सरकारबाट हुने ‘माइक्रो-म्यानेज्मेन्ट’ ले नेपाली सेनाको हित गर्दैन: प्रधानसेनापति थापा

सैनिक संख्या घटाउने बहसप्रति पनि अप्रत्यक्ष असन्तुष्टि

पूर्णचन्द्र थापा
पूर्णचन्द्र थापा

प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारको तर्फबाट सेनाभित्र हुने माइक्रोम्यानेज्मेन्टले नेपाली सेनाको हित नहुने दावी गरेका छन्।

दशैँ–तिहारको उपलक्ष्यमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले मिडियाकर्मीहरुसँग गरिएको भेटघाट कार्यक्रममा प्रधानसेनापति थापाले उपरोक्त कुरा बताएका हुन्।

नेपाली सेनाले नागरिक सर्वोच्चतालाई सदैव सर्वाेपरी मान्दै आएको बताउँदै उनले ‘नेपाली सेनाको लोकतान्त्रिकरण’ भन्ने शब्दावलीप्रति पनि असन्तुष्टि व्यक्त गरे।

‘यदाकदा यसलाई नेपाली सेनाको लोकतान्त्रिकरण पनि भन्ने गरिएको मैले पाएको छु’ लिखित सम्बोधन गर्दै थापाले भने, ‘यसलाई नेपाली सेनाको व्यवसायीकरण भन्दा अझ राम्रो सुनिन्छ होला जस्तो मलाई लाग्छ।’

लोकतन्त्रपछि, खासगरी कटवाल काण्ड (०६५) पछि चर्चामा आएको ‘नागरिक सर्वाेच्चता’ लाई उनले जंगी अड्डाको आँखाबाट प्रष्ट्याउने कोशिषपनि प्रधानसेनापति थापाले गरे।

‘नागरिक सर्वोच्चता सम्बन्धमा हाम्रा धारणाहरु समान हुनु जरुरी छ, सरल भाषामा नागरिक सरकारको कानुनसम्मत आदेश तथा निर्देशनहरुको पालना गर्नु नेपाली सेनाको दायित्व हो भने सङ्गठनको आन्तरिक व्यवस्थापन नेपाली सेनाको जिम्मेवारी हो’ थापाले भने, ‘यदाकदा हुने गरेको ‘माइक्रो-म्यानेज्मेन्ट’ ले सेनाको हित गर्दैन भन्ने मेरो बुझाई छ।’

नेपाली सेनाको सञ्चालन सम्बन्धमा आवश्यक नीति-नियमहरु तयार गरी लागू गर्ने र गराउने जिम्मेवारी सरकारको भएको बताउँदै सही अर्थमा सेनालाई पेशागत रुपमा दक्ष बनाई राष्ट्रिय शक्तिको भरपर्दो संयन्त्रका रुपमा स्थापित गर्नु नै सैनिक संगठनको व्यवसायीकरण भएको बताए।

शान्ति प्रक्रियाले पूर्णता पाएपछि नेपाली सेनाको संख्या घटाउने सम्बन्धमा भएका बहसप्रति पनि उनले असहजता प्रकट गरे।

यस सम्बन्धमा चलेको बहसलाई स्वभाविक रुपमा लिएको बताउँदै उनले भने, ‘सेनाको सञ्चालनका लागि बजेट खर्च अवश्य हुन्छ, तर बजेट कटौति गर्ने नाममा विना आधार सेनाको संख्या कटौति गर्दा त्यसले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पार्ने कुरामा हामी सबै सचेत हुनुपर्ने हुन्छ।’

यसो भन्नुअघि उनले यस विषयमा केही लामो व्याख्यापनि गरेका थिए, जुन निम्न बमोजिम थियो:

