फिल्मी भान्छामा जेठादाइका ३६ वर्ष



सबैलाई मिठो खाना खुवाउने जेठादाइको डेरामा कहिल्यै मिठो पाक्दैन अचेल। स्टोभमा पाक्छ उनको खाना। कोठामा बिरही बतासले जहिल्यै घेरा हाल्छ। मट्टितेलको भाँडा र उहिल्यै कतै लगाएको जुत्ता कोठामा सँगै छ। निकै अघि लगाएको पुरानो कोट र सुटिङमा जाँदा लाने गरेको झोला पनि साथमै छ।

‘निर शाह आएर, जेठादाइ के पाकेको छ लौन भन्नुहुन्थ्यो। राजेश हमालले खै किन हो कहिल्यै मेरो भान्सामा आएर खाना खानु भएन।’
जेठादाइको निधारमाथि खुशी र प्रश्न एकसाथ दौडियो। ‘अनि तपाईंलाई हिरो बन्न चाँहि मन लागेन?’ मेरो प्रश्नले एकाएक गम्भीर भए उनी। एकछिन टोलाएर भने, ‘भाग्यमा मेरो भान्से बन्नु लेखेको रहेछ, अनि कहाँबाट हिरो बन्नु?’ उनी रोकिए।

‘क्यामेरा अगाडि पर्‍यो कि मेरो त वाक्के नै नफुट्ने। यी यस्तो हुने...।’ उनले आवाज ननिकाली मुख आँ आँ गरेर चलाए। सहकर्मी सन्देश दुमरु फोटो खिच्दा खिच्दै हाँसे। उनी पनि फिस्स हाँसे। एकछिन् रमाइलो भयो वातावरण।

खासमा उनलाई फिल्म निर्देशकहरुले निकै माया गरेर कुनै न कुनै रोल खेल्न दिने रहेछन्। तर जब सम्वाद भन्ने बेला भयो, उनको बोली एकाएक गायब हुँदो रहेछ। अनी उनी त्यसैलाई ठान्दा रहेछन् ‘भाग्य’।

बजारमा सबैभन्दा धेरै बिक्ने पात्र हुन् हिरो र हिरोइन। सडक, गल्ली, चौक चौतारीमा टाँसिएका हुन्छन् उनीहरुकै फोटो। सेलिब्रेटी बनी उनीहरु नै घुम्छन् देश देशावर। उनीहरुकै हुन्छ सवर्त्र चर्चा।

तर, फिल्म क्षेत्रमा त्यस्तो पनि पक्ष हुन्छ, जसलाई दर्शकले कहिल्यै देख्न पाउँदैन। उनीहरु सिनेमाको सुख्खा फाँटमा पसिनाको धारा बनाएर बनाउँछन् हराभरा। उनीहरु पृष्ठभूमिका श्रमिकहरु हुन्। जसलाई कहिल्यै पच्छाउँदैन क्यामेराले। बजारमा कसैले सोधनी गर्दैन। छापा खबरको अगाडि तस्बिर टाँसिदैन। फिल्म बनिसकेपछि छाडिन्छन् उनीहरु पृष्ठभूमिमै, जसरी छाडिन्छन् लडाइँ जितिसकेपछि रणमैदानमा घाइते घोडा।

तिनै पात्रहरुको खोजी गर्दै ठोकिन पुगेको थिएँ म निर्देशक, छाँयाकार तथा निर्माता राजु केसीकहाँ। उनैले जुराइदिए जेठादाइसँगको भेट।

गौरीशंकरको फेदीबाट

२०११ साल कार्तिक महिनामा टेकबहादुर महत र दुर्गामाया महतको खुशीको सिमा रहेन। बिँडो थाम्न जन्मिएका थिए जेठादाइ अर्थात कुलबहादुर महत। दोलखाको जफेमा जन्मिएका जेटादाइको ख्यालख्यालमै बाल्यकाल वित्यो। पाठशाला जाने चलन थिएन। सल्लाघारीमा बस्तुभाउ हेर्दाहेर्दा र ऐंसेलुको झ्याङमुनि लुकेर ‘चिँ मुसी चिँ’ खेल्दाखेल्दै किशोर अवस्थामा जीवन घस्रिदै गएको उनले पत्तै पाएनन्।

