनि पिउँदैनन्।

होटलवालाले अघिल्तिर तातोपानी राखिदिएपछि श्रीमती नीलम कर्ण चिसो पानी खाने इच्छा राख्छिन्।

राजीव चिनियाँ वेटरसँग भन्छन्, ‘चिसो पानी चाहियो, चिसो।’

वेटरले अर्को भाँडोमा पानी त ल्यायो तर तातो।

उनले पानी भन्ने चीज त देखाउन सके तर चिनियाँ भाषामा ‘चिसो पानी’ कसरी भन्ने? उपाय भेट्टाएनन्।

एकैछिनमा रेस्टुरेन्टका भएभरका कामदार वरिपरि झुम्मिए। मुखामुख गरे। के के इशारा गरे। के के तरीकाको पानी ल्याए, र पनि तातो पानी नै ल्याए।

गिलास फेरेर पानी ल्याए तर पनि तातो पानी नै ल्याए।

बोतलमा हालेर भएपनि पानी त ल्याए तर फेरि पनि तातै पानी। उनीहरूले समस्या सुल्झाउनै सकेनन्।

केही सीप नलागेपछि अन्ततः उनले आइसक्रिमको फोटो देखाए, अनि श्रीमती कर्णले आइसक्रिमले नै चिसो पानीको तिर्खा मेटिन्।

उमेरले पचासको दशक चढेका राजीव कुमारले ७ वर्षअघिको एउटा किस्सा सम्झिँदै गर्दा छेउमै बसेकी श्रीमती कर्ण भने मुस्कुराइरहेकी थिइन्। बेइजिङको केन्द्र थ्यानआनमनको उत्तरपश्चिमस्थित रनमिन विश्वविद्यालयको सम्बन्धनप्राप्त अमेरिकन कोर्सको हाइस्कूलमा पढाउने उनी सपरिवार सोही क्वार्टरमा बस्दै आएका छन्।

अहिले पनि अंग्रेजीमै निर्भर उनी बाटोमा हिँड्ने कुनै कलिला स्कूले केटाकेटीको हात समात्छन् र भाषिक सहयोग लिन्छन्। प्राध्यापन पेशा र लाउ श् निकै प्रतिष्ठित मानिन्छ चीनमा। चिनियाँमा गुरूलाई लाउ श् भनिन्छ। त्यसैले आपत् परिहाल्यो भने स्कूले केटाकेटीको सहारा लिन्छन् र से से (धन्यवाद) भनेर कृतज्ञता प्रकट गर्छन्।
***
कक्षा ३ सम्म रघुनाथपुर, धनुषामा पढेका राजीव कुमार कर्ण नेपालबाट ५ कक्षामा भर्ना हुन भारत बिहारको मधुबनी पुगे। उनका काकाले ‘कर्ण’ भन्ने थर हटाएर स्कूलमा भर्ना गरिदिए। तिनताक भारतमा आरक्षण सम्बन्धी विवाद थियो। पढाइमा प्रभाव नपरोस् भनेर काकाले यस्तो जुक्ति निकालेका रहेछन्। तर नागरिकता बनाउने बेलामा भैदियो झमेला। उतिखेर सर्टिफिकेटको जन्ममिति र नामथर सच्याउन सहज नभएर पनि हुनसक्छ। तर थर लेखेमा नागरिकता नलिने अडान लिएपछि तीन–चारथरि सिफारिस गरेर ‘राजीव कुमार’ मात्रै लेखिएको नागरिकता पाए उनले।

आइएस्सी भारत, बीएस्सी, बीएड र एमएस्सी नेपाल अनि भारतबाट र करिकुलम एण्ड इन्स्ट्रक्सनमा एमएड इण्डियनपोलिस अमेरिकाबाट गरेका राजीव कुमार गणित पढाउन थालेपछि राजीव सर भए।

धनुषासँगै झण्डै २ दशकदेखि काठमाडौंका बसिन्दा पनि हुन् उनी। ७ वर्षदेखि बेइजिङस्थित रनमिन विश्वविद्यालय सम्बन्धनको अमेरिकन इन्टरनेश्नल सिनियर हाइस्कूल (१०,११,१२ कक्षा) मा गणित शिक्षकका रूपमा कार्यरत उनी चिनियाँ बच्चाहरू गणित (म्याथ) मा निकै रूचि राख्ने बताउँछन्।

