राष्ट्रिय सभा अध्यक्षको छातीमा टाँसिएको पिपलको पातको त्यो ब्याच



गणेश तिमिल्सिना
गणेश तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले शुक्रबार अपरान्ह फेसबुकमा राखेको पिपलको ताजा हरियो पातको एउटा तस्वीर केहीबेरमै भाइरल भयो। उनले फेसबुकमा राखेको त्यो पिपलको पातमा ‘अतिथि’ लेखिएको कागज टाँसिएको थियो।

पिपलको पातको तस्वीरका साथ पौडेलले ‘स्टाटस’ लेखेका छन्, ‘अतिथिको ब्याच! पिपलको पात आहा!! देशभर पिपलका बोट छन्, अतिथिलाई यस्तो ब्याच लगाइदिए लाखौं जोगिन्थ्यो कि!’

पर्वतको महाशिला गाउँपालिका–५ लुंखुस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयको ‘१८ महिने बाली विज्ञान तथा कम्युटर कक्षा शुभारम्भ तथा कम्युटर शिक्षा कक्ष हस्तान्तरण कार्यक्रम’ निम्त्याइएका अतिथिहरुलाई विद्यालयले लगाइदिएको ब्याच थियो त्यो।

कार्यक्रममा प्रमुख अतिथि थिए, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना। र, आयोजकले तिमिल्सिनालाई पनि साधारण कागजमा ‘प्रमुख अतिथि’ लेखिएको स्टिकर टाँसिएको पिपलको पातको ब्याच लगाइदिएका थिए।

खासमा सिलाएर गोलाकार मुजा पारिएको रिबनले घेरिएको कागजको सुन्दर ब्याच बनाउने समय नभएर विद्यालयले पिपलको पातबाट बनाइएको ब्याच लगाइदिएको होइन। बरु, यस्तो ब्याच बनाउने निर्णय केही महिना पहिले नै गाउँपालिकाले गरेको थियो। र, विद्यालयले त्यसको कार्यान्वयन गरेको थियो।

गाउँपालिकाको बैठकले गरेको सोही निर्णयको कार्यान्वयन थियो, राष्ट्रिय सभा अध्यक्षजस्तो ‘हाइप्रोफाइल’ अतिथिको छातीमा टाँसिएको पिपलको पातको ब्याच।

पिपलको पातको ब्याच

पिपलको पातको ब्याच

‘यस्ता कार्यक्रममा महंगा खादा र ब्याचको प्रयोग नगर्ने प्रचलन सुरु गरेका छौँ’ गाउँपालिका प्रमुख राजुप्रसाद पौडेलले भने, ‘यस्तो निर्णय गर्नुका पछाडि आर्थिक, धार्मिक र वातावरणीय कारण छन्।’

हिन्दु धर्ममा पिपलको निकै ठूलो महत्व छ। हिन्दु धार्मिक मान्यताले पिपलको रुखमा ब्रह्मा, विष्णु र शिवको बास हुन्छ भन्ने विश्वास गर्छ।

त्यसैले, महत्वपूर्ण धार्मिक कर्ममा अनिवार्य रुपमा पिपल प्रयोग हुने गरेको छ। ‘धर्मले सदाचार सिकाउँछ, सदाचारको प्रतिकपनि हो पिपल’ अध्यक्ष पौडेलले भने, ‘सदाचारका लागि पनि हामीले ब्याचमा पिपलको प्रयोग गर्ने अभियान सुरु गरेका हौँ।’

आर्थिक कारणले पनि पिपलको पातको ब्याचको प्रयोग महत्वपूर्ण छ।

एउटा कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि र अतिथि सबै गरी बढीमा एक दर्जनजति अतिथि हुन्छन्। महाशिला गाउँपालिकाले गरेको प्रयोगलाई अरुले पनि पछ्याउने हो भने ब्याचका लागि कत्तिपनि रकम खर्च गर्नुपर्दैन।

प्रमुख अतिथि, विशिष्ठ अतिथि र अतिथि उल्लेखित स्टिकर कम्प्युटरमा टाइप गर्न सक्ने जोकसैले पनि लेख्न सक्छ। र, त्यसलाई ‘ए फोर’ साइजको एउटै पानामा कागजमा प्रिन्ट गरी पिपलको पातमा टाँस्न सकिन्छ।

एक पेज कम्प्युटर टाइप र प्रिन्ट पैसै तिरेर गर्नुप¥यो भनेपनि बढीमा ५० रुपियाँ पर्ला। पिपलको पात गाउँघरमा जहाँपनि पाइन्छ। शहरमा पनि पिपलको पात लोप भइनसकेकाले यहाँपनि यही उपाय अपनाएर लगभग विनामूल्यमा पिपलको पातको ब्याच बनाउन सकिन्छ।

तर, कागजको बनाउने हो भने एउटा ब्याचका लागि कम्तिमा डेढ सयदेखि १ हजारसम्म पर्ने जानकारहरु बताउँछन्।