उनी १७ वर्षको हुँदा २८ सालतिर उनको गाउँमा ठूलो अनिकाल लाग्यो। खै किन हो त्यो साल अन्न फलेन। भोकभोकै पर्न थाले मान्छेहरु। एकरात टेकबहादुरले बसाईं सर्ने निधो गरे। भोलिपल्ट बिहान जेठादाइको परिवारले एउटा कराई र दुई चार वटा थाल बोकेर भालेको पहिलो डाकमै भञ्ज्याङ काटे। जेटादाइ सम्झिन्छन्, ‘मैले सुकुल बोकेको थिएँ।’

उँधो दख्खिन दुधकोशी बगेतिर गन्तव्यहीन यात्रामा निस्किए उनीहरु। चारभाइ छोरा एक बहिनी छोरी अघिपछि लाएर गाउँ छाडे टेकबहादुरले। गाउँभरी हल्ला चल्यो। ‘अनिकाल परेर टेकेले गाउँ छोड्यो।’

कहाँ जाने बा? कान्छा भाइले बुबालाई सोधेको प्रश्न अझै ताजै छ जेटादाइको स्मृतिमा। ‘त्यसबेला बा कान्छालाई छातिमा च्याप्प टाँसेर धेरैबेर टोलाएर बस्नु भएको थियो।’ घोसे मुन्टो लगाएर जेटादाइले भने।

उनीहरु एक किसिमले घुमन्ते युगमा पुगेका थिए। हिँडेरै नाघे महाभारत पर्वत श्रृंखला, बामे सरेरै नाघे चुरेका अनन्त थुम्काहरु। झोर जंगल, वन पाखा, गल्छेँडा, घुम्तिहरु छिचोल्दै कयौं दिन हिँडेर उनीहरु मधेस पुगे। मधेसबाट जेठादाइको परिवार पूर्वीदिशातिर लम्कीरह्यो। हिँड्दाहिँड्दै उनीहरु ढल्केवर पुगे।

‘ढल्केवर पुगेपछि बाले चिनेको खलासी (सहचालक) ले हामीलाई गाडीमा बस्नु भन्यो। तर बा मानिरहनु भएको थिएन। किनकी हामीसँग पैसा थिएन।’ जेठालाईले भने। अन्ततः उनीहरु बस चढे। तर, जब बस लहान पुग्यो, कन्डक्टरले पैसा माग्यो। पैसा नभएपछि उनीहरुलाई बसबाट ओरालिदियो। फेरि सुरु भयो टेकबहादुरको यात्रा।


हिँड्दाहिँड्दै उनीहरुले कोशी नदी पार गरे। इटहरी हुँदै उनीहरु पूर्वतिर लम्कीरहे। टेकबहादुर भद्रपुर पुगे।

त्यहाँ पुगी उनीहरु बनीबुतो गरेर खान थाले। अर्काको घरमा गएर काम गर्ने गर्न थाले। भद्रपुरमा बस्दाबस्दै टेकबहादुरको जीवनमा नयाँ घुम्ती आयो।

साइला छोरा अनाचक थला परे। हिँड्दाहिँड्दै गलिसकेको साइलाको खुट्टा इनारछेउमा लडेर भाँचियो। भद्रपुरको डाक्टरले दिपायल सिलगुडी लगेर उपचार गर्न भन्यो। तर, टेकबहादुर दिपायलको सिलगुडी होइन, भारतको सिलगुडीतिर हिँडे। यसरी टेकबहादुरले जन्मभूमि छाडे।

