निर्मलाका आमा–बुवा भन्छन्ः 'डमी' अपराधी खडा गर्ने एसपी विष्टमाथि कारवाही हाेस्

गृहमन्त्रीले तोड्न नसकेको त्यो ‘घेरा’



फाइल फोटोः काठमाडौंमा भएको प्रदर्शनमा स्व. निर्मलाका आमा–बुवा
फाइल फोटोः काठमाडौंमा भएको प्रदर्शनमा स्व. निर्मलाका आमा–बुवा

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको प्रमाण नष्ट गरेर ‘मतियार’ बनेको भन्दै मृतक बालिकाका बुवा–आमाले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टमाथि कारवाही गर्न माग गरेका छन्।

स्थानीयले उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा शनिवारबाट अनिश्चितकालिन धर्ना सुरु गरेका छन्। नागरिक अगुवाहरुले सुरु गरेको धर्नामा सहभागी हुन आएका निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवीले निलम्बित एसपी विष्टले निर्मलाको बलात्कार तथा हत्याको प्रमाण नष्ट गरेर मतियार बनेका भन्दै उनीमाथि तत्काल कारवाही गर्नुपर्ने बताए।

यज्ञराज र दुर्गाले निलम्बित एसपी विष्टलाई ‘मतियार’का रुपमा तत्काल गिरफ्तार गरेर कारवाही सुरु गर्नुपर्ने र घटनामा उनी आफै संलग्न भएको आशंका रहेकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने माग गरे।

एसपी विष्टसहित पाँचजना प्रहरी अधिकारी निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको आरोपमा निलम्बनमा परेका छन्। एसपी विष्टमाथि प्रमाण नष्ट गर्न भूमिका निर्वाह गरेकाे आरोप लाग्दै आएको छ। सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदनले पनि एसपी विष्टको संदिग्ध भूमिका देखाएको उल्लेख छ।

निर्मलाका बुवा यज्ञराज पन्तले सरकारकै निकायले एसपी विष्टप्रति औंला ठड्याउँदासमेत कारवाही नगर्नुले सरकार नै उनलाई बचाउन लागेको हो कि भन्ने शंका उत्पन्न भएको बताए। पन्तले नेपालखबरसँग भने, ‘गृहमन्त्रीज्यूले नै एसपी विष्टले हत्याको प्रमाण नष्ट गरेको, मुचुल्कामा नक्कली औंठाछाप लगाएको भन्नुभएको छ। अनि उनलाई हत्याको मतियार भनेर कारवाही गर्न कसले रोकेको छ?’

यज्ञराजले आफू निर्मलाको हत्या हुँदा भारतमा रहेको र साउन १२ गते मात्रै महेन्द्रनगर आएको बताए। तर साउन ११ गते प्रहरीले तयार पारेको मुचुल्कामा आफ्नो औंठाछाप लगाइएको भन्ने सुनेकोले प्रहरी हत्याको मतियार भएको दाबी गरे। उनले छोरीको बलात्कार र हत्याको प्रमाण नष्ट गर्नकै लागि निर्मलाले लगाएका लुगा गायब बनाइएको पनि बताए।

गत साउन ११ गते उखुबारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएकी निर्मलाको शवसँगै रातो टि–सर्ट, पेन्टी र सुरुवाल भेटिएको स्थानीय बताउँछन्। त्यो सुरुवाल एकजना महिला प्रहरीले पानीमा पखालेको भिडियाे सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि भएकाे थियाे।

उच्चस्तरीय छानविन समितिले पनि निर्मलाका लुगा प्रहरीले नै गायब बनाएको ठहर गरेको छ। समितिको प्रतिवेदनमा शवको मुचुल्कामा निर्मलाको लुगाको पनि मुचुल्का तयार गरिएको छ। तर, त्यो लुगा कहाँ छ भन्ने विषयमा प्रहरीले थप जानकारी दिएको छैन। निर्मलाको हत्या भएको चार दिनपछि उनको शव महाकाली अञ्चल अस्पतालबाट सिधै महाकाली घाटमा लगेर दाह संस्कार गरिएको थियो। त्यतिबेला उनको शवलाई सेतो कपडाले मात्रै ढाकेको बुवा यज्ञराज बताउँछन्।

