लक्ष्मीप्रसाद देवकोटासँग छोरी अम्बिकाका ती दिन


Infocus



बाबु लक्ष्मीप्रसाद देवकोटाको तस्बिरसँग छोरी अम्बिकादेवी रिमाल
बाबु लक्ष्मीप्रसाद देवकोटाको तस्बिरसँग छोरी अम्बिकादेवी रिमाल
प्रविन कोइराला

उनी १६ वर्षको हुँदा देवकोटाले संसार छाडे। तर, बाबुका थुप्रै यादहरु उनीसँग ताजै छन्। आफ्ना आमा–बाबुको गहिरो प्रेम र द्वन्द्व उनले अनुभव गरेकी छन्।

काठमाडौंको मैतिदेवीस्थित शास्त्रीय बस्तीभित्र दुई वटा पुराना साना घर छन्। एउटा महाकवि लक्ष्मीप्रसाद देवकोटाको भग्नावशेष घर छ, सँगै जोडिएको छ उनकी माहिली छोरी अम्बिकादेवी रिमालको घर। यी दुई घर वरिपरी ठूल्ठूला बिल्डिङ ठडिएका छन्, लाग्छ, ती बिल्डिङले देवकोटा र उनकी छोरीको घरलाई पूरै छायामा पारेका छन्।

अम्बिकादेवीलाई भने यसले खासै फरक पारेको छैन। पुरानो दुई तले पक्की घरमा सुख, दुःख साटिरहेकी छन् उनी। कहिले छत त कहिले बार्दलीबाट महाकवी देवकोटाको भग्नावशेष घर नियाल्दै।

उमेरले सात दशक पार गरिसकेकी अम्बिकादेवी दाहिने कान सुन्दिनन्। देब्रे कानले पनि नजिकै बसेर जोडले बोलेपछि बल्ल सुन्छिन्। तर, उनको शरीरमा फूर्ति अझै छ र कुरा गर्न निकै सिपालु पनि छिन्। दुई नातीको जिम्मेवारी काँधमा बोकेकी उनी तिनैको हेरचाह गर्दै, उनीहरूसँगै रमाउँदै दिन बिताइरहेकी हुन्छिन्।

अहिले नातीसँग खेल्ने अम्बिका आफैले चाहिँ बाबु देवकोटासँग आफ्नो जीवनको पाँच भागको एक भागमात्र समय बिताउन पाइन्। अर्थात्, उनी १६ वर्षको हुँदा देवकोटाले संसार छाडे। तर, बाबुका थुप्रै यादहरु उनीसँग ताजै छन्। कसैले नदेखेको आफ्ना आमा–बाबुको गहिरो प्रेम उनले अनुभव गरेकी छन्।

हालै नेपालखबरसँग दुई पटक भेट्दा अम्बिकादेवीले पिता देवकोटासँगका केही सम्झना सुनाइन्। उनका अनुसार आफूले लेखेका हरेक कविता महाकवि देवकोटाले आफ्नी श्रीमती मनदेवीलाई सुनाउँथे। मनदेवी कविता सुनेर मख्ख पर्थिन्। उनले लयमा–लय मिलाएर सुनाएको कविताले मनदेवीको हृदयमा स्पर्श गथ्र्यो। त्यसपछि साटासाट गर्थे उनीहरु आफ्नो गहिरो प्रेम, मन्द मुस्कानका साथ।

कहिलेकाहीँ रिसाएकी श्रीमतीलाई देवकोटा कवितामार्फत नै फकाइदिन्थे। यो सबै अम्बिकादेवीले थाहा पाउँथिन्। उतिबेला बुबाले के गरेका हुन् भन्ने लाग्थ्यो, जब उनी बुझ्ने भइन् सबै कुरा चाल पाइन्।

अम्बिकादेवीका अनुसार देवकोटालाई कविता लेख्न समयको कुनै पावन्दी नै थिएन। उनी जतिबेला पनि लेख्न सक्थे। गीत भने बिहान वा बेलुका गाउँथे। अम्बिकादेवी भन्छिन्, ‘म बुबाको गीत सुनेर मन्त्रमुग्घ हुन्थें, मनमनै आफूले पनि यस्तै गीत गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो।’