फेरिएन सिलगुडीमा पनि जीवनको रङ

‘बर्मा गयो कर्मसँगै’, भनेजस्तै टेकबहादुरको जीवनमा कुनै खुशीको बहार आएन। कालेबुङमा गएर छोराको जसोतसो उपचार गराए। भारी बोक्ने, भाँडा माझ्ने काम उतापनि पाउने भएपछि टेकबहादुर नेपाल फर्किएनन्। ‘जहाँ गएपनि आखिर यस्तै काम गर्नु त रहेछ नी। त्यही ठानेर बुवा उतै बस्नुभयो, हामीपनि उतै बस्यौं।’ जेठादाइले सुनाए।

त्यसपछि जेठादाइको परिवारले कयौं दिन गोदाममा बिताए। उनको परिवारले भारी बोके। होटलमा जुठो भाँडा माझे। अरुको लुगा धुने काम पनि गरे।

यसरी आएँ फिल्म क्षेत्रमा

३७ सालतिरको कुरा हो। कालेबुङमा दुःखका पहाडहरु नाप्दानाप्दै एकदिन गाउँमा फिलिम बनाउने आए। ‘बाँसुरी’ फिल्मको सुटिङ युनिटका निर्देशक थिए तुलसी घिमिरे। जेठादाइ दिनभरि सुटिङ हेर्ने बेलुकी आएर सुत्ने गर्न थाले। निकै दिन त्यो चक्र चलेपछि सुटिङ हेर्ने नसा नै लागेझैं भयो जेठादाइलाई।

‘सुटिङमा खाना पकाउने एक जना बंगाली रहेछ। उसले सधैं खानामा चिनी हालिदिने।’ जेठादाइले भान्से जिन्दगी सुरु गर्दाको कथा सुनाए, ‘बंगालीले खाना बिगारेपछि खाना पकाउने मान्छे चाहिएको रहेछ। त्यसरी नै भान्सेमा लागेँ।’ 

त्यसपछि जेठादाइको नाम पर्दामा आउँदा फिल्मकर्मीहरुको नामको अन्तिममा ‘भान्से’ भनेर आउन थाल्यो। बाँसुरीमा उनले हिरोको भारी बोक्ने भूमिका पनि पाए। आफू र आफ्नो नाम पर्दामा देखिएपछि उनी फिल्म दुनियाँतर्फ होमिए।

जेठादाइ नाम

फिल्ममा काम गर्ने भएपछि उनी फिल्मकर्मीहरुसँग नजिक हुँदै गए। तुलसी घिमिरे, श्रवण घिमिरे, रन्जित गजमेरहरुले उनलाई माया गरे। सबैको घरमा आउने जाने हुन थाल्यो। ‘बाँसुरीमा काम गरेपछि ५ किलोको तामाको गाग्री तुलसी घिमिरेले मलाई उपहार दिनु भयो,’ उनी आज पनि सम्झन्छन्।

एक दिन उनी रञ्जित गजमेरको घरमा पुगेका थिए। त्यसबेला ‘दक्षिणा’ फिल्मका नायक सत्य गजमेर टुकुटुकु हिँड्ने सानो बालक थिए। तुलसी घिमिरे लगायतले बालकलाई सबैको नाम बोलाउन लगाए। ‘कसैलाई कान्छा, कसैलाई माइला भन्दाभन्दै मलाई चाँही जेठा भन्यो’, उनले सुनाए, ‘त्यसपछि ल आजबाट तिम्रो नाम जेठादाइ है भने सबैले’, उनले आफ्नो नाम-कहानी सुनाए।

लाहुरे फिल्मको त्यो दिन

‘लाहुरे फिल्ममा हामी ६ जना कलाकार थियौं। तुलसी दाइ (तुलसी घिमिरे) को दाइ अर्जुन घिमिरे पनि खाना पकाउन सघाउनु हुन्थ्यो’, उनले लाहुरे फिल्म बन्दाको अनुभूति सुनाउन थाले। त्यसबेलाका चर्चित अभिनेत्री तृप्ति नाडकरको बुवाले पनि खाना पकाउन सघाउने गरेको उनले सुनाए।

लाहुरे फिल्ममा काम गर्दासम्म जेठादाइ दार्जलिङतिरै थिए। सुटिङ हुँदा भान्सेको काम गर्ने, नहुँदा होटलमा काम गर्दै बस्न थाले। तर उनलाई फिल्म क्षेत्रमा काम गर्ने रुचि भने जागिरह्यो।

