बेड नम्बर ४०८ मा अझै बेहोस कञ्चनपुरका यी घाइते



अर्जुन भण्डारा
अर्जुन भण्डारा

‘आफुले पढ्न नसकेपनि भाइहरुलाई पढाउँछु भन्ने मेरो लक्ष्य हो’, यज्ञ भण्डारा गुनासो गर्छन्, ‘सानैमा बुबा गुमायौं, अहिले भाइ अर्जुनको यो हाल भयो।’

त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोलोजी सेन्टरको आइसियू बेड नम्बर ४०८ मा पल्टिरहेका छन्, कञ्चनपुरका अर्जुन भण्डारा। चिकित्सकले उनको देब्रे खुट्टा काटिसकेका छन्, जसबारे बेखबर छन् बेहोस रहेका यी २० वर्षे किशोर।

महेन्द्रनगरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै ७ भदौमा भएको प्रदर्शनमा अर्जुनलाई प्रहरीले चलाएको गोली लागेको थियो। त्यही दिन उनलाई काठमाडौं ल्याइयो। डाक्टरहरुले गोली निकालेर खुट्टाको घाउ निको पार्न सक्दो प्रयास गरे। तर ती सबै प्रयास विफल भयो र, अस्पताल भर्ना भएको एक हप्तापछि १४ भदौमा अन्ततः उनको देब्रे खुट्टा घुँडा भन्दा माथि काट्नै पर्ने अवस्था आयो।

अस्पताल भर्ना गरिएको दश दिन बितिसक्दा पनि अर्जुन होसमा आएका छैनन्। तर उनको श्वास प्रश्वास सहज रहेको दाजु यज्ञराज भण्डारा बताउँछन्।

१० साउनमा घरबाट साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी उल्टाखामकी निर्मला पन्तको अर्को दिन घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। त्यसलगत्तै स्थानीयले बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा प्रदर्शन सुरु गरे।

स्थानीय नागरिक समाजसँगै विद्यार्थीहरु पनि हत्यारा पत्ता लगाएर कडा कारबाही गर्न माग गर्दै दैनिक प्रदर्शन गरिरहेका थिए। निर्मलाको हत्या जति रहस्यमय थियो, त्यो भन्दा बढी रहस्यमय बन्यो प्रहरीको व्यवहार। स्थानीयले हत्या अनुसन्धान गर्न लगातार दिएको दबाबप्रति गम्भिर नबनेको प्रहरीले घटनाको २६औँ दिनमा मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्यो। जसलाई ‘प्रहरीको नाटक’ भन्दै स्थानीय झन् आन्दोलित भए।

स्थानीय मर्निङ ग्लोरी स्कूलबाट कक्षा १२ को परीक्षा दिएर इन्जिनियरिङ अध्ययन गर्ने तयारी गरिरहेका अर्जुनलाई पनि प्रहरीको व्यवहार मन नपरेपछि साथीहरुसँग आन्दोलनमा होमिए।

७ भदौमा निर्मला हत्याकाण्डविरुद्ध महेन्द्रनगरमा ठूलो प्रदर्शन भयो। अर्जुनको समूह ट्राफिक चोकस्थित पूर्व–पश्चिम राजमार्गमा उभिएर प्रदर्शन गर्दै थियो। प्रहरीले दर्जनौं सेल अश्रुग्यास हान्नुका साथै पटक पटक लाठिचार्ज गर्दै प्रदर्शनकारीलाई तितरबितर बनाउँदै थियो। प्रदर्शनकारी पनि प्रतिकारस्वरुप प्रहरीमाथि ढुंगा बर्षाउँदै थिए। यसैबीच प्रहरीले फायर खोल्यो। बायाँ घुँडामा गोली लागेका अर्जुन त्यहीं ढले। अर्जुनसँगै प्रहरीको गोलीबाट अन्य तीनजना तथा लाठिचार्ज र अश्रुग्यासबाट एक दर्जन बढी घाइते भए।

अर्जुनसहित घाइतेलाई आन्दोलनकारीले उद्धार गरेर महाकाली अञ्चल अस्पताल पुर्याए। जसले थप उपचारका लागि धनगढी रिफर गर्यो। धनगढीमा पनि अर्जुनको उपचार सम्भव भएन। त्यहाँबाट हवाई जहाजमा राखेर काठमाडौं ल्याइयो।

शिक्षण अस्पतालको बेड नम्बर ४०८ मा अर्जुन भण्डारा

दिउँसो करिब ११ बजे गोली लागेका अर्जुनलाई काठमाडौं शिक्षण अस्पताल ल्यायपुर्याउँदा साँझ ७ बजिसकेको थियो। आठ घण्टाबीच उनको घाउबाट धेरै रगत बग्यो। अत्याधिक रक्तस्रावका कारण अस्पताल पुर्याउँदा उनको अवस्था नाजुक भइसकेको थियो।

