लक्ष्मीप्रसाद देवकोटा संग्रहालय: ‘गोली बनोस् ओलीको बोली’



भग्नावशेष बनेको घरमा झुण्डिरहेको लक्ष्मीप्रसाद देवकोटा दम्पतीको तस्बिर
भग्नावशेष बनेको घरमा झुण्डिरहेको लक्ष्मीप्रसाद देवकोटा दम्पतीको तस्बिर
प्रविन कोइराला

‘महाकविको घरको चारैतिर धमिरा लागेको छ, कतिबेला गर्ल्याम्म ढल्छजस्तो। माकुराको जालोवरिपरी देवकोटाका तस्बिरहरु देख्दा मेरो आँखाबाट आँसु नै आयो।’

‘ओलीको बोली गोलीजस्तो भएर ठ्याक्क काम बनोस्, प्रधानमन्त्रीको निर्णयले हामी सबै खुसी छौँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई संग्रहालय बनाउने घोषणा गरेपछि माहिली छोरी अम्बिकादेवी रिमालले सोमबार नेपालखबरसँग पहिलोपटक आफ्नो खुसी साटिन्।

भनेपछि तपाईंहरु देवकोटाको ऐतिहासिक घर सरकारलाई दिन तयार हुनुहुन्छ?

‘मेरै देशको सरकार हो, देशकै गरिमाका लागि केही गर्दै छ, यसमा परिवारका सदस्यबाट कुनै रोकावट हुने छैन। बरु हामी यो सरकारप्रति कृतज्ञ छौँ’, अम्बिकादेवी थप उत्साहित भइन्।

महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीको अवसरमा बालुवाटारमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले गत बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निकै उत्साहका साथ उनको घरलाई संग्रहालय बनाउने घोषणा गरे।

त्यसपछि ओलीले भने, ‘देवकोटाजस्तो बौद्धिक ज्ञानयुक्त विलक्षण कवि मैले विश्वमै देखेको छैन, देवकोटा प्राकृतिक प्रतिभा हो, मूलबाट फुटेर खसेको छाँगोजस्तो।’

प्रधानमन्त्रीले संग्रहालय बनाउने घोषणा त गरे तर, महाकवि देवकोटाका परिवारका सदस्यसँग यस विषयमा कुनै कुराकानी भएको थिएन। महाकवि देवकोटाको परिवार सरकारलाई सो घर दिन तयार होला त भन्ने जिज्ञासा धेरैमा छ।

देवकोटाकी छोरीको भनाइलाई आधार मान्ने हो भने उनको परिवार सरकारलाई घर जिम्मा लगाउन आतुर छ। सँगसँगै प्रश्न पनि छ– प्रधानमन्त्रीले क्षणिक लोकप्रियताका लागिमात्र बोलेका हुन् या उनी यस विषयमा साँच्चीकै गम्भीर छन्?

मुआब्जा कि आपसी सहमति?
काठमाडौंमा महाकवि देवकोटाका दुई घर छन्। एउटा घर डिल्लीबजारमा छ, जुन जन्मघर हो र उनले आफ्नो जीवन बिताएको घर चाहिँ मैतिदेवीको शास्त्री बस्तीभित्र छ। दुवै घर भग्नावशेष अवस्थामा छन्। हुन त दुवै घरको आ–आफ्नै महत्व छ तर, मैतिदेवीस्थित घरमा उनले प्रयोग गरेका थुप्रै सामग्रीहरु छन्। त्यसैले सरकारले मैतिदेवीकै घरलाई संग्रहालय बनाउन उपयुक्त हुने लेखक–साहित्यकारहरु बताउँछन्। सरकार पनि त्यही घरप्रति सकारात्मक छ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको लक्ष्मी पुजाको दिन बिहानै नेपालकी प्रथम महिला सरोवादक रुपा न्यौपानेले महाकवि देवकोटा निवासको तस्बिर पोस्ट गर्दै सो घर विलियम सेक्सपियरको संग्रहालय जस्तै बनोस् भन्ने आफ्नो चाहना रहेको क्याप्सन राखेकी थिइन्। अर्कोदिन संग्रहालय बनाउने खबर पढ्दा आफूलाई निकै खुसी लागेको उनी बताउँछिन्।