अन्याय फिल्मसँगै नेपालतिर

अन्याय फिल्मको सुटिङ काठमाडौंमा हुने कुरा उनले थाहा पाए। नेपाल जाने उनको रहर अधुरै थियो। त्यसमा पनि राजधानीमै जान पाइने भएपछि उनी हौसिए। अन्यायको सुटिङ युनिटले उनलाई पनि लिएर काठमाडौं आयो। काठमाडौंका विभिन्न स्थानमा सुटिङ भयो। त्यसदेखि यता सयौं फिल्ममा काम गरिसकेका छन्। उनी सिंगो नेपाली फिल्म उद्योगमा आज जेठादाई नामले चिनिन्छन्।

फिल्म उद्योगको जेठादाइ

अविराम यात्रा जारी रह्यो जेठादाइको। उनी नेपाली फिल्म उद्योगकै जेठादाइका रुपमा परिचित भए। उनीभन्दा उमेरले पाका व्यक्तिहरुले समेत उनलाई जेठादाइ भन्न थाले। उनको योगदानको कदर गर्दै गणेश भण्डारी चलचित्र विकास बोर्डको अध्यक्ष हुँदा आजीवन पाँच हजार पाउने गरी नेपाल सरकारले दिने गरेको उनले सुनाए।

हिरो बन्न नसक्ने रहेछु

‘मलाई धेरै वटा फिलिममा डाइरेक्टर सापहरुले कुनै न कुनै भूमिका दिन्छन्। हिरो हिरोइनले पनि माया गरेर खेल्नु भन्छन्। तर क्यामेरा अघि उभियो की बोली नै फुट्दैन।’ उनले सुनाए, ‘त्यहाँबाट त हिरो बन्छु, कलाकार बन्छु भन्ने आसै भएन।’ उनले लाहुरे, कुरुक्षेत्र, विरासत लगायतका फिल्महरुमा भूमिका निर्वाह गरेका छन्।

स्पोर्ट व्वाई, लाइटम्यान भाइहरु रिसाउँछन्

फिल्म उद्योगमा काम गर्दाको विभिन्न किसिमका अनुभूतिहरु जेठादाइसँग छन्। ठूला कलाकारहरु खाना मिठो नमिठो भनेर खासै प्रतिक्रिया नदिने तर, स्पोर्ट व्वाई, लाइटम्यानका रुपमा काम गर्ने भाइहरुले चाँहि किचेनमा आएर रिस पोख्ने गरेको जेठादाइको अनुभव छ। डाइरेक्टरले गाली गरेपछि किचेनमा आएर रिस पोख्नु खासै ठूलो कुरा नभएको उनी बताउँछन्।

राजेश हमाल छायांकन स्थलमा कहिल्यै खाना खाँदैनन्

जेठादाइको अनुभवमा सबै कलाकारले छायांकन स्थलमै खाना खान्छन् तर, राजेश हमालले मात्र छायांकन स्थलमा खाना खादैनन्। हमालले दुध तताउन भन्छन्। आलु चिप्स बनाइदिनु भन्छन्। हमालले चिल्लो पिरो अमिलोमा विशेष ख्याल गर्ने भएकाले स्थलमा खान नखाने गरेको जेठादाइको अनुमान छ।

अहिलेसम्म कुनैपनि हिरो हिरोइनले यो खाना चाहियो, त्यो चाहियो भनेर माग गरेको जेठादाइलाई थाहा छैन। तर, कृष्टि मैनालीले भने निकै दुःख दिने गरेको जेठादाइले बताए। चाउचाउ बनाएर ल्याउ भन्ने, अन्डा यस्तो बनाएर ल्याउ, त्यस्तो बनाएर ल्याउ भन्ने गरेको जेठादाइ बताउँछन्। नायक शिव श्रेष्ठले सधैं कुखुराको पुछरको भाग खान मन गर्ने उनको अनुभव छ।