देवकोटा मनदेवीले पकाएको खाना मीठो मानेर खान्थे। मगमग वासना आउने मसिनो मार्सी चामलको भात चरेसको थालमा खान देवकोटालाई औधी मनपथ्र्यो। अम्बिकादेवीका अनुसार मार्सी चामलको भात, दाल र डुकू उनको मनपर्ने खाना थियो।

देवकोटाले आफूलाई मनपर्ने खाना दाल, भात, डुकूको विषयमा कवितासमेत लेखेका छन्।

एकपटक साहित्यिक गोष्ठीमा भाग लिन भारतका महापण्डित राहुल सांस्कृत्यायान नेपाल आएका थिए, जहाँ देवकोटालाई पनि निमन्त्रणा गरिएको थियो। तर उनले कार्यक्रम बिर्सेका रहेछन्। एक मित्र आएर सम्झाएपछि देवकोटा झस्किए, अनि हतार–हतार, दाल, भात, डुकू खाएर निस्किए।

अम्बिकादेवी भन्छिन्, ‘गोष्ठीमा कविहरुले कविता सुनाउने कार्यक्रम रहेछ। बुबाले त कविता नै लान बिर्सनुभएछ। त्यसपछि त्यहीँ दाल, भात, डुकू नामक कविता लेख्नुभयो रे!’

यसरी महाकवि देवकोटाले घरबाट भर्खरै खाएर गएको दाल, भात, डुकूलाई कविताको शीर्षक बनाइदिए।

कविता लेखेर उनले कार्यक्रममा संकलनकर्तालाई दिए। तर, संकलनकर्ताले उनको अपमान गरे– यस्तो पनि कविता हुन्छ भनेर कविता लेखेको कागज नै कच्याककुचुक पारिदिए। पछि उनका एक मित्रले ‘छाड्नुस् बेइज्जत भए यसैको हुन्छ, भन्न दिम्’ भनेपछि अन्तिममा देवकोटाको कविता राखियो।

देवकोटाको सो कविता सुनेपछि महापण्डित राहुल सांस्कृत्यायानले उनको खुबै तारिफ गरे।

देवकोटाले लेखेको दाल, भात, डुकूू कविताको एक अंश यस्तो छः

पहिलो जलमा प्रथम स्फुरणको
विष्णुको नै नाभिस्थलमा यो डुकूू जन्मिएको!
दाल यो हो शक्ति उनको भान्सातिर गै बदलिएको
दार्शनिक शब्द त्यसमा आई यो घरेलु वेश लिएको
भात त्यो हो जसको निम्ति अलम दुनियाँ
ढिकिच्याउँ गर्छ सारा पथभरी चामल फलेर
रौसिएर या गलेर!
ध्यनी विचारी सहमत होलान्
अन्नमय कोषको कुकू!
‘दाल, भात, डुकूू! दाल, भात, डुकूू!

त्यतिबेला देवकोटाले हतारमा यो कविता चुरोटको खोलमा लेखेका थिए। उनका अक्षर निकै मसिना हुन्थे। अक्षर नबुझिएपछि कागज मागेर सारे। कपी चाँडो सकिन्छ भनेर बुबाले मसिना अक्षर लेख्ने गरेको अम्बिकादेवी बताउँछिन्।

देवकोटा निकै कोमल हृदयका थिए। कसैको दुःख, पीडा हेर्न सक्दैनथे, सकेसम्म सबैलाई सहयोग गरिरहन्थे। घरखर्च चलाउन मनदेवीले गाउँबाट ऋण गर्थिन्। मनदेवी अलि कडा स्वभावकी थिइन्। त्यसैले धेरैले महाकवि देवकोटासँग उनको विषयमा कुरा लगाइदिन्थे। देवकोटा ती सबै कुरा सुन्थे र हो’मा हो मिलाइदिन्थे।