उनी भन्छन्, ‘म्याथ पढ्नु च्यालेन्जिङ हो र मजा पनि हो। पारिवारिक वातावरण पनि होला, चिनियाँ अभिभावकहरू स्कूलमा गएपछि आफ्नो बच्चाले कस्तो गरिरहेको छ भनेर म्याथ सरलाई नै भेट्न खोज्छन्। शायद विज्ञान र प्रविधिमा चमत्कार गर्दै गरेको चीनका बच्चाहरूको म्याथप्रतिको रूचिले उदाउँदो चीनको भविष्य इंगित गर्दछ।’

संभवतः चीनमा पुगेर गणित विषय पढाउने राजीव नै पहिलो नेपाली हुन्। गणित शिक्षामा कि त ब्रिटिश कि अमेरिकनकै बोलवाला हुन्छ। तर कुनै नेपालीले हेड अफ म्याथम्याटिक्स डिपार्टमेन्टको भूमिका पाउँदा उनी गौरवान्वित छन्। अंग्रेजी वा अन्य भाषामा नेपालीले चीनमा रोजगारी पाएपनि गणितमा अहिलेसम्म कसैको नाम सुनिएको छैन। शायद चिनियाँहरू गणितमा आफैं राम्रो भएकाले पनि विदेशी नलिएका होलान्।

शिक्षणका लागि ग्लोबल कम्पिटिसनबाट छानिएका हुनाले उनको आत्मविश्वास अझै उँचो छ। जोड, घटाउ, गुणा र भागा बाहेक म्याथले जुन फिल्डमा पनि तार्किक शक्ति बढाउँछ। राजीव सरले भने, ‘नेपाली विद्यार्थी पनि ट्यालेन्ट छन्। तर हाम्रो कोर्स अफ स्टडी (पाठ्यक्रम) मौलिक छैन। भारत, अमेरिका लगायतबाट टुक्रा टुक्रा जोडेर बनाइएको छ। त्यो कोर्सको २५–४० प्रतिशत हटाइदिने हो भने पनि नेपाली कोर्स राम्रै बन्छ। चीनमा भने आवश्यकता र प्राथमिकताका आधारमा पाठ्यक्रम बन्ने रहेछ।’

पोखरामा १० वर्ष प्राध्यापन गर्दा शिक्षकहरूलाई प्रशिक्षित गराउने परिपाटी बसालेको उनलाई सम्झना छ। चीनमा स्कूल भनेकै सरकारी स्कूल हुन्, नीजि त सीमित मात्रै।

उनले भने, ‘जति नै पुरानो भएपनि अनिवार्य रूपमा साप्ताहिक, मासिक वा वार्षिक रूपमा शिक्षक तालिम, निरन्तर कक्षा निरीक्षण र मूल्यांकन, पूर्वाधार तथा डिजिटल एजुकेसनलाई महत्व दिएकाले चिनियाँ शिक्षा राम्रो हुँदै गएको हो।’

तथापि नेपालको शिक्षा उति पिछडिएको होइन भन्ने उनको ठहर छ। सरकारी हाइस्कूलमा प्राध्यापन, व्यक्तिगत अध्ययन, अन्तर्राष्ट्रिय स्कूल, विद्यार्थीहरूसँगको अन्तर्क्रिया, विदेशमा लिइएका तालिमहरूले बेइजिङको टिकट काट्न सघाएको ठान्ने उनी अहिले पनि चिनियाँ विद्यार्थीहरूसँग सिकिरहेको सुनाउँछन्।

चिनियाँ विद्यार्थीलाई प्रयोगात्मक ज्ञानमा रूचि छ।

राजीव भन्छन्, ‘त्यति पनि जान्दैनस् भनेर हेप्ने वा सहपाठीहरू हाँस्ने चलन यहाँ हुँदैन। नजानेको कुरा विनासंकोच सोध्नसक्ने वातावरण छ। र, सोध्नकै लागि प्रेरित गरिन्छ पनि।’

चिनियाँ शिक्षा प्रणाली पश्चिमा भन्दा कमजोर भएपनि चीन सरकारको शिक्षा नीति महत्वपूर्ण छ। सबैका लागि शिक्षा र अब्बल तथा मेधावीहरूका लागि अझै राम्रो अवसरको नीति देखिन्छ। उनले भने, ‘यहाँ कुनै आइरन गेट भन्ने हुँदैन। जस्तो १०,११,१२ गरिकन १६ वटा विषयमा जाँच दिनुपर्छ। पटक पटक गरेर पास हुन पाइन्छ।’