निर्मलाकी आमा दुर्गादेवीले एसपी विष्टले प्रमाण नष्ट गरेको कुरा आफन्तको आरोप मात्रै नभएर सरकारकै छानविन समितिले देखाएको भन्दै विष्टमाथि कारवाही नभएकोमा आश्चर्य व्यक्त गरिन्।

‘सामान्य मान्छेप्रति आशंका भए प्रहरीले हिरासतमै राखेर अनुसन्धान गर्छ। तर डिल्ली विष्ट हत्याको मतियार हुन् भन्ने त्यत्रो प्रमाण हुँदा पनि किन गिरफ्तार गरिँदैन?’ आमा दुर्गादेवीले भनिन्, ‘उनलाई गिरफ्तार गरेर अनुसन्धान गरे थाह भैहाल्छ, उनले कसको लागि प्रमाण मेटेका हुन् वा आफै घटना गराएका हुन्।’

दर्जाकै कारण सोधपुछमा कमी गरिएको छैनः प्रहरी प्रवक्ता
प्रहरीले भने पद वा दर्जाका आधारमा कसैमाथि अनुसन्धानमा मोलाहिजा नगरिने स्पष्ट पारेको छ। प्रहरी प्रवक्ता शैलेस थापाले समग्र घटनाको र एसपी विष्टमाथि पनि अनुसन्धान जारी रहेको नेपालखबरलार्इ बताए। उनले विष्टलाई पदबाट निलम्बन गरेर छानविन भइरहेको र डिएनए परीक्षण गरिएको भन्दै दर्जाको कारणले छानविनमा कमी नभएको दाबी गरे। ‘दर्जाका कारण छानविन र सोधपुछमा कमी गरेका छैनौं, प्रहरी प्रवक्ता थापाले नेपालखबरसँग भने, ‘अनुसन्धान भइरहेको छ। आवश्यक परे उनलाई गिरफ्तार गर्छौं।’

एसपी विष्टको संकास्पद भूमिका
तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले निर्मलाको हत्या भएको विषयमा घटनालाई अन्यत्रै मोड्न र प्रमाण नष्ट गर्न लागिपरेको आरोप लाग्दै आएको छ। उनले घटनाको सुरुदेखि नै विभिन्न असान्दर्भिक व्यक्तिहरुलाई अपराध कबोल गर्न यातना दिने गरेको पनि स्थानीयले आरोप लगाउने गरेका छन्।

मानसिक सन्तुलन गुमाएका स्थानीय दिलीपसिंह विष्टलाई घटनाको २६ दिनपछि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिनु वास्तविक अपराधीलाई जोगाउने चलखेल भएको स्थानीयको आरोप थियो। सोही कारणले महेन्द्रनगरमा आन्दोलन चर्किन पुगेको थियो। आन्दोलनमा प्रहरीले दमन गर्दा १३ वर्षीय किशोर सनि खुनाले ज्यान गुमाउनु पर्यो भने अन्य कैंयौं व्यक्ति घाइते भएका छन्।

प्रहरीले मुख्य आरोपी ठहर गरेका दिलीपसिंह विष्टको डिएनए मेल नखाएपछि उनी अदालतको आदेशबाट रिहा भइसकेका छन्। एसपी विष्टले अन्य व्यक्तिहरुलाई पनि अनावश्यक रुपमा ‘डमी अपराधी’ बनाउन शारीरिक र मानसिक यातना दिएको खुलेको थियो।

निर्मला हराएकै दिन खोजी गर्न आग्रह गर्दा प्रहरीले आलटाल गरेको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्। सालघारीको अस्थायी प्रहरी चौकीका ईन्चार्ज असई रामसिंह धामी निर्मला हराएकै दिन राति १२ बजे खोजी गर्न बुट लगाएर बाहिर निस्किए पनि एसपी विष्टको निर्देशनपछि खोज्न नगएको उनले बताइन्।