तर, यो केवल देखावटी थियो। वास्तवमा उनीहरुबीच अथाह प्रेम थियो।

महाकवि देवकोटा बच्चादेखि वृृद्धसम्म सबैसँग राम्रो सम्बन्ध राख्थे। साना बच्चासँग मीठामीठा कुरा गरेर बस्थे। उनीहरुसँग गफ गर्न पाएपछि समय बितेको पत्तै पाउँदैनथे।

अम्बिकादेवीलाई यो कुरा अझै पनि याद छः उतिबेला दाउरा बाल्ने चलन थियो र धनीका घरमा दाउरा ल्याइदिने छुट्टै मानिस हुन्थे, जसलाई दाउरे भनिन्थ्यो। एकदिन देवकोटाको घरमा दाउरे आए। उनी अलिपर अभिइरहेका थिए। देवकोटाले दाउरेलाई बोलाए र चकटीमा बसाले। त्यसपछि उनीसँग मीठामीठा कुरा गर्न थाले।

घरमा देवकोटा प्रायः कवितामै मस्त हुन्थे, श्रीमती मनदेवी चाहिँ कृष्ण भगवानको ध्यानमा। अनि छोराछोरी आफ्नै तालमा रमाउँथे। देवकोटाले छोराछोरीलाई कहिल्यै कुनै कुरामा नियन्त्रण गरेनन्।

देवकोटाले घरमा गाई, भैंसी पालेका थिए। ‘मान्छेले थुनमा लगेर मुख छुवाइदिनासाथ दूध दिने गाई थियो, जसलाई बुबाले निकै माया गर्नुहुन्थ्यो’, सेत्तै फुलेका कपाल स्याहार्दै अम्बिकादेवी भन्छिन्, ‘पछि बुबा बिरामी हुँदा गाई चोरर लगे।’

एकपटक घर आउँदा देवकोटाले ज्यापूलाई बोकाएर तीन खर्पन काउली ल्याए। घरकाले आज घरमा पार्टी रहेछ क्यारे भन्ने सोचेछन्। मनदेवीले काउली ल्याउनुको कारण सोधिन्। देवकोटाले गाईलाई खुवाउन ल्याएको भनेर जवाफ दिएपछि सबै छक्क परे।

‘मुमाले गाईलाई काउली किन खुवाउनु पर्यो भन्नुभयो’, अम्बिकादेवी विगततिर टोलाउँदै एकछिनपछि भन्छिन्, ‘बुबाले तिमीलेमात्र मीठो खानुपर्छ भन्ने छ र, कहिलेकाहीँ गाईले पनि खानुपर्यो नि भन्नुभयो।’

त्यसपछि देवकोटा गाईलाई भटाभट काउली खुवाउन थाले।
०००
उतिबेला महाकवि देवकोटाले घरमा चार जना कामदार राखेका थिए, जसले गाई चराउने, घरको सरसफाई गर्ने, खाना बनाउने काम गर्थे।

मनदेवी ‘एउटै मान्छेले सबै काम गर्न सकिहाल्छ किन यतिका मान्छे राख्नुपर्यो’ भन्थिन्। देवकोटा ‘यति धेरै काम एउटालाई मात्र लगाउँदा उसलाई दुःख हुन्छ’ भन्थे।

मनदेवी कामदारलाई कमसल खालको तौली चामल खुवाउँथिन्। देवकोटा आफूले जे खायो त्यही दिन निर्देशन दिन्थे। भन्थे, ‘यिनीहरु पनि हाम्रै छोराछोरी हुन्, भेदभाव नगर है मनु।’

यो विषयमा देवकोटा र मनदेवीको कुरा बाझ्थ्यिो। देवकोटाको घरमा लालबहादुर नाम गरेका एक कामदार थिए। उनकी ८ वर्षकी छोरी थिइन्। मनदेवी आफ्ना केटाकेटीले फालेको जुठो भात लालबहादुरकी छोरीलाई दिन्थिन्। तर, लालबहादुर खुवाउन मान्दैनथे। यो कुरा थाहा पाएपछि देवकोटा मनदेवीसँग रिसाउँथे।