नेपाली सेनाको सख्ंयाको सम्बन्धमा पनि विभिन्न धारणाहरु बेलाबखत आउने गरेका छन्। नेपाली सेनाको अहिलेको आकार र स्वरुप विगतको द्वन्द्वकालको आवश्यकतामा आधारित भई सिर्जना भएको हो। नेपाली सेनाको पुनर्ढाँचा, पुर्नसन्तुलन र पूर्नसंरचना गर्दै अहिलेको अवस्थामा आएको छ, संगठनको संरचना अहिलेसम्म पनि मिल्न सकेको छैन। एक्कासी बढेको संगठनको असर अझै बाँकी छन्।

आवश्यकता हुने बित्तिकै भर्ना लिने र काममा लिन सकिने अवस्था कुनैपनि सैनिक संगठनमा सम्भव हुँदैन। विभिन्न तहका कमाण्डर र स्टाफहरु तालिम र अभ्यासका आधारमा क्रमिक रुपमा मानवस्रोतको विकास गर्दै लैजानु पर्ने सेना जस्तो चेन अफ कमाण्डमा चल्ने संगठन– अरु संगठन जस्तो तुरुन्त तयार गर्न सम्भव हुँदैन। तसर्थ, अहिलेको मात्र होइन, भविष्यको आवश्यकतालाई समेत मध्यनजर गरेर हामीले राष्ट्रिय सेनाको स्वरुप र आकार निर्धारण गर्नुपर्ने हुन्छ।

यस विषयमा वहस हुनुलाई म स्वभाविक मान्दछु। किनकि सेनाको सञ्चालनका लागि बजेट खर्च अवश्य हुन्छ, तर बजेट कटौति गर्ने नाममा विना आधार सेनाको संख्या कटौति गर्दा त्यसले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पार्ने कुरामा हामी सबै सचेत हुनुपर्ने हुन्छ। नेपाली सेनाका प्राथमिक र दिवतीय जिम्मेवारी पुरा गर्न सक्ने गरी ‘विस्तृत सामरिक पुनरावलोकन’ का आधारमा मात्र निर्णय लिनुपर्छ भन्ने संसारभरकै सेनाको मान्यता हो।

सेनालाई सानो र चुस्त बनाउनका लागि विभिन्न राष्ट्रहरुले आधुनिकीकरण र उपयुक्त क्षमताहरु सेनालाई दिने गरेको पाइन्छ। तसर्थ सेनाको संख्या घट्दा थप आवश्यक क्षमता प्रदान गर्ने गरेको देखिन्छ। यही विकल्प प्रयोग हामीले पनि गर्न सकिन्छ। तर त्यसका लागि पनि विस्तृत अध्ययनको आवश्यकता छ।

प्रधानसेनापति थापाले नेपाली सेना संविधानविरोधी र बिखण्डनवादी तत्वहरुका गतिविधिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौति र खतराहरुलाई सुक्ष्म रुपबाट नियालेर निरन्तर मुल्याङ्कन गरिरहेको पनि बताए।

‘त्यो राष्ट्रिय सेनाको धर्म पनि हो अर्थात् जिम्मेवारी हो’ उनले भने, ‘राजनीतिक माध्यम नै आन्तरिक द्वन्द्व समाधानको सही विकल्प हो, तर राष्ट्रसँग अन्य विकल्पहरु पनि रहेका छन् भन्ने पक्षलाई बिर्सन मिल्दैन।’

संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य रहेको बताउँदै उनले यो उद्देश्यको प्राप्ति नेपाली सेनाको एकल प्रयासबाट मात्र संभव नभएको स्मरण गराए।

‘यस सम्बन्धमा उपयुक्त राष्ट्रिय निर्देशन प्राप्त भए बमोजिम विगतमा सिकिएका पाठहरुलाई आधार मानी सम्भावित सुरक्षा चुनौति र खतराहरुलाई सम्बोधन गर्न नेपाली सेना सदैव तयार छ’ प्रधानसेनापति थापाले थपे, ‘सोही बमोजिम मातहतमा समेत निर्देशन भएको पनि तपाईंहरुलाई अवगत गराउन चाहन्छु।’

प्रकाशित 2018-10-11 19:04:08