असई धामी पनि एसपी विष्ट, दुई जना डिएसपी र दुई जना इन्सपेक्टरसँगै निलम्बनमा परेका छन्। तर, मध्यरात पनि नभनेर बालिकाको खोजिमा जान तयार भएका धामी एसपीको आदेश पालना गर्दा निलम्बनमा पर्नुपरेको स्थानीय बताउँछन्।

दुर्गादेवीका अनुसार सालघारीका असई धामी अन्य प्रहरीलाई साथमा लिएर निर्मलाको खोजीका लागि बम दिदीबहिनीको घर जान प्रहरी चौकीको गेटबाहिर निस्केका थिए। त्यसपछि उनले एकपटक जिल्ला (जिल्ला प्रहरी कार्यालय)मा खबर गरौं भनेर फोन गरे। त्यो फोनपछि असई धामी खोजी गर्न जान सकेनन्। उनी दुइवटी दिदीबहिनी मात्रै बस्ने घरमा अहिले राति जान ठिक हुँदैन, भोली बिहानै जाउँला भन्दै भित्र पसेका थिए।

निर्मला पछिल्लो पटक गएको बम दिदीबहिनीको घर खानतलासी गर्न र ति दिदीबहिनीमाथि पनि अनुसन्धान गर्न स्थानीयले गरेको माग एसपी विष्टले वेवास्ता गर्दै आएका थिए।

निर्मला हत्याकाण्डका सन्दर्भमा प्रहरीले अनुसन्धानमा गम्भीर लापरवाही गरेको राष्ट्रिय मानव अधिकार आयोगले पनि ठहर गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि कञ्चनपुर पुगेर ‘केही नालायक अफिसरहरुका कारण प्रहरी संगठन नै बद्नाम भएको’ अभिव्यक्ति दिएका थिए। यस्तै, प्रधानमन्त्री केपी ओलीले पनि ‘तत्कालिन प्रहरी नेतृत्वलाई विश्वास गरेर धोका पाएको’ बताएका छन्।

‘अपराध लुकाउनु पनि अपराध’
निर्मला हत्याको घटनामा बद्नियतपूर्वक अनुसन्धान गरेर एसपी विष्ट मतियारकै रुपमा देखिएका कानुन व्यवसायीहरु बताउँछन्। उनको भूमिका अपराध लुकाउनमा मात्रै सिमित छ वा स्वयम् अपराधमै संलग्न छन् भन्ने कुरा छानविनले नै देखाउने अधिवक्ता पदम रोकाले बताए।

घटना पुर्व वा घटना पश्चात गरी दुई प्रकारले कुनै व्यक्ति घटनाको मतियार हुन सक्ने कानुनले व्याख्या गरेको रोका बताउँछन्। ‘घटनापूर्वको मतियारले कुनै बारदातमा आफू संलग्न नभएरै योजना बनाउने वा घटना घटाउन आधार तयार पार्ने काम गर्छ।’ रोकाले भने, ‘घटनापछिको मतियार भन्नाले बारदात भइसकेपछि त्यसलाई लुकाउन भूमिका खेल्नेलाई जनाउँछ।’ निर्मला काण्डमा विष्टको दोस्रो प्रकारको मतियारी देखिएको रोकाको भनाई छ।

अधिवक्ता रोकाले विष्टको कसुरबाट अपराध संहिताको धारा ९९ ‘बद्नियतपूर्व अनुसन्धान वा अभियोजन गर्न नहुने’ आकर्षित हुने बताए। तर, घटनामै उनको संलग्नता पुष्टि भए बलात्कार र हत्या सम्बन्धी थप कारवाही गर्न यसले नरोकिने पनि उनले स्पष्ट पारे।

प्रोटोकल बिर्सेर एकपछि अर्को छानविन समिति, उपलब्धि सुन्य
निर्मलाको बलात्कार पछि हत्या भएको विषयमा सरकारले एक पछि अर्को छानविन समिति बनाएको छ। तर, घटना घटेको दुई महिना बितिसक्दासमेत वास्तविक अपराधी पत्ता लाग्न नसक्दा पीडितलाई झन् पिडा थपिएको छ।

कञ्चनपुर प्रहरीले गरेको अनुसन्धानमाथि स्थानीयले शंका जाहेर गरेर आन्दोलन सुरु गरेपछि प्रहरी प्रधान कार्यालयले साउन १४ गते सिआईबीका डिएसपी अंगुर जिसीको नेतृत्वमा छानविन समिति कञ्चनपुर पठाएको थियो।