कागजको ब्याचलाई आकर्षक बनाउन १ देखि ३ वटासम्म मुजा पारिएको रिवनको घेरा लगाउने गरिन्छ। ब्याजमा प्रयोग हुने एउटा रिवनका लागि कम्तिमा ५० रुपियाँ पर्छ।

ब्याजलाई सुन्दर बनाउन ३ वटा घेरा लगाउने हो भने रिवनकै मात्र कम्तिमा १ सय ५० रुपियाँ पर्ने भयो। त्यसबाहेक त्यसलाई गोलाकार हुने गरी मुजा पार्दा सिलाईको ज्याला पनि लाग्छ।

१–३ वटासम्म रिवन लगाएर ब्याच बनाउने भएपछि कागजपनि स्तरीय खालकै प्रयोग गर्नुपर्ने भयो। आयोजक संस्थाको नाम, कुन स्तरको अतिथि हो, सोही कुराको उल्लेख (जस्तै, अतिथि, प्रमुख अतिथि) फरक फरक रंग प्रयोग गरेर छपाई गर्ने चलन छ।

यसो गर्दापनि खर्च उत्तिकै लाग्छ।

‘आकर्षक खालको ब्याच बनाउँदा एक हजार रुपियाँसम्म पर्ने रहेछ’ अध्यक्ष पौडेलले भने, ‘सिर्फ एउटा ब्याचका लागि त्यति ठूलो रकम खर्च गर्नु भनेको नाजायज हो। नाजायज कुरामा आर्थिक ब्ययभार बेहोर्ने काम किन गर्ने? त्यसैले, आर्थिक कारणले पनि पिपलको पातलाई ब्याच बनाउने निर्णय गरेका हौँ।’

वातावरणीय दृष्टिलेपनि पिपलको महत्व निकै ठूलो छ। पिपल कार्वन धेरै सोस्न सक्ने र अक्सिनपनि उत्तिकै प्रवाह गर्नसक्ने वनस्पतिका रुपमा चिनिन्छ। अन्य वनस्पतिहरुको तुलनामा पिपलको आयु पनि धेरै हुने गर्छ।

आयुर्वेद विज्ञानले पिपललाई औषधिजन्य वनस्पतिको कोटीमा समेत राखेको छ। पिपलका पात, बोक्रा, जरा, बोक्रा जरालाई कतिपय रोगको औषधिको रुपमा प्रयोग गर्ने गरिएको छ। बाथ, गिजा, अल्सर, मधुमेह, दमजस्ता रोगको निको पार्न गाउँघरमा पिपलका पात, बोक्रा, जरा आदिको प्रयोग हुने गरेको छ।

पिपल बहुपयोगी बनस्पति भएकाले यसको संरक्ष र विस्तारका लागि पनि रिवन र कागजको ब्याचको साटो पिपलको पातको ब्याच प्रयोग गर्ने निर्णय गरिएको अध्यक्ष पौडेल बताउँछन्।

राजुप्रसाद पौडेल

राजुप्रसाद पौडेल

त्यसै भएर होला, यसैबर्ष गण्डकी प्रदेशको संसदले पनि प्रदेशभित्रका सबै सबै स्थानीय तहले पिपल–वरको चौतारो अनिवार्य रुपमा संरक्षण र दर्ता गर्ने निर्णय योजना बनाएको छ। यसका लागि उसले ‘वर, पिपल र चौतारो संरक्षण, ऐन २०७५’ को मस्यौदासमेत गरिसकेको छ।

रिवन–कागजको ब्याचमात्र होइन, अतिथिहरुको स्वागत र विदाईका लागि कपडाको खादापनि प्रयोग नगर्ने निर्णय सो गाउँपालिकाले गरेको छ। र, यसको सिको पर्वतका अन्य स्थानीय तहका अलावा सरकारी कार्यालयले पनि थालिसकेका छन्।

‘केही हप्ताअघि जिल्ला प्रहरी कार्यालयले गरेको कार्यक्रममा पिपलको पातको ब्याच प्रयोग गरेको थियो’ अध्यक्ष पौडेलले भने, ‘विस्तारै अन्य स्थानीय तहले पनि ब्याचका लागि पिपलकै पातको प्रयोग गर्न थालेका छन्।’

आफ्नो नामजस्तै ‘महाशिला गाउँपालिका’ ले पिपलको पातलाई ब्याचको रुपमा प्रयोग गर्ने निर्णय गरेर मितव्ययिता, सदाचार र वातावरण जगेर्ना कार्य महाअभियानको शिला रोपेको छ, जसलाई सबैले साथ दिनु जरुरी छ।

प्रकाशित ७ मंसिर २०७५, शुक्रबार | 2018-11-23 20:15:47
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

सीताराम बराल नेपालखबर सम्पादक हुन्

@sitarambaral

सीताराम बरालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...