‘महाकविको घरको दूरावस्था देखेर मन खिन्न भयो, चारैतिर धमिरा लागेको थियो। कतिबेला गर्ल्याम्म ढल्छजस्तो’, उनले नेपालखबरसँग भनिन्, ‘माकुराको जालोवरिपरी देवकोटाका तस्बिरहरु देख्दा मेरो आँखाबाट आँसु नै आयो।’

सरकारले जग्गाको आवश्यक मुआब्जा दिनुपर्ने बताउँछिन् छोरी अम्बिकादेवी।

‘सरकारले पक्कै पनि जग्गाको मुआब्जावापतको रकम दिनेछ भन्ने हाम्रो आशा छ, यसो भएको खण्डमा भाइहरुलाई पनि केही सहयोग हुनेछ’, उनले भनिन्।

विदेशमा बस्ने उनका भाइ (लक्ष्मीप्रसाद देवकोटाका छोरा) डा. पद्मप्रसाद र दीपक बुबाको घर संग्रहालय बनाउन सरकारलाई बिक्री गर्न सकारात्मक होलान त? अम्बिकादेवी भन्छिन्, ‘यस कुरामा उनीहरु पनि सहमत हुन्छन्। यो हाम्रो परिवारका सबै सदस्यका लागि खुसीको कुरा हो। हामी सरकारलाई सक्दो सहयोग गर्न तयार छौँ।’

हाल अष्ट्रेलियामा रहेका देवकोटाका छोरा डा. पद्मप्रसाद देवकोटा भने यस विषयमा धेरै बोल्न चाहेनन्। नेपालखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संग्रहालय बनाउने निर्णय गरेकोप्रति प्रधानमन्त्रीलाई धन्यवाद दिए। भने, ‘प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद छ, थप केही भन्नु छैन।’

१२ आना जग्गा, आनाको २४ लाख मूल्य
मैतिदेवीमा रहेको देवकोटाको घर १२ आना क्षेत्रफलको कम्पाउन्डमा फैलिएको छ। काठमाडौंको मालपोत कार्यालयले पुर्नमूल्यांकन गरेको जग्गाको भाउअनुसार ज्ञानेश्व–र–सानोगौचरण–हाँडिगाउँ क्षेत्रको जग्गाको प्रतिआना २४ लाख रुपैयाँ पर्न आउँछ। यो घर सोही क्षेत्रमा पर्छ। तर, जग्गा व्यवसायी तथा धनीले आ–आफ्नै मूल्य तोक्ने गरेका छन्। सरकारले जग्गा मुआब्जामा लिन चाहेमा मालपोत कार्यालयको मूल्यअनुसार मैतिदेवी क्षेत्रमा आनाको २४ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ। तर, परिवारका सदस्यसँगको आपसी सहमतिमा मात्र जग्गाको रकम तय गर्ने पक्षमा सरकार छ।

देवकोटाले वि.सं. १९९० सालमा मैतिदेवीमा दुई रोपनी क्षेत्रफलमा रहेको सो घर किनेका थिए। उतिबेला त्यसको मूल्य चार हजार पाँच सय रुपैयाँ परेको थियो। पछि उनले त्यहीँ दुई रोपनी जग्गा थपे। र, अहिले सो जग्गाको १२ आनाबाहेकमा देवकोटाको परिवारले घर बनाएर बसेको छ।

पर्यटन सचिव कृष्णप्रसाद देवकोटा यस सन्दर्भमा केही सकारात्मक कुराहरु आएको बताउँछन्। ‘मन्त्रालयमा हामी यस विषयमा तत्काल छलफल चलाउँछौँ। कहाँ, कसरी, के गर्नुपर्ने हो, त्यसमा हामी चुक्ने छैनौँ’, नेपालखबरसँग उनले भने, ‘यसका लागि परिवारका सदस्यले पनि सक्दो सहयोग गर्नुपर्छ।’