त्यो अविस्मरणीय क्षण

फिल्म ‘आफ्नो विरानो’ सकेर आउँदा पथलैयामा भएको दुर्घटनामा परि दुई जना साथीको मृत्यु भएको घटना उनी कहिल्यै विर्सन सक्दैनन्। जेठादाइ त्यो घटनालाई जीवनकै अविस्मरणिय क्षण मान्छन्। उनी उक्त दुर्घटनामा त्यही बसमा थिए। दुईजनाको मृत्यु भएको घटनामा उनी भने सिटमा चेपिएका थिए। ‘दिन आको रैनछ, बाँचियो नी’, उनले सुनाए।

सुरुको कमाइ १० हजार

उनले सुरुको फिल्मबाट १० हजार लिएको बताए। त्यसबेला ५० दिनसम्म चलेको फिल्म छायांकनबाट त्यति पैसा कमाएका थिए। अहिले पैसा त्यही राम्रो नभएको र काम गर्ने मानिसहरुलाई ठग्न खोज्ने प्रवृति मौलाएको जेठादाइको गुनासो छ। अहिलेको ठेक्का सिस्टमले त्यति राम्रो नगरेको उनको भनाइ छ।

जीवनभर कमाएको पैसा आफूसँग अहिले केही पनि नभएको जेठादाइ बताउँछन्। ‘पैसाको पछि कुदिनँ, जति कमाइयो खाइयो’, गम्भीर हुँदै जेठादाइले भने। अहिले जीवन बाँच्ने आधार विकास बोर्डबाट आउने पाँच हजार नै भएको उनी बताउँछन्।

 

लाजिम्पाटको अँध्यारो कोठामा एक्लो जीवन

घरमा चाँहि खाना आफै बनाउनु हुन्छ? मैले प्रश्न गर्दा उनी बोल्दाबोल्दै अडिए। ‘आफै बनाउछु’, झ्यालतिर हेर्दै भने। अनि भाउजु, छोराछोरी! मैले थप जिज्ञासा उनी सामु तेस्याएँ। ‘छैनन्, एक्लै बस्छु।’

एकैछिन् वातावरणमा मौनता छायो। केलाउन थाले जेठादाइले जीवनको अर्को पाटो, ‘त्यस्तै पर्यो, उतै दार्जलिङतिर बिहे गरेर छोडेको।’ उनको आवाज झनै मलिन हुँदै गयो।

फिल्म लाइनमा लाग्दैगर्दा जेठादाइलाई परिवारले मागी विवाह गरिदिए। घरमा आमाबुबालाई सघाउँथिन् उनकी श्रीमतीले। जेठादाइ बेलाबेलामा घर जान्थे। पछि बिस्तारै जेठादाइ फिल्म लाईनमै व्यस्त हुन थाले। श्रीमतीलाई उतै कालेबुङतिर छाडेर जेठादाइ काठमाडौं पसे। फेसबुक ट्वीटर थिएन। जेठादाइको चिठी बोकेर कहिल्यै गएन कालेबुङ हुलाकीदाई। कयौं वर्ष जेठादाइको बाटो हेरिरहिन् श्रीमतीले।

यता जेठादाइ अन्याय फिल्मपछि झन् झन् व्यस्त हुन थाले। निर शाह, राजेश हमाल, शिव श्रेष्ठ, दयाराम दाहालहरुका फिल्ममा काम गर्न थाले। ‘निर शाह आएर जेठादाइ, के पाकेको छ लौन भन्नुहुन्थ्यो। उहाँ त राज खान्दानको मान्छे म त त्यतिकै मख्ख हुन्थेँ। शिव श्रेष्ठपनि चुलो छेउमा आएर जेठादाइ के पाकेको छ भन्थे, म त त्यतिकै मख्ख हुन्थेँ। यसरी नै बितेछ जीन्दगी।’ मन्द स्वरमा बोल्दै उनी एकछिन चुपचाप बसे।