‘मुमाले तीन तलामाथिबाट लालबहादुर ... ए लालबहादुर ... भन्दै चिच्याउनुहुन्थ्यो तर, लालबहादुर बुबाको मुख हेरेर बसिरहन्थ्यो’, हाँस्दै अम्बिकादेवी भन्छिन्, ‘बुबाले कतिबेला कुन काम लगाउनु हुन्छ भनेर ऊ कुरेर बस्थ्यो। त्यो मसी ल्याउ, किताब–कपी ल्याउ भन्दा मख्ख पथ्र्यो।’

लालबहादुर मनदेवीको भए नभएको कुरा देवकोटालाई सुनाउँथे। त्यसबापत देवकोटा उसलाई बक्सिस दिन्थे। पैसा पाउने लोभमा लालबहादुरले हुँदै नभएको कुरा पनि सुनाउन थाले। यसो हुँदै जाँदा एकदिन त घरमा भयाभह स्थिति नै आइलाग्यो।

एक पटक घरमा निकै तनाव भएपछि देवकोटाले चिच्याउँदै भने, ‘ए लालबहादुर छिटो गुन्टा कस्, अब हामी होटलमा गएर बस्नुपर्छ।’

फेरि मनदेवीतिर हेर्दै भने, ‘तिमीलाई महिनाको १० हजार दिन्छु, यहीँ बस। म लालबहादुरलाई लिएर गएँ।’

यो कुरा मनदेवीलाई असह्य भयो। त्यसपछि ‘तिमीहरु बस् बरु म नै जान्छु’ भनेर माइत लागिन्। अम्बिकादेवीले थाहा पाएदेखि उनकी आमा मनदेवी कहिल्यै माइत गएकी थिइनन्। घरमा तनाव भएर मनदेवी यसरी एक्कासी हिँडेपछि अम्बिकादेवी सहित छोराछोरी अलपत्र परे। आत्तिएर उनीहरु मामाघर गएर रोई, कराई गरेर आमालाई फर्काएर घरमा लिएर आए।

घरमा आउनासाथ हातमा लौरो समाएर मनदेवीले लालबहादुरलाई भनिन्, ‘ए मोरा यहाँबाट निस्कन्छस् कि यै लौरोले तलाईं ठटाऊँ हँ ...।’

त्यसपछि लालबहादुर देवकोटाको घरबाट टाप कसे।

‘बेलुका बुबा आएर लालबहादुरलाई बोलाउनुभयो’, अम्बिकादेवी रोमाञ्चित हुँदै भन्छिन्, ‘मुमाले अब आएको आयै हो लालबहादुर भन्नुभयो, अनि मुमा घरमा आएको देखेर बुबा पनि चुप लाग्नुभयो।’
०००
अम्बिकादेवीको बुझाईमा लक्ष्मीप्रसाद देवकोटा धनी भएर पनि निकै गरिब थिए। उनी अंग्रेजी शिक्षक थिए र ट्यूसन पनि धेरै पढाउँथे। उनीसँग प्रसस्त पैसा हुन्थ्यो। उतिबेला नै मासिक करिब ३०–४० हजार रुपैयाँ आम्दानी गर्थे। तर, हातमा पैसा पर्नासाथ अरुलाई बाँड्दै हिँड्थे। यतिसम्म कि तलब बुझेर घर आउँदा उनको हात रित्तो हुन्थ्यो। घर चलाउन मनदेवीले गाउँघरमा सापटी लिनुपथ्र्यो।

गाउँभर हल्ला गरेर छोराछोरी पठाउन आग्रह गर्थे महाकवि देवकोटा। अम्बिकादेवीको संगीतप्रति रुची देखेर घरमै संगीत शिक्षक राखिदिएका थिए। उनले त्यहीँबाट संगीत सिकेर पछि रेडियो नेपालमा गीत रेकर्ड गरिन्। अझै पनि उनको स्वर सुरिलो छ। तर, स्वास्थ्यमा समस्या आएका कारण डाक्टरले गीत गाउन प्रतिबन्ध लगाएका छन्। उनलाई भने अहिले पनि गाउँ–गाउँ लाग्छ।

देवकोटाको विषयमा कुरा गर्दा–गर्दै उनले आफू भारतमा गएर संगीत पढेको कुरा पनि सुनाउन भ्याइन्। संगीतको विषयमा कुरा गर्दै जाँदा उनको मुहारमा प्रसन्नता छायो। उनले आफूलाई रोक्न सकिनन्। यसरी सुनाइन् देवकोटाले लेखेको र आफूले रेडियो नेपालमा रेकर्ड गरेको एउटा गीतः

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामाग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरुका काँध चढी, कुन देवपुरीमा जाने हो?