२५ वर्षअघि पनि तत्कालिन सरकारले देवकोटाको सो जग्गा र घर तीन करोडमा किन्न खोजेको थियो। तर, परिवारले पाँच करोड घटी दिन मानेन। अहिले घर जीर्ण अवस्थामा छ र संग्रहालय बनाउँदा पुरानो संरचना काम नलाग्ने देखिन्छ। परिवारका सदस्य सकारात्मक रहेकाले जग्गाको मुआब्जामा सहमति जुट्ने सम्भावना छ।

संग्राहालयको पुरानै कथा
वि.सं. २०५१ सालमै तत्कालिन सञ्चारमन्त्री प्रदीप नेपाल देवकोटाको घरलाई संग्रहालय बनाउन कम्मर कसेर लागिपरेका थिए। तर, यस विषयमा परिवारका सदस्यसँग कुरा नमिल्दा संग्रहालय बनाउने उनको सपना अधुरै रह्यो।

‘उतिबेला मैले संग्रहालय बनाउन चार वर्ष पहल गरेको हुँ तर, परिवारका सदस्य आफ्नो अडानमा अडिग रहनुभयो, हामीले मागेजति पैसा दिन सकेनौँ’, नेपालले नेपालखबरसँग भने।

आफूले पहल थालेको झन्डै अढाई दशकपछि सरकारले देवकोटा निवासलाई संग्रहालय बनाउने निर्णय गरेकोमा नेपाल निकै खुसी छन्। भन्छन्, ‘उतिबेला उनको निवासलाई सुन्दर बनाएर देश–विदेशका पर्यटकहरु आउने ठाउँ बनाउने सपना पूरा हुन सकेन, अहिले सरकारले गरेको निर्णयले मेरो त्यो सपना पूरा हुने देखेको छु। परिवारका सदस्यले पनि सरकारलाई साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल यसपटक जसरी भएपनि देवकोटा निवासलाई संग्रहालय बनाएरै छाड्ने होडमा प्रधानमन्त्री ओली रहेको बताउँछन्। उनका अनुसार यसका लागि प्रधानमन्त्रीले संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिइसकेका छन्। 

संग्रहालय बनेमा के हुन्छ?
कुँवर इन्द्रजित सिंह प्रधानमन्त्री हुँदा २०१४ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्री रहेका महाकवि देवकाटा अद्भूत प्रतिभाका खानी थिए। धेरै कम मानिसमा हुने विलक्षण प्रतिभा उनमा थियो। देवकोटा नेपालीसहित १४ भाषा बुझ्थे। त्यसमध्ये उनले संस्कृत, नेपाली, नेवारी, उर्दू, अंग्रेजी, बंगाली, जर्मनी, फ्रेन्च र रसियन गरी नौ भाषामा कविता नै लेखेका छन्।

भारतीय महापण्डित राहुल सांकृत्यायानले महाकवि देवकोटाका बारेमा भनेका छन्, ‘मैले देवकोटालाई बुद्ध पछिको सबैभन्दा ठूलो मानव अवतारको रुपमा लिएको छु।’

राहुल सांकृत्यायानले भारतका तीन प्रतिष्ठित कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी बराबर देवकोटा एक्लै भएको टिप्पणीसमेत गरेका थिए।

महाकवि देवकोटाको पण्डित दिनानाथ मंगेशकार, हरिवंश राय बच्चनसँग राम्रो सम्बन्ध रहेको मानिन्छ। कवि गुलजार लक्ष्मीप्रसाद देवकोटा र रविन्द्रनाथ टैगोरलाई आफ्नो आदर्श मान्छन्। त्यस्तै, नेपाल र चीनलाई साहित्यिक–सांस्कृतिक रुपमा जोड्ने नेपाली साहित्यकारमा देवकोटा पहिलो मानिन्छन्। देवकोटाको महाकाव्य मुना मदनमा जन गणतन्त्र चीनसँगको विविध पक्षलाई केलाइएको छ, जुन पुस्तक केही वर्षअघि चिनियाँ भाषामा अनुवाद भएर छापिएको छ।