नेपाली फिल्म उद्योगमा भान्सेको काम गर्दागर्दै एकदिन उनी झल्यास्स ब्यूँझेसरि कालेबुङ हानिए। घर सुनसान थियो। बाँकि थियो त केवल वर्षौं पहिले श्रीमतीले लगाएर छाडेको एउटा फित्ता छिनेको चप्पल।

त्यसपछि जेठादाइको आफन्त भनेको नेपाली फिल्म उद्योग मात्र बाँकी रह्यो । उद्योगले माया गर्यो गरेन, उनको चासोमा रहेन। उनको चासोमा केवल रह्यो नेपाली फिल्म उद्योग।
‘वन साइडेड लभ’ नै सही तर, उद्योगलाई जेठादाइले माया गरिरहे।

गुनासो छैन कसैसँग

सबैलाई मिठो खाना खुवाउने जेठादाइको डेरामा कहिल्यै मिठो पाक्दैन अचेल। स्टोभमा पाक्छ उनको खाना। कोठामा विरही बतासले जहिल्यै घेरा हाल्छ। मट्टीतेलको भाँडा र उहिल्यै कतै लगाएको जुत्ता कोठामा सँगै छ। निकै अघि लगाएको पुरानो कोट र सुटिङमा जाँदा लाने गरेको झोला पनि साथमै छ।

तर जीवनसँग जेठादाइको कुनै गुनासो छैन। कसैलाई केही भन्नु पनि छैन। कहिलेकाहीँ आधारातमा दुधकोशी तिरैतिर सुकुल बोकेर हिँडेको याद आउँछ। त्यसबेला जेठादाइलाई ऐंठन पर्छ। त्यसभन्दा अरु कुनै भन्नु छैन ६ दशक काटिसकेको जीन्दगीलाई। हिरो बन्न सकिन भन्ने दुखेसो पनि छैन। ‘लोभले मानिसलाई कतै पुर्‍याउँदैन। एकबारको जुनीमा कसैको कुभलो नचिताऔं’, यही हो जेठादाइको जीवन दर्शन।

दुधकोशीको किनारबाट सुरु भएको जिन्दगी लाजिम्पाटको अध्याँरो कुनामा आएर आज अल्पविराम लागेको छ। ५० सालदेखि बस्दै आएको कोठाको भाडा आज उनले महिनाको २ हजार तिर्नुपर्छ।

अन्तिममा जेठादाइले सुनाए, ‘यो घर पनि भूकम्पले भत्काएको छ, दशैंपछि डेरा सर्नुपर्छ, अब कहाँ जाने होला?’

प्रकाशित ७ असोज २०७३, शुक्रबार | 2016-09-23 16:28:29

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पोखरा महानगर: चैतमै सक्नुपर्ने काम बल्ल सुरु

    ‘न्युरोडमा गिटी बिच्छ्याएर कस्तो बाटो बनाउन खोजेका हुन्, मैले त कुरै बुझिनँ। यस्तो तमासा हेर्न बाध्य छन् पोखरेलीहरु र सोच्दैछन् स्मार्ट सिटी त यसरी...

  • प्रहरीले खोज्दै छ ३४ किलो अवैध सुनको मालिक

    सात महिना पहिला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन समातिएपछि पक्राउ परेका अभियुक्तबाट प्रहरीले यो प्रकरणमा दुबईमा रहेका चार जनाको...

  • बार्सिलोनाका पूर्व तथा म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक पेप गार्डिवाला र लिअाेनल मेस्सी

    बार्सिलोनासँग रुष्ट छन् मेस्सी, यस्तो छ क्लब छाड्ने सम्भावना

    बार्सिलोनामा लिओनल मेस्सीको भविष्य अनिश्चित बनेको छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगरेका कारण मेस्सी क्लबमा रहन्छन कि रहदैन् भन्ने चर्चा चलेको छ।

  • प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी (फाइल फोटो)

    किन महत्वपूर्ण छ प्रधानमन्त्री देउवाको भारत भ्रमण?

    नेपाललाई विकासको समान साझेदार नठान्ने र कमजोर छिमेक ठान्ने मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेष गरी कर्मचारीतन्त्रमा व्याप्त...