राजीव सरले चिनियाँ जीवनसँग घुलमिल हुन थालेको लामो समय भएको छ। पारिवारिक हुने, आफुभन्दा पाकाको सम्मान गर्ने जस्ता धेरै कुराले चीन र नेपालको साँस्कृतिक अन्तर त्यति गहिरो लाग्दैन उनलाई, भाषा बाहेक। तर पनि पुस्तान्तर र प्रविधिले निकै गहिरो खाडल बनाएको उनको ठहर छ।

सुन्दर चिनियाँ जीवनशैली उजागर गर्ने क्रममा उनको मनमा खड्किएको एउटा विषय थियो। कतिपय ठाउँमा ‘नेपालबाट आएको’ भनेपछि देशकै नाम नसुनेका चिनियाँहरू भेट्दा भने उनलाई खल्लो लाग्छ।

उनी भन्छन्, ‘हामी चाहिं हिमाल वारिपारिका नागरिक भनेर चिनाउन खोज्ने तर चिनियाँले छिमेकी देश पनि थाहा नपाउने। यस्तो धेरै ठाउँमा भएको छ। तिब्बत छेउको मुलुक भन्यो भने ‘ए... त्यो भन्दा उता पनि देश रहेछ’ भनेर हेक्का राख्ने। तर चिनियाँले नेपाली भनेपछि निकै राम्रो व्यवहार गर्छन् है।’

विदेशिएका हरेक नेपालीजस्तै राजीव सरको मनमा पनि देश कहिले बन्छ भन्ने हुट्हुटी चल्दो रहेछ। देशलाई चिनाउने ध्येयले नै आफूले पढाएका हरेक व्याचका छात्रछात्रालाई नेपाल जान उक्साउने रहेछन्।

उनी सुझाउँछन्, ‘नेपाल गएर विविधता हेर, समुद्र सतहबाट २९ हजार फिटको उचाइदेखि १७५ फिट होचो भूभाग डुल, माइनस ४० देखि प्लस ४० डिग्रीको तामक्रम महसुस गर, गोरोदेखि कालो मान्छे हेर भन्छु।’

प्रत्येक वर्ष उनका १०–१२ जना विद्यार्थी नेपाल जाने रहेछन्।
***
संवादका क्रममा घरि हँसिलो र रसिलो बन्ने राजीव सरमा कुनै कुनै बेला राष्ट्रप्रेमको वीर रस चढ्थ्यो। नेपालले चिनियाँ शिक्षा, चीनको बेल्ट एण्ड रोड इनिसियटिभबाट फाइदा लिएर धनी बन्न सक्ने देखेका छन्। तर होशियारी पूर्वक फाइदा लिनुपर्ने उनी सोच्छन्। कति ऋण थेग्न सकिन्छ भन्ने आँकलन गरेर लाभ भित्र्याउन सकिन्छ भन्ने उनको सुझाव छ।

उनी भन्छन्, ‘तराइमा चीन नपसोस्, हिमालमा भारत नचढोस् भन्ने सोच हटाउन नेपाल नै मध्यस्थ बन्नुपर्छ। हाल सिमेन्ट उद्योगसँगै चिनियाँ लगानी तराइ क्षेत्रमा पुगिरहेको छ। चीनमा बनाएर ढुवानी गर्नुभन्दा नेपालमा बनाएर भारत लैजाँदा उनीहरूलाई पनि सस्तो हुन्छ नि। लगानी र समृद्धिका लागि दुवै देशबीच व्यालेन्स मिलाउने दायित्व नेपालकै हो।’

वि.सं. २०७२ वैशाखको विनाशकारी भूकम्पका बेला बेइजिङका उनका विद्यार्थीहरूले पाउरोटी र केक बनाएर उठेको ५ हजार आरएमबी जम्मा गरेर भूकम्प पीडितको सहयोगार्थ नेपाल पठाए। उनलाई भावुक बनाउने कुरा रह्यो यो।

बेइजिङस्थित क्वार्टरमा दुईमध्ये कान्छो छोरा र श्रीमती, अनि बेइजिङमा बसेका केही नेपालीहरू उनको घरमा पाहुना आएका छन् यतिखेर।

कुरै कुरामा उनले भने, ‘भाषा नै सिक्ने हो भने चिनियाँ केटा वा केटीसाथी बनाउनू।’

उपस्थित सबै जना हाँसे। अन्तर्वार्ताका लागि पल्लो कोठामा पुगेपछि उनले भने, ‘अंग्रेजीमै पढाउँछु, अंग्रेजी बोल्ने नै सहयोगी छन्, अब यो बुढेसकालमा मैले के चिनियाँ सिक्नू?’

प्रकाशित १८ मंसिर २०७५, मंगलबार | 2018-12-04 09:28:58
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...