‘हामीले ६ दिनसम्म खुट्टा नकाटेरै उपचार सम्भव छ कि भनेर डाक्टरहरुसँग आग्रह गर्यौं’, अर्जुनका आफन्त विजय बुढाले भने, ‘डाक्टरहरुले पनि प्रयास गरेकै हुन्, तर घाउको संक्रमण फैलँदै गएको देखियो। बाध्य भएर खुट्टा काट्नुपर्ने अवस्था आयो।’

मनमोहन कार्डियोलोजी सेन्टरमा डा.उत्तम श्रेष्ठको टोलीले अर्जुनको उपचार गरिरहेको बुढाले बताए।

७ वर्षको उमेरमै बाबु गुमाएका अर्जुनको आर्थिक अवस्था कमजोर छ। आर्थिक अवस्थाले नधान्ने भएपछि पढाई छोडेका अर्जुनका दाजु यज्ञराज अहिले महेन्द्रनगरको बसपार्क छेउमा मोबाईल पसल सञ्चालन गरेर जीविका चलाउँदै छन्। आमाले चिया पसल गरेर, अर्काको जमिन भाडामा लिएर बनाएको झुपडीमा तीन छोरा हुर्काएकी हुन्।

दाजु यज्ञकै अभिभावकत्वमा अर्जुन कक्षा १२ पास गरेर इन्जिनियरिङको तयारी गर्दै थिए। यसैपाली एसइई पास गरेका अर्का भाई दीपक फुटबलका राम्रा खेलाडी हुन्।

‘आफुले पढ्न नसकेपनि भाइहरुलाई पढाउँछु भन्ने मेरो लक्ष्य हो’, यज्ञ गुनासो गर्छन्, ‘सानैमा बुबा गुमायौं, अहिले भाइको यो हाल भयो।’

अर्जुनलाई गोली लागेपछि उद्धारदेखि अहिलेसम्म साथमा रहँदै आएका स्थानीय पत्रकार धनसिंह धामी होसमा आएपछि अर्जुनले आफ्नो अवस्थाबारे के सोच्ने होला भनेर चिन्तित छन्। एउटा खुट्टा गुमाउनु परेपनि अर्जुनले हिम्मतकासाथ आफ्नो जीवन अगाडि बढाउने कामना गरिरहेको धामी बताउँछन्।

अर्जुनको अहिलेसम्मको उपचार खर्च सरकारले नै गरिदिएको छ। तर, बाहिर लागेको खर्च पनि दुई लाख नाघिसकेको दाजु यज्ञ बताउँछन्। शुभचिन्तकहरुले करिब ७० हजार सहयोग गरेको उनले जनाए।

शिक्षण अस्पतालमै उपचार गराउँदै उमेश देउवा

त्रिवि शिक्षण अस्पतालमा कञ्चनपुरका अर्का घाइते उमेश देउवा पनि छटपटाइरहेका छन्, जसलाई बायाँ खुट्टा र दायाँ हातमा गोली लागेको छ।

खुट्टाको गोली निकालिसके पनि हातको बाँकी रहेकाले अस्पतालमै बस्नु परेको उमेशका बाबु यज्ञ देउवाले बताए। उमेशको परिवारको आर्थिक अवस्था पनि नाजुक छ। बाबु यज्ञ देउवा रंगरोगनको काम गर्छन्, जसबाट चार जनाको परिवारको गुजारा चलाउँछन्।

उमेशको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। बोल्न सक्ने अवस्थामा रहेका उमेशले हात र खुट्टा हल्लाउँदा निकै पीडा हुने गरेको सुनाए।

कञ्चनपुरको सुडास्थित घटाल उच्च माविमा कक्षा ९ मा पढ्ने उमेशलाई ८ भदौमा त्यही प्रदर्शनमा प्रहरीको गोली लागेको थियो, जहाँ उनीसँगै रहेका १३ वर्षीय सनि खुनाले ज्यान गुमाउनु पर्यो।

उमेशसँगै शिक्षण अस्पतालमा उपचार गराएर चेतन भट्ट, तेजराज र मञ्जु गिरी डिस्चार्ज भैसकेका छन्। हातमा गोली लागेका चेतन र टाउकोमा गोली लागेका तेजराजलाई अस्पतालले बिहिबार डिस्चार्ज गरेको हो भने लाठी प्रहारबाट घाइते मञ्जुलाई शुक्रबार।

अर्जुन र उमेशको उपचार कति लामो समयसम्म चल्छ भन्ने अनुमान चिकित्सकहरूले पनि गर्न सकेका छैनन। उपचार खर्च सरकारले दिइरहेको भएपनि अनिश्चित भविष्यले उनीहरूका परिवारमा चिन्ता बढेको छ।

प्रकाशित १७ भदौ २०७५, आइतबार | 2018-09-02 16:03:50
Nepal Sarkar
Max TV
Max TV
Vianet

विद्यानाथ अधिकारीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।