आफ्ना बाबुको कविता सार्दासार्दै साहित्यमा रस पसेपछि लेखन क्षेत्रमा लागेका देवकोटा अहिले महाकविका रुपमा विश्वभर परिचित छन्। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएका देवकोटाको नाममा संग्रहालय बनाएर प्रचारप्रसार गर्न सकियो भने विश्वभर नेपाली साहित्यले अर्को फड्को मार्ने विश्वास सरकारको छ। 

लेखक साहित्यकारहरूको भनाइ के छ भने प्रधानमन्त्री ओलीको घोषणा घोषणामा मात्रै सिमित नहोस्। विदेशमा देवकोटाजस्ता व्यक्तित्व भएका साहित्यकारको घर सरकारी स्वामित्वमा लिएर आकर्षक ढंगले संग्रहालय बनाएको उदाहरण दिँदै लेखक निनु निनु चापागार्इं भन्छन्, ‘प्रधानमन्त्री आफैले महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेपछि अहिले धेरै आशा जागेको छ, यो घोषणा कुरामा मात्र सीमित नहोस्।’

महाकवि देवकोटाको संग्रहालय बनेमा त्यसले अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुल्ने देवकोटामाथि अध्ययन तथा अनुसन्धान गरेका हेमन्त खतिवडा बताउँछन्। सरकारले केही प्रवेश शुल्क लिएर व्यवस्थित ढंगले चलाउन सके संग्रहालय आफै आत्मनिर्भर हुने उनको भनाइ छ।

देवकोटाले मैतिदेवीमा साहित्य साधनाको लामो समय बिताएको र त्यस बखतका विभिन्न सामग्रीहरु त्यहाँ भएकाले उनको निवासलाई जतिसक्दो चाँडो संग्रहालय बनाउनु पर्ने प्रदीप नेपालको भनाइ छ। यसो गर्दा महाकविको सम्मान र देशको गरिमा बढ्ने उनको बुझाई छ। 

देवकोटाको संग्रहालय मा रसिया जाँदा उनले अलिखित रुपमै गरेको दमदार भाषण, विभिन्न समयमा सदनमा गरेका चर्चित भाषणको अडियो, उनले प्रयोग गरेका मसीवाल कलम, कुर्सी, टेवल राख्न सकिन्छ। उतिबेलाको कला–कौशल, देवकोटाका बाल्यकालदेखिका तस्बिरहरु, भारतीय–बेलायती–अमेरिकी साहित्यकारसँगको सम्बन्ध दर्शाउने तस्बिर तथा चिठ्ठी, उनले लेखेका विभिन्न रफ बुकहरु, मुना मदन लेख्दाको हस्ताक्षर, उनले लगाउने पोशाक संग्रहालय मा राख्न सकिन्छ। उनी सुत्ने कोठा, पकाउने कोठा आदीलाई आकर्षक ढंगले प्रस्तुत गर्न सकिन्छ। संग्रहालय बनेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट देवकोटाको विषयमा अध्ययन, सोध–खोज र पिएचडी गर्न चाहनेलाई सहज हुनेछ।

छोरी अम्बिकादेवीको चाहना संग्रहालय क्षेत्रमा प्राकृतिक सुन्दरतासहितको पार्क बनोस् भन्ने छ।

यो संग्रहालय सञ्चालनमा आएपछि भारत जानेहरु रविन्द्रनाथ टगौर, बेलायत जानेहरु सेक्सपियर र रुस जानेहरु पुस्किन र टल्स्टोयको घरको पारखी बनेजस्तै नेपाल आउनेहरु महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर हेरेर मन्त्रमुग्घ हुन सक्नेछन्। जसले नेपाली साहित्य विश्व बजारसम्म पुग्ने नयाँ गोरेटो कोरिने छ।

प्रकाशित २७ कार्तिक २०७५, मंगलबार | 2018-11-13 16:18:18
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna

कृष्ण आचार्यबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।