बेलाबेला अम्बिकादेवी यो गीत मनमनै गुनगुनाइरहन्छिन्, जसले उनलाई आफ्ना बाबुको याद दिलाइरहन्छ।

क्यान्सरको बिरामी भएपछि महाकवि देवकोटामा आफ्नो परिवारको चिन्ता बढ्यो। छोरा–छोरीले दुःख पाउने भए भन्ने लागिरहन्थ्यो उनलाई।

देवकोटा बिरामी भएका बेला उनलाई हेर्ने जिम्मा प्राय अम्बिकादेवीले पाइन्। सानोमा धेरै चञ्चले स्वभावकी थिइन अम्बिकादेवी। बिरामी बुबालाई हेर्न बसेको बेला पनि उनी धेरै यताउता गर्थिन, अनि एकछिनपछि बुबालाई हेर्न पुग्थिन्। एक पटक त्यस्तैमा उनले झुलभित्र बसिरहेका बुबालाई देखिनन्, अनि आत्तिएर आमालाई बोलाउन पुगिन्। मान्छे जम्मा गएर खोज्न जाँदा उनी चोकको पिपलको रुखमुनी सुतिरहेका भेटिए।

‘क्यान्सरको पीडाले सहिनसक्नु हुँदोरहेछ’, गम्भीर हुँदै अम्बिकादेवी भन्छिन्, ‘त्यही भएर उठेर पिपलको रुखमुनी जानुहुँदोरहेछ। त्यतिबेला सानै भएकाले खासै वास्ता थिएन, अहिले बुबालाई कति पीडा हुन्थ्यो होला भन्ने सोच्छु।’

धेरै बिरामी भएपछि उपचारका लागि देवकोटालाई कलकत्ता लगियो। डाक्टरले क्यान्सर भएकाले उपचार गर्नुपर्ने बताए। तर, देवकोटाले अपचार गर्न आनाकानी गरे। त्यतिबेला डाक्टरले ‘अहिले उपचार गरे ठूलो आन्द्राको एक इन्च निकाले पुग्छ, नत्र पछि झन् जटिल बन्नसक्छ’ भनेर सम्झाए। तर, देवकोटाले मरिगए मानेनन्।

अम्बिकादेवीका अनुसार अपरेशन गर्दा मरिन्छ र परिवारसँग भेट हुँदैन भन्ने डर रहेछ उनमा। ‘घरमा सल्लाह गरेर आउँछु’ भनेर उनी काठमाडौं आए। पैसा जुटाएर, घरमा दुई महिनालाई पुग्ने खानेकुरा व्यवस्था गरेर अप्रेशन गर्न जान पाए हुन्थ्यो भन्दाभन्दै एक वर्ष बित्यो। यसरी उनको रोग झन् जटिल बन्दै गयो।

पछि (२०१५ साल) भारत जाँदा ठूलो आन्द्राको तीन ईन्च निकालियो। त्यसपछि देवकोटा निकै कमजोर भए। खाना पच्न छाड्यो।

मनदेवीले त्यतिबेला देवकोटाको निकै स्याहार गरिन्। हावापानी छल्न भनेर विभिन्न स्थानमा घुमाउन लगिन्। दिनरात नभनी सेवा गरिरहिन्। उनको चम्किलो मुहारमा अशान्ती छायो।

‘त्यो त मुमाको बुबाप्रतिको प्रेम रहेछ, मैले निकै पछि पो बुझेँ’ अम्बिकादेवीको आँखा रसाउँछ।
०००
लक्ष्मीप्रसाद देवकोटा अस्पतालमा जीवनको अन्तिम सास फेरिरहेका थिए। भेट्न आउनेहरुको निकै भिड हुन्थ्यो। अम्बिकादेवीकाअनुसार तत्कालिन बडा महारानी पनि महाकवि देवकोटालाई भेट्न अस्पताल गएकी थिइन्।

