नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद उत्कर्षमा पुगेको छ।
नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो।
निगमका क्षेत्रीय प्रबन्धक मुक्तिराम पाण्डेले उक्त जग्गा कसैको स्वामित्वमा नभएको तर, यसको भोगचलन निगमले ३५ वर्षदेखि गर्दै आएको बताए। प्राधिकरणले गत असार १९ गते राति डोजर लगाएर उक्त जग्गामा रहेका दुईवटा इन्जिनियरिङ भवन भत्काएपछि सुरक्षाको माग गर्दै निगमले बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएको छ।
निगमले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा निगमका क्षेत्रीय प्रबन्धक पाण्डेले प्राधिकरणले अराजक शैलीमा भवन भत्काउँदा बहुमूल्य सामान नष्ट भएको बताए। अर्कोतर्फ नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जग्गाको लालपूर्जा प्राधिकरणको नाममा भएको दाबी गरे। उनले भने,'एयरपोर्ट विस्तार गर्नु पर्यो, त्यसका लागि जग्गा खाली गर्न पटक पटक पत्राचार गर्दा पनि अटेर गरेपछि बाध्य भएर भवन भत्काएको हो।'