त्यसपछि गृह मन्त्रालयले भदौ ७ गते सहसचिव हरीप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनायो। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जना डिआइजीहरु संलग्न थिए। सो समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाईसके पनि प्रतिवेदन सार्वजनिक भएको छैन।

उच्चस्तरीय समितिले काम गर्दागर्दै फेरी सिआइबीका बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा अर्को टोली कञ्चनपुर पठाईयो। जवकी ज्ञवाली भन्दा सिनियर प्रहरी अधिकृतहरु सम्मिलित छानविन समितिले काम गरी नै राखेको थियो। 

 त्यही क्रममा प्रहरीले अर्का एसएसपी उत्तम सुवेदीको नेतृत्वमा फेरी अर्को टोली बनायो। सुवेदीको केही दिनमै चीन भ्रमण पनि तय भएको थियो। सुवेदी चीन गएपछि त्यो समितिको नेतृत्व डिआजी धिरु बस्नेत (हाल एआईजी) लाई दिईएको छ।

यसैबीचमा प्रहरी प्रधान कार्यालयले फेरी अर्का एसपी दुर्गा सिंहलाई घटनाको अनुसन्धान गर्न भन्दै असोज २ गते कञ्चनपुर पठाएको छ।
तैपनि घटनाको दुई महिना भन्दा बढी समय बितिसक्दासमेत ति कुनै समितिले पनि अपराधी पत्ता लगाउन सकेका छैनन्।

एक पछि अर्को गर्दै छानविन समिति मात्रै गठन गरिनु र उच्च अधिकृतले काम गरिरहेको ठाउँमा जुनियर अधिकृत खटाइनु तर उपलब्धि हात नलाग्नुले सरकार र प्रहरी नेतृत्वको असक्षमतालाई उदाङ्गो पारेको छ।

गृहमन्त्रीले तोड्न नसकेको ‘घेरा’
निर्मला हत्याकाण्डमा गृहमन्त्री रामबहादुर थापालाई केही ब्यक्तिहरुले घेराबन्दीमा पारेको र उनले त्यो घेरा तोड्नै नसकेको गृहमन्त्रालय स्रोत बताउँछ। पूर्व माओवादीका केही नेता, नेकपा निकटकै केही पत्रकार, प्रहरी र गृहमन्त्रीकै सचिवालयका कतिपय ब्यक्तिहरुले उनलाई घेराबन्दीमा पारेको स्रोतको दाबी छ।

स्रोत भन्छ, ‘गत भदौ ४ गते मानसिक सन्तुलन गुमाएका दिलीप विष्टलाई प्रहरीले मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेपछि गृहमन्त्रीलाई त्यो घटनाले महेन्द्रनगरमा आन्दोलन चर्कन सक्ने जानकारी आएको थियो। तर, गृहमन्त्रालयमा उनी निकटस्थहरुको एक बैठकले दिलीपलाई नै अपराधी मानेर जाने ‘लाईन’ पारित गर्यो। त्यही अनुसार गृहमन्त्रीलाई घटनाको ब्रिफिङ गरियो।

त्यसको परिणाम कञ्चनपुरमा आन्दोलन चर्कियो। भदौ ७ र ८ गते आन्दोलनमा गोली चल्दा थुप्रै घाइते भए भने सनि खुनाले ज्यान गुमाए।

गृहमन्त्रीलाई घेरेको त्यो ‘घेराबन्दी’ अहिले पनि कायमै रहेको स्रोतको दाबी छ। त्यो ‘घेरा’ अहिले एसपी डिल्लीराज विष्टलाई बचाउन शक्ति केन्द्र धाउने गरेको बताइन्छ। गृहमन्त्रीले ‘घेरा’ नतोडेसम्म अपराधी कठघरामा नआउने समेत स्रोतको दाबी छ।

प्रकाशित १३ असोज २०७५, शनिबार | 2018-09-29 13:35:11
Nepal Sarkar
Max TV
Max TV
Vianet

विद्यानाथ अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।