‘कान्छी बहिनी मुनालाई देखेपछि तत्कालीन बडा महारानीले यी छोरी म लिन्छु है देवकोटाजी भन्नुभयो’ अम्बिकादेवी सुनाउँछिन्, ‘बुबाले पनि हजुरको जो ईच्छा भन्नुभएको थियो तर, यो कुरा पछि त्यत्तिकै हराएर गयो।’

त्यतिबेला महाकवि देवकोटाका कान्छा छोरा (दीपक) १८ महिनाका थिए। अम्बिकादेवीले दीपकलाई बोकेर अस्पताल पुर्याइन्।

‘भाइले बुबालाई देखेर बा ... बा ... भनेर करायो’, अम्बिकादेवी भन्छिन्, ‘बुबाले पनि बाबु भनेर काखमा लिनुभयो।’

महाकवी देवकोटा छोरालाई मुसारेर खेलाउँदै थिए। त्यत्तिकैमा अम्बिकादेवीले भात खुवाउन लैजाने भन्दै भाइलाई लिएर गइन्।

‘बुबाले आफूसँगै राख्न खोज्नुभएको थियो, तर त्यतिबेला मेरो बुद्धि कहाँ थियो र? मैले खोसेर लगेँ’, उनी भावुक भइन्। आँखाबाट तरर आँसु खस्यो।

त्यसपछि देवकोटाले कहिल्यै छोरालाई काखमा लिन पाएनन्।

देवकोटाको अवस्था निकै नाजुक भइसकेको थियो। उनी आफैले ‘अब म तीन दिनभन्दा बाँच्दिन’ भनेका थिए। त्यसैले उनकै ईच्छाअनुसार आर्यघाट लगियो। र, तीन दिनपछि ०१६ साल भाद्र २९ गते साँझको ६ बजे उनको देहान्त भयो।

यो पनिः
भित्ताबाट आफ्नै घरको दुरावस्था चिहाइरहेका छन् महाकवि देवकोटा (२१ तस्बिर)

भित्ताबाट आफ्नै घरको दुरावस्था चिहाइरहेका छन् महाकवि देवकोटा (भिडियो)

लक्ष्मीप्रसाद देवकोटा संग्रहालय: ‘गोली बनोस् ओलीको बोली’

प्रकाशित ५ मंसिर २०७५, बुधबार | 2018-11-21 08:16:25
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • वैदेशिक राेजगारीबाट फर्किएका युवा विमानस्थलमा

    पानीपुरीको आप्रवासन सम्बन्ध

    नेपालीहरुको आप्रवासनकोे इतिहास वर्तमान नेपाल निर्माणको शुरुवातदेखि नै भएको पाइन्छ।

  • रनरिद्द र हुन सेन

    ओलीले भनेजस्तै दुई प्रधानमन्त्री थिए एकबेला कम्बोडियामा

    प्रधानमन्त्री ओलीकै निमन्त्रणमा १५ दिन अगाडि काठमाडौँ आएका कम्बोडियाली प्रधानमन्त्री हुन सेन कुनै बेला आफ्नो देशमा दुईजना प्रधानमन्त्री मध्ये एक थिए।

  • मनीषा काेइराला

    विगतका कतिपय भोगाइ अमूल्य हुन्छन्

    क्यान्सर भएको थाहा भएपछि मलाई सधैँ त्यही कुराले पिरोलीरह्यो। क्यान्सर हुनु भनेको मृत्युको नजिक पुग्नु हो।

  • काठमाडौंमा छङ् ख सिन्

    चिनियाँ पर्यटकको अनुभवः मायालु नेपाली, काठमाडौंमै डरलाग्दा खाल्डा

    ‘नेपालको सबैभन्दा कहालीलाग्दो त यातायात रहेछ। सुन्दर दृश्यावली भएका गन्तव्य धेरै छन्, तर बाटो साँच्चिकै भएन के। यताउता जान खोज्यो, बाटोकै तनाव।’